काठमाडौँ
००:००:००
४ पुष २०८२, शुक्रबार

टिप्पणी

अमेरिकामा समेत सिकारको सोख पूरा गर्दा त्यहीँका नागरिकलाई पैसा तिर्न बाध्य तुल्याउने राजा महेन्द्र र नेपाली दूतावासका आश्रितले बाहिर काम गर्न पाउनुपर्ने माग राख्ने भेषबहादुर थापा स्वदेशमा भने खै किन हो बडो राष्ट्रवादी कहलिन्छन्।

नेपाल इन्स्योरेन्स कम्पनीको उद्‌घाटन कार्यक्रममा राजा महेन्द्र र उभिएर भाषण गरिरहेका तत्कालीन अर्थसचिव भेषबहादुर थापा। तस्बिर सौजन्य : पुस्तक ‘इतिहासको एक कालखण्ड’
अ+
अ-

आजको नेपालमा ‘कन्स्पिरेसी थिओरी’ अर्थात् षड्यन्त्रको सिद्धान्तले खुबै बजार पिट्छ।

बढी चासो हुने र बिक्री गर्न सजिलो हुने भएर पनि होला। औसत मान्छे मात्र होइन, मै हुँ भन्नेहरू पनि डरलाग्दा षड्यन्त्रकै तानाबानाका बढी कुरा गर्छन्, लेख्छन्, बोल्छन्, पुस्तकसमेत निकाल्छन्। यस्तो लाग्छ– षड्यन्त्रको सिद्धान्त उबेलाका युधीर थापाको उपन्यास जस्तै हो, रमाइलो र मादक काउकुती लगाउने खालको।

काउकुतीसम्म लागे त ठीकै थियो। कतिपयले त ‘भूत’ ले झैँ तर्साउँछन् पनि, गुलसन नन्दाका थ्रिलरझैँ।

नेपालीका लागि षड्यन्त्र ‘भूत’ जस्तै हो, जसको अत्तोपत्तो छैन, तर तर्साई चाहिँ रहन्छ। षड्यन्त्रको सैद्धान्तिक भूतबाट नेपाली वर्षौंदेखि तर्सिएको तर्सियै छन्।

भूत देख्नु र तर्सिनु व्यक्ति स्वयंको मानसिक अवस्थिति ‘स्टेट अफ माइन्ड’ हो। बुद्धिभ्रम पनि हो। आत्मविश्वास गुमाएपछिको मतिभ्रम हो।

आजको नेपाली समाज, राजनीति र कतिपय अवस्थामा कूटनीतिसमेत मतिभ्रमको वरिपरि चक्कर काटिरहेको छ। गत २३ र २४ भदौमा नेपालमा जुन राजनीतिक परिवर्तन भयो, एकथरी वामपन्थी भाष्यले भन्यो– यो सबै अमेरिकाले गराएको हो। कतिपय अन्य विश्लेषकहरू भनाउँदाहरूले यो अमेरिकाले नै गराएको भनिरहेका छन्।

यसो भन्नेहरूलाई लेखकद्वयका पाँच प्रश्न छन्। अमेरिकाले किन यसो गरायो, अमेरिकाले यसो यसो गर् भनेर कसलाई भन्यो, कुन अभीष्ट पूरा गर्न त्यसो भन्यो, अमेरिकाले भनेको काठमाडौँ, पोखरा, झापा, धनगढीका मान्छेले किन एकैपटक माने, त्यसो गराएपछि अमेरिकाले पायो चाहिँ के?

जबसम्म तपाईंसँग यी प्रश्नहरूको ठोस जवाफ हुँदैन, कृपया बेतुकका तर्क लिएर षड्यन्त्रको बहसमा सहभागी नभए हुन्छ। यसो भनेर हामी यो भनिरहेका छैनौँ कि कुनै देशको कुनै देशप्रति कुनै स्वार्थ हुँदैन। स्वार्थ हुन्छ। स्वार्थका रूप हुन्छन्, चरित्र हुन्छन्।

कुरा कसले, कहाँ, के स्वार्थ राख्यो भन्ने होइन। कुरा हामी स्वयं कहाँ छौँ , कस्ता छौँ, कसरी प्रकट भयौँ र त्यो कति विश्वास गर्न लायक, मूल्यवान् थियो/थिएन भन्ने हो।

राजनीति र कूटनीतिका अरू कुरा कुनैबेला गरौँला, अहिले भने इतिहासमा सानोजस्तो लाग्ने तर ठूलो महत्त्व राख्ने केही सन्दर्भको सम्झना गरौँ।

कुरा सुरु गरौँ, एकथरीले भयंकर राष्ट्रवादी ठान्ने राजा महेन्द्रबाट। उनी वन्यजन्तु सिकारका सोखिन।

नेपालमा हुँदा त कुरै भएन, विदेश जाँदासमेत राजा महेन्द्रलाई पाएसम्म सिकारमा जान मन पर्ने। आदिवासीलाई छाड्ने हो भने सिकार उबेलाझैँ अहिले पनि ‘स्टेटस सिम्बोल’ भइरहेको छ।

अलास्कामा शाही सिकारका क्रममा राजा महेन्द्र। तस्बिर स्रोत : हिस्टोरिक इमेजेज

सन् १९६७ मा राजा महेन्द्र राजकीय भ्रमणमा अमेरिका आए। भ्रमणका औपचारिक दिनहरू सकिएपछि उनलाई लाग्यो– अमेरिकामा पनि एकदुई सिकार गरौँ।

सिकारका लागि महेन्द्र अमेरिकाको सबैभन्दा कान्छो राज्य अलास्का गए। साथमा थिइन्, रानी रत्न।

राजा महेन्द्रले त्यहाँ नौ दिन बिताए। नौ दिनको खर्च ६० हजार अमेरिकी डलर उठ्यो। अहिलेको दरमा हिसाब गर्ने हो भने पाँच लाख डलर अर्थात् झन्डै सात करोड १० लाख रुपैयाँ। औपचारिक भ्रमणका दिनबाहेक अरू दिनको व्यक्तिगत खर्चमा जनताको करले अमेरिकी सरकारले खर्च गर्ने कुरै भएन।

६० हजार डलरको ‘ट्याब’ वासिङटन डीसीस्थित नेपाली राजदूतावासमा आयो। किन हो, राजदूतावासले पनि त्यो पैसा तिरेन।

सिकारका क्रममा अलास्कामा राजा महेन्द्र

समस्यामा परे, अमेरकी व्यवसायी अल बर्नेट, जसले राजा महेन्द्रको अलास्का भ्रमणको संयोजन गरेका थिए। उनैले व्यक्तिगत सम्पत्ति बेचेर महेन्द्रको अलास्का सिकारको खर्चपर्च बेहोरे। त्यसको दुई वर्षपछि द लस एन्जलस टाइम्सलगायत सञ्चारमाध्यममा यो समाचार व्यापक भयो।

राजा महेन्द्रको मृत्यु भएको ५० वर्षपछिसम्म पनि यसबारे समाचार बनिरहेकै छ। अलास्काको ‌एंकरेज डेली न्युजले १८ अक्टोबर २०२१ मा पनि राजा महेन्द्रको खर्च बेहोर्ने अमेरिकीसँग कुरा गर्दै तस्बिरसहित लामो आलेख छापेको छ। समाचारमा बर्नेटले भनेका छन्, ‘राम्रो, सानो देशका ती सुन्दर राजाको खर्च उनका कर्मचारीले तिरिदिएनन् भन्ने कुरा म विश्वास गर्दिनँ। केही छैन, उनको खर्च मैले बेहोरेँ। चित्त बुझाएको छु– कुनै एक देशका राजालाई मैले केही दिन घुमाएँ।”

एंकरेज डेलीमा छापिएको समाचार

षड्यन्त्रको सिद्धान्तमा विश्वास गर्नेहरूले यस घटनालाई कसरी लिँदा हुन् खै!

अब अर्को प्रसंग।

सन् १९९७ मा अमेरिकी सञ्चारमाध्यमहरूमा समाचार आयो– वासिङटनस्थित नेपाली राजदूतावास आफ्ना ‘डिपेडेन्ट’ (आश्रित)हरूलाई अमेरिकामा राजदूतावासबाहिर काम गर्ने अनुमति दिइयोस् भन्ने चाहन्छ।

समाचार आउनुअघि नै अमेरिकास्थित नेपाली राजदूतावासले यस्तो चाहनासहितको पहिलो अनुरोधपत्र अमेरिकी विदेश मन्त्रालयलाई पठाइसकेको थियो। १३ मे १९९७ मा नेपाली राजदूतावासले फेरि यस्तै बेहोराको दोस्रो पत्र अमेरिकी विदेश मन्त्रालयलाई पठायो।

अनुरोधपत्र पठाउने बेला राजदूत थिए- डा. भेषबहादुर थापा।

आज हाम्रो हातमा उनै भेषबहादुर र हरिबहादुर थापाले मिलेर लेखेको किताब छ– राष्ट्रपरराष्ट्र: एकतन्त्रदेखि गणतन्त्रसम्म। जसले मान्छे राजा भइन्जेल राजालाई ‘भगवान्’ मानिरहे, आज उसैले राजाविरुद्ध टिप्पणी गरेर किताब लेखिरहेका छन्।

भेषबहादुर थापा

अमेरिकी विदेश मन्त्रालयका कार्यसम्पादनसम्बन्धी अभिलेख अध्ययन गर्दा थापाको कार्यकालमा नेपाल-अमेरिकाबीच कुनै उल्लेखनीय पत्राचार भएको पाइँदैन। आफ्नो देशमा अमेरिकी लगानी भित्र्याउने, द्विपक्षीय सम्बन्ध बलियो र दिगो बनाउनेजस्ता विषयमा अन्य देश र अमेरिकाबीच जति पत्राचार भएका छन्, त्यसका तुलनामा उनका पालामा असाध्यै कम भएका छन्।

अमेरिकामा नेपाली हैसियत ‘लुज’ राजा महेन्द्र र डा. थापाहरू नै हुन्। बरु अलिकति इज्जत राजा वीरेन्द्रले धानेका थिए।

२०४६ सालपछि बहुदलीय व्यवस्थाको पुन:स्थापनापछि त नेपालको कूटनीति नखरमाउलो बन्दै गयो।

कहिले चीनसँग पल्किएर, कहिले रुसको पक्षमा उभिएर, कहिले प्यालेस्टाइनसँग हुरुक्क भएर, कहिले इरान हाम्रै हो भनेजस्तो गरेर, कहिले भेनेजुएला हाम्रै नातासम्बन्धको देश हो भनेझैँ गरेर, कहिले उत्तर कोरियामा आउजाउ गरेर नेपालले अनेक भद्दा कूटनीतिक प्रहसन मञ्चन गर्‍यो।

सायद यही नखरमाउलो प्रहसनकै परिणाम यसपटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भौतिक हमला हुँदा पनि विपक्षमा अमेरिका केही बोलेन। भएको यत्ति हो, अरू सबै षड्यन्त्र अर्थात् भूतको डर हो।

दोष हाम्रै नखरमाउलोपनको हो, अमेरिकाको होइन।