काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

राजनीति

जेलबाटै रास्वपा चलाइरहेका पूर्वटीभी स्टार सभापति लामिछानेको प्रभुत्वले आन्तरिक किचलोमा राष्ट्रिय स्वतन्त्र पार्टी

११ मंसिर २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने (बीचमा) र पार्टी छाडेका बायाँबाट सुमना श्रेष्ठ, मुकुल ढकाल, प्रभात अधिकारी, सन्तोष परियार, भरतमणि देवकोटा र नारायणप्रसाद घिमिरे
अ+
अ-

हो, म अवसरवादी हुँ,
किनकि म सुशासन खोज्छु,
किनकि म विधिको शासनको सम्मान गर्छु

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट राजीनामा दिएकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले २६ कात्तिकमा लेखेको ‘म अवसरवादी’ शीर्षकको कविताको एक अंश हो यो।

छोटो समयमै रास्वपाबाट सांसद हुँदै मन्त्री बनेकी सुमनाले पार्टीभित्र पनि विधिको शासन र आन्तरिक लोकतन्त्र खोज्दै फरक मत राख्दै आएकी थिइन्। ४ वैशाखमै रास्वपाको सहमहामन्त्रीबाट राजीनामा दिएकी उनले जेन-जी आन्दोलनलगत्तै २९ भदौमा पार्टी छाडेको घोषणा गरिन्। त्यसपछि उनलाई अवसरवादीको आरोप लाग्यो।

लक्ष्मीप्रसाद देवकोटाको ‘पागल’ कविताबाट प्रेरित भएर सुमनाले लेखेको कवितामा आफूविरुद्ध लागेको त्यही आरोपको खण्डन गर्ने प्रयत्न गरिएको छ। कवितामा सुशासन र विधिको शासन खोजेको उल्लेख गरेकी उनले पार्टी छाड्ने बेलामा पनि रास्वपाले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको भन्दै असन्तुष्टि व्यक्त गरेकी थिइन्।

सन्तोषले जस्तै पूर्वमन्त्री सुमना श्रेष्ठले पनि पार्टीमा आन्तरिक लोकतन्त्रको मुद्दा उठाउँदै आएकी थिइन्। उनले रास्वपा नीतिभन्दा व्यक्तिमा निर्भर रहेकामा विरोध जनाउँदै आएकी थिइन्।

सुमनाले पार्टी छाडेको ठ्याक्कै दुई महिना अनि यो कविता लेखेको दुई दिनपछि २८ कात्तिकमा रास्वपाका प्रभावशाली नेता सन्तोष परियारले पनि पार्टी त्यागे। रास्वपाका सचिवालय सदस्य, सांसद हुँदै प्रतिनिधिसभाको प्रमुख सचेतकसमेत बनेका सन्तोष जेन-जी आन्दोलनपछि रास्वपा नेतृत्वसँग असन्तुष्ट थिए। रास्वपा त्यागेका उनी जनार्दन शर्मा, बाबुराम भट्टराईलगायतको प्रगतिशील लोकतान्त्रिक पार्टीमा जोडिएका छन्। सुमना र सन्तोषले पार्टी छाड्नुको कारण एउटै हो, पार्टीभित्रको कमजोर आन्तरिक लोकतन्त्र।

२१ र २२ कात्तिकमा चितवनमा भएको रास्वपाको विस्तारित बैठकमा तत्काल महाधिवेशन गर्न नसके मंसिरमा अर्को विस्तारित बैठक राखेर २१ फागुनको चुनावमा जान तयारी गर्नुपर्ने आवाज उठेको थियो। हुन पनि रास्वपाको नियमित अधिवेशन आगामी फागुनमा हुनुपर्ने हो। तर, चुनाव घोषणा भएकाले अधिवेशन गर्न सम्भव नदेखिएपछि मंसिरमै विस्तारित बैठक राखेर केन्द्रीय सदस्य थप्ने र अरू जिम्मेवारी बाँड्ने कुरा उठेको थियो। तर, त्यसतर्फ कुनै पहल भएन।

पार्टीमा सभापति रवि लामिछाने नछुटुन्जेल केन्द्रीय कार्यसमितिमा हेरफेर गरेर चुनावमा जाने कुरा उठे पनि त्यसलाई उपेक्षा गरिएको छ। पार्टीभित्रको फरक मत सम्बोधन गरेर अघि बढ्नुपर्ने, नेपाली समाजको आवश्यकताअनुसार पार्टी बनाउनुपर्ने र वैचारिक स्पष्टता हुनुपर्ने आवाज उठाउँदै आएका थिए। तर, विस्तारित बैठकमा सन्तोष परियारलगायतले उठाएका मुद्दाको सम्बोधन गरिएन। त्यसपछि असन्तुष्ट बनेका परियारले अन्तत: पार्टीबाट राजीनामा नै दिए। उनी भन्छन्, “नेपाली समाजको आवश्यकताअनुसार जस्तो पार्टी बनाउनुपर्थ्यो, जुन किसिमको वैचारिक स्पष्टता हुनुपर्थ्यो, जुन मुद्दा रास्वपाले उठाउनुपर्थ्यो, त्यसमा रास्वपा चुकेको छ। रास्वपाको अहिलेको मूल समस्या यही हो।”

सन्तोषले जस्तै पूर्वमन्त्री सुमना श्रेष्ठले पनि पार्टीमा आन्तरिक लोकतन्त्रको मुद्दा उठाउँदै आएकी थिइन्। उनले रास्वपा नीतिमा भन्दा व्यक्तिमा निर्भर रहेकामा विरोध जनाउँदै आएकी थिइन्। सहकारी ठगीको मुद्दामा सभापति लामिछाने पक्राउ परेपछि सुमनाले पनि नेतृत्व परिवर्तनको आवाज उठाएकी थिइन्। रास्वपाले लामिछाने छुटाउने भन्दै देशव्यापी रूपमा सञ्चालन गरेको हस्ताक्षर अभियानप्रति पनि उनले असहमति जनाएकी थिइन्। पार्टीभित्रका कमीकमजोरी सुधारका लागि कुरा उठाउँदा सुधारमा ध्यान दिनुको साटो नेतृत्वबाटै छाडेर जाने भए जाऊ भन्ने प्रवृत्ति देखिएपछि आफूले राजीनामा दिएको सुमनाको भनाइ छ। उनले यसलाई ‘ओली प्रवृत्ति’ को संज्ञा दिएकी छन्।

रास्वपा केन्द्रीय कार्यालय

त्यसो त, रास्वपाका तत्कालीन महामन्त्री मुकुल ढकालले ३९ जिल्लाका नेता-कार्यकर्तासँग अन्तरक्रिया गरेर ३२ पृष्ठको प्रतिवेदन बुझाएका थिए। त्यसमा पार्टीको जनाधार खस्किँदै गएको र यस्तै अवस्था कायम रहे आगामी निर्वाचनमा राष्ट्रिय पार्टी बन्न पनि कठिन हुने उल्लेख थियो। ढकालको यो प्रतिवेदन रास्वपाले स्वीकार गरेन। उनले प्रतिवेदनका विषयमा सार्वजनिक रूपमा बोलेपछि रास्वपा नेताहरू उनीविरुद्ध खनिए। ढकाल पार्टीभित्र बोल्न पाउने हक हनन भएको भन्दै १९ असार २०८१ मा भएको केन्द्रिय कमिटी बैठकमा मुखमा कालो टेप लगाएर उपस्थित भएका थिए। २५ असार २०८१ मा  रास्वपाले उनलाई महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्य पदबाट हटाउने निर्णय गरेको थियो। उनी पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदा पछिल्लो समय एकपछि अर्को नेताले रास्वपा छाडेको बताउँछन्। भन्छन्, “मैले रविको पार्टी होइन, रास्वपा बनाऔँ भनेको हुँ, तर फरक मत राख्नेलाई पिँजडाभित्र राख्ने कोसिस गरिन्छ।”

रास्वपाका नेताहरूको वैचारिक पृष्ठभूमि नै थरीथरीको छ। जस्तो– सभापति रवि लामिछानेको खासै वैचारिक पहिचान छैन। उनी ‘पपुलिस्ट’ हुन्।

मुकुल सुरुमा रविका कट्टर समर्थक थिए। रविलाई सुरुमा साथ दिनेमध्ये ढकाल पनि एक हुन्। तर, रास्वपाबाट अपमानजनक ढंगले ढकालको बर्हिगमन भयो।

पछिल्लो समय केन्द्रीय सदस्य डा. प्रभात अधिकारी, केन्द्रीय कानुन विभाग सदस्य डा. नारायण घिमिरे, रास्वपा कार्यालयका घरबेटीसमेत रहेका पार्टीका अनुसन्धान आयोग प्रमुख भरतमणि देवकोटाले पनि रास्वपा त्यागेका छन्।

पार्टीभित्र फरक विचार राखेका कारण कतिपय नेतालाई पार्टीले कारबाही नै गरेको छ भने कतिले त्यहाँ टिक्न नसकेर राजीनामा दिएका छन्। यो प्रवृत्ति केन्द्रदेखि प्रदेश हुँदै जिल्ला तहसम्म फैलिएको छ। रास्वपाका तत्कालीन सुनसरी जिल्ला सभापति जीवनकुमार श्रेष्ठ वडा तहबाट आएका सुझाव पार्टीमा राख्दा कारबाही भोग्नुपरेको बताउँछन्। हाल साधारण सदस्य मात्र रहेका उनी भन्छन्, “पार्टीभित्र सत्य कुरा बोल्ने र पार्टी लोकतान्त्रिक हुनुपर्छ भन्नेहरूलाई रास्वपामा टिक्न गाह्रो छ। अहिले पार्टी छाड्ने लहर चल्नुको प्रमुख कारण आन्तरिक लोकतन्त्र नहुनु नै हो।”

वैचारिक पहिचान नै अन्योलमा

राजनीतिक दलभित्र नेता-कार्यकर्तालाई विचारधाराले बाँधेर राखेको हुन्छ। व्यक्तिगत रूपमा असहमति भए पनि विचारधाराका कारण नै झट्ट दलको सदस्यता त्याग्न सक्दैनन्, तर रास्वपा विचारधारामा पनि स्पष्ट छैन। त्यसैले पनि नेता-कार्यकर्तालाई बाँध्न सजिलो छैन।

रास्वपाबाट कारबाहीमा परेका र टिक्न नसकेर राजीनामा दिएका नेता-कार्यकर्तासँग कुरा गर्दा उनीहरूले भन्ने एउटा वाक्य छ, ‘राम्रा मान्छेलाई जीजीले टिक्न दिँदैन।’

रास्वपाका नेताहरूको वैचारिक पृष्ठभूमि नै थरीथरीको छ। जस्तो– सभापति रवि लामिछानेको खासै वैचारिक पहिचान  छैन। उनी ‘पपुलिस्ट’ हुन्। पार्टी नेताहरू स्वर्णिम वाग्ले, मनीष झालगायत केही कांग्रेस पृष्ठभूमिका छन्। लिमा अधिकारी, सन्तोष परियारलगायत कम्युनिस्ट पृष्ठभूमिबाट रास्वपा छिरेका हुन्। उनीहरूबीचमा वैचारिक एकरूपता छैन।

रास्वपाले आफ्ना दस्ताबेजदेखि वेबसाइटसम्म ‘उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी’ भनेर परिचय त दिएको छ। तर, पार्टीभित्र ‘आइडियोलोजी’ का विषयमा गम्भीर बहस नै नभएको पूर्वमहामन्त्री मुकुल ढकाल बताउँछन्। उनी आफूले सुरुमा विचारधारामा स्पष्ट हुनुपर्ने आवाज उठाउँदा सुनुवाइ नभएको बताउँछन्। भन्छन्, “हामी लेफ्ट कि राइट क्लियर हुनुपर्छ भनेर छलफल चलाएँ। पार्टीभित्र छलफल गरेर बहुमतका आधारमा विचारधाराको टुंगो लगाऔँ भन्दा रोकियो। अहिले रास्वपा विचारवादमा होइन, व्यक्तिवादमा गइसक्यो।”

रास्वपाको वेबसाइटमा भएको तस्बिर

सुमनाले पनि पटक पटक पार्टीमा विचारभन्दा व्यक्ति हाबी भएको भनेर आलोचना गर्दै आएकी थिइन्। उनले भनेकी छन्, ‘पार्टी एउटा व्यक्तिका पछाडि लाग्नु भएन भनेर आवाज उठाउँदा पार्टी छाडेर गए हुन्न भन्ने किसिमको कुरा आयो। भित्रै सुधार्न खोज्दा नसकेपछि मेरो राजीनामा विस्फोट हो।’

सन्तोषले पनि पार्टीभित्र वैचारिक स्पष्टता हुनुपर्ने आवाज उठाउँदै आएका थिए। उनले पार्टी छाडेपछि पनि रास्वपामा वैचारिक स्पष्टता नभएको गुनासो गरेका थिए। उनले बिहीबार पनि सामाजिक सञ्जालमा यस्तै आशय व्यक्त गर्दै लेखेका छन्, ‘ध्रुवीकरण जरुरी छ। जनता झुक्याउन पाइँदैन। दायाँ-बायाँ के हो, कित्ताकाट गरौँ। तर, एउटा प्रश्न आफैँलाई, महिला, मधेसी, दलित र आदिवासी जनजाति चाहिँ कसरी दायाँ (दक्षिणपन्थी) हुनसक्छ होला ?’

राजनीतिशास्त्रका प्राध्यापक कृष्णप्रसाद पोखरेलका अनुसार रवि लामिछानेको लोकप्रियता भजाएर बनेको पार्टी रास्वपामा अहिले दुई धार देखिएको छ। सुरुमा एक देखिए पनि सहकारी मुद्दामा पक्राउ परेपछि रविलाई अघि सार्नु हुँदैन भन्ने र अझै उनलाई नै अघि सार्नुपर्छ भन्ने दुई धार देखिएको उनी बताउँछन्। उदार लोकतान्त्रिक र ‘पपुलिस्ट’ दलका रूपमा अघि बढेको बताउँदै प्रा.पोखरेल भन्छन्, “रास्वपाभित्र अहिले विचारधाराभन्दा पनि रविको पक्ष र विपक्षमा रहेका दुई धारका कारण समस्या भएजस्तो लाग्छ। रविलाई अघि सार्नु हुँदैन भन्नेको आवाज नसुनिएको देखिन्छ।”

‘जीजी’ सँग अरूलाई टिक्न गाह्रो

रास्वपाबाट कारबाहीमा परेका र टिक्न नसकेर राजीनामा दिएका नेता-कार्यकर्तासँग कुरा गर्दा उनीहरूले भन्ने एउटा वाक्य छ, ‘राम्रा मान्छेलाई जीजीले टिक्न दिँदैन।’

रास्वपाका नेता-कार्यकर्ताबीच चर्चित शब्द ‘जीजी’ को अर्थ हो, ग्यालेक्सी ग्याङ। एक समय रविसँगै ग्यालेक्सी टेलिभिजनमा काम गरेकाहरूको समूहलाई संकेतमा जीजी भनिने रहेछ। त्यसमा पछि थपिएकाहरू पनि जीजी समूहकै हर्ताकर्ता हुन्। रास्वपामा जीजी समूहले रविको विचारप्रति फरक मत राख्नेलाई वा उनका आलोचना गर्नेलाई टिक्न दिँदैन। उनीहरूलाई सामाजिक सञ्जालदेखि मिडियासम्म बदनाम गराउन जीजी समूहकै सदस्य सक्रिय हुन्छन्। रास्वपा छाडेकाहरूका अनुसार यस समूहमा दीपक बोहोरा, प्रतिभा रावल, ज्वाला संग्रौलादेखि डीपी अर्याल, कवीन्द्र बुर्लाकोटी, विपिन आचार्य, रमेश प्रसाईं, क्रान्तिशिखा धितालसम्म छन्।

रास्वपाले पहिला ‘जान्नेलाई छान्ने’ नारा अघि सारेको थियो। रवि पक्राउ परेपछि पार्टीमा बाबुराम भट्टराई, कुलमान घिसिङलगायतलाई ल्याउने विषयमा पनि छलफल भएको थियो। तर, यही समूहले रविको विकल्प सोच्नै नहुने भनेर अरूलाई आउन दिएन। राजनीतिक सुझबुझ र प्रतिबद्धता भएका मान्छे आए आफू पछि परिने डरले एउटा समूहले राम्रा मान्छे आउनै नदिने गरेको रास्वपाकै नेताहरूको भनाइ छ। हालै राजीनामा दिएका केन्द्रीय कानुन विभागका सदस्य वरिष्ठ अधिवक्ता नारायण घिमिरे भन्छन्, “जान्नेलाई छान्ने भन्ने नारा मुख्य नेताहरूको कार्यशैलीमा प्रतिबिम्बित भएन।”

कमजोर आन्तरिक लोकतन्त्र, विचारधारामा अस्पष्टता र अन्य सानातिना कारणले मनमुटाव भइरहेको रास्वपामा जेन-जी आन्दोलनका क्रममा रवि जेलबाट निस्किएको घटनाले थप मलजल गर्‍यो। सुमनाले यसैलाई कारण देखाउँदै राजीनामा दिइन् भने त्यसबेला असन्तुष्टि पोख्नेहरूले राजीनामा दिइरहेका छन्।

रास्वपाभित्र प्रतिभा, इमान भएकालाई जिम्मेवारीविहीन बनाउने, भूमिका नदिने, आफू फाइदा लिने प्रवृत्ति रहेको पार्टी छाड्नेहरूको गुनासो छ। भ्रष्टाचारमा मुछिएका, रिटायर्ड, असफल र सार्वजनिक रूपमा आचरणमा प्रश्न उठेका मान्छेलाई च्यापेर असल मान्छेलाई अवसरबाट वञ्चित गर्ने प्रवृत्तिका कारण पनि टिक्न नसकेको उनीहरूको भनाइ छ। पूर्वमहामन्त्री ढकाल पनि रास्वपाभित्र रविका पूर्वसहकर्मीको समूहले अरूलाई टिक्न नदिएको बताउँछन्। कारबाहीमा परेका जिल्ला सभापति श्रेष्ठ भन्छन्, “राम्रा र सक्षम मान्छे आए भने हामी सुरुदेखि दु:ख गर्ने मान्छे अवसरबाट वञ्चित भइन्छ भन्ने डरले सही कुरा गर्नेलाई टिक्न दिँदैनन्।”

रविको उल्टो काम

रास्वपा सभापति लामिछानेलाई तत्कालीन सरकारले प्रतिशोध साँधेर दु:ख दिएको भन्दै रास्वपाका नेताहरूले बोल्दै आएका थिए। रास्वपाले देशव्यापी रूपमा लामिछानेलाई प्रतिशोध साँधेको भन्दै छुटाउनका लागि हस्ताक्षर अभियान सञ्चालन गरेको थियो। यसले सभापति लामिछाने र रास्वपाले सहानुभूति बटुलिरहेका थिए। रास्वपाको पक्षमा जनमत बढ्ने क्रममै थियो।

२३ र २४ भदौको जेन-जी आन्दोलनमा रास्वपाका नेता-कार्यकर्ता पनि सक्रिय रूपमा सहभागी भए। जेन-जी आन्दोलनको आवरणमा रास्वपाका नेता, कार्यकर्ता र समर्थकले २४ भदौमा नख्खु कारागारमा रहेका सभापति लामिछानेलाई छुटाए। त्यसपछि ‘सनरुफ’ गाडीमा विजयभावमा हात हल्लाउँदै लामिछाने सार्वजनिक भए, भाषण पनि गरे।

जेन-जी आन्दोलनका क्रममा दुई दर्जन हाराहारी आन्दोलनकारीको ज्यान गइसकेको, हजारौँ घाइते भइसकेको र अझै गोली चलिरहेको बेला सभापति लामिछाने यसरी विजयी मुद्रामा निस्किएकामा पार्टीभित्र र बाहिर पनि आलोचना भयो। पार्टीभित्र सुमना, सन्तोष, डा.तोसिमा कार्की, गणेश कार्की, प्रवक्ता मनीष झालगायत नेताले प्रश्न उठाएका थिए। सुमनाले त सार्वजनिक रूपमै बोलेकी छन्, ‘सडकमा बच्चाहरूको रगत सुकेको छैन। सनरुफ गाडी नै चाहियो भनेर कुनै नेतृत्वले प्रश्न उठाउँदा नराम्रो ठानियो।’

कमजोर आन्तरिक लोकतन्त्र, विचारधारामा अस्पष्टता र अन्य सानातिना कारणले मनमुटाव भइरहेको रास्वपामा जेन-जी आन्दोलनका क्रममा रवि जेलबाट निस्किएको घटनाले थप मलजल गर्‍यो। सुमनाले यसैलाई कारण देखाउँदै राजीनामा दिइन् भने त्यसबेला असन्तुष्टि पोख्नेहरूले राजीनामा दिइरहेका छन्। प्राध्यापक पोखरेल भन्छन्, “नयाँ दल भएकाले उनीहरूको राजनीति थिग्रिसकेको छैन। यस्तो अवस्थामा विचार नमिल्दा छाड्ने, जोडिने हुन्छन्। अहिले नै रास्वपाभित्र पहिरो जान्छ भन्नु चाहिँ अलिक हतार हुन्छ।”