काठमाडौँ। पर्यटक भिसामा आएका चिनियाँ नागरिकसँग उमेर नपुगेकी छोरीको बिहे गरिदिने बाबु पक्राउ परेका छन्। बारा प्रहरीले करैयामाई गाउँपालिका-१ हरैया टोलका ४४ वर्षीय जाकिर हुसेनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्ने चिनियाँ नागरिक २२ वर्षीय निउ युबिन रहेका छन्। १० मंसिरको राति साढे १० बजे आफ्नै घरमा उमेर नपुगेकी छोरीको बिहे गरिदिएको आरोपमा बाबु र चिनियाँ नागरिकलाई पक्राउ गरिएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए।
जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी मधुवनको टोली पुग्दा बेहुला-बेहुलीको भेषमा सामाजिक रीतिरिवाज अनुसार बिहे गरिरहेको अवस्थामा फेला पारिएको कुँवरले बताए।
बालिकालाई उद्धार गरिएको छ भने पक्राउ परेका बुवा र चिनियाँ नागरिकलाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ।