निबन्ध
पाठशाला ‘पढन्ते’ लाई आकर्षित तुल्याउनका निम्ति खुल्ने हो, ‘गैरपढन्ते’ का निम्ति त थुप्रै ‘शाला’ छँदै थिए। मधुशाला, पाकशाला, गणिकाशाला इत्यादि–इत्यादि।
केही वर्षयता गोविन्द भट्टको पाठशाला बन्द छ। मलाई लाग्दछ, कुनै चेला-चपेटाहरूले बन्द-हडताल गरेर बन्द भएको हुँदै होइन। न त कुनै सिद्धान्तरूपी छतले धाँजो धारण गरेर पाठशालाका कक्षाकोठाहरू बन्द भएका हुन्! दुःखद कुरा, गोविन्द भट्टको पाठशाला बन्द छ अचेल।
उनका अति नै अनुशासन-भोगी शिष्यहरू टोलाइरहेका छन्, निर्निमेष/अपलक। पाठशालाको ढोकैनिर झुन्डिएको उत्तरआधुनिक साइजका बडेमान ताल्चाहरूतिर हेर्दै उनीप्रति अनगृहीत एवं मर्यादित असंख्य चेलाहरू मुखामुख गरिरहेछन्। र, आफैँतिर अनेक प्रश्नका अनेक तीर सोझ्याइरहेछन्। यस्ता दृश्य नियाल्दा कुनै पौराणिक पात्रको सदृश विम्ब उद्भव भइरहेजस्तो आभास हुन्छ।
संसारका हरेक शासक/प्रशासक, फटाहा, बदमास, कमिसनखोर, चोरीचकारी र डकैतीजन्य कार्यहरूमा विश्वास राख्नेहरू आफ्ना कर्तुतरूपी तगाराहरू बन्द गर्न यस्तै यस्तै ‘ताल्चा’ हरूका भाषा बोल्न रुचाउँछन्।
उनका शिष्ट शिष्यहरूले उनीसँग केवल नयाँ नयाँ भाष्य-रचनाका अपेक्षा राखेका थिए, जुन भाष्यले समाज ‘गतिशील’ बनोस् र त्यस्तो समाजलाई हाँक्नेहरूले ‘मतिशील’ रूप धारण गरून्। इतिहास, संस्कृति, साहित्य, दर्शनादिका समुच्च भाष्यहरू। कुनै दूधमुखे शिशुको लहरमा आफूलाई उभ्याउँदै र ‘तातेताते’ को शैली पछ्याउँदै उनको पाठशालामा सहजै भर्ना हुने अभिलाषा सँगाल्थेँ, उनका शिष्यहरू। ती शिष्यहरू शिशु-मस्तिष्क बोकेर देश-विदेश, समाज-नमाज, परिवार-विचार, संस्कार, आहार, व्यवहारादि विषयका ‘किलास’ लिई आफ्नो ज्ञानको परिधिलाई अझ तन्काउन चाहन्थे।
अफसोच ! गोविन्द भट्टको पाठशाला बन्द छ अचेल।
उनका एक जना नवचिन्तक शिष्य भने अलि बढी नै भावुक र संवेदनशील मुद्रा धारण गर्दै उभिए। ती शिष्यले पाठशालाको ढोकामा तैनाथ एक प्राचीन ढाँचाको ताल्चासँग संवाद गर्न चाहे। शिष्य जीवित, ताल्चा मूढ। उनी ताल्चासँग घनीभूत संवाद गर्न चाहन्थेँ र सोही मुडस्थितिमा उभिँदै सोधे, ‘कृपया, हामी यो पाठशालाभित्र प्रवेश गर्न चाहन्छौँ। गोविन्द सरलाई भेटेर उहाँसँग नित्य नवीन भाष्यहरूका बहुआयामिक संसार पहिल्याउन चाहन्छौँ। तर, तिमी भने किन झुन्डिएका छौ, यो पाठशालाको ढोकामा? तुर्लुंगसँगले? हामी सबैलाई छेकेर? के हो तिम्रो असली नियत?’ एकाएक ती शिष्यभित्र आक्रोशरूपी नवजात टुसाहरू पलाउन थाले।
ताल्चा भने पूरै मौन। प्रायः ताल्चाको भाषा मौन नै हुन्छ। तर, ताल्चाको मौनता तोडिएको दिन सबै रहस्य बाह्य परिवेशमा छताछुल्ल पोखिन्छन्। पान्डोराको बाकस खुलेझैँ। त्यही कारण हुनुपर्छ, संसारका हरेक शासक/प्रशासक, फटाहा, बदमास, कमिसनखोर, चोरीचकारी र डकैतीजन्य कार्यहरूमा विश्वास राख्नेहरू आफ्ना कर्तुतरूपी तगाराहरू बन्द गर्न यस्तै यस्तै ‘ताल्चा’ हरूका भाषा बोल्न रुचाउँछन्।
पाठशाला ‘पढन्ते’ लाई आकर्षित तुल्याउनका निम्ति खुल्ने हो, ‘गैरपढन्ते’ का निम्ति त थुप्रै ‘शाला’ छँदै थिए। मधुशाला, पाकशाला, गणिकाशाला इत्यादि इत्यादि।
गोविन्द भट्टको पाठशाला आफैँ वा विनाकारण बन्द भयो वा कुनै अवाञ्छनीय तत्त्वको निर्देशनमा हठात् बन्द गराइयो? यो बीजगणितीय सूत्र हल गर्न मुस्किल मुस्किल नै देखिन्छ। अचम्म त के भने, लामो समयदेखि उनको पाठशाला बन्द छ। पूरै बन्द। एउटै पनि शिशुले भर्ना हुने अवसर पाइरहेका छैनन्। अलपत्र परेका विद्यार्थी/शोधार्थीहरूले नयाँ र सफा ज्ञानकुण्डमा पौडिन पाइरहेका छैनन्। कर्मचारी, चौकीदारहरूले ‘टाइम’ मै तलब खान पाइरहेका छैनन्। कस्तो विडम्बना!
ती शिष्यले फेरि मुख खोले, ‘खुल, ए ताल्चा। अब त खुल। ज्ञानको सुरुङमार्ग प्रवेश गर्नबाट हामीलाई कदापि नरोक। हामी भट्ट सरको पाठशालामा प्रवेश गर्न चाहन्छौँ र नयाँ, नौलो र सुबोध ज्ञानकर्ता भएर निस्किन चाहन्छौँ। यो पाठशालामा प्रवेश पाउन हामी अति नै व्यग्र छौँ र हामीलाई किमार्थ वञ्चित नबनाइयोस्।’
ताल्चा पुनः मौन। ताल्चाले फेरि ताल्चाकै मौन भाषा बोल्यो।
००
केही दिनसम्मै आफ्नो पाठशालामा अनुपस्थित रहे, गोविन्द भट्ट। के कारण हो, थाहा हुन सकेन। उनको अनुपस्थिति अधिकांश शिष्यहरूका निम्ति निकै चर्को साबित भयो। सबै कुरा गज्याङमज्याङ हुन पुग्यो। उनको अनुपस्थिति थाहा पाएर कक्षाकोठामा ‘अलर्ट’ शिक्षकहरूले ‘कम्युनिस्ट पाठशाला’ को बाह्रखरीलाई आफ्ना शिष्यहरूसामु यसरी घोक्न लगाए, जुन आजपर्यन्त कायम छ।
क– कार्ल काउत्स्की, ख– ख्रुश्चेभ, ग– गोथा कार्यक्रम, च– चाउचेस्कु, ज– जुगानोभ, झ– झु रोङ्जी, ट– ट्रटस्की, ड– डाँगे, त– तुर्गानेभ, द– देङ स्याओपिङ, ध– धनाढ्य, प– पुटिन, फ– फ्रेडरिक एंगेल्स, ब– ब्लांकी/बाकुनिन, भ– भ्लादिमिर लेनिन, म– मिखाइल गोर्भाचोभ, य– यल्तसिन, ल– लासाल, स– स्टालिन, ष– षड्यन्त्र, ह– होची मिन्ह।
००
जसले जसरी अर्थ्याए पनि उनका चेलाहरू ‘महाचण्डाल’ थिए। निस्किए त्यस्तै त्यस्तै। गोविन्द भट्टको पाठशालारूपी भट्टीमा खारिएर निस्किएका ज्ञानीहरूले त्यस पाठशालाको उपादेयता बताएका थिए, नवीन चेलाहरूलाई। उनको पाठशालाको तापक्रमप्रति चेलाहरू शतप्रतिशत जानिफकार थिए, र आफूलाई कसरी र कुन रूपमा खार्ने भन्नेमा पूर्ण एवं पूर्वपरिचितसमेत थिए। त्यही भएर नै ताल्चाप्रति उनीहरू क्षुब्ध देखिएका थिए।
अफसोच! गोविन्द भट्टको पाठशाला ताल्चाको तुजुकमा बन्द थियो।
००
जहाँतहीँ पाठशालाहरू खुलिरहेका छन् र बन्द पनि भइरहेका छन् त्यत्तिकै। यो अनौठो कुरा भएन। संसारमा अनेक पाठशाला खुल्ने र बन्द हुने क्रमबद्धतालाई नयाँ विधाका रूपमा मान्यता दिन सकिँदैन। पाठशाला ‘पढन्ते’ लाई आकर्षित तुल्याउनका निम्ति खुल्ने हो, ‘गैरपढन्ते’ का निम्ति त थुप्रै ‘शाला’ छँदै थिए। मधुशाला, पाकशाला, गणिकाशाला इत्यादि इत्यादि।
गोविन्द भट्टको पाठशाला खुल्नुका पृष्ठभूमिमा अनेकादि कारण जोडिएका छन्। बन्द हुनुमा पनि जोडिएका छन्। उनले जुन परिकल्पना गरेर पाठशाला खोलेका थिए, त्यो न त नामुद चोर-डाँका, लुटेराहरू, फटाहा, चरम अवसरवादी वा अरू त्यस्तै त्यस्तै कोटिका मनुख्येहरू उत्पादन होऊन् भनेर खुलाएका थिए, न त खुलेआम वैचारिक-चोरीमा संलग्न विद्वान् वा सज्जनहरूले ज्ञानार्जन गरून् भन्ने चाहना पालेर नै खोलेका थिए। एउटा विशुद्ध मान्यता र आस्था राखेर खोलेका थिए, गोविन्द भट्टले त्यो पाठशाला। यो संसारमा अनेक ज्ञानी, परोपकारी, सरोकारी, मनकारीलगायत सबै समुदायका शिष्यहरू आएर आफ्नो पाठशालामा पढून्, तिनीहरूले आफ्नो ज्ञान-चक्षुलाई तेजिलो पारेर अगाडि बढून्, अनुशासन एवं मर्यादाका सिँढीहरू पार गर्दै ढोंगरहित ढंगले सर्वोच्च शिखर आरोहण गरून् भन्ने आकांक्षा पालेर उनले पाठशालाको जगारम्भ गरेका थिए र आफ्नो पाठशालाप्रति गौरवबोध अँगाल्दै क्रियाशील देखिएका थिए।
अन्ततः सबै ‘कारी’ अर्थात् परोपकारी, मनकारी, ज्ञानकारीहरूका माग पूरा गर्न नसकेपछि गोविन्द भट्टको पाठशालामा ताल्चा लाग्यो, हठात् रूपले एकदिन। यो निकै भयावह घटना थियो।
पाठशाला चलिरहेकै थियो। निर्बाध रूपमा। शिष्यहरूको ओइरो लागिरहेकै थियो। अभिभावकहरूले पनि पाठशालामा आफ्ना सन्तान/दरसन्तानहरूलाई छिराउँदा ज्ञानको अथाह सागरमा विचरण गर्नेछन् भन्ने दृढभाव राखेका थिए। स्थिति ठीकठाक, सही सलामत नै चलिरहेको थियो। अचानक बन्द भयो, गोविन्द भट्टको पाठशाला।
एकदिन त एक जना ज्ञानी आए र हडबडाउँदै भने पनि, ‘मलाई ज्ञानको साह्रै अभाव भयो। अफसोचको विषय, यो संसारमा ज्ञानविना बाँच्न नसकिँदो रहेछ। मेरो खोपडीमा एक थोपा पनि ज्ञान बचेन। पूरै रित्तियो। कुनै भोकमरीमा परेको पीडितझैँ छु म अचेल। म झनै ज्ञानी हुन चाहन्छु। मलाई धेरैभन्दा धेरै ज्ञान दिनुपर्यो।’
गोविन्द भट्टको पाठशाला कुनै ज्ञानरूपी कारखाना थिएन, जहाँबाट एकाध घण्टामा लाखौँ ज्ञान उत्पादन गर्न सकियोस्। चाउचाउ कारखानाले घण्टामै लाखौँ प्याकेट चाउचाउ निकालेझैँ। त्यो पाठशालाबाट त ज्ञानका भिखारीहरूलाई मुठीभन्दा बढी ज्ञान दिन सकिँदैनथ्यो। ज्ञानका मगन्तेहरू भने मुरीका मुरी ज्ञान माग्दथे। उनीहरू भन्थे, ‘ज्ञानको भकारीमा आएपछि कम्तीमा पनि मुरीसम्म त पाउनुपर्यो नि!’
विडम्बना नै भन्छु म। पहिले पहिले गोविन्द भट्टको ज्ञानशालाबाट धेरैले मुरीका मुरी ज्ञान आर्जन गरेर आफ्नो मस्तिष्कलाई समृद्ध ‘ज्ञान-भकारी’ का रूपमा परिणत तुल्याए। बिस्तारै उनको ज्ञानशालाबाट ज्ञानार्जन गर्नेहरूले केवल बेइमानीको मखमली पर्दा टाँगेर आफ्ना झ्यालढोकाहरूलाई सिँगार्ने अभिरुचि मात्रै देखाए। र, अरूलाई ‘इमानदार बन्नुपर्छ है’ भन्दै नितान्त जड खालका ‘नैतिक शिक्षा’ का ‘चोकोफन’ हरू वितरण गरी भुल्याइरहे। धेरै ज्ञान उनीहरू आफूले नै लिए र अरूलाई ज्ञानविहीन तुल्याए, सानविहीन तुल्याए र तुल्याए मानविहीन पनि।
अन्ततः सबै ‘कारी’ अर्थात् परोपकारी, मनकारी, ज्ञानकारीहरूका माग पूरा गर्न नसकेपछि गोविन्द भट्टको पाठशालामा ताल्चा लाग्यो, हठात् रूपले एकदिन। यो निकै भयावह घटना थियो। सायद कुनै बेला मगध विश्वविद्यालयका ढोकाहरूमा यसरी नै ताल्चाहरूले आफ्नो सान-सौकात प्रदर्शन गरेका थिए।
००
यो अलि फरक कथा हो।
एकपटक केही झिँगाले गोविन्द भट्टलाई अति नै सताए। जति धपाए पनि झिँगाहरूले सताउन नछाड्ने रहेछन्! अति नै जब्बर प्रजाति। कहिले कोटको उपल्लो भागमा आएर बसेका छन्, कहिले वर्षौं पुरानो पाइन्टमा आएर ढेस्सिएका छन्। जहाँ पनि बस्या छन्। अटेरी पाराले। कहिले त उनको सम्भ्रान्त दाह्रीमा पनि बसेका छन्। कसरी हटाउने त्यस्ता जब्बर झिँगाहरूलाई? उनीसँग घिनलाग्दा झिँगाहरूलाई भगाउने चँगेज खानका जस्तै तरबारहरू थिएनन्। न त थिए, ती झिँगाहरूलाई ज्युँदै जलाउन सकिने हिटलरका जस्तै ग्यासच्याम्बरहरू। न त थिए, सिकन्दरका जस्तै हजारौँ सेनामेनाहरू!
गोविन्द भट्ट सर चीनमा रेडियो पेकिङको नेपाली भाषा अनुवादकमा नियुक्त भए। पक्कै थियो होला, राम्रै तलब, सुविधाहरू पनि। अपवादबाहेक त्यस समयमा प्रायः बुद्धिजीवी तप्काका मानिसहरू त्यस्तै विदेशी माध्यमतिर आकर्षित हुन्थे।
उनीसँग थिए केवल एक थान ‘माओकालीन’ कलम, कापी र केही शब्दहरू मात्र! मात्र शब्द-सारथिलाई विश्वासमा लिएर तिनीहरूमार्फत नै आफ्ना रथका पांग्राहरू गुडाउन सक्षम देखिन्थे उनी। सुधो पाराले सोचे उनले, ‘खैर, आज त केही थिएन, म मेरा वरिपरि भनभनाइरहेका यी निर्लज्ज झिँगाहरूलाई हटाउन सकुँला, तर भोलि मेरो दाह्रीमा अर्कै जब्बर झिँगा आएर बसिहाल्छ। बरु यी झिँगाहरू धपाउने कार्यमा समय लगानी गर्नुभन्दा कुनै गहन अध्ययन-अनुसन्धानतिर लाग्नु नै बेस होला!’
यो झिँगाहरूसँगको अन्तहीन संगतबाट पन्छिने सरल उपाय थियो। उनलाई प्रस्टै थाहा थियो, झिँगाहरूले फोहोरमैलाहरूका विस्तार एवं प्रसारणमा मुख्य भूमिका खेल्छन्। त्यही कारण उनी झिँगाहरूबाट टाढै बस्न रुचाउँथे।
जब उनी झिँगाहरूबाट पन्छिनका लागि अनेक उपाय खोज्थे, त्यही बेला उनको कानभित्र पस्न हानाथाप गर्थे, कनसुत्लाहरू। धेरै नै अटेर। वनगजुवाको रूप धारण गरेर। कनसुत्लाहरू आश्वासनको स्वादिष्ट मालपुवा उनीतिर सार्दै भन्थे, ‘भट्ट सर! तपाईंले हाम्रो कुरा सुनिदिनुस्, ग्रहण गरिदिनुस्, तपाईंलाई हामी …’
उनको कान पनि कहाँ अटेरी थिएन र? सुन्थे, सुन्थे र मनमनै गुन्थे र भन्थे मनमनै, ‘म कहाँ त्यस्तो प्राणी हुँ र? तिमेरुले चाहेअनुसार चल्ने खालका हुँ र? कहीँका उल्लुहरू!’
उनीभित्र उत्पन्न गम्भीर भावबोध बुझेपछि सत्तापोषित कनसुत्लाहरू उनका कानभित्र छिर्न हच्किन्थे। झिँगा, कनसुत्ला, उपियाँ, छिचिमिरा, सुलसुलेहरूबाटै जोगिएर उनले आफ्नै ढाँचाको पाठशालाको जग राखेका थिए। र, पढाए पनि अनेक शिष्यहरूलाई, वर्षौं-वर्षान्तरसम्म।
००
तात्कालिक समय। सोभियत संघ हुँदाकै कुरा। गोविन्द भट्ट सर चीनमा रेडियो पेकिङको नेपाली भाषा अनुवादकमा नियुक्त भए। पक्कै थियो होला, राम्रै तलब, सुविधाहरू पनि। अपवादबाहेक त्यस समयमा प्रायः बुद्धिजीवी तप्काका मानिसहरू त्यस्तै विदेशी माध्यमतिर आकर्षित हुन्थे।
त्यो शीतयुद्धले चुलीलाई चुमिरहेको बेला थियो। त्यस समय रेडियो पेकिङमा कार्यरतहरूमध्ये उनीसँगै एक जना अफगानी पनि रहेछन्। थिए, अरू मुलुकका प्रतिनिधि पनि। एकदिन एउटा विषय-प्रसंग उठ्दा एउटा देशका प्रतिनिधिले सहज रूपमा भनेछन्, ‘हाम्रो देशमा कुनै राज्य प्रमुख वा प्रधानमन्त्रीप्रति विरोध जनाउनुपर्यो भने विरोधीहरूले उनका पुत्ला बनाउँछन् र त्यही पुत्ला जलाउँछन्।’
अफगानिस्तानका ती प्रतिनिधिले सीधै भनेछन्, ‘यो त कुनै ठूलो कुरै भएन। हामीकहाँ त जसलाई जलाउनुपर्ने हो, उसको पुत्लासुत्ला बनाउने झन्झटतिर नलागी उसैलाई आगो लगाएर जलाइदिन्छन्।’
गोविन्द सरको यो कथनमा यथार्थ कति थियो, थाहा भएन। कुनै देशका जनताको आक्रोश र विरोधको प्रतिविम्ब भने यस्तै ठट्टामजाकमार्फत व्यक्त गर्थे। उनको ठट्टामजाकको शैली अलि बेग्लै ढाँचाको हुन्थ्यो। अर्थात् ठट्टासँगै जोडिएको यथार्थ।
गोविन्द भट्टको पाठशाला बन्द हुँदा र अरूहरूका पाठशालामा शिष्यहरूका अचाक्ली भिड लागेको देख्दा मलाई उदेक लागिरहेको छ। आखिर उदेक हुनुबाहेक मसँग के नै विकल्प बच्यो र!
उनी धूमपानका अति नै सोखिन। औँलामा सदैव च्यापिरहन्थे, एउटा न एउटा खिल्ली। यो अलिक पुरानै प्रसंग हो। साहित्यकार राम विनयको एउटा सम्झना उद्धृत गर्न सान्दर्भिक लाग्यो–
कवि नरेश शाक्य र म दुई जना वरिष्ठ साहित्यकारहरू महानन्द सापकोटा र गोविन्द भट्ट बस्नुभएको कोठामा गयौँ। भेटेरै कुरा गर्ने अपेक्षा बोकेर। त्यतिबेला गोविन्द भट्टले चुरोटको सर्को तानेर कोठामा धुवाँ फैलाउनुभएको थियो। महानन्द सापकोटाले झर्को मानेर कराउनुभयो। गोविन्द भट्टले ‘ल ल, गुरु म चुरोट निभाउँछु’ भनेर चुरोट निभाएको घटना मलाई अझै पनि झलझली याद आउँछ। गोविन्द भट्ट चुरोट पिउन माहिर हुनुहुन्थ्यो। चेनस्मोकर भनेजस्तै। प्रतिभाशाली कवि, लेखकको यो एउटा नशा नै हो कि? महाकवि देवकोटाको चुरोट पिउने बानी परेजस्तै।
००
सम्झनारूपी सिर्कनाहरूले हिर्काउँदा अचेल मभित्र कताकता उद्विग्न भाव-पाउलाहरू पलाइरहेका हुन्छन्। कतै चैत-वैशाखमा हुत्तिएर आउने आँधीहुरीले गोविन्द भट्टको पाठशाला-परिसर छेउछाउ हुर्किँदै गएका कलिला वृक्ष र त्यसका कलिला पाउलाहरूलाई लछारपछार त नपार्ला र? मसँग यस्तो प्रश्नलाई थुमथुम्याउने कुनै उपाय र विधिहरू छैनन्। तर, असंख्य प्रश्न कुँडुलो लागेर मनिर उपस्थित हुन्छन्, ‘किन गोविन्द भट्टको पाठशाला बन्द हुन पुग्यो? शिष्यहरूका संख्यामा कमी आएर हो कि समयानुकूल पाठ्यपुस्तक नै नभएर हो? वा, कुनै दक्ष, अनुशासित र राम्रा गुरुहरू नभएर? कि त शिष्यहरूमा अनुशासनको कमी भएर हो?’
समयको आँखीझ्यालबाट नियाल्दा प्रस्टै देखिरहेछु– गोविन्द भट्टको पाठशाला बन्द भएसँगै अरू थुप्रै ‘पाठशाला’ हरू भने खुलिरहेका छन्। गल्ली गल्ली, चोक चोक, बाटा बाटा, सुसभ्य महलहरू, क्याफे, पाँचतारे, सपिङ मल, पार्टी कार्यालयहरू वा पूरै विश्व बजारभरि खुलिरहेछन् अनेक पाठशालाहरू।
गोविन्द भट्टको पाठशाला बन्द हुँदा र अरूहरूका पाठशालामा शिष्यहरूका अचाक्ली भिड लागेको देख्दा मलाई उदेक लागिरहेको छ। आखिर उदेक हुनुबाहेक मसँग के नै विकल्प बच्यो र!
००