सुर्खेत। कर्णाली प्रदेशका पूर्वसामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीको निधन भएको छ।
उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उनको सोमबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। ७१ वर्षीय उनी मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए।
बराहताल गाउँपालिका ६‚ बिउरेनीका बुढाक्षेत्री २०७४ सालको प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसबाट समानुपातिकतर्फ सदस्य बनेका थिए। सोहीबेला उनी कर्णाली प्रदेशको सामाजिक विकासमन्त्री थिए। एउटै मन्त्रालयमा उनले दुई कार्यकाल मन्त्रीका रुपमा बिताएका थिए।
कांग्रेसको राजनीतिमा पञ्चायतकालदेखि सक्रिय बुढा पूर्व क्षेत्रीय सभापतिसमेत हुन्। उनी एक कार्यकाल जिल्ला समितिको उपसभापति थिए। यतिबेला उनी कांग्रेसको महासमिति सदस्य थिए।