कैलाली। गृहमन्त्री ओमप्रकाश अर्यालले कैलाली र कञ्चनपुरको सिमानामा पर्ने नेपाल-भारतको गौरीफन्टा नाकाको स्थलगत निरीक्षण गरेका छन्।
मंगलबारबाट सुरु हुने सुदूरपश्चिम प्रदेश स्तरीय सुरक्षा गोष्ठीका लागि सोमबार धनगढी पुगेका अर्यालले गौरीफन्टा नाका अवलोकनसहित कैलालीकै त्रिनगर भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको कञ्चनपुरको डोके बोर्डर आउट पोस्टको पनि निरीक्षण गरे। उनले त्यहाँको समग्र स्थितिको जानकारी लिए।
अवलोकनका क्रममा मन्त्री अर्यालले गौरीफन्टा नाकामा र अन्य अवैध नाकाबाट हुने राजस्व चुहावटका पहलकदमीलाई अझै कडाइ गर्न निर्देशन दिए। नियमित, संगठित र व्यावसायिक रुपमा भन्सार छली गरी मालवस्तु भित्र्याउने व्यक्ति समूहलाई पहिचान गरी त्यसको निगरानी बढाउनसमेत मन्त्री अर्यालले सम्बन्धित भन्सार तथा सुरक्षा निकाय प्रमुखहरुलाई निर्देशन दिए।

गौरीफन्टा नाकामा मन्त्री अर्यालले भारतीय सीमा सुरक्षा बलका प्रहरी अधिकारीहरुसँग पनि केहीबेर कुराकानी गरेका थिए। यस्तै उनले सीमाबाट नेपाली चेलीहरुको अवैध ओसारपसार नियन्त्रणका प्रयासबारे पनि चासो राखेका थिए।
यस्तै मन्त्री अर्यालले आजै कञ्चनपुरको चाँदनी-दोधारा १ मा निर्माण हुन लागेको सुक्खा बन्दरगाहको निरीक्षण गरे। त्यस क्रममा मन्त्री अर्यालले ठेकेदार कम्पनीसँग र सीमामा रहेका नेपाली जनतासँग बाढी र डुबानले पार्ने समस्याबारे कुराकानी गरेका थिए।