काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१५ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणमा युवाहरूको व्यापक प्रतिनिधित्व गर्ने भएको छ। पुसमा महाधिवेशन गर्ने निर्णयमा पुगेको पार्टीले नयाँ क्रियाशील सदस्यता वितरण गर्दा १८ देखि ३० वर्षका युवालाई विशेष प्राथमिकतामा राखेको केन्द्रीय सचिव कृष्ण पौडेलले बताए।

महाधिवेशनको मिति तय भएसँगै कांग्रेसले नयाँ क्रियाशील सदस्यता विवतरणको तयारी गरेको छ। जसअनुसार केन्द्रबाट नयाँ क्रियाशील सदस्यता फाराम वितरण २० मंसिरभित्र हुनेछ। प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति हुँदै वडासम्म नयाँ क्रियाशील सदस्यको फाराम २४ मंसिरभित्र पठाइनेछ।

एकमात्र निर्वाचन क्षेत्र भएका जिल्ला र दुई वा दुईभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यताको कार्य ८ पुसभित्र सम्पन्न गरिनेछ।

कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणको मापदण्डसमेत बनाएको छ। मापदण्डअनुसार प्रतिनिधिसभाको क्षेत्रमा १४औं महाधिवेशनमा कायम रहेको क्रियाशील सदस्य संख्याको शतप्रतिशत क्रियाशील सदस्यता फाराम उपलब्ध गराइनेछ। यसका अतिरिक्त वडाको जनसंख्या, मतदाता र क्रियाशील सदस्यताको अनुपातमा आवश्यकताअनुसार थप माग भएबमोजिम सदस्यता वितरण गर्न सक्ने गरी फाराम उपलब्ध गराइनेछ।

वडाको जनसंख्याभित्र पनि महिला, आदिवासी जनजाति, दलित, मधेसी, खस आर्य, थारू, मुस्लिम, अल्पसंख्यक, अपांगताको जनसंख्यालाई मध्यनजर गरी समानुपातिक/समावेशी प्रतिनिधित्वलाई ध्यान दिइने पौडेलले बताए।

यो पनि…

देउवा सक्रियताको अर्थ

समाजमा विभिन्न पेसागत बुद्धिजीवी तथा सामाजिक कार्यमा संलग्न व्यक्तिलाई प्राथमिकतामा राखिनेछ। निर्वाचनको समयमा पार्टी र उम्मेदवारको पक्षमा मत जुटाउने अभियानमा संलग्न व्यक्तिलाई पार्टीले आयोजना गरेको प्रशिक्षण, गोष्ठी, अन्तर्क्रियालगायत राजनीतिक, सामाजिक, सांस्कृतिक एवं विविध रचनात्मक कार्यक्रममा सहभागी भएका व्यक्ति, भ्रातृ संघका माध्यमबाट विकास निर्माण र अन्य सामाजिक कार्यमा सक्रिय व्यक्तिलाई क्रियाशील सदस्यता प्रदान गर्न प्रबन्ध मिलाइनेछ।

राष्ट्रिय मान्यताप्राप्त अन्य राजनीतिक दलबाट कांग्रेस प्रवेश गर्ने व्यक्तिलाई अनिवार्य कांग्रेस क्रियाशील सदस्यता दिइनेछ।

यो पनि…

यस्तो छ कांग्रेस महाधिवेशनको कार्यतालिका