काठमाडौँ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरीलाई बन्धक बनाएर कुटपिट गरेको आरोपमा दुईजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका २० का ४१ वर्षीय नीरज चित्रकार र काठमाडौं महानगरपालिका १० का ४० वर्षीय राजकुमार क्षेत्री छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो।
जेन-जी आन्दोलनका क्रममा काठमाडौं २४‚ विशालनगरस्थित अपराध अनुसन्धान कार्यालयको पीसीसीबी जनसेवाबाट खटिएका प्रहरीलाई बन्धक बनाएर कुटपिट भएको थियो। प्रहरी कुटपिटमा संलग्न रहेको देखिएपछि पक्राउ गरिएको कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले बताए। त्यसदिन एकजना सहायक हवल्दार र एकजना प्रहरी सहायक निरीक्षकमाथि कुटपिट भएको थियो।
कुटपिटपछि प्रहरी कर्मचारीको धनमालसमेत लुटपाट भएको आचार्यले बताए। पक्राउ परेकामध्ये नीरज यसअघि ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ परेका थिए। दुवैलाई जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको छ।