सप्तरी। कोसीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा सप्तरीको कञ्चनरुप नगरपालिका ५ का ६५ वर्षीय नारायण खङ्ग रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घरदेखि करिब एक किलोमिटर टाढा रहेको खेतमा काटिएको धान हेर्न गएकाबेला उनलाई आज (बिहीबार) जङ्गली हात्तीले आक्रमण गरेको थियो।
यस्तै कोसीटप्पु वन्यजन्त आरक्षबाट निस्कने जङ्गली हात्तीको आक्रमणबाट बर्सेनि दुई/तीनजनाको ज्यान जाने गरेको स्थानीय बासिन्दाको भनाइ छ।
हात्ती आक्रमणबाट त्रसित र पीडितले नियन्त्रणको माग गर्दै त्यस क्षेत्रका बासिन्दाले पटकपटक स्थानीय प्रशासन र आरक्ष प्रशासनलाई ज्ञापनपत्र बुझाए पनि ठोस पहल हुन नसकेको स्थानीयको गुनासो छ।