नारायणगोपाल विशेष
गीत संगीतमा संगत–सत्संगलाई महत्त्व दिने नारायणगोपालका लागि लेखन र सम्पादन पनि ‘सामूहिक कर्म’ कै अंश थियो। वर्तमान संगीत क्षेत्रलाई हेर्दा अहिले त्यो सामूहिक भावना कमजोर भएको महसुस हुन्छ।
‘कसै कसैले बेथोभेनसित पनि उनलाई (मोजार्टलाई) तुलना गरेको हामी पाउँछौँ। एकदुई वटा कुरामा दुवैको मेल खान्छ होला, तर बेथोभेन र मोजार्टमा हामी त्यत्तिकै विरोधाभास पाउँछौँ जत्तिको समुद्रको छालको माझ सदियौँदेखि ठिंग उभिराखेको ठूलो चट्टान र पहाडी खोलाको किनारमा फुलेको एउटा सुन्दर फूल। भन्ने हो भने बेथोभेन विद्रोही र क्रान्तिकारी थिए भने मोजार्ट शान्तिप्रिय तथा निराशावादी।’
नारायणगोपालले बागीनाको पूर्णांक १७-१८ मा विश्वका दुई महान् संगीतकार मोजार्ट र बेथोभेनबीच तुलना गर्दै लेखेका हरफ हुन् यी। यसमा नारायणगोपालको विश्वसंगीतप्रतिको रुचिसँगै लेखन शैली पनि प्रकट भएको छ।
बागीना पत्रिकाका पुराना पाना पल्टाउँदा नारायणगोपालका अन्य लेखहरू पनि फेला पर्छन् जसमा ‘‘कालो ठेकी’ : विस्मृतिको घेराबाट’, ‘घण्टा बज्छ विश्वभरि’, दुई खण्डमा लेखिएका ‘ऐतिहासिक यात्रा : सांस्कृतिक यात्रा उत्तर कोरियाको’ जस्ता शीर्षकका लेख रचना प्रकाशित छन्।
गीत बनाउने र गाउने कामलाई नै नारायणगोपालले सुरु र अन्त्य मानेनन्। कलालाई बौद्धिक कर्मका रूपमा समेत आत्मसात् गरे।
नारायणगोपाल नेपाली संगीत र विश्वसंगीतबारे के सोच्थे? संगीत उनका लागि के थियो? संगीतमार्फत उनको खोज के थियो? उनका सिकाइ र अभ्यासका स्रोत र प्रेरणा के थिए? बागीना पत्रिकामा प्रकाशित नारायणगोपालका लेखहरूमा यसको जवाफ भेटिन्छ।
बागीना अर्थात् बाजा, गीत र नाचविशेष पत्रिका। तीन अक्षर र विधाको यो पत्रिका पनि संगीत क्षेत्रमा सक्रिय तीन जना नारायणगोपाल, गोपाल योञ्जन र नगेन्द्र थापाको पहलमा सुरु भएको थियो।
कात्तिक २०३० देखि त्रैमासिक पत्रिकाका रूपमा प्रकाशन भएको बागीनाको पहिलो अंकअनुसार यसका सम्पादक नारायणगोपाल थिए भने प्रकाशकमा गीतकार नगेन्द्र थापा र व्यवस्थापकमा संगीत शब्द र स्वरका त्रिवेणी गोपाल योञ्जन। तेस्रो अंकसम्म आइपुग्दा नारायणगोपाल सम्पादक तथा प्रकाशक बने, गोपाल योञ्जन र नगेन्द्र थापा व्यवस्थापक। पछिल्ला अंकहरूमा नारायणगोपाल सम्पादक, प्रकाशक र व्यवस्थापकसमेतको भूमिकामा संलग्न रहे।
बागीनाको पहिलो सम्पादकीयले भन्छ, “नेपाली बाजा, गीत र नाचका क्षेत्रमा के कस्ता अर्घेलाहरू छन्, अभावहरू छन्। के कस्ता बाधा र विकृतिहरू छन् अनि के कस्ता सम्भावना पहिल्याउन कुन बाटो अपनाउन, कस्तो लक्ष्य र उद्देश्य राख्न हामी कसरी आपसमा विचारको आदान–प्रदान गर्न सक्छौँ, सामूहिक प्रयासको दिशा निश्चित गर्न सक्छौँ भन्ने उद्देश्य र प्रेरणाले नै ‘बागीना’ को जन्म भएको हो। ‘बागीना’ रंगमंच हो– नेपाली ललित कलाको। ‘बागीना’ आह्वान हो सामूहिक उत्तरदायित्वको।”
सम्पादकीयले नारायणगोपाल (र, उनका मित्रद्वय नगेन्द्र र गोपाल)को उद्देश्य केवल गीत सिर्जना गर्नु वा गाउनुमा सीमित थिएन। उनीहरूका लागि आफ्ना सिर्जना विचारको आदानप्रदान गर्ने माध्यम थियो। विधागत विकासमा सामूहिक जिम्मेवारीवहन गर्ने दायित्वबोध पनि थियो।
यही कारण गीत बनाउने र गाउने कामलाई नै नारायणगोपालले सुरु र अन्त्य मानेनन्। कलालाई बौद्धिक कर्मका रूपमा समेत आत्मसात् गरे। आफूले पनि लेखे र अरूलाई पनि लेखाए। विचार मन्थनको यो प्रक्रियामा नारायणगोपालले बागीनामा स्वदेशी-विदेशी कला, सर्जक र आफ्नै सांगीतिक विदेश यात्राको संस्मरणसमेत लेखे।
बागीनाको वर्ष १ अंक ३ मा छापिएको ‘‘कालो ठेकी’ : विस्मृतिको घेराबाट उस्ताद साहिंला’ उपनामले ख्याति कमाएका गायक अष्टमान श्रेष्ठबारे लेखिएको आलेख हो।

पुस्तक बागीना
यसमा नारायणगोपालको आफूभन्दा अग्रज पुस्ताका संगीतकर्मीप्रतिको अभिरुचि प्रकट भएको छ। यो लेख उनले उस्ताद साइँलाका छोरा गायक रत्नमानलाई भेटेपछि लेखेका हुन्। नारायणगोपालले उस्ताद साइँलाको व्यक्तित्वको झलक सूक्ष्म रूपमा चित्रण गरेका छन्– ‘म यस्तै दस, एघार वर्षको हुँदो हुँ त्यतिबेला जुन बखत मेरा पिताज्यू (उस्ताद आशागोपाल)–को सांगीतिक बैठकमा सम्मिलित हुन आउने धेरै उस्तादहरूमध्ये एक जना केही दुब्लो, केही पुड्को, खैरोमा अलि अलि सेतो मिसिएको जुँगा पालेको, कमिज सुरुवाल र नेपाली टोपी लाउने, पान चपाउँदै लौरो टेकी हिँड्ने अनि निधारमा रातो टिको लगाइराख्ने व्यक्तिलाई सम्झन पुग्छु। उनको शुभ नाम हो अष्टमान श्रेष्ठ।’
उस्ताद साइँलालाई स्मरण गर्नुपर्ने सन्दर्भ जोड्दै उनी थप लेख्छन्– ‘‘कालो ठेकी’ उनको जीवनको एउटा यस्तो झ्याउरे गीत हो जसलाई उनका समकालिन उस्ताद तथा गायकहरूले त के उनी स्वयम्ले पनि उछिन्न सक्दैनन्। नेपाली Hit song को इतिहासमा ‘कालो ठेकी’– को क्रमाङ्क प्रथम पंक्तिमा त आउँछ नै अनि यही गीतले गर्दा उसको उपनाम पनि कालो ठेकी साहिंला रहन गएकोमा आश्चर्य मान्नु पर्ने केही देखिँदैन।’’
बागीनाको पूर्णांक १६ बाजा विशेषांक थियो। यसमा नेपाली मौलिक तथा परम्परागत बाजालगायत विदेशका विविध बाजासम्बन्धी सामग्री समावेश छन्। यही अंकमा नारायणगोपालले ‘घण्टा बज्छ विश्वभरि’ शीर्षकको लेखमा घण्ट (घन्टी)को महत्त्व उजागर गरेका छन्।
इतिहासमा गहन रुचि राख्ने नारायणगोपालले नेपालको कोतपर्वदेखि विश्वयुद्धसम्मका सन्दर्भको उल्लेख गर्दै युद्ध, पशुबलिदेखि खतराको जनाउ दिनसमेत घण्ट प्रयोग हुने उदाहरणहरू पेस गरेका छन्। घण्टको महिमाबारे उनी लेख्छन्, ‘विभिन्न उद्देश्यका लागि घण्टाभन्दा बढी प्रचलित सायद अरू कुनै बाजा छैन।’
नेपालमा ‘म्युजिक लिटरेसी’ बढाउनु बागीनाको मुख्य उद्देश्यमध्ये एक थियो। बागीनाका सम्पादकीय पढ्दा थाहा हुन्छ, उनीहरू तत्कालीन समयमा कला, साहित्य र संस्कृतिको जिम्मा लिएका रेडियो नेपाल, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थानजस्ता संस्थाभित्रका विकृतिका आलोचकसमेत थिए।
विश्वभरि संगीतमा घण्टको महत्त्व बुझी यसलाई बाजाका रूपमा प्रयोग गरिएको सन्दर्भ प्रस्तुत गर्दै उनले विभिन्न देशका उदाहरण दिएका छन्। नेपालमा भने घण्ट पूजाकोठा र मन्दिरमा सीमित भएको भन्दै रेकर्डमा समेत बजाउनुपर्ने जोड दिएका छन्। नारायणगोपालमा विश्व इतिहासप्रति विशेष रुचि थियो। यस लेखमा नारायणगोपालको संगीत चेत मात्र नभई राजनीतिक र ऐतिहासिक चेत पनि झल्किएको छ।
असार २०३५ मा नारायणगोपालसहित ६० जना कलाकार उत्तर कोरिया प्रस्थान गरेका थिए। उत्तर कोरियाली सरकारको निमन्त्रणामा सांस्कृतिक कार्यक्रममा सहभागी टोलीमा नातिकाजी, शिवशंकर मानन्धर, तारादेवी, मीरा राणा, भक्तराज आचार्य, सुभद्रा अधिकारी, बसुन्धरा भुसाल, रुबी जोशी, उदितनारायण झालगायत थिए।
यो सांस्कृतिक यात्राको संस्मरणमा नारायणगोपालको हास्यरस, जिज्ञासु स्वभाव, कलाप्रेमका विभिन्न भाव आएका छन्। उनले काइँ भाइ उपनामले बोलाउने रुबी जोशीको हुलिया र स्वभाव यसरी उतारेका छन्– ‘ए, त्यो स्ट्राइप बुशर्ट लाउने पुड्को मान्छे को हँ? उसले बडो फूर्तिसाथ यासिका क्यामेरा पनि भिरिराखेको छ। चश्मा पनि कस्तो झिल्के, हेर न! ओह! रुबीजी रहेछ। मान्छे अत्यन्तै चंखे छ प्याच्च केही नभनिहाल्नुहोला, मुखभरिको जवाफ पाउनुहुन्छ। हँसाउनमा माहीर, काइँ भाइको जन्म जात बैरी छेडखानीमा।’
विदेश यात्राका क्रममा आफ्नो परिवार सम्झँदै उनी लेख्छन्, ‘घरदेखि टाढा भएपछि मन एक प्रकारको हुँदो रहेछ। बिहान पाँच बजे नै बिउँझें। पेमुलाई सम्झेँ, आमा अनि स्व. बुबालाई सम्झें; नाचघर र साथीहरू सबै एकचोटि सम्झें।’
बागीनाभित्र यसका सम्पादन र प्रकाशन समूहका तीनै जना नारायणगोपाल, गोपाल योञ्जन र नगेन्द्र थापाका लेखहरूसमेत प्रकाशित हुन्थे।

बायाँबाट दोस्रो नगेन्द्र थापा, तेस्रो गोपाल योञ्जन र पाँचौँमा नारायणगोपाल। तस्बिर : संगीतकार टीका भण्डारीको फेसबुक
नेपालमा ‘म्युजिक लिटरेसी’ बढाउनु बागीनाको मुख्य उद्देश्यमध्ये एक थियो। बागीनाका सम्पादकीय पढ्दा थाहा हुन्छ, उनीहरू तत्कालीन समयमा कला, साहित्य र संस्कृतिको जिम्मा लिएका रेडियो नेपाल, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, सांस्कृतिक संस्थानजस्ता संस्थाभित्रका विकृतिका आलोचकसमेत थिए।
स्वतन्त्रता, सिर्जनशीलता र मौलिकताका पक्षधर नारायणगोपालहरू नेपाली संगीतको प्रवर्द्धन गर्न क्रियाशील थिए। तर, नेपाली संगीतलाई विश्वसंगीतको सन्दर्भमा हेर्नुपर्ने/बुझ्नुपर्ने कुरामा स्पष्ट पनि थिए।
लेखक-सम्पादक नारायणगोपाललाई पढ्दा यस्तो लाग्छ– विगत ३५ वर्षदेखि हरेक १९ मंसिरमा नारायणगोपाललाई स्मरण गर्दा कतै त्यो सामूहिक भावना बिर्सिएका त होइनौँ?
१९ मंसिर २०४७ मा नारायणगोपालको निधन भएपछि नारायणगोपाल संगीत कोषले बागीनाः नारायणगोपाल स्मृति अङ्क प्रकाशित गर्यो। यही अंकमा कमल दीक्षितले नारायणगोपालले बागीना प्रकाशन गर्ने कारणबारे लेखेका छन्। उनका अनुसार २०३० साल पुग्दानपुग्दै नारायणगोपाललाई नेपाली संगीत आकाशको उचाइमा आफू धेरै माथि पुगिसकेको बोध भइसकेको थियो। संगीतको शिखर उक्लिसकेपछि उनले साहित्यको शिखर ताके। उनी लेख्छन्, ‘बागीना त्यसको सोपान थियो, खुड्किलो थियो, भर्याङ थियो।’
सुरुका केही अंक राम्रोसँग चले पनि बागीना करिब पाँच वर्षको दौरान जम्मा २२ अंक निस्किएर बन्द भयो। बाजा, गीत, नाचसम्बन्धी लेखको अभाव, पाठक र विज्ञापनको अभाव, आर्थिक अभावजस्ता कारण यो लामो समय चल्न नसकेको देखिन्छ। दीक्षितका अनुसार बागीनाको ‘मृत्यु’ ले नारायणगोपाललाई निकै चोट पुर्यायो। उनी लेख्छन्, ‘एउटा शिखर छोइसकेको व्यक्तिलाई आफ्नो सानो असफलता ‘इन्लार्ज’ भएर देखा पर्छ। नारायणगोपाललाई त्यस्तै भयो।’
लामो समय नचले पनि बागीनामा राष्ट्रिय-अन्तर्राष्ट्रिय कला-संस्कृतिसम्बन्धी विभिन्न पक्षबारे विचार, टिप्पणी र अन्तर्वार्ताहरू समावेश हुन्थे। तिनमा स्थापित गायक, संगीतकार, कलाकार, समीक्षक, बुद्धिजीवीदेखि सर्वसाधारणका विचार र भावनाले स्थान पाएका थिए।
पहिलो सम्पादकीयमा जोड दिइएजस्तै बागीना सामूहिक प्रयासको उपज थियो। गीतसंगीतमा संगत-सत्संगलाई महत्त्व दिने नारायणगोपालका लागि लेखन र सम्पादन पनि ‘सामूहिक कर्म’ कै अंश थियो। वर्तमान संगीत क्षेत्रलाई हेर्दा अहिले त्यो सामूहिक भावना कमजोर भएको महसुस हुन्छ।
लेखक-सम्पादक नारायणगोपाललाई पढ्दा यस्तो लाग्छ– विगत ३५ वर्षदेखि हरेक १९ मंसिरमा नारायणगोपाललाई स्मरण गर्दा कतै त्यो सामूहिक भावना बिर्सिएका त होइनौँ?

नारायणगोपालको डायरी र उनको हस्तलिखित अक्षर। तस्बिर सौजन्य : अनिता भेटवाल
यहाँ उल्लेख भएका लेखहरू नारायणगोपालको लेखनका केही झलक मात्र हुन्। नारायणगोपालका १९ वटा डायरीभित्रका सामग्री, सन् १९६५ देखि १९७० बीचका नारायणगोपाल र पेमलाबीचका प्रेमपत्रहरू, बागीनामा लेखेका लेख र सम्पादकीयहरूसहितको उनको किताब प्रकाशनको तयारीमा छ। सो पुस्तकको सम्पादनसमेत गरेका बुकहिलका प्रकाशक भूपेन्द्र खड्का नारायणगोपालको लेखनबाट आफू निकै प्रभावित भएको बताउँछन्। “नारायणगोपालको चिठी वा डायरी पढ्दा उनी यति एउटा अब्बल कवि र गीतकारजस्ता लाग्छन्। गीत-कविता असाध्यै बुझ्ने। यसबाट भन्न सकिन्छ नारायणगोपालले अरूका राम्रा गीत पाएर सफल भएका होइनन्,” गीतकारसमेत रहेका खड्का भन्छन्, “ती गीत उनले सुझबुझका साथ छनोट गरेका हुन्।”
अपेक्षा गरौँ, प्रकाशोन्मुख यस पुस्तकले नारायणगोपालको लेखक व्यक्तित्वलाई थप उजागर गर्नेछ।