काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

स्वास्थ्य

प्रणालीगत ढिलाइले लक्षण देखिएको १० महिनासम्म पनि बिरामीले पाउँदैनन् उपचार

१९ मंसिर २०८२
रेडियोथेरापी गरिरहेकी क्यान्सरपीडित। तस्बिर स्रोत : बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल
अ+
अ-

काठमाडौँ, सोह्रखुट्टेस्थित नयाँ बजारकी एक ५८ वर्षीया महिलालाई एक वर्षअघिदेखि नै टाउको दुख्ने र चक्कर लाग्ने भइरहन्थ्यो। सुरु सुरुमा उनले यसलाई खासै ठूलो समस्या मानिनन्। तर, समस्या बढ्दै गएपछि भने ६ महिनाअघि अस्पताल पुगिन्। त्यतिबेला उनी छाँगाबाट खसेझैँ भइन्। उनलाई क्यान्सरजन्य ब्रेन ट्युमर भएको थियो, त्यो पनि चौथो स्टेजको।

६ महिनायता उनी वीर र निजामती अस्पताल (सिभिल)को चक्कर काटिरहेकी छन्। सिभिलमा तीन महिनादेखि उनको रेडिएसन थेरापी चलिरहेको छ।

रोग लागेदेखि उनको उपचारमै सात लाख रुपैयाँजति खर्च भइसक्यो। क्यान्सर अन्तिम चरणमा भएकाले निको हुने सम्भावना अत्यन्तै न्यून छ। तर, जीवन लम्ब्याउन हरसम्भव प्रयास गरिरहेकी छन्। “समयमै अस्पताल आएको भए निको हुन्थ्यो होला,” उनी आफ्नो थकथकी सुनाउँछिन्, “समयमै थाहा पाउन सकेको भए पैसा र ज्यान दुवै जोगाउन सकिन्थ्यो।”

२५ प्रतिशत बिरामीले उपचार सुरु गर्न औसतमा ६ महिनाभन्दा बढी कुर्नुपरेको थियो। क्यान्सरको उपचारमा ६ महिना कुर्नु डरलाग्दो तथ्य रहेको अध्ययनले भनेको छ।

काभ्रेको नमोबुद्ध नगरपालिकाकी ४२ वर्षीया महिलाको व्यथा पनि उस्तै छ। पाँच वर्षअघि उनको स्वास्थ्य बिग्रिएको थियो। तर, उनले त्यसलाई बेवास्ता गरिन्। तीनचार महिनापछि भने स्थिति थप जटिल हुँदा उनी धुलिखेल अस्पताल पुगिन्। अस्पतालले त्रिवि शिक्षण अस्पताल रिफर गर्‍यो। त्यहाँ पुगेपछि मात्र आफूलाई आन्द्रामा क्यान्सर भएको उनले थाहा पाइन्। अहिले उनी क्यान्सरको ट्युमर सुकाउन सिभिल अस्पताल धाइरहेकी छन्। पाँच वर्षमा उपचारमा मात्र उनको २२ लाख रुपैयाँ सकिइसक्यो।

यी दुई मात्र होइन, व्यक्तिगत हेलचेक्र्याइँ, प्रणालीगत ढिलाइ, आर्थिक अभावलगायत विभिन्न कारणले नेपालमा अधिकांशले निकै पछि मात्र आफूलाई क्यान्सर भएको थाहा पाउने गरेका छन्।

डरलाग्दो प्रणालीगत ढिलाइ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) अन्तर्गतको अन्तर्राष्ट्रिय क्यान्सर अनुसन्धान संस्थान (आईएआरसी)का वैज्ञानिक डा. दीपेन्द्र सिंह नेतृत्वको टोलीको बीएमजे जर्नलमा गत २४ कात्तिकमा प्रकाशित एक अध्ययनअनुसार पहिलो चरणको लक्षण देखिएको एक महिनासम्म पनि बिरामी ‘के गर्ने, कता जाने’ कै अन्योलमा हुने गरेको उल्लेख गरेको छ।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा गरिएको उक्त अध्ययनअनुसार लक्षण देखिएर स्वास्थ्य संस्थामा पुगिसकेपछि पनि क्यान्सर भनेर पुष्टि गर्न औसतमा ४८ दिन लाग्ने गरेको छ। व्यक्तिगत नभई प्रक्रियागत झन्झट तथा स्रोतसाधनको अभाव, रिपोर्ट कुर्नुपर्ने तथा विशेषज्ञको अभावले हुने यस्तो ढिलासुस्तीलाई प्रणालीगत ढिलाइ भनिन्छ। यस्तै लक्षण देखिएदेखि क्यान्सर पुष्टि भई उपचार सुरु हुनुअघि औसतमा चार महिनाभन्दा बढी समय बिरामीले पर्खिनुपर्ने उक्त अध्ययनमा उल्लेख छ।

बीपी कोइराला मेमोरियल अस्पताल। तस्बिर : अस्पतालको वेबसाइट

अध्ययनमा उल्लेख भएअनुसार २५ प्रतिशत बिरामीले उपचार सुरु गर्न औसतमा ६ महिनाभन्दा बढी कुर्नुपरेको थियो। क्यान्सरको उपचारमा ६ महिना कुर्नु डरलाग्दो तथ्य रहेको अध्ययनले भनेको छ।

अध्ययनअनुसार ठूलो आन्द्राको क्यान्सर भएका केही बिरामीमा त लक्षण देखिएको १० महिनासम्म पनि उपचार सुरु हुनै नसक्ने अवस्था पाइएको थियो। यो अवस्थासम्ममा क्यान्सरले बिरामीको स्वास्थ्य थप जटिल बनाइसकेको हुन्छ। १० महिनापछि उपचार सुरु हुनु उपचार नै नपाउनुसरह भएको चिकित्सकहरू बताउँछन्।

अध्ययनमा सहभागी बिरामीमध्ये ५० प्रतिशतले पहिलोपटक स्वास्थ्यकर्मी भेट्नै एक महिना कुर्नुपरेको समेत पाइएको छ।

सिभिल अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा. सुवास पण्डित आम नागरिकमा क्यान्सरसम्बन्धी सचेतना कम हुँदा पहिले त उनीहरू नै उपचारका लागि ढिलो अस्पताल आउने गरेको बताउँछन्। त्यसमाथि नेपालका अस्पतालहरूमा क्यान्सर पत्ता लगाउने उपकरण, जनशक्ति तथा ल्याब कम हुनुले पनि समस्यालाई थप जटिल बनाएको उनको भनाइ छ। “फोक्सो, आन्द्रा र पेटको क्यान्सर पत्ता लगाउन समय लाग्छ,” उनी भन्छन्, “धेरै बिरामी तेस्रो र चौथो चरणमा आउने गर्छन्, निको हुने सम्भावना कम हुन्छ।”

बेवास्ताले रोग पहिचानमै ढिलाइ

अध्ययनअनुसार ५० वर्षभन्दा कम उमेरको तुलनामा ७० वर्षभन्दा माथिका व्यक्तिलाई ढिलो अर्थात् एड्भान्स चरणमा क्यान्सर पत्ता लाग्ने सम्भावना १.६३ प्रतिशत बढी छ। पाका मानिसले क्यान्सरका लक्षणलाई उमेरले गर्दा हो भनेर बेवास्ता गर्ने सम्भावना बढी भएकाले रोग ढिलो पत्ता लाग्ने उक्त अध्ययन प्रतिवेदनमा भनिएको छ।

क्यान्सर रोग विशेषज्ञ डा. पण्डितका अनुसार प्रारम्भिक चरणमै पत्ता लागेमा क्यान्सर रोकथाम तथा उपचार गर्न सकिन्छ।

यस्तै, ब्राह्मण/क्षेत्रीको तुलनामा दलित समुदायका मानिसमा ढिलो रोग पत्ता लाग्ने जोखिम १.८० गुणा बढी पाइएको छ। जसले स्वास्थ्य सेवामा जातीय पहुँचको असमानतासमेत झल्काउँछ।

यसैगरी, महिलाको तुलनामा पुरुषमा क्यान्सरको जोखिम बढी भएको पनि अध्ययनमा पाइएको छ। यद्यपि, अध्ययनले पुरुष जोखिममा हुने कारणबारे विस्तृत अध्ययन गरेको छैन। स्वास्थ्यप्रतिको हेलचेक्र्याइँ, धूमपान तथा मद्यपान सेवनलगायत विभिन्न कारणले यसो भएको हुनसक्छ। अर्कातर्फ महिलाको तुलनामा पुरुषमा ३.१३ गुणा ढिलो क्यान्सर पत्ता लाग्ने गरेको पाइएको छ।

अध्ययनका अनुसार धेरै बिरामी ढिलो अस्पताल पुग्दा उपचारको विकल्प नै सीमित हुन्छ। साथै, उपचार पाइहालेमा पनि त्यसको सफलताको सम्भावना निकै कम हुन्छ।

रोकथाम गर्न सकिन्छ क्यान्सर

क्यान्सर रोग विशेषज्ञ डा. पण्डितका अनुसार प्रारम्भिक चरणमै पत्ता लागेमा क्यान्सर रोकथाम तथा उपचार गर्न सकिन्छ।

सामान्यतया पहिलो चरणमा पत्ता लागेमा ९० प्रतिशत, दोस्रो चरणमा ७० प्रतिशत, तेस्रो चरणमा ५० प्रतिशत र चौथो चरणमा पत्ता लागेमा पाँच प्रतिशतको क्यान्सर निको हुन्छ। तर, नेपालमा अधिकांश बिरामी तेस्रो र चौथो चरणमा अस्पताल पुग्ने हुँदा जोखिम बढेको उनको भनाइ छ। त्यसमाथि पनि प्रणालीगत ढिलाइ तथा आर्थिक अभावका कारण जोखिम झनै बढेको उनी बताउँछन्।

अध्ययनले क्यान्सर रोकथाम तथा जोखिम न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि, प्राथमिक स्वास्थ्य सेवासँग समन्वय, परीक्षण क्षमताको विस्तार, चुस्त उपचार प्रक्रिया र नियमित डेटा निगरानीलाई प्राथमिकतामा राख्न सिफारिस गरेको छ।

यता, परिवार कल्याण तथा रोग नियन्त्रण शाखाकी वरिष्ठ जनस्वास्थ्य अधिकृत निशा जोशी प्रारम्भिक चरणमै क्यान्सर पहिचान तथा रोकथामका लागि सरकारले ७७ जिल्लामै स्वास्थ्यकर्मीलाई नसर्ने रोगसम्बन्धी क्षमता अभिवृद्धिको तालिम दिइरहेको बताउँछिन्।

यस्तै, सरकारले विपन्न नागरिक औषधि उपचार कोषबाट क्यान्सरपीडितका लागि एक लाख रुपैयाँसम्मको औषधोपचारको व्यवस्था गरेको छ। प्रदेश सरकारले पनि थप एक लाखसम्मको उपचार सहायता प्रदान गर्दै आएको जोशी बताउँछिन्।

परिवार कल्याण शाखाका अनुसार सरकारले पाठेघरको क्यान्सर रोकथामका लागि ९ देखि १४ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई पनि राष्ट्रिय खोप कार्यक्रममा राख्ने तयारी गरिरहेको छ भने स्क्रिनिङ तथा रोकथामसम्बन्धी कार्य व्यवस्थित गर्न निर्देशिकासमेत जारी गरिसकेको छ।