काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१९ मंसिर २०८२
अ+
अ-

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री मदनप्रसाद परियार र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चेन सङबीच आज द्विपक्षीय भेटवार्ता भएको छ ।
त्यस क्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री परियारले नेपाल–चीनबीचको दीर्घकालीन मित्रता, विश्वास र सहकार्यलाई कृषि तथा पशुपन्छी विकास क्षेत्रमार्फत अझ गहिरो बनाउन प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।
मन्त्री परियारले आधुनिक, दिगो र जलवायुमैत्री कृषि प्रणाली विकास, उत्पादन वृद्धि तथा द्विपक्षीय व्यापार बिस्तारका लागि चीनको प्राविधिक, संस्थागत र व्यापारिक सहकार्य नेपालका लागि महत्त्वपूर्ण रहेको उल्लेख गरे । विभिन्न प्रोटोकल, अवधारणापत्र तथा सहकार्य संयन्त्रहरूको प्रभावकारी कार्यान्वयनका लागि दुवै देशबीच निरन्तर संवाद र साझेदारी आवश्यक रहेको पनि उनले बताए ।
मन्त्री परियारले नेपाल–चीन कृषि सहकार्यले नेपाली कृषक, ग्रामीण अर्थतन्त्र र समग्र राष्ट्रिय विकासमा प्रत्यक्ष योगदान पुर्याउने विश्वास नेपाल सरकारले लिएको धारणा राखे ।
राजदूत सङले कृषि क्षेत्रमा गर्न सकिने सहकार्य, क्षमता अभिवृद्धि, मिश्रित मल उत्पादन, रोगमुक्त भैँसीको मासु निर्यात र कृषि प्रदर्शन पार्क स्थापनाबारे चीन सकारात्मक रहेको बताएको थियो ।
दुवै पक्ष प्राविधिक सहयोग, लगानी र ज्ञान आदानप्रदानको महत्त्वमा जोड दिँदै नेपालको कृषि क्षेत्र सुदृढ पार्न र दिगो विकास प्रवर्द्धन गर्न आवश्यक रहेकामा सहमत भएका छन् ।