काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१९ मंसिर २०८२
प्रभु बैंकका सीईओ अशोक शेरचन र डेपुटी सीईओ मणिराम पोखरेल
अ+
अ-

काठमाडौँ। उच्च अदालत पाटनले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन र सहायक प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल, सीसीओ रिवाश श्रेष्ठ र राजेन्द्र शाक्यलाई अनुसन्धानका लागि दोस्रोपटक समय थपको अनुमति दिएको छ। न्यायाधीशहरू सोमकान्त मैनाली र केशवप्रसाद बास्तोलाको वाणिज्य इजलबासबाट आज (शुक्रबार) थप दुई दिनका लागि म्याद थपेको हो।

उच्च अदालतकी सूचना अधिकारी पार्वती हितानका अनुसार बैंकिङ कसुर मुद्दाको अनुसन्धान गर्न समय नपुगेको माग गरिएपछि थप दुई दिनका लागि हिरासतमा राख्ने अनुमति दिइएको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले शेरचन र पोखरेललाई १४ मंसिरमा काठमाडौँबाट पक्राउ गरेको थियो। बैंकिङ कसुरसम्बन्धी मुद्दामा ब्युरोमा उजुरी परेपछि चारैजनालाई प्रभु बैंकको केन्द्रीय कार्यालय बिजुलीबजारबाट गिरफ्तार गरिएको थियो।

यसअघि प्रहरीले प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन र लेखा प्रमुख हेमकुमार महाजूलाई पक्राउ गरेको थियो। भट्टचन हाजिरी जमानीमा छुटिसकेका छन्। सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठका अनुसार सोही प्रकरण अनुसन्धान सिलसिलामा शेरचनलगायतलाई पक्राउ गरेको हो।