काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

नारायणगोपाल विशेष

गहिरो साहित्यिक चेत भएका, त्यो जमानामा पनि नारीप्रति सम्मान गर्ने, अनुज पुस्तासँग हिमचिम राख्ने र आफ्नो कामप्रति केन्द्रित आदर्श व्यक्ति हुनुहुन्थ्यो- नारायणगोपाल दाइ।

१९ मंसिर २०८२
अ+
अ-

कतिपय सम्झना मनको कन्तुरमै जतनले राख्न मन पर्छ मलाई। एकान्तमा कन्तुर उघारेर ती सम्झनाका पन्नाहरू सुस्तरी पल्टाउन पनि मन पर्छ। नारायणगोपाल दाइसँग बित्न पाएका मेरा ती समयलाई त्यसैले मैले सम्हालेर राखेको थिएँ। सम्झनाको पनि मानिसको झैँ नियति हुन्छ सायद। कुनै विस्मृत हुन्छन्, कुनै सम्झिइन्छन्। कुनै सम्झनामा रहे तापनि सम्झनाकारको शवसँगै बिलाएर जान्छन् र कुनै सार्वजनिक हुन्छन्।

नारायणगोपालको सम्झना आउनेबित्तिकै मेरो स्मृतिको पर्दामा चुक घोप्टिएका अँध्यारा रातहरू सलबलाउन थाल्छन्। त्यो जमानामा रातहरू बाक्लो अँध्यारोले बेरिएका हुन्थे। अनि तिनै रातहरूमध्ये कुनै एक रातको कुरा हो, हाम्रो ट्रान्जिस्टरको ब्याट्री सिद्धिएको थियो। त्यस्तो बेला छिमेकमा बज्ने मर्फी रेडियोबाट जे बज्थ्यो, कान थापेर सुन्नुपर्ने हुन्थ्यो। त्यस रातको सन्नाटामा हठात् एउटा हृदयस्पर्शी आवाज गुञ्जियो– ‘सारा दिन अरूलाई बाँडेँ, सायद यी रात मेरा’। त्यस गीतले मेरो हृदय तत्काल कैद गर्‍यो। बालमनलाई केले प्रभाव पार्‍यो, मनोविश्लेषणको विषय होला।

जति उम्दा गीतकार थिए तिनको रचनालाई दाइले फेला पार्नुभयो र तिनलाई जीवन दिने शतप्रतिशत कोसिस गर्नुभयो। र, गीतभित्र कविताको स्थानलाई सधैँ सुरक्षित र समीप राख्नुभयो। भन्नुहुन्थ्यो पनि, ‘संगीतमा क्रान्ति ल्याउनुपर्छ, तर साहित्यसँग निकट रहेर।’

त्यसको धेरै अघि इन्द्रेणी रेकर्डस्‌ले निकालेको भाइनल डिस्कमा उहाँले गाएका ‘स्वर्गकी रानी’ र ‘भो भो नसोध’ मैले सुनिसकेको थिएँ। अझ ठूलो भएपछि सुनेको गीत थियो ‘यो मौसम, यो हरियाली’। जुन स्कुलबाट घर फर्कंदै गर्दा गाउँथेँ। र, उहाँका नयाँ गीतहरूको पर्खाइ रहन्थ्यो।

बच्चुकैलाश, हरिप्रसाद रिमाल, प्रेमध्वज, फत्तेमान र माणिकरत्नजस्ता एक से एक गायकहरूको बीचमा उदाएका थिए नारायणगोपाल। सबै मेरा प्रिय गायकहरूमध्ये पर्छन्। तर, दाइका गीतहरूले मेरो संगीत, गायन र रचनाको प्यास एकैपल्ट मेटिदिन्छ– चाहे त्यो ‘मलाई नसोध’ होस्, ‘केही मीठो बात गर’, ‘दुइटा फूल देउरालीमा’ या ‘मेरो बेहोसी आज’ होस्। म गीत पनि लेख्छु। गीत लेख्दा आँखा अघिल्तिर नारायणगोपालको छवि आउँछ। उहाँले अस्वीकार गर्नुहोला कि भन्ने डरले मेरो गीतलेखनलाई सघाएको छ र मलाई जिम्मेवार बनाएको छ। भनिरहनुनपर्ला, उहाँ रचनालाई बडो आलोचनात्मक दृष्टिले हेर्नुहुन्थ्यो।

सायद उहाँका गीतहरूले मलाई वशीभूत गर्नुको कारणहरूमध्ये उहाँको गीत चयन गर्ने शिल्प प्रमुख हुनसक्छ। उहाँले सिनेमाका लागि गाएका गीतबाहेक निजी तबरमा रेकर्ड गर्नुभएका गीतहरूमा यथेष्ट काव्यरस हुन्थे। सन् १९७० को दशकमा अधिकांश मुलुकहरूमा गरिएका रचनामा काव्यरस पाइन्छ, चाहे त्यो जोन लेननको ‘इम्याजिन’ होस्, बब डिलनको ‘हाउ मेनी रोड्स’ होस्। हिन्दुस्तानमा त कवि नै कविहरू सिनेमाका निम्ति काम गर्थे। तर, नेपालमा गीत रेकर्ड गर्ने चलन सुरु भएको ११७ वर्ष भयो। (सन् १९०८ मा सेतुरामले कोलकातामा ‘राजामती कुमती’ रेकर्ड गरेका थिए। यति छोटो नेपाली इतिहासमा यथेष्ट उम्दा गीतकारहरू नभेटिनु स्वाभाविकै हो। तर, नारायणगोपालले उत्कृष्ट रचनाहरू खोजीखोजी गाउनुभयो। जति उम्दा गीतकार थिए तिनको रचनालाई दाइले फेला पार्नुभयो र तिनलाई जीवन दिने शतप्रतिशत कोसिस गर्नुभयो। र, गीतभित्र कविताको स्थानलाई सधैँ सुरक्षित र समीप राख्नुभयो। भन्नुहुन्थ्यो पनि, ‘संगीतमा क्रान्ति ल्याउनुपर्छ, तर साहित्यसँग निकट रहेर।’

नारायणगोपाल संगीत कोषमा रहेको उनको पोर्ट्रेट। तस्बिर : असीम तिमल्सिना

जतिखेर म किशोरवयमा थिएँ, मेरो संगत डायमन्ड सिंह (त्यतिखेरका गायक जसको ‘गाजलु आँखाले नहेर’ भन्ने गीत निकै लोकप्रिय भएको थियो), ओमविक्रम विष्ट, सन्तोष बस्नेत र मदन परियारहरूसँग थियो। डायमन्डसँग विशेष। एकदिन डायमन्डलाई भेट्न भोसिको टोलदेखि आएका उनका एक जना साथीले कुरैकुरामा नारायण दाइबारे मलाई अप्रिय लाग्ने केही अनपेक्षित कुरा सुनाए। उनका अनुसार उहाँ नारीबाज, घमन्डी, रिसाहा, हेपाहा आदि-इत्यादि भन्ने थियो। एक-दुईवटा उदाहरण पनि सुनाए। आदर्शवादको घोट्टा खाएर हुर्किएको म, कुरा सुनेर खिस्रिक्क भएँ। तर, धन्न उहाँका गीतसँग मेरो प्रीत छुटेन।

उहाँलाई मैले प्रत्यक्ष देखेको असनबाट त्यौड जाने मोड नजिकैको एउटा भट्टीमा थियो। हामी गोपाल दाइको भट्टी भन्थ्यौँ। त्यहाँ मुछेको आलुभित्र राँगाको किमा हालिएको चप पाइन्थ्यो। बहुतै मीठो। त्यही खान भनेर साथी र म गएका थियौँ। बाहिरबाट दाइ उत्तम नेपाली र नारायण दाइलाई देखेँ। उत्तम दाइसँग दोहोरो परिचय थियो, नारायण दाइसँग थिएन। मलाई भित्र छिर्ने आँट आएन। किन? थाहा छैन।

तर, उहाँ र मेरो भेट कस्मसले तय गरिसकेको रहेछ। भट्टीबाट भागे पनि नाचघरमा उहाँसँग परिचय भयो। उहाँ राष्ट्रिय नाचघरको महाप्रबन्धक र गौतमरत्न तुलाधर त्यहाँका नर्तक एवं कलाकार। ‘म तिमीलाई चिन्छु। पाकोमा घर होइन?’ उहाँले भन्नुभएको थियो। त्यतिखेर म पाकोमा बस्थेँ, मैले हो भनेँ। तर, उहाँले मलाई कसरी नोटिस गर्नुभयो होला भनेर छक्क पनि परेँ।

गौतमजी र म साँझतिर सधैँजसो सँगै हुन्थ्यौँ। एकदिन हामी पुतलीसडकको पद्मोदय स्कुल करिब करिब सँगै रहेको एम हाउस पछिल्तिर एउटा भट्टीमा पुग्यौँ। एक जना जमदारकी श्रीमतीले चलाएकी थिइन् भट्टी। एक तलामाथि रहेको त्यस सुरालयमा बस्न सुकुल ओछ्याइएको थियो। रेस्टुराँबाहेक घरको पहिलो तला वा बुइँगलमा खोलिएका सुरालयमा कुर्सीटेबल हुँदैनथे। त्यहाँको खाना बडो स्वादिलो भएकाले गौतमजीले नारायण दाइलाई सम्झिए।

एकदिन दाइलाई निम्तो गरियो। म सडकमा बसेँ उहाँलाई भित्रको बाटो देखाउन। बडो साँघुरो गल्ली थियो। आउनुभयो। ज्यानको कारण सुकुलमा बस्न अलि गाह्रो भएकाले उहाँ भर्‍याङको डिलमा बस्नुभयो। कुखुराको सितनसँगै इ-ग्य्रान्ड-अर्ल ह्विस्की उदरस्थ भएपछि उहाँ उठ्नुभयो। कुखुराको मासु मीठो लागेको भन्दै साहुनीसँग प्रशंसा गर्नुभयो। कतै कुनै बैठकमा जानु थियो उहाँलाई। म उहाँसँगै तल ओर्लिएँ।

उहाँलाई जान सहज होस् भनेर मैले मोटरसाइकल घुमाइदिन खोजेँ। उहाँले देख्नुभयो– मेरो पातलो ज्यान र मेरो शरीरमा सुराको असर। उहाँले मबाट मोटरसाइकल लिएर फनक्क घुमाउनुभयो, स्टार्ट गर्नुभयो र हुइँक्याउनुभयो। आँगनबाट गल्लीसम्म त ठीकै थियो, गल्ली लामै भएकाले उहाँलाई केही होला कि भनेर दौडिएर पछ्याएँ। बाहिर सडकसम्म आइपुगेपछि दायाँबायाँ हेरेँ। मोटरसाइकलको नामोनिसान थिएन। साँझको साढे ७ बजेको थियो। सुनसान थियो सडक। एकदुई गाडी र मोटरसाइकल ओहोरदोहोर गरिरहेका थिए, जुन दाइको हुने सम्भावना थिएन। भोलिपल्ट उहाँलाई नाचघरमा सकुशल देखेपछि मात्रै चिन्तामुक्त भएँ।

नारायण दाइका चहेता कलाकार सम्राट् सापकोटाको आग्रहमा मैले त्यो गीत दाइलाई दिने भएको थिएँ। मानिसको र सम्झनाको झैँ गीतको पनि तक्दिर हुने रहेछ। ‘लिभिङ लिजेन्ड’ दीप श्रेष्ठलाई आठ-दशवटा गीत पहिले नै दिएको थिएँ, नारायण दाइको अवसान पछि ‘हर रात’ पनि दीप श्रेष्ठकै पोल्टोमा गयो।

त्यसपछि भेट निरन्तर भइरह्यो, कहिले महेश थापाले निर्देशन गरेको नाटक कुहिरोभित्र अलमलिँदाका निम्ति उहाँले गीत रेकर्ड गर्दा, कहिले पाकोस्थित भावनाको भट्टीमा, कहिले खिचापोखरीस्थित बाटुको आनआन रेस्टुराँमा र कहिले नाचघरको वार्षिकोत्सवमा हुने सांस्कृतिक कार्यक्रममा।

हाम्रो भेटको अर्को चरण मैले नेपाल टेलिभिजनका निम्ति बनाएको टेलिफिल्म शिवकली (२०४२ साल) बाट सुरु हुन्छ। सन्तोष पन्त र लक्ष्मी श्रेष्ठ अभिनीत एवं भोजपुरी, मैथिली र नेपालीमा बनेको त्यस फिल्मको अन्तिममा एउटा रेकर्डेड गीत राख्ने निर्णय गरेको थिएँ। अहिलेजस्तो कपीराइटको जमाना थिएन। तर, मैले नारायण दाइसँग अनुमति मागेँ। दिव्य खालिङको संगीत र मित्र दिनेश अधिकारी रचित त्यो गीत थियो– ‘तिमी जुन रहरले ममा फुल्न आयौ’। उहाँले सहर्ष दिनुभयो। गीत हालियो, पछि उहाँको स्याबासी पनि पाइयो। अल्पभाषीले कहिलेकाहीँ मुस्कानजडित आँखैले स्याबास भन्दो रहेछ। त्यो पल अहिले पनि सम्झिन्छु।

युवाअवस्थामा नारायणगोपाल। तस्बिर स्रोत : सामाजिक सञ्जाल

एकपल्ट एक जना साथीको घरमा गएको थिएँ, विश्वम्भर प्याकुरेल दाइ र नारायण दाइ पहिले नै पुगिसक्नुभएको रहेछ। त्यस दिन उहाँ अल्पभाषी रहनुभएन। ‘कम्फर्ट जोन’ पाएकाले होला खुल्नुभयो, रमाइला जोक र संगीतसम्बन्धी गम्भीर कुरा गर्नुभयो। उहाँ रचित फिल्मको ‘वन लाइनर’ पनि सुनाउनुभयो। नाउँ थियो– ‘डटर अफ टार्जन’। हामीले ध्यानपूर्वक सुन्यौँ। रोचक थियो। हुँदाहुँदा हिन्दी सिनेमा ‘ज्वेल थिफ’ को ‘दिल पुकारे, आ रे आ रे’ गाउनुभयो। त्यतिले नपुगेर मैले फर्मायस गरेको नेपाली गीत पनि गाउनुभयो।

२०४४ सालतिरको कुरा हो। गोदावरीमा पिकनिक आयोजना गरिएको थियो। गीत लेखनका विषयमा करिब ४५ मिनेट कुरा भयो दाइसँग। तिनताक म अलि अन्तर्मुखी थिएँ। उहाँ गीतको स्तर, त्यसभित्र हुनुपर्ने काव्यको कुरा गर्ने र म शिर हल्लाएर सहमति जनाउने। कुरैकुरामा मैले नारीलाई सर्वोपरि बनाएर एउटा गीत रचेको थिएँ, सुनाएँ। यो गीत मलाई देऊ भन्नुभयो। त्यो साइत कहिल्यै जुरेन, अहिले त त्यो गीत हराएकै जुग भइसक्यो। र, २०४५ सालतिर मैले ‘हर रात सपनीमा ऐँठन हुन्छ’ लेखेको थिएँ। नारायण दाइका चहेता कलाकार सम्राट् सापकोटाको आग्रहमा मैले त्यो गीत दाइलाई दिने भएको थिएँ। मानिसको र सम्झनाको झैँ गीतको पनि तक्दिर हुने रहेछ। ‘लिभिङ लिजेन्ड’ दीप श्रेष्ठलाई आठ-दशवटा गीत पहिले नै दिएको थिएँ, नारायण दाइको अवसान पछि ‘हर रात’ पनि दीप श्रेष्ठकै पोल्टोमा गयो।

मैले पाकिस्तानी सिनेमामा सहनिर्देशकका रूपमा काम गरिसकेपछि एउटा नेपाली फिल्म गर्ने भएँ। संगीत गर्न दाइलाई अनुरोध गर्न म र निर्माता गगन प्रधान घरमै गयौँ। उहाँले एकै वचनमा हुन्छ भन्नुभयो। तर, फिल्म अघि बढेन, काम पनि बढेन।

शाही नेपाली चलचित्र संस्थानअन्तर्गत माया नाउँको सिनेमा बन्दाको कुरा हो। दाइले रेकर्डिङको दिन पुलचोकस्थित हिमालयन होटेलको सामुन्ने साङ रेकर्डिङ स्टुडियोमा बोलाउनुभयो। गीत थियो– ‘मन्दिरमा छ कि मूर्तिमा माया’। रेकर्डिस्ट प्रदीप उपाध्याय, निर्देशक प्रदीप रिमाल र त्यतिखेरका चर्चित संगीतकार शम्भुजीत बाँस्कोटा। गीत रेकर्ड गर्दा दुई वटा टेक लिनुभयो दाइले। बाहिर निस्कनुभयो र दुवै गीत सुनूँ भन्नुभयो। पालैपालो गीत सुनिसकेपछि कुन ठीक छ भनेर निर्देशक र संगीतकारलाई सोध्नुभयो। निर्देशकले पहिलो र संगीतकारले दोस्रो भने। दाइले रेकर्डिस्टलाई दुवै टेक मेट्न लगाउनुभयो र अर्को टेक दिनुभयो। गाउन सिद्धिएपछि ‘ल, यही हो फाइनल’ भन्नुभयो र गीत सुन्दै नसुनी तल ओर्लिनुभयो। स्टुडियोमुनि एउटा रेस्टुराँ थियो। त्यहाँ म, सहयोगी प्रेसका साथी भूषण शर्मा र दाइ एकछिन सँगै बस्यौँ। भन्नुभयो, ‘तीन वटै टेक छाडिदिएको भए दुवै जना निर्देशकको यो राख्ने कि त्यो राख्ने कुरामा फाइट पर्थ्यो, त्यसैले उनीहरूको झगडा जोगाउन दुइटै मेटाइदिएँ।’

हामी हलल्ल हाँस्यौँ। उहाँको त्यो ‘सेन्स अफ ह्युमर’, त्यो निर्णय र त्यो आत्मविश्वास बिरलै अनुभव गरेको छु।

मैले पाकिस्तानी सिनेमामा सहनिर्देशकका रूपमा काम गरिसकेपछि एउटा नेपाली फिल्म गर्ने भएँ। संगीत गर्न दाइलाई अनुरोध गर्न म र निर्माता गगन प्रधान घरमै गयौँ। उहाँले एकै वचनमा हुन्छ भन्नुभयो। तर, फिल्म अघि बढेन, काम पनि बढेन।

पाकिस्तानी फिल्मको कुरा गर्दा होटल मायालु (हाल मायालु कम्प्लेक्स)को एउटा घटना सम्झिनुपर्ने हुन्छ। मायालु होटलकै परिसरमा एउटा रेस्टुराँ थियो। होटल पूरै बुक थियो, विदेशी कलाकारका लागि र एउटा कोठा मेरा लागि पनि। साँझको समय थियो र सुटिङ प्याकअप भइसकेको थियो। म रुममा थिएँ। रेस्टुराँमा एक जना लब्धप्रतिष्ठ व्यक्ति र कुनै जमानाका चर्चित गायकसँग नारायण दाइ आउनुभएको रहेछ। तलबाट बोलावट आयो र म ओर्लिँए। एक राउन्ड ह्विस्कीको अर्डर भयो। दाइले स्वास्थ्यको कारण खानुभएन। दाइले सम्भवतः भर्खरै चाँदनी शाहको रचना गाउनुभएको थियो– ‘यौटा मान्छेको मायाले कति’। उहाँमा राजनीतिक चेत राम्रो थियो, रानीको गीत गाउँदा सही गरिनँ कि भन्ने लागेको रहेछ। मैले दाइलाई भनेँ, ‘सय चोटि मरेर एकपल्ट बाँच्नुभन्दा, एकपल्ट मरेर सयचोटि बाँचेको अनुभूत गर्नु नराम्रो होइन दाइ।’ उहाँले पुलुक्क हेर्नुभयो मतिर। दरबारबाट एक जनाले निकै कर गर्दा पनि उनको गीत नगाएका दाइ मेरो कुरा सुनेपछि सम्भवतः अलिकता आश्वस्त हुनुभएको थियो।

यत्तिकैमा दाइसँग आएका आगन्तुकद्वयमध्ये एक जनाले अलिक चर्को स्वरमा मलाई भने, ‘सुनिता खान खोइ?’

दाइबारे कल्पित कहानी सुनेका मेरो संगतमा रहेका केही भाइबहिनी मसँग यसबारे सोध्छन्। उनीहरूलाई आफ्नो अनुभवमा आधारित सत्य सुनाइदिन्छु।

सुनिता सिनेमाकी नायिका थिइन्, लाहौरबाट आएकी। ‘माथि होलिन्,’ मैले भनेँ। उनले तिनलाई बोलाइदिन आग्रह गरे। दुवै पूरै मातिसकेका थिए। पछि केही दुर्व्यवहार भयो भने एकातिर राष्ट्रको बेइज्जत, अर्कोतिर आफ्नो कलाकारलाई झमेलामा फसाउने पात्र बनेकामा पछुतो। मैले नसुनेझैँ गरेँ। रेस्टरुम जाने बहानामा एकैछिन भनेर उठेँ। फर्केर आउँदा उनीहरूले अर्कै प्रसंग उठाउलान् भन्ठानेको, उनीहरू त एकोहोरिएका रहेछन्। मलाई उधुम कर गर्न थाले। म नगए उनीहरू आफैँ जाने कुरा गर्न थाले। बाध्य भएर म माथि बोलाउन गएँ। होटलको लबीबाट आधी भर्‍याङ उक्लेको के थिएँ, पछाडिबाट दाइ दौडेर आउनुभयो। उहाँले दौडिएर मलाई पछ्याउनुभएको रहेछ। भन्नुभयो, ‘ए विप्लव, यिनीहरू बौलाइसकेका छन्। केटीहरूलाई सुरक्षित बनाइदिनु, सतर्क बनाइदिनु।’ मैले हस् भनेँ। मेरो सोचसँग उहाँको अनुरोध लगभग मिल्दो थियो।

माथि गएँ। सुनिता र उनकी सेक्रेटरीलाई तुरुन्तै चोर बाटोबाट होटल उडल्यान्ड पठाएँ। त्यहाँ पनि हाम्रा निम्ति केही कोठा छुट्याएर राखिएका थिए। मामिला साम्य भएपछि यता बोलाउँछु भनेर म रेस्टुराँमा फेरि छिरेँ। ती दुईजनाको एकै स्वर थियो– ‘खोइ त?’ मैले भेटिनँ भनेँ। त्यसपछि उनीहरू जुरुक्क उठे र होटलको रुम चहार्न गए। दाइ त्यहीँ बस्नुभयो। मैले बिदा मागेँ र दरबारमार्गमा एक चक्कर लगाउन निस्किएँ। जाँदाजाँदै दाइले भन्नुभयो, ‘उनीहरू आएपछि म पनि जान्छु।’

महेन्द्रको सालिकतिर पुग्दा मलाई मित्र डायमन्डको उही नकारात्मक कुरा गर्ने साथीको याद आयो। त्यतिखेर समाजमा प्रतिभाशालीहरूको ईर्ष्या गर्ने चरित्र रहेछ, र तिनको मानमर्दन गर्ने स्वभाव रहेछ। अहिले चेतनाको स्तरमा श्रीवृद्धि भएको छ, तर समाज उही पुरानै चेतनालाई पछ्याइरहेको छ कि भन्ने यदाकदा आशंका लाग्छ मलाई।

माथि बयान गरेबाहेक अरू पनि उल्लेखनीय घटनाहरू छन्, जुन अर्कै सन्दर्भमा कुनै बेला चर्चा गरौँला। उहाँका बारेमा किंवदन्ती र अनेक अफवाह उहाँ जीवित छँदै बनेका थिए। उहाँको अवसानपछि उहाँबारे कल्पित गफका पुलिन्दा लेख्ने र त्यसैलाई पत्याउनेहरू पनि छन्। जस्तो, रानी ऐश्वर्य र नारायणगोपालबीच रोमान्स थियो, त्यसैले ‘यौटा मान्छेको मायाले’ गीत जन्मिएको भनेर युट्युबमा कसैले कल्पित इतिहास नै राखिदिएको छ। यस्ता कुरालाई रोक्न पनि सकिँदैन। डायमन्डका साथीले उहाँ जिउँदो छँदै बकम्फुसे भट्टीगफ धेरैलाई सुनाएका थिए होलान्। दाइबारे कल्पित कहानी सुनेका मेरो संगतमा रहेका केही भाइबहिनी मसँग यसबारे सोध्छन्। उनीहरूलाई आफ्नो अनुभवमा आधारित सत्य सुनाइदिन्छु।

मेरो मनमा खेल्ने कुरा यत्ति छ- दाइजस्तै साहित्यलाई प्रेम गर्ने, मनन गर्ने र गीतमार्फत समकालीन समाजलाई अर्थपूर्ण एवं कालजयी कृति प्रदान गर्ने गायक/गायिका यथेष्ट जन्मिऊन्।

मेरा निम्ति दाइ एक आदर्श व्यक्ति हुनुहुन्थ्यो। साहित्यमा गहिरो चेत भएका, त्यो जमानामा पनि नारीहरूप्रति सम्मान गर्ने, आफूभन्दा सानाहरूसँग हिमचिम राख्ने र आफ्नो कामप्रति केन्द्रित कलाकारका रूपमा उहाँलाई सम्झन्छु। उहाँकै कालखण्डमा जन्मिएका र उहाँपछि जन्मिएका कलाकारहरू केवल गायक वा गायिका रहे। कुनै कविभन्दा कम भूमिका हुँदैन गायकहरूको, त्यस कुरालाई उनीहरूले कत्तिको बुझे दैव जानून्। गीतसंगीतले समाजलाई र समकालीन पुस्तालाई बाटो देखाइरहेका हुन्छन्। यदि म आफैँले साहिर लुधियानवी, कैफी आजमी, राजा मेहँदी अली खाँ, नीरज र नारायणगोपालले गाएका कालजयी गीतहरू किशोरवयमा सुन्न नपाएको हुँदो हुँ त आजको मेरो संवेदना, सोच, दृष्टिकोणमा निश्चित प्रतिशत कमी अवश्य हुन्थ्यो। प्रेमध्वज, फत्तेमान, दीप श्रेष्ठ र भक्तराज आचार्यजस्ता गायकहरूलगायत नारायण दाइका पालामा अनेकौँ कलाकार थिए। तर, तीमध्ये कतिको नाम र कृतिसमेत विस्मृत भइसके।

स्वर भएर मात्र पुग्दैन, कलाकारमा गाम्भीर्य चाहिन्छ। गीतले कोरा सन्देश दिने होइन, तुकबन्दी र सस्तो भावनाको तोहफा पनि होइन गीत। अहिलेको जस्तो नहोला, तर भाइरल हुने होड त्यतिखेर पनि थियो। दीपक खरेल, प्रकाश श्रेष्ठ र ओमविक्रम विष्ट अबको २० वर्षपछिका कलाकार हुन्, नारायणगोपाल विस्मृतिको गर्भमा पुग्नेछन् भनेर एकजना संगीतकारले त्यतिखेर मलाई भनेका थिए। त्यो सत्य थियो, अर्धसत्य थियो या पूर्णतया गलत थियो, म त्यतातिर सोचिरहेको छैन। मेरो मनमा खेल्ने कुरा यत्ति छ- दाइजस्तै साहित्यलाई प्रेम गर्ने, मनन गर्ने र गीतमार्फत समकालीन समाजलाई अर्थपूर्ण एवं कालजयी कृति प्रदान गर्ने गायक/गायिका यथेष्ट जन्मिऊन्।

संजोग पनि कस्तो कस्तो! दाइको अवसानको १० वर्ष पछि होला। म हिमाल खबरपत्रिकामा काम गर्थें। नेपाली आधुनिक संगीतमा एउटा कभर स्टोरीका निम्ति रिपोर्टिङ गर्ने मैले जिम्मा लिएको थिएँ। सोही क्रममा लोचन भट्टराईसँग भेट भयो, र उहाँका श्रीमान् चक्रजीसँग पनि। सायद उहाँकै सदाशयताले मलाई नारायणगोपाल संगीत कोषमा सदस्यका रूपमा आमन्त्रण गरियो। कोष छोड्दा म त्यहाँको सचिव थिएँ। तर, मैले कहिल्यै कसैलाई यहाँसम्म कि पेमला भाउजूलाई पनि मेरो दाइसँगको सम्बन्धबारे कुरा गरिनँ। किन किन, मलाई दाइसँगको सम्बन्ध मनको कन्तुरमै राखेर बस्न मन थियो। मैले कहिल्यै लेख्ने विचार गरेको पनि थिइनँ। तर, सम्झनाको पनि नियति हुँदो रहेछ, यस अनलाइनका सम्पादकको विनम्र आग्रह टार्न नसक्दा आज सार्वजनिक भएको छ।