फिल्म समीक्षा
क्राइम थ्रिलर–सस्पेन्स विधामा सुरुदेखि नै ‘टोन’ समात्न सफल
कलाकार : कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, प्रकाश दाहाल, सरिता गिरी, गौमाया गुरुङ अन्य.
निर्देशक : सुशान्त गौतम
लेखक : मुकेश खनाल
निर्माता : विनोद पौडेल र गुञ्जन गिरी
छायांकन : शरद महतो
सम्पादक : मदन घिमिरे
कथा/पटकथा : अंक (३)
महाभारतका अभिमन्यु चक्रव्यूहमा प्रवेश गर्न जान्ने तर त्यसबाट निस्कने उपाय थाहा नभएका पात्रका रूपमा परिचित छन्। यसका बाबजुद अभिमन्यु जोखिम मोल्ने साहसिक पात्र हुन्। बिहीबारदेखि प्रदर्शनमा आएको अभिमन्युः च्याप्टर १ का मुख्य पात्र अभिमन्यु (कामेश्वर)मा पनि यो विशेषता भेटिन्छ। महाभारतकालीन अभिमन्युजस्तै फिल्मका अभिमन्यु पनि एउटा युद्धमै छन्।
गरिबीसँग लडिरहेका यी अभिमन्युले दाइजोमा मोटरसाइकल दिन नसक्दा आफ्नी बहिनीलाई आँखै अगाडि जिउँदै जलिरहेको देखेका छन्। उनलाई आफ्नो दुःखले पोल्ने त छँदै छ, अरूलाई हुने अन्यायले पनि पिरोल्छ।
एकदिन अभिमन्यु साथी गोपालसँग विवाह समारोहमा भोजका लागि खाना तयार गर्ने काममा खटिइरहेका हुन्छन्। बिहेको रमझमबीच एक्कासि बेहुलीका दाइलाई बेहुला पक्षसँग गुहार मागेको देख्छन्। बेहुला र उनका बुबाले तत्कालै मोटरसाइकल नपाए बिहे नै रोक्ने धम्की दिइरहेका छन्। यो घटनाले उनलाई आफ्नै विगत सम्झाउँछ। आफूलाई सम्हाल्न गाह्रो भएपछि उनी मासु काटिरहेको हतियारले मान्छेकै घाँटी छिनाल्छन्।

विराटनगरको कारागारमा सजाय काटेर निस्केपछि अभिमन्यु काठमाडौँ पुग्छन्। काठमाडौँमा सामान्य मजदुरी गर्ने उनी सधैँ एउटै होटलमा गएर प्याज-खुर्सानीसँग सादा भात खाएर पेट भर्छन्। सादा भात खाने ठाउँमा काम गर्ने युवती लीला (लक्ष्मी)सँग नजर जुधेपछि उनको दिनचर्या रंगीन बन्न थाल्छ। अभिमन्युको नजरको तीरले लीला पनि हायलकायल हुन्छिन्। तर, प्रेमले मात्र पेट भरे पो! लीला पनि अभिमन्युलाई पैसा कमाएर मात्र घरजम गर्न जोड दिन्छिन्।
एउटा राम्रो कोठासमेत नभएको अवस्थामा मिहिनेत गरेर पैसा जोहो गर्न वर्षौं लाग्ने यो जोडीलाई थाहा छ। यही पृष्ठभूमिमा कोठा खोज्न हिँडेका अभिमन्युलाई घरबेटी (सरिता) र उनकी छोरी (गौमाया)ले नक्कली अपहरण गर्न सहयोग गरे सर्टकटमा पैसा कमाइ हुने आइडिया दिन्छन्। सक्कली अपहरण भएको भए सायद उनी राजी हुँदैनथे होला। तर, पाँच करोड फिरौती रकम भएको नक्कली अपहरणबाटै एक करोड पाउने कुराले उनलाई उत्साहित बनाउँछ। तर, लीला भन्छिन्– अपहरण त अपहरण हो, पाँच करोड नै हाम्रो हुनुपर्छ। अभिमन्युलाई पनि लीलाको कुरा जायज लाग्छ। तर, यो जोखिमपूर्ण कदमले कस्तो चक्रव्यूहमा फसाउँछ, अभिमन्युलाई अन्दाज हुँदैन। अभिमन्यु च्याप्टर १ मा यसपछि जेजस्ता घटनाक्रम हुन्छन्, त्यसले दर्शकलाई रोमाञ्चक सरप्राइज दिन्छ। यो सरप्राइजले मुख्यतः मध्यान्तरभन्दा केही क्षणअघिदेखि फिल्मलाई रोचक बनाएको छ। र, यो रोचकता अन्त्यसम्मै कायम हुनु फिल्मको सबल पक्ष पनि हो।
अभिनय : अंक (३)
फिल्मको सबल पक्ष यसको पनि कास्टिङ पनि हो। मुख्य कलाकार कामेश्वर र लक्ष्मी दुवै यसअघि सहायक चरित्रका रूपमा देखिन्थे। यसमा दुवैले प्रमुख भूमिका पाएका मात्रै छैनन्, आफ्नो भूमिकालाई सशक्त रूपमा निर्वाह गरेका छन्। रोमान्स होस् वा रहस्यमी दृश्य, अभिमन्यु र लीलाको ‘केमेस्ट्री’ सुहाएको छ। मधेसको लवज होस् वा चरित्रअनुसारको भावभंगीमा तिनलाई अभिमन्यु र लीलाले मजाले समातेका छन्। उनीहरूको संवाद डेलिभेरीदेखि आँखाको अभिव्यक्तिले दर्शकलाई तान्छ। सहायक भूमिकामा पहिल्यै दर्शकले मन पराएका कामेश्वर र लक्ष्मीले फिल्म धान्न सक्छन् भन्ने प्रमाणित गरेका छन्। यसरी पनि भन्न मिल्छ– कथा र चरित्रअनुसारको फिल्ममा स्टार अनुहारभन्दा पनि अभिनयलाई न्याय गर्ने कलाकार पर्याप्त हुन्छ।

दर्शकलाई हँसाउने भूमिकामा अभिमन्युका साथी बनेका प्रकाश र अपहरण हुने छोरीका बुबाको भूमिकामा शिशिर बाङ्देल पनि सुहाएका छन्। प्रहरीको भूमिकामा किरण र सेबिताको अभिनय ठीकै छ। घरबेटी सरिता र उनकी छोरीका रूपमा देखिने गौमायाको काम र चरित्र दुवै अझ प्रभावकारी बनाउन सकिन्थ्यो।
प्राविधिक पक्ष : अंक (३.५)
अभिमन्यु कथाभन्दा प्रस्तुतिले रोचक बनेको फिल्म हो। क्राइम थ्रिलर–सस्पेन्स विधाको यो फिल्म सुरुदेखि नै आफ्नो ‘टोन’ समात्न सफल छ। कथा हत्याको घटनाबाट सुरु हुन्छ र अपहरणको विषयमा गएर गति लिन्छ। यो गति समात्न अलि ढिलो भएकै हो। तर, मध्यान्तरअघि असान्दर्भिकजस्ता लागेका थुप्रै दृश्य, संवाद र घटनालाई मध्यान्तरपछिका घटनाले स्थापित गर्दै जान्छन्।
यो कथा सोझो रेखामा नभई वक्ररेखामा घुम्छ, ‘जम्पकट’ गर्दै। यस्तो शैलीको प्रस्तुतिलाई रोचक बनाउन सम्पादनले विशेष काम गरेको छ। छायांकन, साउन्ड डिजाइन, ब्याकग्राउन्ड स्कोर, प्रकाश संयोजनले फिल्मले समातेको लयलाई बहकिन दिएका छैनन्। फिल्मको गीत-संगीत नराम्रो हैन, तर राम्रो नै भन्ने पनि छैन। संगीतको प्रयोगले कथालाई उठाउन सकेको छैन। निर्देशक नै संगीतकार भएको फिल्ममा यति अपेक्षा त राख्नैपर्छ।
निर्देशन : अंक (३)
फिल्मभित्रका दृश्य, पात्र, संवाद र घटनाहरूको प्रयोजन अर्थपूर्ण लाग्नु कुनै पनि फिल्मको सफलता हो। यसरी हेर्दा अभिमन्युका निर्देशक सफल छन्।
पटकथामा निर्देशकको नियन्त्रण छ।

तथापि, पृष्ठभूमिमा मधेसी समाजको दाइजोप्रथाका विसंगति रहेको अभिमन्युमा महिलाका प्रतिशोध-प्रतिरोधका कुरा पनि उठाइएको छ। तर, यी दुवै विषयलाई फिल्मले छुन्छ मात्र, विषयको मर्मलाई समात्दैन। अभिमन्यु पात्रको ब्याक स्टोरी पनि दर्शकलाई भावनात्मक रूपमा जोड्न अपुग लाग्छ। माथिका कुराहरूको अभाव नहुन्थ्यो त फिल्मको ‘आफ्टर इफेक्ट’ असर अझै बलियो हुन्थ्यो।
अभिमन्युमा दर्शकलाई सरप्राइज दिनसक्ने प्रशस्तै खुराक छन्।