त्यो काण्ड
सत्तारोहण गरेको दुई वर्ष नबित्दै जुद्धशमशेर राणाले सन्तवीर लामाविरुद्ध कोलकाताको उच्च अदालतमा परेको मुद्दा हार्नुपर्यो।
११ मंसिर १९८९, भारतको कोलकातास्थित उच्च अदालतको प्रांगण। ब्रिटिस-भारतका सिपाहीले एक जना नेपालीलाई डोरीले बाँधेर न्यायाधीशद्वय एसके घोष र हेन्डर्सनको अगाडि उभ्याए। सिपाहीको नियन्त्रणमा रहेका ती नेपालीलाई डाँक विभागमा कार्यरत एक कर्मचारीको हत्या गरेको अभियोग लागेको थियो।
दार्जिलिङको जिल्ला अदालतले दोषी ठहर गरिसकेको अवस्थामा उनले आफूविरुद्ध लागेको आरोप अस्वीकार गर्दै उच्च अदालत, कोलकातामा पुनरावेदनका लागि रिट दायर गरेका थिए।
अदालतमा दुवै पक्षका वकिलहरूबीच लामो र तीखो बहस चल्यो। नेपाल सरकारले आरोपित व्यक्ति नेपाली भएको भन्दै आफ्नो देशलाई सुपुर्दगी गर्न ब्रिटिस सरकारलाई तारन्तार दबाब दिइरहेको थियो। तर, न्यायाधीशद्वय घोष र हेन्डर्सनको संयुक्त इजलासले ती व्यक्तिलाई सुपुर्दगी गर्न त टाढाको कुरा, घटनामा उनको संलग्नता पुष्टि नभएको भन्दै तत्काल छोड्न आदेश दियो।
सुखिया पोखरीमा बस्दा पनि सन्तवीरको ‘दादा’ व्यवहार उस्तै थियो। उनी धुमबाट चिठी बोकेर इलामतर्फ लाग्ने हुलाकीलाई सुखिया पोखरी भित्रिनेबित्तिकै रोक्थे र सबै चिठीपत्र खोलेर पढ्थे।
रिहा भएलगत्तै ती व्यक्ति कोलकाताबाट सीधै दार्जिलिङ हान्निए। त्यतिबेला दार्जिलिङमा ठाकुरदास प्रधानले स्थापना गरेको फोटो खिच्ने दास स्टुडियो निकै चर्चित थियो। उनले आफ्नो नांगो फोटो खिचिदिन स्टुडियोका मालिक ठाकुरदासलाई आग्रह गरे। ठाकुरदासका लागि त्यो प्रस्ताव अप्रत्याशित थियो। उनले आफ्नो व्यावसायिक धर्ममा आघात पर्ने भन्दै अस्वीकार गरे।
तर, ती व्यक्तिले मान्दै मानेनन्। जिद्दी गरिरहे। लामो बहसपछि ठाकुरदास फोटो खिच्न त राजी भए, तर पूरै शरीरको होइन, अर्धकदको। फोटो खिचेपछि ठाकुरदासले उनीसँग जिज्ञासा राखे, ‘नांगै फोटो चाहिँ किन खिच्नुपरेको?’
यसपछि ती व्यक्तिले आफ्नो सम्पूर्ण कथा सुनाए। ती व्यक्ति थिए, सन्तवीर लामा। महेन्द्रले २०११ सालमा आफू राजा भएपछि पहिलो नियुक्ति दिएका इलामका बडाहाकिम हुन् उनी।

राजा महेन्द्रको इलाम भ्रमणका क्रममा उनको दायाँपट्टि सन्तवीर लामा।
राणाकालमा उनी इलामका नामुद ‘दादा’ थिए। उनको नाम सुनेरै सानातिना बदमासहरूको ओठमुख सुक्थ्यो। राणा प्रधानमन्त्री जुद्धशमशेरको पालामा पशुपतिनगरमा खत्री थरका एक लप्टनसँग उनको झगडा पर्यो। भट्टी मालिककी छोरीको विषयमा लफडा परेको थियो। यसपछि उनी इलामबाट बसाइँ सरेर भारत पश्चिम बंगालको सुखिया पोखरी पुगे। सुखिया पोखरीमा उनको पहिल्यैदेखि घर थियो। राणाकालमा नेपालमा बस्न नसकेपछि बाबुबाजेले घर किनिसकेका थिए।
त्यतिबेला काठमाडौँबाट इलामतर्फ चिठीचपेटा पठाउँदा अमलेखगन्जको बाटो हुँदै भारतीय रेलमार्फत दार्जिलिङको धुममा पठाउने चलन थियो। धुममा एउटा नेपाली डाँकघर पहिल्यैदेखि थियो। त्यही डाँकघरमा जम्मा भएका चिठीहरू एक जना हुलाकीले भालामा घण्टी राखेर बजाउँदै घर घर पुर्याउँथे। उनीहरूलाई कसैले छुन नपाउने कठोर नियम थियो। छोयो कि ज्यान मुद्दा लाग्ने!
सुखिया पोखरीमा बस्दा पनि सन्तवीरको ‘दादा’ व्यवहार उस्तै थियो। उनी धुमबाट चिठी बोकेर इलामतर्फ लाग्ने हुलाकीलाई सुखिया पोखरी भित्रिनेबित्तिकै रोक्थे र सबै चिठीपत्र खोलेर पढ्थे। नेपाल-भारत नाका क्षेत्रमा उनको दबदबा थियो। हुलाक विभागका कर्मचारी थुरथुर हुन्थे।

इलामका बडाहाकिम सन्तवीर लामा दायाँपट्टि टोपी लगाएका
तर, २४ साउन १९८९ मा एउटा यस्तो घटना भयो, जसले सन्तवीरको जीवनमा ठूलो परिवर्तन ल्यायो। त्यस दिन डाँकको कर्मचारीले सन्तवीरलाई चिठीको बोरा खोल्नै दिएनन्। यसबाट उनी रिसले आगो भए। त्यहीँ उनले डाँकका कर्मचारीलाई कुटपिट गरे। चिठीहरू पनि खोसे।
सन्तवीरले नांगो फोटो खिच्ने जिद्दी गर्नुको पछाडि जुद्धशमशेरलाई ‘तिमीहरूले जतिसुकै आरोप लगाए पनि आफ्नो शरीरको एउटा रौं नहल्लिएको’ सन्देश दिन खोजेको वसन्त बताउँछन्।
सन्तवीरको कब्जाबाट फुत्किएका ती कर्मचारीले इलाम पुगेपछि खत्री थरका तिनै लप्टनलाई घटनाको सम्पूर्ण विवरण सुनाए। त्यसपछि जे भयो, त्यो श्री ३ जुद्धशमशेरको सुरुआती कार्यकालको सबैभन्दा ठूलो मुद्दा बन्यो।
सन्तवीरका छोरा प्रोफेसर वसन्त लामा भन्छन्, “बुवाले भनेअनुसार इलामको भट्टीमा झगडा परेका लप्टन खत्रीले त्यस घटनाको बदला लिने अवसर त्यही काण्डलाई बनाए। बुवाले डाँकका कर्मचारीलाई कुटपिट गर्दा अरू कसैले देखेको छ कि छैन भनेर सोधेका थिए रे। डाँक कर्मचारीले धेरै मान्छेले देखेका छन् भनेपछि लप्टनले उसलाई उल्टै थुनेर कुट्ने काम भएछ।”

वसन्त लामा। तस्बिर : बिक्रम राई
दार्जिलिङको भिक्टोरिया अस्पताल भर्ना भएका ती कर्मचारीको १२ भदौ १९८९ मा मृत्यु भयो। २ असोजमा सन्तवीर ज्यान मुद्दामा कोलकाताबाट पक्राउ परे। यस मुद्दामा उनलाई सुपुर्दगी गर्न राणा सरकारले धेरै दबाब दियो। तर, अदालतले प्रमाणको अभावमा उनलाई छोड्ने आदेश दिएपछि राणा सरकार खिस्रिक्क पर्यो। “ब्रिटिस सरकारसँग राम्रो सम्बन्ध भएका कारण सुपुर्दगी हुने कुरामा राणा सरकार ढुक्क थियो। तर, बुवालाई सफाइ दिने उच्च अदालतको निर्णयले उनीहरू पनि चकित परे,” वसन्त भन्छन्।
सन्तवीरले नांगो फोटो खिच्ने जिद्दी गर्नुको पछाडि जुद्धशमशेरलाई ‘तिमीहरूले जतिसुकै आरोप लगाए पनि आफ्नो शरीरको एउटा रौं नहल्लिएको’ सन्देश दिन खोजेको वसन्त बताउँछन्।
सन्तवीर दसैँतिहारको बेला पहिलोपल्ट काठमाडौँ प्रवेश गरेका थिए। त्यसबेला उनी करिब एक महिना काठमाडौँ बसे। पछि उनी राजा महेन्द्रका प्रिय पात्र बने।
उच्च अदालत, कोलकाताबाट सफाइ पाएपछि सन्तवीरले दास स्टुडियोमा खिचेको अर्धकदको नांगो फोटोसहित एउटा पत्र जुद्ध शमशेरलाई पठाएका थिए। जसमा उनले आफूलाई अनावश्यक आरोप लगाएर दुःख दिएको भन्दै रिस पोखेका थिए। त्यो चिठीबारे जुद्धको बैठकमा छलफल भएको थियो। “बुवाको चिठीले जुद्धशमशेरको टाउको दुखेछ क्यार, सम्झौता गर्ने प्रस्तावसहितको एउटा चिठी दरबारबाट आयो,” छोरा वसन्त भन्छन्, “चिठीमा बुवालाई सम्झौताका लागि काठमाडौँ आउन अनुरोध गरिएको थियो। मुद्दा जितेर पनि आयो, सीमाक्षेत्रमा बस्छ, चिठीपत्र च्यातेर फ्याँक्यो भने उल्टै समस्या हुन्छ भनेर डराए होला।”

कोलकाता उच्च अदालतले दिएको फैसला
जुद्धशमशेरले पठाएको चिठीको अन्त्यमा एउटा रोचक कुरा पनि लेखिएको थियो– ‘सन्तवीर, तिमीले कुन मेसिनले चिठी लेखेका थियौ, त्यो दुई थान लिएर आउनू। भुक्तानी यतै गरौँला।’
रमाइलो कुरा के भने, जुद्धलाई पठाएको चिठी सन्तवीरले दार्जिलिङको जिल्ला अदालतमा भर्खरै आएको टाइपराइटरबाट लेखेका थिए। चिठीको सन्देश कुनै मेसिनले छापेको जस्तो देखेर होला, त्यो मेसिन मगाउन दरबारबाटै आग्रह गरिएको थियो। वसन्त भन्छन्, “जुद्धसँग त्यति ठूलो मुद्दा लडेको बुवाले उनैको आग्रहमा दुई वटा टाइपराइटर काठमाडौँ ल्याउनुभएको थियो।”
सन्तवीर दसैँतिहारको बेला पहिलोपल्ट काठमाडौँ प्रवेश गरेका थिए। त्यसबेला उनी करिब एक महिना काठमाडौँ बसे। पछि उनी राजा महेन्द्रका प्रिय पात्र बने।