परिकार
ट्वाक्क रैथाने मधेसी परिकारको स्वाद लिने हो भने मधेसतिर जाँदा ठूला रेस्टुराँभन्दा स्थानीय मान्छे नियमित जाने ठाउँ रोज्नु बेस।
‘एक पाउ हालम्?’
पातमा भुजा (मुरही) बोकेर बसेको थिएँ। भगीरथ राउत दाइले डेक्चीजस्तो भाँडामा रहेको पाकेको लेदो मासु तराजुमा जोख्न लागे।
नपकाएको मासु मात्र जोखेको देखेको यो पंक्तिकार हेर्दै मुख रसाउने र बास्नादार खसीको मासु जोखेको देखेर जिल्ल पर्यो। हेरेको हेर्यै भयो। राउत बूढाको प्रश्नले झसंग भयो- ‘एक पाउ हालम् त?’
सँगै रहेका साथी पत्रकार सञ्जय राउतले भगीरथ दाइलाई पातमा रहेको दुई भाग मुरहीमाथि एक-एक पाउ मासु हाल्न लगाए। लपक्क पाकेको खसीको मासु, न धेरै मसला न धेरै तामझाम। भगीरथ दाइजतिकै बूढो टेबल, त्यसमाथि पात, पातमाथि भुजा अनि त्यसमाथि लेदोबेदो मासु।
ढल्केबरबाट जनकपुर पुग्नुअघि लक्ष्मीनियाँ गाउँपालिका आउँछ। पालिकाले लक्ष्मीनियाँ बजारबाट नाम पाएको हो। यही बजारमा भगीरथ दाइको सानो होटल छ। दिनभर तरकारी, माछामासु किन्ने/बेच्नेहरूको कल्याङमल्याङबीच उनी मासु पकाउँछन्। जुन साँझ नहुँदै सफाचट हुन्छ। अलि साँझमा पुगे फुको चिउरा र मुरहीबाहेक केही पाइन्न।
मासु र मुरहीले टन्न पेट भरेर निस्किन लाग्दा सञ्जयले भने, ‘भोलि माछाको पालो।’
लक्ष्मीनियाँ बजारमै मूल सडकको पश्चिमपट्टि छ, अवधाको माछा दोकान। यस दोकानमा तारेको माछा, तारेको अन्डा, कुखुराको मासु, चनाजस्ता अनेकन् परिकार पाइन्छन्। धेरै परिकार पाइने भएकाले यहाँ भिड पनि धेरै हुन्छ। साँझपख त मोटरसाइकलको ताँती नै लाग्छ। यहाँको मुख्य विशेषता चाहिँ ठूला तारेका माछा नै हो। तर, त्यो प्लेटको हिसाबमा बेचिँदैन। अवधाकी आमाले माछा तारेर तयार गरेपछि ग्राहकलाई बोलाएर तिनकै अगाडि तराजुमा माछा जोख्छिन्, अनि मात्र भाउ तय हुन्छ।
एक जनालाई एउटा माछा खान मुस्किल पर्छ। माछा पूरै गाउँले स्वादको। स्वाद अपरिष्कृत भनौँ वा सरल, हार्दिकताका साथ बनाइएको अनुभूति हुन्छ। माछा खानोस् वा तारेको कुखुरा वा लेदो मासु वा चना, साथमा आउँछन् चिउरा र मुरहीको मिश्रण, केही चाना मुला, काँक्रो र कागती। अनि आउँछ तारेको खुर्सानी। मस्त मधेसी स्वाद!

अवधाको माछा पसलमा जोखेर माछा बेचिरहेकी पसल सञ्चालिका। तस्बिर : राजेश घिमिरे
बजारबाट मूल सडकमा निस्किएर सेन्टर हस्पिटलको छेउतिर लाग्ने हो भने मधेसको अर्को अनुपम स्वाद पाइन्छ- दालपुडी। साथी सञ्जय भन्छन्, ‘सिरहातिरबाट आएका भाइहरूले खोलेको छोटो समयमै अति लोकप्रिय भइसक्यो यो ठाउँ। खासमा फागु पूर्णेमा खाने हो मालपुवा र दालपुडी, तर भाइहरूले बाह्रै महिना खाने बनाइदिए।’
चामलको पीठोको पुरी र खसीको लेदोसहितको मासु। मुखै रसाउने यो स्वाद लिन होलीसम्म पर्खनु त यो परिकारमाथिकै अन्याय हो।
चामलको पुरी जनकपुरधाममा बिहानको नास्ताको गजब विकल्प हो। राजदेवी मन्दिरको दक्षिणपट्टि रहेको सञ्जय नास्ता पसलमा चामलको पुरी, तरकारी, एउटा पकौडी र तारेको खुर्सानीको मीठो मेन्यु उपलब्ध छ। चार वटा पुरी खानोस्, आधा दिन मस्त रहनोस् भन्दा पनि हुन्छ। सञ्जयको पसल अलि व्यवस्थित भएकाले भिड हुन्छ। धेरैजसो त एकछिन कुर्नैपर्छ। यस क्षेत्रमा चामलको पुरी र तरकारी बेच्नेहरू अरू पनि छन्। कोही ठेलामा बेच्छन्, कसैको सानो दोकान छ। सबैकोमा पाइन्छ उस्तै तिक्खर स्वादको तरकारी, पकौडी र पुरी।
नास्ताकै कुरा गर्दा बिहान सुनसान सडकमा ठेलामा बेच्न राखिएको सत्तु खानुभएन भने मधेसको एउटा स्वाद छुट्छ। पानीमा सही मात्रामा हालिएको भुटेको चनाको सत्तु, प्याज, हरियो खुर्सानी र कागतीको रस। तब न आउँछ सत्तुको चखिलो स्वाद!
नास्ता भनेर मैदाको पुरी, तरकारी र जलेबीतिर चाहिँ नजाऔँ होला। बरु पिडारी चोकको डिकेको पसलमा जाऔँ। डिकेलाई उनको पूरा नाम सायदै कसैले सोधेको होला, न त उनलाई बताउने फुर्सद नै हुन्छ। एकातिर माछा तारेको तार्यै हुन्छन्, अर्कातिर ग्राहकबाट पैसा बुझेर हिसाब पनि गर्नैपर्यो। अनि, माछासँग चिसो पेयको मजा लिन चाहनेका लागि बेलाबेला फ्रिज पनि खोल्नैपर्यो।
ताजा तारेको माछा पस्कने भएकाले डिकेलाई खासै फुर्सद हुँदैन। मान्छेहरू आएको आयै हुन्छन्। यहाँ मुरही, चना, माछा र चटनीबाहेक केही परिकार पाइन्न। तर, डिके जे कुरा पस्कन्छन्, त्यसमा सिद्धहस्त छन्। बेलाबेला डिके मातेका हुन्छन् अनि ग्राहकसँग बात मार्न थाल्छन्। पारिबाट आएका व्यापारीले रैथानेहरूको व्यापार खाइदिएको उनले दुखेसो गरे। सँगै, गुनासो पनि गरे, ‘तिनले माल राम्रो दिन्नन्, गाली हामीले खानुपर्छ।’
सायद यस्तै गुनासो सर्लाहीबाट दशकौँअघि जनकपुर आएर रामानन्द चोकमा सर्लाही होटल खोलेका रामानन्द गुप्ताको होला। रामानन्दको होटलमा कुनै बेला दैनिक २०० किलोसम्म चामलको भात पाक्थ्यो। त्यहीअनुसारको माछा जान्थ्यो। खसी र कुखुराको मासु बिक्थ्यो। कामदार कैयौँ थिए। ग्राहकको लाइन लाग्थ्यो। अचानक ठाउँ फेर्नुपर्यो र व्यापार बिस्तारै ओरालो लाग्यो। अहिले माछा तार्ने, पस्कने सबै काम रामानन्द आफैँ गर्छन्। भन्छन्, ‘केटाहरूलाई बस्न, खान दिएर ४०/४५ हजार दिँदा पनि ढंगको पकाउन जान्दैनन्। काम लाग्ने मान्छे कतै भेटिन्न।’ ६५ वर्षका रामानन्दको होटल पहिलेभन्दा खुम्चिएको छ, तर स्वादमा कुनै सम्झौता गरिएको छैन।

लपक्क पाकेको खसीको मासु र तारेको माछा। तस्बिर : राजेश घिमिरे
पिडारी चोकनजिकै ठेलमठेल हुने ठाउँ छ, हर्के राई दाइको मासु पसल। आफैँ खसी काटेर विविध परिकार बनाउने भएकाले यो ठाउँ मासु पारखीका लागि साह्रै विश्वासिलो छ। पंक्तिकारले परख गर्दा यहाँको मटन मम नेपालकै उत्कृष्ट पाँच मममध्ये पर्छ। यहाँ पाइने खसीको पक्कु, भुटन अनि चिउराको स्वाद त उत्कृष्ट छँदै छ। यहाँ छिरेपछिको माहोल नै अद्भुत हुन्छ। मैथिली, नेपाली अनि यी दुवै भाषा मिसिएका आवाजले असली नेपालको झल्को मिल्छ। खानाको पर्खाइमा टेबलमा हल्ला गरिरहेका ग्राहकलाई हर्के दाइका छोरा अशोकले काका, दाजु, साथी भनेर दंग पार्दै खाना पस्कन्छन्। नेपालको आतिथेयको नमुना देखिँदै जान्छ।
अलि कम हल्लाखल्लामा बसेर माछा र मदको स्वाद लिन चाहिँ राजदेवी मन्दिरनजिकको घरेलु होटल आनन्द राम्रो विकल्प हुनसक्छ। एउटा सानो गल्लीबाट सुत्त भित्र छिरेर यो होटलमा मुरही र माछाको मजा लिन सकिन्छ।
एयरपोर्ट रोडमा रहेको ललन फिस फ्राई हाउस अर्को स्वादिलो गन्तव्य हो। अलि व्यावसायिक ढंगबाट चलाइएको यो पसल माछाको पेटीका लागि बढी लोकप्रिय छ।
खसीको कटियादेखि कुखुरा र माछा फ्राई अनि मिथिला थालीलगायत विविध स्वाद लिने इच्छा भएकाहरूका लागि चाहिँ शिव चोकको पुरानो नवरंग सबैभन्दा उत्तम हुन्छ। भित्र छिर्नासाथ आँपको अचार राखिएका काँचका ठूला जारहरूको संग्रह देखिन्छ। यसले नै सही ठाउँमा आइएछ भन्ने अनुभूति गराइदिन्छ। चनासहित भुटेको मुरही र माछा यहाँको लोकप्रिय परिकार हो। मिथिला थालीमा पनि मान्छे उत्तिकै झुम्मिएका हुन्छन्।
ट्वाक्क रैथाने मधेसी स्वादको उत्सव मनाउने इच्छा भए ठूला रेस्टुराँभन्दा स्थानीय मान्छे नियमित जाने ठाउँ रोज्नु ठीक हुन्छ। हाम्रो रैथाने मधेसी स्वाद जोगाउने हो भने पालिकाहरूले लक्ष्मीनियाँमा भगीरथ दाइ वा अवधाले चलाएका दोकानहरूलाई प्रोत्साहित गर्नुपर्छ।