काठमाडौँ
००:००:००
२२ मंसिर २०८२, सोमबार

२१ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। संसद् विघटन भएको तीन महिनापछि नेपाली कांग्रेस संसद् पुन:स्थापनाको माग गर्दै सर्वोच्च अदालत पुगेको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार रिट निवेदन आज (आइतबार) पेस भएको छ। उनका अनुसार रिट सोमबार अध्ययन भएपछि दर्ता हुनेछ।

सर्वोच्चले यसअघि नै नेकपा एमाले लगायतले संसद् पुन:स्थापनाको माग गर्दै दर्ता गरेको रिटमा कारण देखाऊ आदेश जारी गर्दै एकैपटकमा हेर्ने गरी सबै मुद्दा लगतमा राखिसकेको छ।

संसद विघटन भएदेखि पुन:स्थापनाको पक्षमा उभिएको नेकपा एमालेका नेता महेश बर्तौलाले १० मंसिरमा रिट दर्ता गरेका थिए। संसद् पुन:स्थापनाको पक्षमा सर्वोच्चमा यसअघि नै १७ वटा रिट दर्ता भइसकेका छन्।

२३ र २४ भदौको जेन-जी आन्दोलनपछि बनेको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटनको प्रस्ताव राष्ट्रपतिकहाँ पेस गरेको थियो। प्रधानमन्त्री सुशीला कार्कीले गरेको संसद् विघटनको प्रस्ताव राष्ट्रपति रामचन्द्र पौडेलले अनुमोदन गरेका थिए।

अन्तरिम सरकारले आगामी २१ फागुनमा प्रतिनिधिसभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ।