आवरण
कृषि, पर्यटन र पशुपालनले समृद्ध मुस्ताङमा धनी परिवारको बाहुल्य
रेस्टुराँ छिर्ने प्रायः नेपालीहरूले अर्डर गर्नेमध्येको परिकार हो, मुस्ताङ आलु। मुस्ताङ आलुको माग बढी भएकैले मुस्ताङको नाममा रेस्टुराँतिर अरू जिल्लाका आलुले स्थान पाएका छन्। बजारको अत्यधिक माग धान्न मुस्ताङ आलुले सक्दैन। तर खुसीको कुरा चाहिँ चालु आर्थिक वर्षमा बहुचर्चित मुस्ताङ आलुको उत्पादन बढेको छ। यसपालि नौ हजार ६६५.१६ मेट्रिक टन मुस्ताङ आलु उत्पादन भएको छ। यसको मूल्य ६२ करोड ८२ लाख २५ हजार ४०० हुने कृषि ज्ञान केन्द्र मुस्ताङको तथ्यांकमा उल्लेख छ। यो आँकडा अघिल्लो वर्षको तुलनामा १३.७६ प्रतिशतले बढी हो।
अघिल्लो आर्थिक वर्ष आठ हजार ४९६ मेट्रिक टन मुस्ताङ आलु उत्पादन भएको थियो। बजार मूल्यअनुसार यो ५० करोड ९७ लाख ६० हजार रुपैयाँ बराबर हो।
मुस्ताङमा उत्पादित आलुको माग उच्च भए पनि त्यहाँ उत्पादित आलुमध्ये ६० प्रतिशत बाहिरी जिल्लामा जान्छ भने ३० प्रतिशत जिल्लाकै होटल, रेस्टुराँमा खपत हुन्छ। बाँकी १० प्रतिशत आलु किसानहरूले बीउका लागि जोगाउँछन्। मुस्ताङ आलुको यो कथाले त्यो जिल्लाको कृषि उपजको महत्त्व र माग बुझ्न सकिन्छ।

मुस्ताङका किसानले उत्पादन गरेको मुस्ताङी लोकल आलु। तस्बिर : सुन्दरकुमार थकाली/रासस
हुन पनि, हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङ कुनै बेला विकट र विकासमा पछौटे मानिन्थ्यो। तर, विकासका पूर्वाधार पुगेसँगै अहिले मुस्ताङ कृषि र पर्यटनका माध्यमबाट समृद्ध बनिरहेको छ। सानो भूगोल, थोरै जनसंख्या, भौगोलिक विकटता र दक्ष जनशक्तिको अभावबीच मुस्ताङले कृषि, पशुपालन र पर्यटनबाट वार्षिक कम्तीमा १० अर्बभन्दा बढी रुपैयाँ आम्दानी गरिरहेको छ। मुस्ताङ सडक सञ्जालमा जोडिएसँगै स्याउ, आलु, ओखरजस्ता रैथाने उत्पादनले सहजै बजार पाएका छन्। च्यांग्रा, याकलगायत पशु बिक्री सहज भएको छ।
जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङ सडक सञ्जालसँग जोडिएपछि मुस्ताङको मुहार फेरिएको बताउँछिन्। उनका अनुसार दशकअघिसम्म मुस्ताङमा फलेका स्याउ अरू ठाउँमा लानुपर्दा कि हवाईजहाज कि खच्चडलाई बोकाउनुपर्थ्यो। त्यसरी हवाइजहाजबाट लैजाँदा महँगो पर्ने र खच्चडबाट लाँदा आधासरो बाटोमै बिग्रिन्थ्यो। उनी भन्छिन्, “अहिले स्याउ मात्र होइन, मुस्ताङमा आलु, ओखर र सागसब्जी जेजति उत्पादन गरे पनि खेर जाँदैन, बिक्रीका लागि बजार लान सहज भएको छ।”
एक अर्बको स्याउ
मुस्ताङमा चालु आर्थिक वर्ष २०८२/८३ मा ६ हजार ६८४.३० मेट्रिक टन स्याउ उत्पादन भएको तथ्यांक छ। जसको मूल्य एक अर्ब १० करोड २३ लाख ७० हजार रुपैयाँ हुन्छ। मुस्ताङमा उत्पादित स्याउमध्ये ९० प्रतिशत मुस्ताङबाहिर निर्यात हुन्छ। यस वर्ष मात्र मुस्ताङले ९९ करोड २१ लाख ३३ हजार रुपैयाँको स्याउ बाहिरी जिल्लामा निर्यात गरेको छ।

मुस्ताङको थासाङ गाउँपालिका-१ टुकुचे गाउँका किसान बारीमा लटरम्म फलेको स्याउ टिपेर बजार लैजाने तयारी गर्दै। तस्बिर : सुशीलबाबु थकाली/रासस
यसैगरी अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा सात हजार ३२८.८४ मेट्रिक टन स्याउ उत्पादन भएको थियो। त्यसबाट जिल्लालाई ९१ करोड ८६ लाख ७२ हजार ४०० रुपैयाँ आर्जन भएको थियो। यसमध्ये मुस्ताङबाहिरका जिल्लामै ८२ करोड ६८ लाख पाँच हजार १६० रुपैयाँको निर्यात गरिएको थियो। कृषि ज्ञान केन्द्रको तथ्यांकअनुसार रैथाने स्याउको उत्पादन घटे पनि उच्च घनत्वको स्याउको उत्पादन बढेको छ।
मुस्ताङमा उत्पादित स्याउ पोखरा, काठमाडौँ, नारायणगढ, बुटवललगायत देशका प्रमुख सहरमा पुग्छ। कृषि तथा पशु विकास कार्यालय मुस्ताङका प्रमुख राजेश गुरुङ संघीय, प्रदेश र स्थानीय सरकारसमेतको सहकार्यमा गरिएको स्याउ उत्पादनले मुस्ताङले राम्रो आम्दानी गर्न सकेको बताउँछन्। भन्छन्, “स्याउमा देखिएको समस्याको उपचार खोज्ने र नयाँ प्रविधिअनुसार खेती गर्ने, किसानहरूसँग सहकार्य गरेर उत्पादनमा जोड दिने गरिएकाले पनि राम्रो उत्पादन भएको हो।”
एक अर्बको च्यांग्रा
मुस्ताङले दसैँतिहारमा देशका प्रमुख सहरलाई च्यांग्रा आपूर्ति गर्छ। उच्चभेगमा पर्ने हिमाली जिल्लाका च्यांग्राको माग दसैँतिहारमा अत्यधिक हुन्छ। भेटेरिनरी अस्पताल तथा पशुसेवा बिक्री केन्द्र मुस्ताङको तथ्यांकअनुसार यसपटक दसैँतिहारमा मात्रै मुस्ताङबाट करिब सात हजार च्यांग्रा अरू जिल्ला पठाइए।

मुस्ताङका भेडा तथा च्यांग्रा। तस्बिरः सुशीलबाबु थकाली/रासस
कर्णालीका मुगु, डोल्पा, जुम्लातिरका च्यांग्रा पनि मुस्ताङ हुँदै अरू जिल्ला पठाउने गरिन्छ। केन्द्रले सबैतिरका गरी एक वर्षमा १५ हजार च्यांग्रा ‘सर्टिफाइड’ गरेर मुस्ताङबाहिर आपूर्ति गरेको केन्द्रका प्रमुख लालमणि अर्याल बताउँछन्।
उनका अनुसार कतिपयले च्यांग्रा सर्टिफाइड नगरी अरू जिल्लामा बिक्रीका लागि लैजाने गरेका छन्। यसरी लगिएका च्यांग्राहरू पोखरा, चितवन, काठमाडौँलगायत विभिन्न जिल्ला पुर्याइन्छन्। मुस्ताङबाट वार्षिक ६० करोड मूल्यभन्दा बढीका च्यांग्रा बाहिर लगिने गरेको प्रमुख अर्याल बताउँछन्। भन्छन्, “मुस्ताङ र अन्य जिल्ला गरी वर्षमा एक अर्बभन्दा बढीको च्यांग्रा बाहिर निर्यात गरिन्छ।”
सात अर्बको पर्यटन
मुस्ताङले पछिल्लो समय सबैभन्दा धेरै आम्दानी पर्यटनबाट गरेको छ। २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार मुस्ताङको जनसंख्या १४ हजार ४५२ छ। जसमध्ये करिब १० हजार मात्र जिल्लामा बस्छन्। बाँकी पोखरा, काठमाडौँलगायत ठाउँमा व्यापार-व्यवसाय गर्छन्। तर, पर्यटक आउने याममा मुस्ताङको जनसंख्याकै हाराहारी पर्यटक दिनकै भित्रिन्छन्। मुस्ताङस्थित होटल सिर्जना एन्ड थकाली किचनका सञ्चालक सुविन्द्र गौचन भन्छन्, “सिजनका बेला यहाँ दिनमै १०-१२ हजार पर्यटक आउँछन्।”
सन् २०२५ को नोभेम्बरसम्म मुस्ताङमा एक लाख ३५ हजार ७१९ विदेशी पर्यटक आए। यो अघिल्लो वर्षभन्दा १४ हजार ४११ जना अर्थात् १०.६१ प्रतिशत बढी हो।
केही वर्ष पहिलेसम्म मुस्ताङमा बाटोको राम्रो सुविधा थिएन। २०६४/६५ सालमा मात्र मुस्ताङमा सडकमार्ग खुलेको हो। त्यसयता बाह्य पर्यटक भित्रिन थाले पनि तीनचार वर्षयता चारपांग्रे गाडी र मोटरसाइकलसमेत सहजै जान सक्ने थिएन। त्यसयता भने सडकको स्तरोन्नति भएको छ भने मुस्ताङ जाने पर्यटक बढेका छन्।

मुस्ताङ पुगेका विदेशी पर्यटक र घाँसा चेकपोइन्टमा आन्तरिक पर्यटक। तस्बिर : सुशीलबाबु थकाली/रासस
अहिले मुस्ताङको ८० प्रतिशत सडक पक्की छ। पोखरा र काठमाडौँबाटै गाडी र मोटरसाइकलमा समेत पुग्न सकिने भएको छ। पछिल्लो समय मुस्ताङमा विदेशीसँगै आन्तरिक पर्यटकको संख्या बढेको छ। मुस्ताङ पुग्ने आन्तरिक पर्यटक ४० देखि ५० प्रतिशतले बढेको स्थानीय पर्यटन व्यवसायीको भनाइ छ। तीन वर्षयता आन्तरिक पर्यटक अत्यधिक बढेको व्यवसायी गौचन बताउँछन्। मुस्ताङ जाने पर्यटकमध्ये ३० प्रतिशत विदेशी र ७० प्रतिशत नेपाली हुन्छन्।
पर्यटकको सुविधाका लागि यहाँ होमस्टे, होटल र रेस्टुराँ गरी जम्मा ४०० छन्। भदौदेखि पुस र चैतदेखि जेठसम्म मुस्ताङ घुम्ने समय हो। यही बेला विदेशीहरू ट्रेकिङ र घुमघामका लागि मुस्ताङ पुग्छन् भने नेपालीहरू विशेषगरी मुक्तिनाथ दर्शनका लागि जाने गर्छन्। पछिल्लो समय भने नेपालीहरू पनि ट्रेकिङ र घुमघामका लागि जाने गर्छन्।
अमेरिकी सञ्चारमाध्यम न्युयोर्क टाइम्सले सन् २०२४ मा मुस्ताङलाई घुम्नैपर्ने गन्तव्यमा सूचीकृत गरेको थियो। न्युयोर्क टाइम्सको सूचीअनुसार विश्वका ५२ घुम्नैपर्ने गन्तव्यमा मुस्ताङ ३७औँ नम्बरमा समावेश थियो।

मुस्ताङको सुन्दर दृश्य। तस्बिर : प्रभाकर गौतम
स्थानीय व्यवसायीहरूको अनौपचारिक अनुमानअनुसार मुस्ताङमा पर्यटन व्यवसायबाट मात्रै वार्षिक पाँचदेखि सात अर्ब रुपैयाँसम्म आम्दानी हुन्छ। जिल्ला समन्वय समितिका समन्वय अधिकारी कीर्तनराज पौडेल त पर्यटकहरूले मुस्ताङमा बस्ने, खाने र स्थानीय उत्पादन कोसेली लिएर जाने सबै हिसाब गर्ने हो भने वार्षिक १० अर्ब रुपैयाँ हाराहारी आम्दानी हुने बताउँछन्। भन्छन्, “एकमुस्ट हिसाब राख्ने गरिएको छैन, सबै जोड्ने हो भने वर्षभरिमा १० अर्ब आम्दानी हुन्छ।”
त्यसो त मुस्ताङबाट वार्षिक ५० करोड रुपैयाँभन्दा बढीको छुर्पी तथा विभिन्न जडीबुटी निर्यात हुन्छ। त्यस्तै, स्याउबाटै बन्ने मार्फाको वाइन र रक्सी पनि सोही हाराहारीमा निर्यात हुने गरेको स्थानीय बताउँछन्। शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका पूर्वप्रमुख पद्मराज आत्रेय भन्छन्, “केन्द्रले आफैँ पनि वाइन उत्पादन गर्छ। निजी उद्योगहरूले पनि उत्पादन गर्छन्। यकिन हिसाब नभए पनि करोडौँको व्यापार हुन्छ।”
सहकार्यले बढेको सामर्थ्य
थोरै जनसंख्या, विकट भूगोल, दक्ष जनशक्तिको अभावजस्ता विविध समस्या रहेको मुस्ताङ कसरी समृद्ध भयो? यसबारे बुझ्न स्थानीयको मेहनत र सहकार्यको अध्ययन गर्न जरुरी हुन्छ।

समुद्री सतहबाट दुई हजारदेखि आठ हजार १६७ मिटर उचाइमा रहेको मुस्ताङको क्षेत्रफल तीन हजार ५७३ वर्ग किलोमिटर छ। घरपझोङ, थासाङ, लो–घेकर दामोदरकुण्ड, लोमन्थाङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका रहेको मुस्ताङ भौगोलिक विकटता, सडकको अभाव आदिका कारण पछौटेपनको सिकार भएको थियो। मुस्ताङमा जब सडक सञ्जाल पुग्यो, त्यससँगै समृद्धिको ढोका खुल्यो।
धवलागिरि र निलगिरि हिमालबीचमा रहेको मुस्ताङमा सडक सुविधा पुगेसँगै विकासका अन्य पूर्वाधार पनि भित्रिए। पर्यटक ओइरिन थाले। यातायातको सहज पहुँच भएपछि मुस्ताङका उत्पादन पोखरा, काठमाडौँ हुँदै देशैभर पुग्न सके। पर्यटन व्यवसायी गौचन थप्छन्, “सडक राम्रो भएपछि पोखरा, काठमाडौँबाट एकदुई दिनमै पुग्न सकिने भएकाले पनि पर्यटकहरू बर्सेनि बढिरहेका छन्। आगामी वर्ष यो अझै बढ्ने देखिन्छ। बाटोकै कारण उत्पादन पनि सहजै बाहिर जान सम्भव भयो।”

मुस्ताङस्थित प्रसिद्ध धार्मिक स्थान मुक्तिनाथ। तस्बिर : प्रभाकर गौतम
मुस्ताङको आर्थिक सामर्थ्य बढाउन स्थानीयवासीको सहकार्य उदाहरणीय छ। देशका अन्य भागमा खासै काम नभएको भनेर जिल्ला समन्वय समितिको आलोचना हुने गरेको छ, तर मुस्ताङमा स्थानीय तहहरू र किसानलाई जुटाउन जिल्ला समन्वय समितिले सहजीकरण गर्ने गरेको छ।
स्थानीयका समस्या समाधानका लागि समन्वय समितिकी प्रमुख माया गुरुङ अहिले काठमाडौँ आएर मन्त्रालय र विभिन्न विभाग धाइरहेकी छन्। उनी भन्छिन्, “हामी मुस्ताङको विकासका लागि सबैसँग समन्वय गरेर काम गरिरहेका छौँ। सबैको सहकार्यले नै मुस्ताङ अघि बढिरहेको छ। एकदुई जना र एउटा निकायले मात्र गरेर सम्भव हुँदैन रहेछ। सबै मिल्यो भने धेरै काम गर्न सकिन्छ।”
जिल्ला समन्वय समिति मुस्ताङका सूचना अधिकारी सविन पौडेल मुस्ताङलाई समृद्ध बनाउन स्थानीयबीच सहकार्य महत्त्वपूर्ण रहेको बताउँछन्। उनका अनुसार तीन तीन महिनामा हुने जिल्ला समन्वय समितिको बैठक पाँचै गाउँपालिकामा पालैपालो बस्ने गरिएको छ। यी बैठकमा सबै पालिकाका साझा समस्या पहिचान, तिनको समाधान, रैथाने उत्पादन, करलगायत मुद्दामा मन्थन हुन्छ। पालिकाहरूको संयुक्त बैठकबाट स्थानीय उत्पादनको गुणस्तर कायम गर्ने, बजार पठाउनेजस्ता विषयमा पनि छलफल गरेर निर्णय हुन्छ।
यसको एउटा दृष्टान्त हेरौँ : यसपटक जिल्ला समन्वय समिति मुस्ताङको संयोजनमा कृषि कार्यालय र स्याउ किसानहरूको बैठक गरेर स्याउका प्रजातिअनुसार ५, १५ र २५ भदौभन्दा अगाडि कसैले पनि स्याउ टिप्न र बिक्री गर्न नपाउने निर्णय गरियो। सूचना अधिकारी पौडेल भन्छन्, “राम्रोसँग गुलियो नपसी स्याउ टिपेर बिक्री गर्दा मुस्ताङको स्याउको गुणस्तरमा असर पर्यो। कृषि विज्ञहरूको समन्वयमा बगानमै गएर टिप्न योग्य भएपछि मात्र अनुमति दिइयो। त्यसले मुस्ताङको स्याउको ब्रान्डिङ राम्रो भयो।”

स्याउमा मात्र होइन, मुस्ताङको पर्यटन, कृषि, पशुपालनजस्ता क्षेत्रमा कसरी विकास गर्न सकिन्छ भनेर स्थानीय तहबीच छलफल हुन्छ। पालैपालो हुने अन्तरपालिका बैठकमा स्थानीय किसान र विज्ञहरूले आफ्ना अनुसार अन्य पालिकाका प्रतिनिधिलाई सुनाउँछन्। पालिकाका प्रतिनिधि र किसानबीच अनुभव आदानप्रदान हुन्छ। मुस्ताङमा अझै कसरी पर्यटक आकर्षित गर्न सकिन्छ भनेर स्थानीय तहहरूले छलफल चलाउने गरेका छन्। जसमा पर्यटन व्यवसायी, किसान र स्थानीय तहका प्रतिनिधि सहभागी हुन्छन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत वर्ष गरिबी पहिचान कार्यक्रमअन्तर्गत ६४ जिल्लाको तथ्यांक विश्लेषण गर्दा बाजुरा सबैभन्दा गरिब र मुस्ताङ सबैभन्दा धनी परिवार भएको जिल्लामा सूचीकृत भएका थिए। त्यो तथ्यांकअनुसार मुस्ताङको गरिबी ५.०३ प्रतिशत मात्र छ।