काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

सरुवामा बेथिति

आफूले कारबाही सिफारिस गरेको पात्रलाई नै ‘हाकिम’ बनाइदिएपछि राजीनामा दिने मनस्थितिमा डा. विजयकुमार झा

२३ मंसिर २०८२
कोशी प्रदेश स्वास्थ्य मन्त्रालय र इन्सेटमा बायाँतर्फ भ्रष्टाचार आरोपी डा. गम्भीर झा र दायँतर्फ छानबिन गरी कारबाही सिफारिस गर्ने डा. विजयकुमार झा
अ+
अ-

विराटनगर। सरकारी बजेट हिनामिनामा छानबिन गरी कारबाहीको सिफारिस गर्ने कर्मचारीलाई कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले कारबाही सिफारिस गरिएकै व्यक्तिको मातहतमा रहने गरी सरुवा गरेको छ। उदयपुरको आयुर्वेद स्वास्थ्य केन्द्रमा भएको भ्रष्टाचारको छानबिन गरेका वरिष्ठ कविराज निरीक्षक विजयकुमार झालाई उनैले कारबाही सिफारिस गरेको डा. गम्भीर झाको मातहत रहने गरी भोजपुर सरुवा गरिएको हो।

स्वास्थ्य निर्देशनालय धनकुटाका वरिष्ठ कविराज निरीक्षक विजयकुमार झाले उदयपुर आयुर्वेद स्वास्थ्य केन्द्रका तत्कालीन प्रमुख डा. गम्भीर झाले गरेका आर्थिक अनियमितताको छानबिन गरेका थिए। छानबिनका क्रममा डा. झाले कार्यालयको बजेट हिनामिना गरेको, फर्जी बिल बनाएको र सरकारी सम्पत्ति दुरुपयोग गरेको पुष्टि भएको थियो। यसपछि उनलाई १८ मंसिरमा भोजपुरस्थित जिल्ला आयुर्वेद अस्पताल सरुवा गरिएको थियो।

तर, मन्त्रालयले मंगलबार डा. झालाईलाई कारबाही सिफारिस गर्ने छानबिन अधिकृत विजयकुमार झालाई पनि सरुवा गरी भोजपुर नै पठाएको छ। मन्त्रालयको यो निर्णयलाई उनले ‘इमानदार कर्मचारीको अपमान’ भनेका छन्।

उनले भने, ‘‘मैले अनुगमन गर्दा देखिएको भ्रष्टाचारको प्रतिवेदन बुझाएँ र कारबाहीको सिफारिस गरेँ। तर, सचिवज्यूले आरोपीलाई कारबाही गर्नुको साटो उल्टै उपहारस्वरूप मलाई नै पेल्ने गरी सरुवा गर्नुभयो। उदयपुरमा भ्रष्टाचार गर्नेहरू इमानदार ठहरिए, अनि छानबिन गर्ने म चाहिँ बेइमान?’’

आयुर्वेदतर्फका १५ जना कर्मचारीको सरुवा हुँदा पहुँचवालाहरूलाई तराईका जिल्लामा मात्र घुमाइएको पाइएको छ भने पहुँच नहुनेलाई दुर्गम पहाडी जिल्लामा थन्क्याइएको छ।

उनले अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमाण बुझाएर सेवाबाटै राजीनामा दिने बताएका छन्। ‘‘जसलाई कारबाही हुनुपर्ने हो, उही मेरो हाकिम हुने स्थिति सिर्जना गरिएको छ। यो कस्तो न्याय हो? मन्त्रालयको यो प्रवृत्तिको विरोधमा मसँग राजीनामाबाहेक अर्को विकल्प रहेन। म अख्तियारमा प्रमाण बुझाएर राजीनामा दिन्छु,” उनले भने।

के थियो अनियमितता प्रकरण?

स्वास्थ्य निर्देशनालय धनकुटाका उपसचिव सोम अधिकारीको नेतृत्वमा गठित तीन सदस्यीय छानबिन समितिले डा. गम्भीर झाको नेतृत्वमा आर्थिक अनियमितता भएको निष्कर्ष निकालेको थियो। समितिले डा. झाले एक लाख ११ हजार ८४८ रुपैयाँ बराबरको होमियोप्याथिक औषधि खरिद गरेको भन्दै सुनसरीको इटहरी–८ स्थित ‘माउन्ट एभरेस्ट होमियो मेडिको प्रालि’ को फर्जी बिल पेस गरेको उल्लेख गरेको थियो। निःशुल्क स्वास्थ्य शिविरमा समेत स्टकमा रहेको पुरानो औषधि बाँडेर नयाँ किनेको भन्दै रकम हिनामिना गरिएको थियो।

यसैगरी कार्यालय परिसरमा जडीबुटी रोप्ने भन्दै विनियोजित ४५ हजार रुपैयाँमा आँप, लिची, कटहरजस्ता फलफूलका बिरुवा किनेको बिल बनाइए पनि ती बिरुवा कार्यालयमा नरोपिएको समितिको प्रतिवेदनले औँल्याएको थियो। समितिले  छानबिन सकेर १८ भदौमा स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो। तर मन्त्रालयले झालाई ३० भदौमा स्पष्टीकरण मात्र सोध्यो। त्यसमाथि कारबाही गर्नुसाटो सामान्य सरुवा मात्र गरेर उन्मुक्ति दिन खोजेको पनि देखिएको छ। उनलाई सरुवाबाहेक कुनै किसिमको कारबाही गरिएको छैन।

यो प्रकरणमा मात्र होइन, सामान्य अवस्थामा पनि कोशी प्रदेशमा सरुवामा चरम बेथिति भएको पाइएको छ। आयुर्वेदतर्फका १५ जना कर्मचारीको सरुवा हुँदा पहुँचवालाहरूलाई तराईका जिल्लामा मात्र घुमाइएको पाइएको छ भने पहुँच नहुनेलाई दुर्गम पहाडी जिल्लामा थन्क्याइएको छ।

वरिष्ठ कविराज खगेन्द्र पौडेललाई दुई वर्ष नपुग्दै झापाको प्रादेशिक आयुर्वेद अस्पतालबाट सुनसरी जिल्ला आयुर्वेद अस्पतालमा सरुवा गरिएको छ। यसअघि उनी सरुवा हुँदै सुनसरी, झापा र तेह्रथुम घुमिसकेका छन्। तर, ६ वर्षदेखि पहाडी जिल्लामा काम गर्दै आएका विजयकुमार झालाई भने पुनः पहाडमै (भोजपुर) पठाइएको छ।

कोशी प्रदेशका स्वास्थ्य सचिव डा. यदुचन्द्र घिमिरे भने सरुवा नियमित प्रक्रिया भएको दाबी गर्छन्। सरुवामा विभेद भएको अस्वीकार गर्दै उनले भने, ‘‘मन्त्रालयले आवश्यकता अनुसार खटाएको हो। जहाँ खटाइएको छ, त्यहाँ गएर कर्मचारीले काम गर्नुपर्छ। सरुवाको विषयलाई लिएर अहिलेसम्म कसैले राजीनामा दिएको छैन, त्यो उहाँ (विजयकुमार झा) को व्यक्तिगत कुरा हो।’’