काठमाडौँ
००:००:००
२४ मंसिर २०८२, बुधबार

२४ मंसिर २०८२
अ+
अ-

बाँके। ‘सीप सिकौँ, स्वरोजगार बनौँ’ भन्ने मूल नाराका साथ बाँकेमा अश्वपालक महिलाका लागि तीन महिनाको सीपमूलक तालिम औपचारिक रूपमा सुरु गरिएको छ।

पशु स्वास्थ्य तालिम तथा परामर्श सेवा बाँकेको आयोजनामा तथा गोरखनाथ ट्रेनिङ सेन्टर प्रालिको प्रविधिक सहयोगमा सञ्चालन भइरहेको यो तालिमले घोडा, खच्चड, गधालगायत अश्वजन्य पशुपालनमा संलग्न महिलालाई सिलाइ-कटाइ र बुनाइको व्यावसायिक सीप प्रदान गर्ने उद्देश्य राखेको छ।

भेरी प्राविधिक शिक्षालय प्रमुख आशा श्रेष्ठले नेपाल सरकारले देशभर महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिमलाई अत्यधिक प्राथमिकताका साथ लागू गरिरहेको बताइन्। उनले बाँकेमा पनि विशेष गरेर मधेसी र मुस्लिम समुदायका महिला तथा किशोरीलाई सीपमा सक्षम बनाउन नेपाल सरकारले धेरै प्रभावकारी तालिमको आयोजना गरेको जानकारी दिइन्।

“यस किसिमका तालिम केवल सीप प्रदान गर्ने कार्य मात्र नभई महिलालाई आत्मविश्वासी र आर्थिक रूपमा सक्षम बनाउँछ,” उनले भनिन्‚ “नेपाल सरकारले महिला उद्यमशीलता प्रवर्द्धनलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाएको छ। तपाईंहरूले यो तालिम पूरा गरेपछि सरकारले उपलब्ध गराइरहेका विभिन्न सहुलियतपूर्ण कर्जा सुविधा, समूह उद्यम स्थापनाका अनुदान, उपकरण सहयोग र बजार पहुँच कार्यक्रमबाट प्रत्यक्ष लाभ लिन सक्नुहुन्छ।”

परियोजना संयोजक सुदर्शन भट्टराईले पशुपालक समुदायका महिलाको वास्तविक आवश्यकता पहिचान गरेर तालिम सुरु गरिएको बताए। “अश्वपालक परिवारमा पुरुष प्रायः दिनभर घोडा र खच्चड लिएर बाहिर काममा निस्किन्छन्। घरमा बस्ने महिलासँग सीप नहुँदा उनीहरू आर्थिक गतिविधिबाट टाढिन बाध्य छन्। तालिमले उनीहरूलाई सीपसम्पन्न बनाएर स्वरोजगारतर्फ अघि बढाउनेछ‚” उनले भने, “तपाईंहरूले यहाँ उपस्थित भएर सीप सिक्ने प्रतिबद्धता देखाउनु नै ठूलो उपलब्धि हो। हामीले न केवल सीप सिकाउँछौँ, आवश्यक परे स्वरोजगार स्थापना गर्न पनि मार्गदर्शन र अवसर प्रदान गर्छौं।”

गोरखनाथ ट्रेनिङ सेन्टर प्रालिका व्यवस्थापक निर्देशक मधु खड्काका अनुसार २३ मंसिरदेखि २२ फागुनसम्म सञ्चालन हुने तालिममा मुस्लिम समुदायका महिलासहित २० जना सहभागी भएका छन्। उनका अनुसार तालिमलाई व्यवहारिक र पूर्ण व्यावसायिक बनाउने उद्देश्यले अनुभवी प्रशिक्षक संगीता गौतमले सहभागीलाई प्रशिक्षण गर्नेछन्।

सहभागीलाई तालिमका लागि आवश्यक सामग्री तथा उपकरण उपलब्ध गराइएको आयोजकले जनाएको छ। आयोजकका अनुसार तालिम सम्पन्न भएपछि महिलाहरूलाई स्वरोजगारका अवसर खोजिदिन तथा सीपलाई व्यवहारिक उद्यममा रूपान्तरण गर्नसमेत सहजीकरण गरिनेछ। -रासस