काठमाडौँ
००:००:००
२४ मंसिर २०८२, बुधबार

टिप्पणी

कुनै समय नेपाली राजनीतिको केन्द्रमा रहेका र बोलीले नै समीकरणमा प्रभाव पार्ने पुष्पकमल दाहाल पार्टीभित्र र बाहिर सान, मान गुमाएपछि अस्तित्व रक्षाका लागि अरूको सहारा लिन बाध्य छन्।

२४ मंसिर २०८२
नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणासभामा पुष्पकमल दाहाल। तस्बिर : बिक्रम राई
अ+
अ-

सागर की तुफाँ को भि हम ने वश मे किया है 
पहाड व चट्टान का पथ मोड दिया है 
होगा ना कोही हिटलर कोही नवाब
हम सर्वहारा की आवाज इन्कलाब!

जेन-जी आन्दोलनपछि वाम घटकहरू मिलेर पुष्पकमल दाहालको संयोजकत्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बनाएका छन्। पार्टीले एकता सन्देश सभाको नाममा देशका विभिन्न ठाउँमा कार्यक्रम गरिरहेको छ। यसै क्रममा जनकपुरमा भएको सभामा संयोजक दाहालले माथिको गीत गाएका थिए। अहिलेको परिवेशमा उनले यो गीत किन गाए त? एउटा कुरा के देखिन्छ भने, जेन-जी आन्दोलनपछि पुराना दलका नेताहरूमध्ये दाहाल सबैभन्दा सक्रिय छन्। यसले के देखाउँछ भने, जस्तोसुकै प्रतिकूल अवस्थामा पनि केही न केही गरिराख्ने मान्छे हुन् दाहाल।

राजनीतिक आरोह

नेपालको राजनीतिमा २०३६ देखि २०४६ सम्मको समय निकै उथलपुथलपूर्ण थियो। पञ्चायती व्यवस्थाले राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धित भएका कारण भूमिगत रूपमा गतिविधि गर्ने गरेका दलहरूभित्र पनि उथलपुथल थियो। झापा विद्रोहको नेतृत्व गरेको नेकपा (माले)भित्र नेतृत्वको लडाइँ थियो। त्यसबेलाको क्रान्तिकारी दल मानिने नेकपा (चौम) दुईपटक फुटेको थियो। मोहनविक्रम सिंहलाई यौनविकृतिमा संलग्न भएको आरोपमा कारबाहीस्वरूप महासचिवबाट हटाइएको थियो। २०४२ सालमा केन्द्रीय समिति सदस्य बन्न पुगेका पुष्पकमल दाहालले उक्त घटनालाई वैचारिक भनेका थिए। कुनै पनि घटना वा प्रवृत्ति विचारसँग जोडिने भएकाले मोहनविक्रममा देखिएको यौनविकृति उनमा आएको वैचारिक विचलन भएको उनको विश्लेषण थियो। दाहालको उक्त टिप्पणीलाई तत्कालीन मोटो मशालका नेताहरूले सही ठहर गरेका थिए। २०४२ सालमा भएको पाँचौँ महाधिवेशनमा दाहाल एकाएक चर्चामा आएका थिए।

पाँचौँ महाधिवेशनमा फरक मतको प्रतिवेदन सीपी गजुरेलले प्रस्तुत गरेका थिए। तर, उक्त महाधिवेशनले मोहन वैद्य (किरण)लाई महामन्त्री बनाएको थियो। दाहालले किरण र गजुरेलमा भएका कमजोरी राम्रै गरी बुझेका थिए। मोहनविक्रमको जस्तो लेखन क्षमता मशालका अन्य कुनै पनि नेतामा थिएन। त्यसैले दाहालले आफ्नै ज्वाइँ खिमलाल भण्डारी, पुष्पविमल भण्डारीलगायतसँग मिलेर सामूहिक अध्ययन सुरु गरेका थिए। कृषिमा स्नातक गरेका, अंग्रेजीमा ठीकैको दखल राख्ने दाहाल नेकपा (मशाल)भित्र जान्नेसुन्नेभित्र गनिन थालेका थिए।

२०४२ सालमा नेकपा (मशाल)ले राष्ट्रिय पञ्चायतको चुनाव बहिष्कार गर्ने नीति लिएको थियो। महामन्त्री रहेका किरणको नेतृत्वमा मशालका केही युवाले असनमा रहेको पुलिसको सेक्टरमा तोडफोड गरेका थिए। उक्त घटनापछि सरकारले ठूलो दमन गरेको थियो। केही नेता/कार्यकर्तालाई गिरफ्तार गरिएको थियो। तत्कालीन मशालले उक्त घटनालाई ‘सेक्टर काण्ड’ को संज्ञा दिएको थियो। चतुर दाहालले उक्त काण्ड उग्र वामपन्थी भएकाले त्यसबेलाका नेताहरूले नैतिक जिम्मेवारी लिई एक एक तह घट्नुपर्ने प्रस्ताव राखेका थिए। युवा, अध्ययनशील, वाक्पटुताका कारण उनको प्रस्ताव पारित भयो। फलस्वरूप किरणले महामन्त्री छाड्नुपर्‍यो। देव गुरुङ सेक्टर काण्डको कमान्ड गरेकाले महामन्त्रीको दौडमा परेनन्। सीपी गजुरेललाई पञ्चायती व्यवस्थामा कागज गरेको आरोप थियो। यस्तो अवस्थामा २०४६ सालमा बसेको केन्द्रीय समितिको बैठकमा किरणले दाहाललाई महामन्त्रीमा सिफारिश गरेका थिए।

एकपटक संयुक्त पार्टीको महामन्त्री बनिसकेका भक्तबहादुर श्रेष्ठले किरणको उक्त प्रस्तावको प्रतिवाद गरेका थिए, ‘किरणजी, महामन्त्री तपाईंको खल्तीको चीज हो र, जसलाई पायो त्यसैलाई बाँड्नुहुन्छ? श्रेष्ठको प्रतिवादमा कसैले साथ दिएन र ३४ वर्षको उमेरमा दाहाल मशालको महामन्त्री बन्न पुगेका थिए। त्यस समयदेखि अहिलेसम्म दाहालले पार्टी प्रमुखको ताज अरूलाई लगाइदिएका छैनन्।

महामन्त्री भएदेखि दाहालको उकालो यात्रा सुरु भएको थियो। महामन्त्री भएको केही समयपछि पञ्चायतविरुद्ध आन्दोलन भयो। राजा-कांग्रेस-वामको सम्झौतामा बहुदल आयो। मदन भण्डारीले नेतृत्व गरेको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माले) र मनमोहन अधिकारीको पार्टी मार्क्सवादीबीच एकता भएर नेकपा (एमाले) बनेको थियो। दाहालको मशाल, बाबुराम भट्टराईसहितको हरिबोल गजुरेलको नेकपा (मसाल), निर्मल लामाको नेकपा (चौम), रूपलाल विश्वकर्माको सर्वहारावादी श्रमिक संगठन र रूपचन्द्र विष्टको जनमुखी पार्टीको एक हिस्सा, जसको नेतृत्व रामनारायण बिडारीले गरेका थिए, मिलेर नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र) बनेको थियो। २०४८ सालमा उक्त पार्टीको एकता महाधिवेशन भएको थियो। उक्त महाधिवेशनमा मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद-लेनिनवाद-माओवाद र कार्यदिशा ‘दीर्घकालीन जनयुद्ध’ लाई बहुमतबाट पारित गराउन दाहालले रूपलाललाई पैसा दिएको कुरा निकै चर्चामा थियो। उक्त महाधिवेशनबाट दाहाल पुनः महामन्त्रीमा चयन भएका थिए।

कम्युनिस्टहरूले कुनै पनि वस्तुको अन्त्यको प्रमुख कारण आन्तरिक हुन्छ भन्ने मान्छन्। वास्तवमा नीतिगत रूपमा चुनवाङ बैठकबाट दाहालको ओरालो यात्रा सुरु भएको थियो।

उक्त एकता लामो समय टिक्न सकेन। २०५१ सालमा संसदीय निर्वाचन बहिष्कारको बहाना बनाएर एकता केन्द्र फुट्यो। दाहालहरूले राष्ट्रिय सम्मेलन गरेर नेकपा (माओवादी) बनाएका थिए। उक्त सम्मेलनले चुनाव बहिष्कार गर्ने र सशस्त्र युद्धको तयारी गर्ने निर्णय गरेको थियो। सशस्त्र युद्धको तयारीका लागि केन्द्रीय समितिको एक बैठकमा दाहालको नेतृत्वबारे प्रश्न उठेको थियो। त्यस समयमा बाबुराम भट्टराई चर्चामा थिए। हरिबोल गजुरेलले बैठकमा भनेका थिए, ‘किरणजी दार्शनिक, बादलजी सैन्य र संगठनमा राम्रो क्षमता भएको, बाबुरामजी अर्थ-राजनीतिमा अब्बल, तपाईं चाहिँ केमा हो?’ हरिबोलले यसरी होच्याएर प्रश्न गरेपछि दाहालले भनेका थिए, ‘अब हेर्दै जानुहोला।’

सशस्त्र विद्रोह सुरु भएको दुई वर्ष पुग्दै गर्दा २०५५ सालमा चौथो विस्तारित बैठक बसेको थियो। बैठकमा दाहालले नेतृत्व स्थापना गर्ने निर्णय पारित गराएका थिए। हतियारबद्ध पार्टीको मुख्य नेताको फोटो सार्वजनिक गर्ने, नेताका भनाइलाई उद्धृत गर्दै कार्यकर्ताले लेख्नुपर्ने निर्णय गरिएको थियो, जुन कुनै पनि हदमा ठीक थिएन।

राजनीतिक, वैचारिक र सांगठनिक रूपमा अब्बल रामबहादुर थापा त्यस समयमा कारबाहीमा परेका थिए। पार्टीभित्र भट्टराईको खासै पकड थिएन। किरणलाई आफ्नो पक्षमा पारेर दाहालले युवाहरूको बलमा नेतृत्व स्थापनाको प्रस्ताव पारित गराएका थिए।

नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणासभामा पुष्पकमल दाहाल। तस्बिर : बिक्रम राई

सशस्त्र युद्ध सुरु भएको पाँच वर्ष पुग्दै गर्दा दोस्रो राष्ट्रिय सम्मेलन गरियो। उक्त सम्मेलनले विचार संश्लेषण गर्ने भन्दै भट्टराईलाई साथ लिएर ‘प्रचण्डपथ’ पारित गराएका थिए। साथै, सबै अवयवको केन्द्रीकरण भन्दै उनी अध्यक्ष बने, पार्टी, मोर्चा र ‘जनसेना’ का प्रमुख बने। यसरी पार्टी महामन्त्री बनेको ११ वर्षमा उनी एउटा युद्ध लडिरहेको पार्टीको सर्वोच्च कमान्डर बन्न पुगेका थिए। यो नै दाहालको राजनीतिक आरोहणको उच्च बिन्दु थियो। किनभने, कम्युनिस्ट पार्टीमा नेताको नाममा विचार संश्लेषण हुनु दुर्लभ अवसर हो र प्राधिकारपूर्ण अध्यक्ष हुनु सबैभन्दा उच्च पद हो।

उकालो यात्रामा विराम

२०५७ सालपछि दाहालको चढावमा रोकावट आयो। यसको एक कारण पदीय हिसाबले अध्यक्षभन्दा माथि जाने ठाउँ थिएन। अर्को कुरा, उनले विचार संश्लेषण गर्ने प्रयत्न गरेका थिए। जस्तै, २०६० सालको रोल्पाको गैरीगाउँमा बसेको केन्द्रीय समितिको बैठकमा उनले ‘एक्काइसौँ शताब्दी जनवादको विकास’ बारे दस्तावेज ल्याएका थिए। उक्त दस्तावेजलाई महाधिवेशनबाट पारित गराई प्रचण्ड विचारधारा वा वादका रूपमा संश्लेषण गर्न चाहन्थे। तर, केही समयपछि भारतमा मोहन वैद्यको गिरफ्तारी, बाबुराम भट्टराईसँग अन्तरसंघर्षका कारण त्यो सम्भव हुन सकेन।

सशस्त्र विद्रोहकालभरि केवल एक वर्षको नेपाल बसाइ, त्यो पनि दिनदिनै जस्तो आक्रमण, गोलाबारुद, खारा कारबाही असफलताले गर्दा अब युद्ध लडेरै सत्ता कब्जा गर्न सकिँदैन भन्ने निष्कर्षमा दाहाल पुगेको देखिन्छ। उनको यो सोचाइलाई असोज २०६२ मा भएको केन्द्रीय समितिको बैठकले साकार पार्‍यो। उक्त बैठकमार्फत दाहालले सम्पूर्ण अधिकार अध्यक्षको मातहत राखेर आफूमा शक्ति निहित मात्र गरेनन्, भट्टराईको लोकतान्त्रिक गणतन्त्रको कार्यनीतिमा सहमति जनाए। यसले गर्दा संसदीय दलहरू र भारतको संस्थापन पक्षसँग संवाद र सहकार्य गर्ने ढोका खुलेको थियो।

अवतरणको सुरुआत

कम्युनिस्टहरूले कुनै पनि वस्तुको अन्त्यको प्रमुख कारण आन्तरिक हुन्छ भन्ने मान्छन्। वास्तवमा नीतिगत रूपमा चुनवाङ बैठकबाट दाहालको ओरालो यात्रा सुरु भएको थियो। नयाँ जनवादी क्रान्ति गर्ने भनेर सुरु गरिएको सशस्त्र विद्रोहलाई मंसिर २०६२ मा तत्कालीन सात राजनीतिक दलसँग भएको बाह्रबुँदे सहमति गरी विसर्जन गरेका थिए। त्यो सहमतिबाट सशस्त्र विद्रोही नेकपा (माओवादी)ले स्थानीय सत्ता, जनमुक्ति सेना र आधार इलाका छाड्ने निर्णय गरेको थियो। त्यसको विधिवत् कार्यान्वयन ५ मंसिर २०६३ मा सरकार र विद्रोही माओवादीबीच विस्तृत शान्ति सम्झौताबाट भएको थियो। त्यसपछि दाहाल शक्तिशाली अध्यक्ष रहेनन्। फलस्वरूप २०६४ सालमा भएको माओवादीको पाँचौँ विस्तारित बैठकमा पहिलोपटक दाहालको दस्तावेज पारित भएन। हुन त २०६४ सालको संविधानसभा निर्वाचनबाट माओवादी सबैभन्दा ठूलो दल बन्यो। तर, प्रथम राष्ट्रपतिका रूपमा प्रस्तावित दाहाल नौमहिने कार्यकालका प्रधानमन्त्रीमा सीमित हुन पुगे।

प्रधानसेनापतिलाई बर्खास्त गरेको ‘कटुवाल काण्ड’ का कारण प्रधानमन्त्री छाड्न बाध्य भएका दाहालको व्यावहारिक रूपमा नै अवतरण सुरु भएको थियो। अध्यक्ष र प्रधानमन्त्री भएकै समयमा किरणले खरीपाटी भेलामा फरक मत पेस गरेर उनलाई वैचारिक चुनौती दिएका थिए।

असार २०६९ मा दाहाललाई २०४६ सालमा महामन्त्री बनाएका तथा दाहालका गुरु भनेर चिनिने किरण, उनका बालसखा रामबहादुर थापा, सशस्त्र विद्रोहका पहलकर्तामध्येका एक सीपी गजुरेल, देव गुरुङ, पम्फा भुसालसहितको ठूलो टिमले विद्रोह गरेको थियो। पार्टीबाट ठूलो शक्ति बाहिरिनु र संविधानसभामा उठाएका मुद्दा छाडेका कारण २०६४ सालमा प्रत्यक्षमा १२० सिट जितेको माओवादी २०७० सालमा २६ सिटमा खुम्चियो। त्यसपछि दाहाल क्रमश: अझ कमजोर हुँदै गए। २०७२ सालमा संविधान जारी भएपछि बाबुराम भट्टराईले पनि उनलाई छाडे।

दाहालको जस्तो राजनीतिक जीवनको अति सुखद र दु:खद परिघटना सायदै कसैले भोगेका होलान्। सत्ताविरुद्ध विद्रोह गर्दै देशको सैन्य शक्तिसँग जुधेका दाहाल अहिले त्यही सत्ता र सुरक्षा निकायको निगाहमा बाँच्नुपर्ने अवस्था छ।

दाहालले आफ्नो राजनीतिक जीवनमा पञ्चायत, संवैधानिक राजतन्त्रात्मक संसदीय व्यवस्था र अहिले आएर लोकतान्त्रिक गणतन्त्र गरी तीन फरक राजनीतिक व्यवस्थामा नेतृत्व मात्र गरेका छन्। तर, अहिले उनी आफ्नै पार्टीमा भर पर्न सकेका छैनन्।

जेन-जी आन्दोलनका क्रममा गत २४ भदौमा उनी सिंहदरबारमा प्रतिपक्षी दलहरूको बैठकमा बस्दै गर्दा उनको खुमलटारको निवास, पेरिसडाँडाको कार्यालय, चितवन शिवनगरको घरमा आगो लाग्यो। उनलाई सिंहदरबारको सुरक्षामा खटिएको सेनाले नरसिंह गणको भवनको पाँचौँ तलामा लगेर सिंहदरबार, सर्वोच्च अदालत र संसद् भवन जलेको देखायो। यो घटनाबाट दाहाल निकै हतप्रभ भए। तथापि, उनले आफ्नो त्यो भावना कसैलाई देखाएनन्।

अहिले दाहालसँग पुराना सहयोद्धाहरू साथमा छैनन्। जनार्दनले पनि पार्टी छाडे। तर पनि, उनको फुर्ती अरू नेताहरूको भन्दा बढी छ। सशस्त्र विद्रोहपछि दाहालले सबैभन्दा बढी आलोचना गरी एमाले संशोधनवादी भएको लेखेका छन्। तर, अहिले आफ्नो अस्तित्व जोगाउन उनले लामो समयसम्म एमालेका महासचिव भएका माधवकुमार नेपाल र अध्यक्ष भइसकेका झलनाथ खनाललाई बोकेर हिँड्नुपरेको छ। भीम रावल, राजेन्द्र श्रेष्ठहरूसँग एकता गरेर भ्यागुताको धार्नी पुर्‍याउन खोजेका छन्। कुनै समय ‘प्रचण्ड’ एउटा ब्रान्ड थिए। नेपाली राजनीतिको केन्द्रमा थिए। उनको बोलीले समीकरणमा प्रभाव पार्थ्यो। अहिले उनी निरीह बन्न पुगेका छन्। सत्ताबाहिर जीवन देख्न छाडेका उनी अरूको आसमा मुख मिठ्याउँदै बस्नुपरेको छ।

दाहालको जस्तो राजनीतिक जीवनको अति सुखद र दु:खद परिघटना सायदै कसैले भोगेका होलान्। सत्ताविरुद्ध विद्रोह गर्दै देशको सैन्य शक्तिसँग जुधेका दाहाल अहिले त्यही सत्ता र सुरक्षा निकायको निगाहमा बाँच्नुपर्ने अवस्था छ।