काठमाडौँ
००:००:००
४ फाल्गुन २०८२, सोमबार

२६ मंसिर २०८२
अ+
अ-

बाँके। पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले राजनीतिक दलका नेताहरूले विकास निर्माण एवं जनताका पक्षमा केही पनि काम गरेनन् भनेर भ्रम सिर्जना गरिएको बताएका छन्।

नेपालगन्जमा बिहीबार आयोजित बाँके जिल्लास्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले आफूहरू सरकारमा रहँदा देश र जनताका पक्षमा उल्लेख्य कामहरू गरेको भए पनि त्यस्ता राम्रा र विकासका कामहरूलाई दबाउने गरी जनतामा भ्रम सिर्जना गरिएको आरोप लगाए।

‘हिजोसम्म हामी भन्दै थियौँ, कहिले नेकपा (एमाले), कहिले माओवादी, कहिले त कहिले समाजवादी। अब हामीले यसको नाम ‘नेपाली कम्युनिस्ट पार्टी राखेका छौँ। यो पार्टी नेपालको राजनीतिमा चम्किलो तारा जस्तै चम्किरहेको छ,’ उनले भने, ‘यो पार्टीले अब गरिब, विपन्न समुदायका लागि थुप्रै काम गर्नेछ ।’

सहसंयोजक नेपालले त्याग, तपस्या र बलिदानको परीक्षामा उत्तीर्ण भएकाहरूले नै देशको नेतृत्व गर्न सक्ने बताए। जनताको आधारभूत आवश्यकता पूरा गर्नु नै समाजवाद भएको उनको भनाइ छ।

विसं २०६६ सालमा आफू प्रधानमन्त्री हुँदा ‘जनता आवास कार्यक्रम’ ल्याएको स्मरण गर्दै नेता नेपालले भने, ‘जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चित गर्नु नै हाम्रो पार्टीको मुख्य उद्देश्य हो, जसको घर छैन, उसलाई सरकारले घर दिनुपर्छ भन्ने निर्णय गर्ने प्रधानमन्त्री म नै थिएँ।’

आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिँदै नेता नेपालले अब नयाँ नेपालको सपना बोकेर अगाडि बढ्न सबैलाई आग्रह समेत गरे।

कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका नेता शक्तिबहादुर बस्नेतलगायत नेताले समाजवादी अभियान लिएर आफूहरू जनतामा आएको उल्लेख गर्दै आगामी निर्वाचनमा नेकपा सबैभन्दा उत्कृष्ट पार्टी हुने विश्वास व्यक्त गरे।