पर्सा। पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-२४ का २० वर्षीय युवराज पटेल, सोही वडाका २१ वर्षीय अफजल देवान, धादिङ बेनिघाट रोराङ गाउँपालिका-६ का १९ वर्षीय रामहरि मगर र धादिङ सिदलेख गाउँपालिका-७ का १९ वर्षीय राजकुमार मगराती रहेका छन्।
पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकका अनुसार उनीहरूलाई वडा प्रहरी कार्यालय श्रीपुरको टोलीले पक्राउ गरेको हो। उनीहरूलाई वीरगन्ज महानगरपालिका-१५ प्रतिमा चोकस्थित टिकट काट्ने काउन्टरअगाडि रोकिराखेको इभी गाडीबाट पक्राउ गरिएको पाठकले बताए।
उनका अनुसार बाग्मती प्रदेश ०८-००१ज ०११७ नम्बरको गाडीमा सवार दुई जनालाई पक्राउ गरिएको थियो। सुरूमा प्रहरीले गाडीबाट ६० हजार ५३० पिस ट्रामाडोल हाइड्रोक्लोरिड क्याप्सुल बरामद गरेको थियो। अनुसन्धान गर्दै जाँदा प्रहरीले पटेल र देवानको कोठामा लुकाएर राखेको १५ हजार ६४० पिस ट्रामाडोल क्याप्सुल बरामद गरेको थियो। चारै जनाबाट ७६ हजार १७० पिस ट्रामाडोल हाइड्रोक्लोरिड क्याप्सुल बरामद भएको पाठकले बताए।
पाठकका अनुसार पक्राउ परेका सबै जनालाई लागुऔषध मुद्दामा सात दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। पाठकका अनुसार उनीहरू लागुऔषध कारोबारी रहेको खुलेको छ। “ट्रामाडोल लागुऔषधका अन्य कारोबारीहरू को हुन् भन्नेबारे अनुसन्धान जारी छ,” एसपी पाठकले भने।