काठमाडौँ
००:००:००
६ श्रावण २०८३, बुधबार

६ श्रावण २०८३
तस्बिर : नेपाल प्रहरी
अ+
अ-

दाङ। दाङको बंगलाचुलीको एक जंगलबाट प्रहरीले आज (बुधबार) ११ वटा अवैध भरुवा बन्दुक फेला पारेको छ।

बंगलाचुली गाउँपालिका ८‚ स्थित घोरलभिर भनेर चिनिने पिपली जंगलको झाडीमा लुकाइ राखेको अवस्थामा ११ नाल अवैध भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिए।

उनका अनुसार विशेष सूचनाका आधारमा प्रहरीचौकी रामपुरबाट खटिएको प्रहरीको टोलीले आज बिहान ९ बजे जंगलका विभिन्न स्थानमा लुकाइ राखेको अवस्थामा १० वटा चालु र एकनाल नचल्ने बन्दुक फेला पारिएको हो। ती बन्दुक कसले कुन प्रयोजनका लागि राखेको भन्नेबारे थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ।

यसअघि प्रहरीले मंगलबार लमही नगरपालिका १‚ नर्तीस्थित बकेन सामुदायिक वनबाट एकथान भरुवा बन्दुक फेला पारेको थियो। गत सोमबार लमही नगरपालिका ९‚ च्याउखोला क्षेत्रमा रहेको बिरह सामुदायिक वनबाट पनि प्रहरीले बेवारिसे अवस्थामा एक थान भरुवा बन्दुक फेला पारेका थियो। लगातार तीन दिनको अवधिमा जिल्लामा १४ नाल अवैध भरुवा बन्दुक फेला परेका छन्।