काठमाडौं। विशेष अदालतले भिजिट भिसा प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईलाई २५ लाख रूपैयाँ धरौटीमा तारेखमा राख्न आदेश गरेको छ। विशेषका अध्यक्ष एवं न्यायाधीश सुदर्शनदेव भट्ट, नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले थुनछेक बहसपछि आज (शुक्रबार) धरौटी लिएर तारेखमा राख्न आदेश गरेको हो ।
भट्टराईलाई धरौटीमा छाड्ने र पुर्पक्षका लागि थुनामा पठाउनेबारे तीनजना न्यायाधीशबीच इजलासमा राय बाझिएको थियोे । न्यायाधीश भट्ट र पौडेलले धरौटी आदेश गरे भने न्यायाधीश श्रेष्ठले थुनामा पठाउने आदेश गरेका छन्। तर बहुमत दुईजना न्यायाधीशले धरौटी मागेर तारेखमा राख्ने आदेश नै सदर भएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईसमेत ७ जना र २ वटा कम्पनीविरुद्ध घुस लिइ भ्रष्टाचार गरेको आरोपमा बिहीबार मुद्दा दर्ता गरेको थियोे ।
अख्तियारले भिजिट भिसामा विदेश पठाउँदा अध्यागमनमा सेटिङ गरी सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) कसुरमा पनि आरोपपत्र दर्ता गरेको छ।
भिजिट भिसामा विदेश यात्रामा आवश्यक पर्ने कागजात नमिलेको बहानामा दुःख दिइ घुस लिने गरेको अख्तियारको आरोप छ। भट्टराई २३ असोज २०८१ देखि ७ जेठ २०८२ सम्म प्रमुख अध्यागमन अधिकृतको रूपमा कार्यरत थिए।
अख्तियारले भट्टराईविरुद्ध ७९ लाख ८० हजार, तत्कालीन अध्यागमन अधिकृत यज्ञराज अर्यालविरुद्ध ८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ। साथे ग्रिनलाइन होलिडेज प्रालि र त्यसै कम्पनीका अध्यक्ष बालकृष्ण खड्काविरुद्ध ३० लाख २० हजार रुपैयाँ, फेमली होलिडेज ट्राभल्स एण्ड टुर्स प्रालि र उक्त कम्पनीका सञ्चालक दिपक भण्डारीविरुद्ध १० लाख ६० हजार रुपैयाँ, ग्रिनलाइन होलिडेजका सञ्चालक राम खड्काविरुद्ध ३० लाख २० हजार रुपैयाँ मागदाबी गरेको छ । त्यसैगरी कविता पोडेलविरुद्ध ७९ लाख ८० हजार, खेमप्रसाद सुवेदीविरुद्ध ७९ लाख ८० हजार बिगो मागदाबी गरिएको थियोे ।