साताको सिनेमा
हिंसा र हिरोइज्मको सहारामा भनिएको आतंकवादको कथा
निर्देशक : आदित्य धर
कथा : आदित्य धर
कलाकार : रणवीर सिंह, सारा अर्जुन, अक्षय खन्ना, सञ्जय दत्त, राकेश बेदी, अर्जुन रामपाल र अन्य
छायांकन : विकास नौलखा
सम्पादन : शिवकुमार भी प्यानिकर
निर्माता : आदित्य धर, लोकेश धर
कथा/पटकथा : अंक (२.५)
२४ डिसेम्बर १९९९ मा नेपालबाट उडेको भारतीय विमान आईसी ८१४ अपहरण भएको २६ वर्ष पुगेको छ। चालक दलसहित १७९ यात्रु सवार विमान नेपालबाट अफगानिस्तानको कान्दाहार पुर्याइएको थियो। ती यात्रुहरू छुटाउन भारत सरकार आतंकवादको आरोपमा भारतमा थुनिएका तीन जनालाई मुक्त गर्न बाध्य भएको थियो। रिहा भएका ती आतंककारी पछि भारतमा भएका ठूला शृंखलाबद्ध विस्फोटमा संलग्न देखिएका थिए।
धुरन्धरको कथा यही पृष्ठभूमिबाट सुरु हुन्छ। विमान अपहरणपछि सन् २००१ को दिल्ली संसद् भवन आक्रमण, सन् २००८ को मुम्बई विस्फोटजस्ता घटनाहरू भए। ती घटनामा संलग्न आतंककारीहरूको संलग्नता पाकिस्तानीहरूसँग जोडिएको थियो।
विमान हाइज्याक र संसद् भवन आक्रमणपछि भारतीय इन्टेलिजेन्स ब्युरो निर्देशक अजय सन्याल (माधवन)ले एउटा मिसन बनाउँछन्, धुरन्धर। यो मिसनको उद्देश्य भारतीय जासुस पाकिस्तानी माफिया र आतंकवादीको सञ्जालभित्र प्रवेश गरेर उनीहरूको सूचना चुहाई योजना तुहाउन सकियोस् भन्ने हुन्छ। र, धुरन्धर मिसनका लागि यस्तो कैदी चुनिन्छन्, जसलाई ज्यानको कुनै परवाह नहोस्।
यसका लागि हमजा अली मजारी (रणवीर सिंह) चुनिन्छन्, जो महत्त्वाकांक्षी मिसन बोकेर कराँचीको लयारी प्रवेश गर्छन्। लयारीमा मुख्य पकड राख्ने रहमान डकैत (अक्षय खन्ना)को नजिक पुग्नु हमजाको लक्ष्य हुन्छ। किनकि, लयारीका शक्तिशाली डन रहमानको निकट हुनु शक्ति, बन्दुक र राजनीतिको नजिक पुग्नु हो। यसका लागि हमजाले रहमानका छोरालाई बचाउने जोखिम मोल्दै उनलाई प्रभावित पार्न सफल हुन्छन्। रहमानको ग्याङमा प्रवेश गरेपछि हमजा चाँडै उनको भरोसायोग्य पात्र पनि बन्छन्। र, उनी बिस्तारै पाकिस्तानमा हतियार बनाउने, किनबेच गर्ने, नक्कली भारतीय पैसा छाप्ने, भारतमा हमलाको योजना बुन्ने सूचना/योजनाको स्रोतसम्म पुग्न सफल हुन्छन्।

चलचित्र धुरन्धरको एक दृश्य
तर, अर्काको देशको अति खतरनाक र संवेदनशील समूहभित्र पसेर जासुसी अभियान चलाइरहेको हमजा आफू कति सुरक्षित छन्? उनको साहस र चलाखी मात्रले भारतीय इन्टेलिजेन्स ब्युरोको महत्त्वाकांक्षी मिसन सफल होला? फिल्म यसकै सेरोफेरो घुम्छ।
माध्यम हमजा भए पनि पाकिस्तानको राजनीति, अपराध र आतंकको सम्बन्ध स्थापित गर्न कथाको धेरै भाग रहमानको वरिपरि घुम्छ। यही क्रममा सारा अर्जुन, सञ्जय दत्त, अर्जुन रामपाललगायत पात्रहरू कथाको केन्द्रमा देखा पर्छन्। दमदार कास्टिङ, बलियो संवाद र एक्सनले दर्शकलाई रोमाञ्चित बनाउँछन्। तर, जासुसी थ्रिलर ग्याङस्टरको लडाइँमा खुम्चिँदा यो रोमाञ्च पर्याप्त लाग्दैन।
यथार्थ घटनाबाट प्रभावित भनिएको फिल्ममा कतिपय ठाउँमा वास्तविक फुटेजसमेत प्रयोग भएका छन्। लयारी र कराँचीको अपराध र राजनीतिमा संलग्न वास्तविक पात्रहरूको संसार चियाउन मसिना कुराहरूमा पनि ध्यान दिइएको छ। तर, वास्तविकताको नजिक पुग्न खोजेको फिल्मका मूल चरित्र हमजा वास्तविक कम, हिरो बढी लाग्छन्। यसले यथार्थ र कल्पनाको सन्तुलन बिगारेको महसुस हुन्छ। फिल्मको तीव्रतामा एक्सन हाबी छ। चरित्र र घटनासँग भावनात्मक संवेदना स्थापित गर्ने पक्ष कमजोर छ।
अभिनय : अंक (३)
कास्टिङ फिल्मको सशक्त पक्ष हो। रणवीर सिंहको प्रस्तुतिमा चरित्रअनुसारको ऊर्जा भेटिन्छ, आँखाको अभिव्यक्तिमा पनि उनी प्रभावकारी लाग्छन्। रणवीरकी प्रेमिका बनेकी सारा अर्जुनले मन्त्रीकी छोरी र ग्याङस्टरकी प्रेमिका यलिनाको भूमिका निर्वाह गरेकी छिन्। छोटो भूमिकामा देखिने माधवन, सञ्जय दत्त (एसपी चौधरी असमल) र अर्जुन रामपाल (मेजर इकबाल, आइएसआई)ले राम्रै छाप छोड्छन्। नेता जमिल जमालीको भूमिकामा राकेश बेदीको काम पनि सराहनीय छ। तर, रहमान डकैतको भूमिकाबाट अक्षय खन्नाले बाजी मारेका छन्। डनको भूमिकामा देखिने उनको ‘औरा’ धेरैका लागि प्रिय बनेको छ। पछिल्लोपटक छावामा शक्तिशाली खलनायकको भूमिका निर्वाह गरेका खन्नाले धुरन्धरमा त्योभन्दा बलियो प्रभाव छोडेका छन्। मिडिया र सामाजिक सञ्जालमा अहिले उनकै चर्चा छ।
प्राविधिक पक्ष : अंक (३)
तीन घण्टा ३४ मिनेट लामोधुरन्धरले इन्टरनेटमा ‘सेन्सेसन’ नै फैलाएको छ। बक्स अफिसमा पनि रेकर्ड बनाइरहेको छ। यसको कारण फिल्मको प्रस्तुति नै हो। साढे तीन घण्टाको फिल्मको छायांकन, सम्पादनलगायत प्राविधिक पक्ष आकर्षक र चुस्त नभई यति लामो समय दर्शकलाई बाँध्न सम्भव हुँदैन।

चलचित्र धुरन्धरको एक दृश्यमा अक्षय खन्ना
प्रोडक्सन डिजाइन, संगीतदेखि भीएफएक्ससम्मले दर्शकलाई ‘इन्गेज’ गराउँछन्। फिल्ममा समावेश नयाँ गीतहरूसँगै ‘रम्भा हो’, ‘हवा हवा’ जस्ता पुराना भारतीय र पाकिस्तानी गीतहरूसमेत सरोबरी प्रयोग भएका छन्। तर, गम्भीर कथामा आउने सबै गीत र पार्श्वसंगीत आवश्यक लाग्दैनन्।
निर्देशन : अंक (२.५)
छोटा रिल्स चल्ने वर्तमान समयमा साढे तीन घण्टाको फिल्म बनाउनु आफैँमा जोखिम थियो, आदित्य धर यो जोखिममा खरो उत्रेका छन्। आतंकवादजस्तो संवेदनशील विषयमा फिल्म निर्देशन गर्नु अर्को चुनौती हो, यसमा भने उनी चुकेका छन्। आतंकवादको कथा भन्नुको अर्थ दर्शकमा घृणा जगाउनुको साटो मानवीय संवेदना जोगाइराख्नु हो। तर, फिल्मको लेखक तथा निर्मातासमेत रहेका निर्देशक धरको यो फिल्म भारतीय उग्रराष्ट्रवादी सोचबाट प्रेरित छ। आतंकवादको कथा भन्दा मानवीय पक्ष दबिएको छ। बरु, यो कथा भन्न उनले हिंसाको अतिरञ्जना, ‘हिरोइज्म’ को सहारा बढी लिएका छन्, जसको प्रस्तुतिमा यस्तै शैलीको एनिमल फिल्मको झल्को आउँछ।
यसअघि उनले निर्देशन गरेको उरी द सर्जिकल स्ट्राइकमा पनि उग्रराष्ट्रवादकै आडमा कथा भनेका थिए।
धुरन्धरको चर्को राष्ट्रवादको असरले भारतीय दर्शक हलसम्म मात्रै तानेको छैन, मिडिया र सामाजिक सञ्जालमा धुरन्धरबारे आलोचनात्मक टिप्पणी गर्नेहरूलाई ट्रोल गर्ने कामसमेत भइरहेको छ। समीक्षक अनुपमा चोपडाले धुरन्धरलाई उग्रराष्ट्रवादी र पाकिस्तानविरोधी फिल्म भनेर टिप्पणी गरेकी थिइन्। सामाजिक सञ्जालमा तीव्र आलोचना भएपछि उनले त्यो समीक्षा हटाउनुपरेको थियो। यस घटनाले पनि धुरन्धरले समातेको उग्रवादी विचार पुष्टि हुन्छ।