काठमाडौँ
००:००:००
२८ मंसिर २०८२, आईतवार

नियात्रा

मलाई लाग्छ, समग्र नेपालको विकास प्रक्रियाको तुलनात्मक अध्ययन गर्ने हो भने सबैभन्दा उपयुक्त जिल्ला हुनसक्छ– नवलपुर।

२८ मंसिर २०८२
गैँडाकोटमा रहेको मौलाकालिका मन्दिर
अ+
अ-

म गैँडाकोट धेरैपटक आएँ। तर, ६ मंसिर २०८० यस्तो एक दिन बन्यो जुन दिन मैले आफूलाई पहिलोपटक गैँडाकोटको सिरानमा रहेको मौलाकालिकाको आँगनमा उभ्याउन सकेँ।

आँगनमा गाडिएको मौला र सामुन्ने कालिकाको मन्दिर। गैँडाकोटबाट केबलकारबाट श्रीमति मुन्नी र छोरा आदित्येन्द्रसँग म त्यहाँ पुगेको थिएँ। भरतपुरका पत्रकार नारायण अधिकारीले यो भ्रमणको संयोजन गरेका थिए।

केबलकार सञ्चालनमा आउनुअघि पैदलै सिँढी उक्लिएर मौलाकालिका पुग्नुपर्ने बाध्यताका कारण पनि हुनसक्छ यसअघि त्यहाँ जान आँट गर्न नसकेको। अहिले त पाँच मिनेटमै मन्दिर पुग्न सकिन्छ। त्यहाँ पुगिसकेपछि आस्थाको भावमा डुबुल्की मारिरहेको प्रकृतिले स्वागत गरेको बोध हुनु स्वयंमा निकै महत्त्वपूर्ण छ। केवलकारबाट झरेर केही बेरको पैदल यात्रापछि मन्दिरको प्रांगणमा पुगिन्छ।

असाध्यै मनोरम स्थल हुँदाहुँदै पनि त्यहाँ धेरै समय बिताउने सुविधा हामीलाई थिएन। त्यही दिन काठमाडौँ फर्कनुपर्ने थियो।

कान्छो जिल्ला

देशकै कान्छोमध्येको जिल्ला हो– नवलपुर। २०७२ सालमा संविधान जारी भएसँगै साविकको नवलपरासीबाट बर्दघाट सुस्तापूर्वका रूपमा दाउन्नेको डाँडोको पानीढलोका आधारमा पूर्वतिरको ढलोदेखि गैँडाकोट नारायणी किनारसम्मको भूभागलाई नयाँ जिल्लाको पहिचान प्रदान गरियो। चिनिने नाम भयो– नवलपुर।

मुस्ताङको दामोदर कुण्डबाट उद्‌भव हुने कृष्णा अर्थात् कालीगण्डकी अर्थात् नारायणी नदी नवलपुरकै त्रिवेणी (पूर्णभद्रा, स्वर्णभद्रा र नारायणी नदीको संगम) गजेन्द्रमोक्षधाम हुँदै भारत पस्दछ र यसपछि यो नदी गण्डकको परिचयले अगाडि बढ्दै गंगामा मिसिन्छ। नवलपुर सम्भवतः एक मात्र यस्तो जिल्ला हो जसलाई प्रारम्भदेखि अन्त्यसम्म (करिब ५२ किलोमिटर) कृष्णागण्डकी अर्थात् नारायणीले आफ्नो सान्निध्य प्रदान गरेको छ। जिल्लाको तल्लो क्षेत्र पूरै नारायणीसँग जोडिएको छ। यस आधारमा यो जिल्ला गण्डक सभ्यताका दृष्टिले महत्त्वपूर्ण भूमि हो।

नदी सभ्यताका दृष्टिले महत्त्वपूर्ण नवलपुरमा अथाह पर्यटकीय सम्भावना छ। तर, ओझेल परिरहेको छ, तराई, भित्री मधेस र पहाडको अतिरमणीय भूभागयुक्त तीनतले जिल्लाका रूपमा परिचित नवलपुर। यही नवलपुरको गैँडाकोट सिरानमा बसेर मौलाकालिका देवी सायद पुछारमा बग्ने नारायणीलाई हेर्दै बात मारिरहेको भान हुन्छ।

साबिकको नवलपरासी र हालको नवलपुरसँग मेरो निकै पुरानो सम्बन्ध छ। कम्तीमा २०३४/३५ सालदेखि। पिताजी सरकारी कर्मचारीका रूपमा भैरहवामा कार्यरत रहँदा भरतपुर, गैँडाकोट, अरुणखोला, कावासोती, चोरमारा, दाउन्ने, बर्दघाट, सुनवल, बुटवल हुँदै भैरहवासम्मको यात्राको सम्झना छ मलाई। भरतपुर वास बसेर डुंगाबाट नारायणी तरेर त्यहाँबाट बस यात्रा अनि अरुणखोलामा रात बिताएर अर्को दिन मात्रै भैरहवा पुगेको।

त्यसबेलाको नवलपुर सम्झेर वर्तमानसँगको तुलना गर्न नै कठिन हुन्छ। मलाई लाग्छ, नेपालको विकास प्रक्रियाको तुलनात्मक अध्ययन गर्न यो क्षेत्र निकै उपयुक्त छ। कुनै बेला राजमार्गमा बस्ती नै नदेखिने, देखिए पनि अत्यन्त पातलो र अव्यवस्थित नवलपुरको राजमार्ग क्षेत्र अहिले नगरहरूले भरिएको छ। मलाई लाग्छ, गैँडाकोटदेखि कावासोतीसम्मको राजमार्ग क्षेत्र सम्भवतः देशकै बढी प्रतिव्यक्ति आय भएको क्षेत्रमध्येको हो।

पर्यटनको प्रचुर सम्भावना

पिताजी २०५३ सालतिर नवलपरासीको सहायक प्रमुख जिल्ला अधिकारी हुँदा केही दिन मैले यहाँ बिताएको छु। मैले पहिलोपटक त्रिवेणीधाम भ्रमण त्यसैवेला गरेको हुँ। मलाई लाग्छ, यस जिल्लामा प्रचुर पर्यटकीय सम्भावना रहे पनि त्यसको विकास र प्रवर्द्धनमा खासै कसैको चासो छैन।

स्थानीय पत्रकार रमेश बस्ताकोटीका अनुसार नवलपुर जिल्लामा प्राकृतिक विविधता, सांस्कृतिक सम्पदा, धार्मिक केन्द्र, जैविक सम्पदा र ग्रामीण जीवनशैलीको अद्वितीय मिश्रण पाइन्छ। तराईदेखि भित्री मधेस हुँदै पहाडसम्म फैलिएको भूभाग, चितवन राष्ट्रिय निकुञ्जको जैविक विविधता, दक्षिण भएर बग्ने पवित्र कृष्णागण्डकी (नारायणी ) नदी, थारू र मगर समुदायको मौलिक संस्कृति तथा विभिन्न महत्त्वपूर्ण धार्मिकस्थलहरूले भरिपूर्ण नवलपुरले पर्यटकलाई सजिलै आकर्षित गर्नसक्छ। बस्ताकोटी भन्छन्, ‘तर, नवलपुरेले त्यसअनुसारको तयारी गर्न सकेका छैनन्, प्रचारप्रसार हुन सकेको छैन। सार्वजनिक सेवा प्रसारणका सञ्चालक सदस्य भूमि चापागाईंका अनुसार गैँडाकोटदेखि त्रिवेणीसम्मको पर्यटकीय क्षेत्रको पहिचान गरी प्याकेज बनाउने हो भने देशी-विदेशी पर्यटकलाई कम्तीमा तीन दिन जिल्लामा रोक्न सकिन्छ।

नारायणी नदीपछि यहाँको ठूलो प्राकृतिक सम्पदा चितवन राष्ट्रिय निकुञ्ज हो। निकुञ्जको पश्चिमी भाग नवलपुर जिल्लामा पर्छ। नारायणी किनारैकिनार जंगल अवलोकन गर्दै यात्रा गर्नुको मजा नै बेग्लै छ। मैले यो मार्गमा पटक पटक टुक्रा टुक्रा यात्रा गरेको छु।

यात्राकै क्रममा गैँडाकोट नगरपालिका-१२ स्थित नारायणी नदी किनारको कैलास मन्दिर जाने अवसर पनि पाएको छु। यो मन्दिर परिसरलाई कैलास सन्न्यास आश्रम पनि भनिँदो रहेछ। स्थानीयका अनुसार यो अत्यन्त प्राचीन मन्दिर हो। केहीले यो स्थानलाई पुरानो समयको बन्दरगाह पनि भन्दा रहेछन्। नारायणीको वारि र पारि गरी फैलिएको निकुञ्ज क्षेत्रमा पाइने एकसिंगे गैँडा, बाघ, हात्ती, हरिण, घडियाल, मगर गोही तथा सयौँ प्रजातिका चराहरूले नवलपुरलाई वन्यजन्तु अवलोकनका लागि महत्त्वपूर्ण स्थल बनाएका छन्। निकुञ्ज मात्र होइन, सामुदायिक र मध्यवर्ती क्षेत्रका वनमा समेत गैँडा, हरिण, मृग आदि जनावर देख्न सकिन्छ।

सूर्योदय तथा सूर्यास्त हेर्न सकिने एक आकर्षक स्थान हो– देवचुली डाँडा। एकपटक सूर्योदय नै हेर्ने उद्देश्यले देवचुलीमा वास बसेको सम्झना पनि छ मलाई। तर, बिहान अबेरसम्म निदाएपछि अर्को दिनको सूर्योदय हेर्न पाएको क्षोभ मलाई सधैँ रहनेछ। देवचुली डाँडा पुगेपछि देखिने हिमाल, पर्वत, मधेस, तराई, पहाडी भेगको अद्भुत दृश्यले यसलाई पदयात्राका लागि महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न सकिन्छ।

गैँडाकोट घर भएका राष्ट्रिय समाचार समिति (रासस)का अग्रज पत्रकार कृष्ण सापकोटाका अनुसार समग्र गैँडाकोट मात्र होइन, जिल्लाका पहाडी क्षेत्रमा रहेका गुफा, झरना, नदी र शुद्ध प्राकृतिक वातावरणको उपस्थितिमा साहसिक पर्यटनको प्रशस्त सम्भावना छ।

कावासोतीको टरुवा र पोखरी ताल

पूर्व-पश्चिम राजमार्ग भएर नवलपुर क्षेत्र आवतजावत गर्दा मेरो सधैँको विश्रामस्थल हो– कावासोती । पत्रकारहरू नारायण शर्मा, वीरेन्द्र पराजुली, रमेश बस्ताकोटी, केबी राना, खगराज सपकोटा, श्रीराम सिग्देल, विष्णु गौडेल, धनु भुसाल, नवीन, आशिष आदि यहाँका थुप्रै पत्रकारसँग बिताएका समय मेरा लागि स्मरणीय छन्।

यहाँ म प्रभावित भएको दर्शनीय स्थल हो– टरुवाताल। संरक्षण अभावमा निकै आकर्षक यो तालको अस्तित्व नै मेटिने हो कि भन्ने लागिरहन्छ। पत्रकार बस्ताकोटीका अनुसार प्रदेश र संघीय सरकारले तालको व्यवस्थापनका लागि बजेट विनियोजन त गरेका छन्, तर रकम पर्याप्त छैन। यस्तै, कावासोती-१ मा रहेको पोखरी ताल पनि जिल्लाको अर्को आकर्षणको केन्द्र हो। पछिल्लो समय यसको सौन्दर्यीकरण गर्न थालिएको छ।

मैले देखेको नवलपुरमा मौलाकालिका, कैलास मन्दिर र गजेन्द्रमोक्षधाम मात्र होइन, धार्मिक आस्थाका अन्य थुप्रै स्थान छन्। शाश्वतधाम (देवचुली), दाउन्नेदेवी, अकलादेवी, घुमाउरीघाट, मदारबाबा, वाल्मीकि आश्रमसहित कावासोतीको महाराजस्थान, देवचुली डाँडाको कुमारवर्ती माईलगायत धार्मिक-पर्यटकीय गन्तव्य हुन्।

नवलपुरको अमलटारी सामुदायिक होमस्टेको प्रसिद्धि पनि बढ्दो छ। यो होमस्टेमा मैले तीनचार पटक समय बिताउने अवसर पाएको छु। यहाँको वातावरण र होमस्टे सञ्चालकका व्यवहारबाट प्रभावित भएको छु। यहाकाँ थारू र मगर समुदायको मौलिक संस्कृति, परम्परागत नाचगान, उत्सव, खाना, घर र वास्तुकलाले जोकोहीलाई पनि लोभ्याउँछ। पर्यटकले थारू नृत्य, मगर नाच, झुम्रा, लाठी नाच, परम्परागत खाना र गाउँले जीवन नजिकबाट अनुभव गर्न पाउने भएकाले सांस्कृतिक र सामुदायिक पर्यटनका हिसाबले पनि नवलपुर महत्त्वपूर्ण छ।

मेरो नवलपुरको यात्रा सकिएको छैन। उसले त मलाई पटक पटक बोलाइरहन्छ, बरु म नै जान भ्याइरहेको छैन। विश्वास छ, नवलपुरले मलाई जहिल्यै हृदय फिँजाएर स्वागत गर्छ। कसो नवलपुर?