टिप्पणी
कानुन मिचेर दुई दुईपटक संसद् विघटन गर्ने उनको गैरसंवैधानिक कदममा अदालतले ब्रेक लगाएपछि उनले योसम्म भन्न भ्याए– यो अदालत के अदालत, जसले मैले भनेको आदेश लेख्दैन।
हुन त अमुक पार्टी वा त्यसका नेतालाई व्यक्तिगत रूपमा आलोचना गर्नु उचित नहोला। यद्यपि, बहुदलपश्चात् राजनीतिक दलहरू हिजोजस्तो प्रतिबन्धित अवस्थामा छैनन्। दलका प्राय: सबै गतिविधि सार्वजनिक नै छन्, त्यसैले दुईपटक प्रधानमन्त्री भइसकेका व्यक्तिको सार्वजनिक रूपमा टिप्पणी गरिनुलाई स्वाभाविकै मानिन्छ।
मैले उठान गर्न खोजेको व्यक्ति उनै खड्गप्रसाद ओली हुन् जो आफूबाहेक अरू कसैलाई देखिसहँदैनन्। संसारमा त्यस्ता थुप्रै नेता जन्मिए जसको अटेरी स्वभावले राष्ट्रलाई ठूलो विपत्तिबाट बाहिर निकाल्यो। उनीहरू जनताका कुरा सुन्थे र जनताकै भावनाअनुरूप बोल्थे पनि। महात्मा गान्धीकै अटेरीपनका कारण भारत स्वतन्त्र भयो। अंग्रेजका कुरा नसुनेर उनले भारतलाई २०० वर्ष लामो औपनिवेशिक शासनबाट स्वतन्त्रता दिलाए। नेल्सन मन्डेलाले पनि गोराका कुरा नसुनेर दक्षिण अफ्रिकालाई स्वतन्त्र मुलुक बनाए। नेपालमा विश्वेश्वरप्रसाद कोइरालाको अटेरीपनले १०४ वर्षको जहानियाँ राणाशासनको अन्त्य भयो। तर विडम्बना, ओलीको अटेरीपनले देशमा खती मात्र भएको छ।
उनी विरोधीलाई देख्नै सक्दैनन्। एउटा भनाइ छ– इतिहास हेरेर वर्तमानको व्याख्या गरिनुपर्छ। तर, ओलीको हकमा त्यो लागु हुँदैन। उनको विगत र वर्तमानमा आकाश-पातालको फरक छ।
उनलाई हिजोआज कमरेड सम्बोधन त्यति आत्मीय लाग्दैन। त्यसैले उनी सबै नेतादेखि कार्यकर्तासम्मलाई ‘बा’ भनेर सम्बोधन गर्न लगाउँछन्। उनलाई कमरेड बनेर अरूले पार्टीमा समान हकअधिकार खोजेको चित्त बुझ्दैन।
उनी अहिले मात्र होइन, पहिलेदेखि चर्चामा आउन रमाउने पात्र हुन्। दोस्रो जनआन्दोलनप्रतिको उनको व्यंग्य ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भन्ने कसलाई याद नहोला।
उनका कैयौँ अभिव्यक्ति र कार्यशैलीले पुष्टि गर्छन्- उनीमा अरू नदेख्ने प्रवृत्ति हाबी छ। आफ्नो स्वभावलाई बल पुग्ने गरी एमालेको नवौँ महाधिवेशनबाट अध्यक्ष पदमा पुन: चुनिएपछि उनमा शक्तिको ठूलो घमन्ड देखिन्छ। आफूविरुद्ध अध्यक्ष पदको दाबेदारी दिने भीम रावललाई पार्टीबाट निष्कासन गर्नेदेखि नेकपा (माओवादी)सँगको सहकार्य तोड्ने– यी सबै कार्यमा उनको भूमिका स्पष्ट देखिन्छ।
संसद् विघटनको प्रसंगले उनमा मपाई प्रवृत्ति हाबी भएको पुष्टि गर्छ। कानुन मिचेर दुई दुईपटक संसद् विघटन गर्ने उनको गैरसंवैधानिक कदममा अदालतले ब्रेक लगाएपछि उनले न्यायपालिकाको विषयमा योसम्म भन्न भ्याए– यो अदालत के अदालत, जसले मैले भनेको आदेश लेख्दैन।

एमाले महाधिवेशनको उद्घाटन सत्रमा केपी शर्मा ओली। तस्बिर : नेपाल फोटो लाइब्रेरी
लगत्तै उनले न्यायाधीशलाई अयोग्यको टीका लगाएका थिए। उनको गैरसंवैधानिक कदमकै कारण केही सहयात्रीले पार्टी छोडेर गए।
उनको कम बौद्धिकता यसबाट पनि झल्किन्छ– एकपटक उनले देशलाई पीएचडी गरेका व्यक्तिहरूको आवश्यकता नरहेको बताएका थिए। उनले पीएचडीको थेसिसलाई कागजको खोस्टो नै घोषित गरे। उनले साहित्यबाट ज्ञान नबढ्ने घोषणासमेत गरेका थिए। उनको विचारमा पीएचडी काम नलाग्ने व्यक्तिहरूले गर्ने काम हो।
उनलाई हिजोआज कमरेड सम्बोधन त्यति आत्मीय लाग्दैन। त्यसैले उनी सबै नेतादेखि कार्यकर्तासम्मलाई ‘बा’ भनेर सम्बोधन गर्न लगाउँछन्। उनलाई कमरेड बनेर अरूले पार्टीमा समान हकअधिकार खोजेको चित्त बुझ्दैन। बा बनेर सबैलाई आफ्नो आज्ञाकारी बनाउँदा आनन्द लाग्छ। त्यसैले हिजोआज बाका सन्तानहरू पार्टीका जुनियर साथीहरूलाई कमरेड भनेर सम्बोधन गर्दैनन्। नानी-बाबु भनेर सम्बोधन गर्न रुचाउँछन्। बाले सबैलाई आज्ञाकारी बनाउन खोजेजस्तै उनीहरू पनि पार्टीभित्र संगठन होइन, आफ्नो छोराछोरी तयार पार्ने अभियानमा दौडिएको देखिन्छ। त्यसैले परी आए दुईचार थप्पड लगाउने छोराछोरी पालेर राखेका छन्।
सामाजिक सञ्जाल नियमन विधेयक, २०८२ पेलेरै संसद्बाट अनुमोदन गराएपछि उनलाई लागेको रहेछ– यो मिडिया के मिडिया, जसले मेरो बोली बोल्दैन ? त्यसैले उनले आफूबारे नबोल्ने सामाजिक सञ्जाल बन्द गर्न लगाए। फलस्वरूप २३-२४ भदौको विध्वंस मच्चियो। भदौ २३ को घटनापश्चात् राजीनामा दिँदै गरेका सहयात्री दलका मन्त्रीहरूलाई उनले भनेका थिए, ‘तपाईंहरूले राजीनामा किन दिने?’
यतिबेला सबैले उनलाई महाभारतको चर्चित पात्र दुर्योधनको संज्ञा दिइरहेका छन्। तर, उनी भन्छन्– म त युधिष्ठिर पो हो।
आफ्नालाई त उर्दी लगाए लगाए। सहयात्री दलका नेताहरूलाई समेत नियन्त्रण गर्न खोजेका उनले भदौ २४ गते राजीनामा दिएर भाग्दै गर्दा राष्ट्रका नाममा सन्देश दिएँ– प्रिय नानीबाबुहरू! म अलि हठी छु।
अलिक दिन सेनाको सुरक्षा घेराभित्र बसेपछि उनले गुन्डुस्थित छोराहरूको घर पुगेर भन्न भ्याए, ‘यो सरकार त हाहाहुहुले बनेको हो।’
उनले यतिबेला यो बिर्सिए कि हालको सरकार उनकै सिफारिसमा बनेको हो। जे होस्, उनमा दृष्टिभ्रम बढी छ। उनलाई सरकारको कुनै पनि सुरक्षा निकायप्रति विश्वास छैन। त्यसैले उनले आफू प्रधानमन्त्री भइसकेको कुरा बिर्सिएर बाहुबली दस्ता नै निर्माण गराए, जसको कमान्डरलाई ८-१० वटा फौजदारी मुद्दा लागेको छ। उनी अहिले राज्यलाई धम्क्याउने अभियानमा छन्। अर्को कुरा सम्पादक देख्यो कि गाली र अनदेखा गर्ने बानी बसिसकेको छ। केही दिनअघि गुन्डुमा सम्पादक सम्मेलन गराएर भनेछन्– यो सरकार असंवैधानिक हो भनेर किन नलेखेको? संसद् पुन:स्थापनाको मैले उठाएको मुद्दा ठीक हो भनेर किन नभनेको?
यतिबेला सबैले उनलाई महाभारतको चर्चित पात्र दुर्योधनको संज्ञा दिइरहेका छन्। तर, उनी भन्छन्– म त युधिष्ठिर पो हो। सुन्दर राज्यको निर्माण कसरी गर्नुपर्छ? यो सुझाव उनलाई मन पर्दैन। यसपालि उनलाई चुनावमा खासै रुचि छैन। तर, उनमा यति धेरै अवगुण हुँदाहुँदै आम जनताको चाहना छ– बा, तपाईं एकदुई जना छोराछोरीकोको होइन, सिंगो राष्ट्रको अभिभावक बनिदिनुपर्यो।