भाषा
यति धेरै 'र' को साटो एउटै 'र' भएको भए सिक्ने र लेख्नेलाई कति सजिलो हुँदो हो!
नेपाली भाषामा ‘र्’ व्यञ्जनका रूपमा उच्चारण हुने देवनागरी चिह्न आठ वटा छन् :

यी आठमध्ये सातौँ देवनागरी वर्णमालाको स्वर वर्ण हो भने आठौँ त्यसैको मात्रा चिह्न हो। संस्कृतमा ‘र्’ र ‘ल्’ दुई व्यञ्जनले स्वरको काम पनि गर्छन् वा ती स्वर जस्तै अक्षरको केन्द्र बन्न सक्छन्। यसरी स्वरको काम गर्दा तिनलाई क्रमशः ‘ऋ’ र ‘लृ’ लेखिन्छ। यसैले यी दुई चिह्न देवनागरी वर्णमालामा स्वरका रूपमा राखिएका छन्। व्यञ्जनकै रूपमा काम गर्दा भने तिनलाई ‘र’ र ‘ल’ नै लेखिन्छ। त्यसैले यी चिह्नलाई देवनागरी वर्णमालामा व्यञ्जनका रूपमा राखिएको छ।
नेपालीमा भने ‘र’ र ‘ल’ ले स्वरको काम गर्दैनन्। देवनागरी वर्णमालाका ‘ऋ’ र ‘लृ’ को उच्चारण नेपालीमा ‘रि’ र ‘ल्रि’ हुन्छ। गुजराती र अरू केही दक्षिण भारतीय भाषामा भने ‘ऋ’ को उच्चारण ‘रु’ हुन्छ।
बाँकी रहेका ६ ओटामा पहिलो, दोस्रो र तेस्रो साउँ अक्षर वा सग्ला अक्षर हुन्। साउँ अक्षर भनेका स्वर ‘अ’ सहितका व्यञ्जन चिह्न हुन्। देवनागरी लिपिको आधारभूत एकाइ अक्षर हो। त्यसैले एक्लो व्यञ्जन (स्वर नभएको व्यञ्जन) देवनागरी वर्णमालामा छैन। व्यञ्जन मात्र लेख्नुपर्यो भने साउँ अक्षरबाट ‘अ’ हटाउनुपर्छ। यसरी ‘अ’ हटाउन प्रयोग हुने चिह्न (्) लाई नेपालीमा हलन्त र हिन्दीमा विराम भन्छन्। संस्कृतमा भने यो चिह्न विरामकै लागि प्रयोग हुन्छ। जहाँ उच्चारणमा विश्राम लिइन्छ त्यहाँ पुगेपछि मात्र यो चिह्नको प्रयोग हुन्छ र त्यहीँ डिको पनि सकिन्छ, अरू अवस्थामा भने आधा व्यञ्जन चिह्न वा संयुक्त अक्षरको प्रयोग हुन्छ। यी साउँ अक्षरको उच्चारण ‘र्+अ’ हुन्छ, जस्तै: रस (र्+अ+स्), सप्र (स्+अ+प्+र्+अ), राष्ट्र (र्+आ+स्+ट्+र्+अ)।
नेपाल उपत्यकामा प्रचलित लिच्छवि लिपिको सुरुतिरको ‘र’ खाँबो आकारको (तालिकामा नवौँ नम्बरमा रहेको जस्तो) देखिन्छ। अहिले यस्तो ‘र’ देख्न पाइँदैन, यसको नाम भने अझै प्रचलनमा छ।
चौथो, पाँचौँ (रेफ) र छैटौँ (परेली र) आधा वा स्वर ‘अ’ नभएका ‘र्’ व्यञ्जनका चिह्न हुन्, जस्तै: सार् (स्+आ+र्), गर्न (ग्+अ+र्+न्+अ), पर्यो (प्+अ+र्+य्+ओ)।
नेपालमा अध्ययन-अध्यापनका सन्दर्भमा देवनागरी लिपिका विशेषता बताउँदा ‘र’ का यति धेरै रूपबारे नछुटाई चर्चा गरिन्छ। यसबाट ‘र’ का यी फरक फरक रूप कसरी भए होलान्, ती भिन्दाभिन्दै लिपिबाट आएका चिह्न पो हुन् कि भन्ने जिज्ञासा पैदा हुनु स्वाभाविक हो। यस्तो जिज्ञासा मेट्ने दुई उपाय हुन सक्छन्– पहिलो पुरालेखन शास्त्रका आधारमा अभिलेखहरूको तुलना गरी सम्बन्धित लिपिका चिह्नहरूको विकासक्रमको अध्ययन गर्ने र दोस्रो वर्तमानमा प्रचलित विभिन्न रूपहरूको तुलना गरेर तिनको सम्बन्ध हेर्ने। यस लेखमा दोस्रो उपायबाट ‘र’ का विभिन्न रूपको सम्बन्ध केलाउँदै ती कसरी एउटै रूपबाट विकास भएका हुन् भन्नेबारे चर्चा गरिएको छ। पहिलो उपायका लागि भने दिनेशचन्द्र रेग्मीको पुरालेखन र अभिलेख पुस्तक एउटा राम्रो सन्दर्भ सामग्री हुन सक्छ।
विभिन्न रूपको विकास
अब यी सबै ‘र’ एउटै रूपबाट विकास भएका हुन् भन्नेबारे चर्चा सुरु गरौँ। यसका लागि वर्तमानका सबै ‘र’ को साझा रूप यिनैमध्येको एउटा हुन सक्ने देखिँदैन। त्यसो भए त्यस्तो रूप कुन हो त? देवनागरी वर्णमाला सिकाउँदा वा अक्षर चिनाउँदा ‘र’ लाई ‘खामे (वा खाँबे) र’ भनेर चिनाइन्थ्यो। वर्तमानमा प्रचलित ‘र’ मध्ये खामो वा खम्बा आकारको कुनै पनि छैन। यस्तो आकारको ‘र’ खोज्न इतिहासमा केही पछाडि फर्कनुपर्छ।

नेपाल उपत्यकामा प्रचलित लिच्छवि लिपिको सुरुतिरको ‘र’ खाँबो आकारको (तालिकामा नवौँ नम्बरमा रहेको जस्तो) देखिन्छ। अहिले यस्तो ‘र’ देख्न पाइँदैन, यसको नाम भने अझै प्रचलनमा छ। यसको माथिको तेर्सो भाग खम्बाको काँध जस्तो देखिन्छ, यो डिको भने होइन। लिपिको विकासक्रममा डिको पछि थपिएको भाग हो।
देवनागरी ‘र’ को नेपालीमा लेख्य व्याकरण छ। यस व्याकरणका धेरैजसो नियम लेख्य चिह्नका आकार र तिनको परिवेशमा आधारित भए पनि केही नियम भने उच्चारणमा समेत आधारित छन्।
लिच्छवि लिपिमै त्यो काँध जस्तो भाग तल र देब्रेतिर सरेर तालिकामा दसौँ नम्बरमा दिइएको जस्तो ‘र’ प्रचलनमा आयो। यसमाथि डिको थपिएको ‘र’ नेपाल लिपि (नेवाः लिपि)मा अहिले प्रचलनमै छ। त्यही देब्रेतिरको काँध जस्तो भागको देब्रे छेउ तल झरेपछि तालिकामा एघारौँ नम्बरमा देखाए जस्तो ‘र’ बन्छ। यो रूप देवनागरीका बिचमा वा दाहिनेतिर तलसम्म आधार रेखा (ठाडो धर्को) हुने व्यञ्जन पछि ‘र’ आउँदा लेखिने रूप हो, जस्तै : प्र, म्र, ख्र, घ्र, स्र आदि। फन्टासी हिमाली, प्रीति, कान्तिपुर जस्ता परम्परागत देवनागरी फन्टमा देब्रेतिरको व्यञ्जन सग्लो लेखिने र ‘र’ चाहिँ ठाडो धर्को बिनाको देब्रे तलतिर छड्के गएको भाग मात्र लेखिने हुनाले माथि तालिकामा दोस्रो नम्बरमा कोष्ठभित्र दिएको जस्तो हो कि भनेर झुक्किने स्थिति पनि छ।
देवनागरी संयुक्त व्यञ्जनमा अघिल्लो (वा माथिल्लो) व्यञ्जन आधा र पछिल्लो (वा तल्लो) व्यञ्जन सग्लो लेखिन्छ। माथिका प्र, म्र, ख्र, घ्र, स्र मा क्रमशः ‘प’, ‘म’, ‘ख’, ‘घ’ र ‘स’ आधा व्यञ्जन हुन् भने ‘र’ चाहिँ सग्लो व्यञ्जन हो। बाह्रौँ नम्बरमा दिइएको ‘र’ को रूप भने देवनागरीका बिचमा छोटो आधार रेखा हुने (ङ, ट, ठ, ड, ढ आदि) व्यञ्जन पछि ‘र’ आउँदा लेखिने रूप हो। माथि तालिकामा २ र ३ नम्बरका ‘र’ नै क्रमशः यहाँ ११ र १२ नम्बरमा दिइएका रूप हुन्।

त्यही खाँबे ‘र’ बाट अहिले प्रचलित साउँ अक्षर ‘र’ कसरी बन्यो भन्ने कुरा तालिकामा तेह्रौँ, चौधौँ र पन्ध्रौँ नम्बरका रूप हेरेपछि स्पष्ट हुन्छ। चौधौँ नम्बरको ‘र’ लिच्छवि लिपिको कुनै चरणमा देखिएको रूप हो भने पन्ध्रौँ नम्बरको ‘र’ अहिले प्रचलित रूप हो, यसमा डिको भने दिइएको छैन। यो माथिको तालिकामा १ नम्बरमा दिइएको रूप हो।

अब स्वररहित वा आधा ‘र’ को कुरा गरौँ। पन्ध्रौँ नम्बरको ‘र’ को खुट्टा काट्यो भने हलन्त ‘र्’ हुन्छ। यो माथि तालिकामा ४ नम्बरमा दिइएको रूप हो। खाँबे ‘र’ को दायाँतिरको धर्को हटाउँदा आधा ‘र’ बन्छ, तालिकामा सत्रौँ नम्बरमा दिए जस्तै। यसैलाई अलि छिटो लेख्दा परेली ‘र’ बन्छ, तालिकामा अठारौँ नम्बरमा दिए जस्तै। यो पनि डिको नभएको आधा ‘र’ हो। यो १८ नम्बरमा दिइएको ‘र’ नै माथि ५ नम्बरमा दिइएको रूप हो।

अठारौँ नम्बरको परेली ‘र’ को बायाँतिरको छेउ माथि उठ्ने, माथिल्लो छेउ दायाँतिर घुम्ने, तल्लो छेउ बायाँतिर सरेर ठाडो हुने र दायाँतिर घुमेको माथिल्लो छेउ अझ बढी घुम्ने चरण पुरा हुँदा (तालिकामा १९ देखि २२ नम्बर सम्म क्रमशः) अहिले प्रचलित रेफ बन्छ। यो २२ नम्बरको ‘र’ नै माथि तालिकामा ६ नम्बरमा दिइएको रूप हो। रेफ ‘र’ का अरू रूपभन्दा धेरै माथि र दायाँतिर सरेर यसपछि आउने व्यञ्जनको डिकोमाथि पुग्यो। यसलाई स्वरको मात्रा जस्तै व्यवहार गरेर स्वरको मात्रालाई जस्तै या त आफ्नै आधार रेखा (ा, ि, ो आदिको जस्तै) या अर्को व्यञ्जन वा स्वरको मात्राको आधार रेखा (‘गर्न’ मा ‘न’ को दाहिनेतिरको ठाडो रेखा, ‘अर्को’ मा ‘ो’ को डिकामुनिको ठाडो रेखा) चाहिने मानियो।

रेफलाई अर्को कुनै चिह्नको आधार रेखा चाहिने हुनाले यो उच्चारणमा आफ्नो स्थानभन्दा पछाडि लेखिन्छ, जस्तै- ‘गर्दो’ को उच्चारण ‘ग् र् द् ओ’ र लेखन ‘ग् द् ओ र्’, ‘वर्त्स्य’ को उच्चारण ‘व् अ र् त् स् य् अ’ र लेखन ‘व् अ त् स् य् अ र्’। यसैले रेफ पढ्न एउटा नियम बनाइयो – रेफलाई यसभन्दा अघि आउने सग्लो अक्षरपछि उच्चारण गर्नुपर्छ। यसै कारण रेफलाई देवनागरीको एउटा कमजोरीको उदाहरणका रूपमा प्रस्तुत गरिन्छ – लेखन र उच्चारणको क्रम फरक हुने उदाहरणका रूपमा। यस्तै अर्को उदाहरण चाहिँ बाइमात्रा ‘ि’ हो। यो देवनागरीको ह्रस्व ‘इ’ को मात्रा हो र जुन व्यञ्जनपछि यो उच्चारण हुने हो त्यसभन्दा अघि लेखिन्छ।
यसरी देवनागरी ‘र’ आफ्नो मूल रूप ‘खाँबे र’ बाट समयक्रममा विभिन्न रूपमा परिवर्तन हुँदै अहिले नेपाली लेखनमा जम्मा ६ वटा फरक फरक रूपमा उपलब्ध छ। यो परिवर्तन लिपिमा हुने स्वाभाविक परिवर्तन थियो। यस्तो परिवर्तन अरू चिह्नमा पनि भएको छ। खै किन हो अरू धेरै चिह्नका विभिन्न समयमा विकास भएका रूपलाई छाडे पनि ‘र’ का भने करिब सबैजसो रूपलाई नेपाली लेखनमा जोगाएर राखियो र ती भिन्न भिन्न रूपको व्याख्या गर्न यसको लेख्य व्याकरण तयार पारियो।
लेख्य व्याकरण
देवनागरी ‘र’ को नेपालीमा लेख्य व्याकरण छ। यस व्याकरणका धेरैजसो नियम लेख्य चिह्नका आकार र तिनको परिवेशमा आधारित भए पनि केही नियम भने उच्चारणमा समेत आधारित छन्। ती नियम यस्ता छन्:
(१) साउँ अक्षर भए तालिकामा १ नम्बरमा दिए जस्तो ‘र’ लेख्ने, जस्तै- रस, सार आदि।
(२) दायाँतिर वा बिचमा तलसम्म ठाडो धर्को हुने व्यञ्जन चिह्नको आधा रूपपछि आए तालिकामा २ नम्बरमा दिए जस्तो ‘र’ लेख्ने, जस्तै- प्र, ग्र, त्र, क्र, फ्र आदि।
(३) बिचमा तलसम्म नपुग्ने ठाडो धर्को हुने व्यञ्जन चिह्नको आधा रूपपछि आए तालिकामा ३ नम्बरमा दिए जस्तो ‘र’ लेख्ने, जस्तै- राष्ट्र, नङ्रा आदि।
(४) शब्दको अन्त्यमा स्वररहित ‘र’ आए तालिकामा ४ नम्बरमा दिए जस्तो हलन्त ‘र’ लेख्ने, जस्तै- गर्, मर् आदि।
(५) शब्दको बिचमा स्वररहित ‘र’ आए अक्षरको अन्तक वा समापक हो भने तालिकामा ५ नम्बरमा दिए जस्तो रेफ ‘र’ लेख्ने, जस्तै- मर्छ (मर्.छ), गर्ला (गर्.ला), चर्या (चर्.या) आदि।
(६) शब्दको सुरुमा वा बिचमा स्वररहित ‘र’ आए अक्षरको आरम्भक हो भने तालिकामा ६ नम्बरमा दिए जस्तो परेली ‘र’ लेख्ने, जस्तै- र्याइँ (र्याइँ), र्वाइँ (र्वाइँ), पर्यो (प.र्यो), मर्यो (म.र्यो) आदि।
माथिका नियममध्ये (१) देखि (४) सम्मका नियम लेखनमा आधारित छन् भने नियम (५) र (६) उच्चारणमा अर्थात् अक्षर संरचनामा आधारित छन्। माथि नियम (५) र (६) का उदाहरणमा कोष्ठभित्र प्रयोग भएको थोप्लो अक्षरको सीमा हो। उक्त थोप्लो भन्दा ठिक अघि ‘र’ छ भने त्यो अक्षरको अन्तक वा समापक (अक्षरको अन्त्यमा आउने व्यञ्जन) हो, त्यसभन्दा ठिक पछि ‘र’ छ भने त्यो अक्षरको आरम्भक (अक्षरको सुरुमा आउने व्यञ्जन) हो।
यति धेरै ‘र’ को साटो एउटै ‘र’ भएको भए सिक्ने र लेख्नेलाई कति सजिलो हुँदो हो!