काठमाडौँ
००:००:००
४ पुष २०८२, शुक्रबार

शब्दचित्र

कुनै समय कृषिकर्मदेखि यातायातसम्ममा प्रयोग हुने बयलगाडा अहिले लोप हुने अवस्थामा

४ पुष २०८२
मधेसको सडकमा गुडिरहेको बयलगाडा। तस्बिरहरू : वीरेन्द्र रमण
अ+
अ-

जनकपुरधाम। ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’

बेलाबेला उद्धृत भइरहने नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको यो भनाइको शाब्दिक अर्थ मात्रै हेर्ने हो भने यसले प्रस्ट झल्काउँछ, बयलगाडाको असान्दर्भिकता र सीमितता।

तर, कुनै समय पक्की सडक सञ्जालको विकास र विस्तार नहुँदासम्म तराई/मधेसमा यातायातको साधन भन्नु नै बयलगाडा हुने गर्थ्यो। मधेस पस्नासाथ ठूला ठूला काठका पांग्रा हुने ती बयलगाडा कुइँकुइँ आवाज निकाल्दै यताउता गरिरहेको देखिन्थ्यो। बजार होस् कि खेतबारी, जता जान पनि बयलगाडा नै प्रयोग हुन्थ्यो। अरू त अरू विवाहमा जन्ती जानसमेत बयलगाडा नै प्रयोग गरिन्थ्यो।

गोरुले तान्ने गाडी भएकाले बयलगाडा भनिए पनि राँगासमेत प्रयोग गरिन्थ्यो। बिस्तारै काठका पांग्रा विस्थापित गर्दै गाडीका टायर हालेर समेत चलाइने गरिन्थ्यो।

धान झारिसकेपछि धानका बोरा र परालका ठूला ठूला कुन्यु बोकेर बाटो ढाकेर हिँड्ने यस्ता बयलगाडा अहिले भने आक्कलझुक्कल देखिन्छन्। एक हिसाबमा भन्ने हो भने, मधेसबाट बयलगाडा लोप हुने अवस्थामा पुगेको छ।

कृषि पेसाको आधुनिकीकरण, बस्तीहरूको सहरीकरण तथा यातायातका साधनको सुलभ व्यवस्थाका कारण मधेसबाट बयलगाडा क्रमशः बिलाउँदै गएको हो। त्यसमाथि गोरु पाल्ने चलन कम भएपछि बयलगाडा स्वतः हराउँदै गयो। समयको तथा खर्चको बचत र झन्झट कम बेहोर्नुपर्ने भएकाले कृषि कर्ममा ट्र्याक्टर तथा यातायातमा मोटर गाडीले बयलगाडालाई विस्थापन गरेका छन्।

धनुषाको नगराईन नगरपालिका-५ मा श्याम पासमान अहिलेको युगमा बयलगाडा असान्दर्भिक हुने भएकाले पनि हराउँदै गएको बताउँछन्। “बयलगाडाको लागि गोरु पाल्नुपर्‍यो, अहिले खेतीमा समेत ट्र्याक्टरको प्रयोग हुन थालेपछि मानिसहरूले गोरु पाल्नै छोडिसके,” उनी भन्छन्।

यस्तै, जनकपुरधामको पिपरी चोकमा रहेको धानको गल्लामा भेटिएका ६० वर्षीय रामखेलाव यादव आफ्नो गाउँ लक्ष्मीनियाँ गाउँपालिकाबाट धान-चामल लिएर बयलगाडामै महेन्द्रनगर बजारसम्म आउने गरेका छन्। तर, उनी अर्को वर्षदेखि बयलगाडा प्रयोग नगर्ने बताउँछन्। “मैले बिन्धीबाट धान राखेर यहाँ ल्याउँदा आधा घण्टाभन्दा बढी लाग्यो। ट्र्याक्टरबाट ल्याएको भए १५ मिनेट पनि लाग्दैनथ्यो‍। त्यसमा पनि गोरु राख्नुपर्‍यो, उनीहरूलाई खुवाउनुपर्‍यो, जुन धेरै समस्या छ,” उनी भन्छन्, “यसपालि ल्याइहालेँ, अर्को वर्ष गोरु बेचिदिन्छु।”

बयलगाडा, टाँगा र रिक्सा मधेसको पहिचानजस्तै बनेका यातायातका साधन हुन्। अरू दुई अझै प्रयोगमा रहिरहे पनि बयलगाडा भने धेरै हिसाबले असान्दर्भिक हुँदै गएको छ।