काठमाडौँ। पोखरामा आफ्नै हजुरआमाको हत्या गरेको आरोपमा नाति पक्राउ परेका छन्। पक्राउ पर्नेमा पोखरा महानगरपालिका ३१‚ बाँसपानीका २२ वर्षीय आशिष परियार छन्।
७५ वर्षीया हजुरआमा दालकुमारी परियारको हत्या आरोपमा आशिषलाई बिहीबार पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीले बताए। उनका अनुसार आशिषलाई पोखरा १०‚ बुद्धचोकबाट पक्राउ गरिएको हो।
आशिषले बन्चरो र चक्कु प्रहार गरी दालकुमारीको हत्या गरेका थिए। बिहीबार मध्याह्न दालकुमारीको हत्या भएको थियो। हत्यापछि आशिष भागेका थिए।
सुनका गरगहना लुटपाट गर्ने उद्देश्यले आशिषले हजुरआमाको हत्या गरेको प्रारम्भिक अनुसन्धान प्रहरीको छ। कार्कीका अनुसार हत्यापछि आशिषले कानसमेत काटेर गहना लुटेका थिए। उनको साथबाट कानमा लगाउने रिङ दुई थान, सानो मुन्द्रा दुई थान बरामद भएको छ।

हजुरआमाका सुनका गहना।
“आशिष झगडालु प्रवृत्तिका हुन् भन्ने अनुसन्धानमा देखिएको छ। उनले हजुरआमासँग निकै पहिलेदेखि झगडा गरेको खुलेको छ,” कार्कीले भने, “हत्या गर्नुको मुख्य कारण सुनका गरगहना लुट्ने मनसाय रहेको बुझिन्छ।” प्रहरीले आशिषलाई जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यानमुद्दामा सात दिन थुनामा राख्ने अनुमति लिएको छ। घटनामा प्रयोग भएको बन्चरो र चक्कु बरामद गरिएको एसपी कार्कीले बताए।