काठमाडौं। यस वर्षको आईसीटी पायोनियर अवार्ड-२०२५ माइक्रोसफ्टका प्रडक्ट नेपालीकरण गर्ने एलेन बैलोचन तुलाधरले पाएका छन्।
शुक्रबार द प्लाजा पुलचोक ललितपुरमा आयोजना भएको ‘इन्ड्राइभ आईसीटी अवार्ड २०२५ इन एसोसिएसन विथ नेपालपे क्यूआर, टिङटङ पावर्ड बाई सस्तो टिकेट्स, एमआईटी, केमसी’को ग्रान्ड फिनाले कार्यक्रममा उनलाई पायोनियर आईसीटी अवार्ड २०२५ प्रदान गरिएको हो।
नेपालको सूचना प्रविधि क्षेत्रमा उल्लेख्य रूपमा लामो योगदान पुर्याएका व्यक्तिलाई यो अवार्ड प्रदान गरिन्छ। यस वर्ष उक्त अवार्ड तुलाधरलाई प्रदान गरिएको हो।
तुलाधर नेपालको सूचना प्रविधि क्षेत्रमा तीन दशकदेखि निरन्तर योगदान पुर्याउँदै आएका अग्रणी व्यक्तित्व हुन्। सन् १९९२ मा अमेरिकाबाट नेपाल फर्किएर उनले अनलिमिटेड कम्पनी स्थापना गर्दै माइक्रोसफ्टका उत्पादनहरू नेपाली भाषामा स्थानीयकरण (लोकलाइज) गर्ने ऐतिहासिक कामको नेतृत्व गरेका थिए।
सन् १९९७ मा बिल गेट्ससँग भेटेपछि उनकै नेतृत्वमा नेपाली संस्करणको विन्डोज र अफिस तथा टेक्स्ट टु स्पिच, स्पिच टु टेक्स्टजस्ता प्रविधि विकास भएको थियो। यस योगदानका लागि नास्टले ‘आधुनिक भानुभक्त’ को उपाधि समेत प्रदान गरेको थियो।
नेपालमा माइक्रोसफ्ट इन्नोभेसन सेन्टर स्थापना गर्न महत्त्वपूर्ण भूमिका खेलेका तुलाधरले माइक्रोसफ्टको क्षेत्रीय निर्देशकका रूपमा पनि काम गरिसकेका छन्।
उच्चस्तरीय सूचना प्रविधि आयोगको भाषा समितिको सदस्यसचिवका रूपमा समेत काम गरिसकेका उनले तुलाधरले क्यान महासंघ स्थापना तथा क्यान इन्फोटेक सुरु गर्न पनि उल्लेखनीय भूमिका खेलेका थिए।
गाउँ–गाउँमा प्रविधिमैत्री शिक्षा‚ डिजिटल साक्षरता विस्तार र आईसीटी नीति निर्माणमा उनको योगदान छ। पछिल्लो समय क्रस-बोर्डर भुक्तानी क्षेत्रमा केन्द्रित तुलाधर अब भने आफ्नो ज्ञान‚ अनुभव र सीप नयाँ पुस्तालाई कनेक्ट गर्ने योजनामा छन्।
यो प्रविधिमा महत्त्वपूर्ण योगदान दिने व्यक्तित्वलाई प्रदान गरिन्छ। यो अवार्ड हालसम्म नेपालको पहिलो कम्युटर वैज्ञानिक मुनिबहादुर शाक्यलगायत नौजनाले पाइसकेका छन्।