काठमाडौँ। सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका छन्। साबिक विराटनगर उपमहानगरपालिका ९ बस्ने ४२ वर्षीय अग्रवाललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले शुक्रबार काठमाडौँ महानगरपालिका ४‚ चुनदेवीबाट पक्राउ गरेको हो।
जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर-खरिद गरी बिक्री गर्दा करिब ४९ लाख १९ हजार ८६५ रुपैयाँ कानुनविपरीत आर्जन गरेको आरोपमा अग्रवाललाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता एसएसपी शिवकुमार श्रेष्ठले बताए।
अग्रवालले भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा उक्त कम्पनीको सेयर बिक्री गरेको श्रेष्ठले बताए। अग्रवालले अन्य टीएमएस युजर प्रयोग गरी सेयर खरिद-बिक्री गर्ने गरेका थिए।
सेयर कारोबार गर्दा उनले कृत्रिम रुपमा मूल्य बढाएको, झुटो कारोबार र मूल्य प्रभावित गर्ने कसुरसमेत गरेको देखिएको ब्युरोले जनाएको छ।
प्रहरीले अग्रवालविरुद्ध शुक्रबारै काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो। अग्रवाललाई हिरासतमा राखेर अनुसन्धान थालिएको छ।
अग्रवाल झुटो सूचना जारी गरी सेयर बजारमा ठगी गरिरहने व्यक्ति हुन्। उनलाई ५ साउन २०८२ मा ६ करोड ४५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।