साहित्य
एक अर्थमा प्रश्नहरू समय व्यतीत गर्ने आधार पनि त हुन्। उसो त एक्लो यात्रीका लागि जीवनका सारथि पनि बनिदिन्छन्। समग्रमा भन्नुपर्दा एक्लो हुँदा साथ दिने भनेकै यादका पल्ला र प्रश्नका लस्करहरू न हुन्।
पुस महिनाको कठ्यांग्रिँदो चिसोमा एक्लै लुखुरलुखुर सडक किनारमा पाइला चालिरहेछु। मलाई देखेर हो कि कुन्नि एकोहोरो भुकिरहेछ छेवैको घरको कुकुर। ‘अफिसमा बेलाबखत सम्पादकले मेरो सातो खाएझैँ, यो देशका शासकहरूले मेरो भूगोललाई हेपेझैँ, कतै त्यो कुकुर पनि भुकिरहेको त हैन?’ मनभरि यस्तैखाले के के प्रश्न उब्जिदिन्छन्।
मलाई फिटिक्कै मन लाग्दैन अहिलेको परिवेशमा नेताहरूबारे लेख्न। तर, के गर्नु हाकिमको आदेश पालन गर्नैपर्यो। आज पनि एक जना घुस्याहा नेताको अन्तर्वार्ताका लागि आदेश आएको छ। आदेश पालना गर्ने क्रममा नयाँ बानेश्वरबाट कलंकी जाने सार्वजनिक बसमा चढेको छु। गाइने दाइ सारंगी रेट्दै जिन्दगीको गीत सुनाइरहेका छन्। आखिर जिन्दगी भन्नु एउटा आलाप न हो। कहिल्यै बिछोडको, कहिल्यै विरहको, कहिले पीडाको त कहिल्यै अभावको आलाप निस्किरहेकै हुन्छ जिन्दगीको गोरेटोमा।
सुरुसुरुमा कति उत्साह हुन्थ्यो। दिनभर विभिन्न कार्यक्रममा दौडिरहेकै हुन्थेँ। नेताहरूको अन्तर्वार्ता लिन नि उत्तिकै जाँगर चल्थ्यो। खाना नै नखाई समाचार लेख्न बस्थेँ। हिजोआज त्यस्ता समाचार खोज्न र लेख्नमा पटक्कै मन छैन। जति जोगी आए नि कानै चिरेको भनेझैँ भयो। आखिर यिनले के नै गरे! आफ्ना नातागोतालाई जागिर दिए। आफूले पुस्तौनी पुग्ने गरी सम्पत्ति कुम्ल्याए। राज्य दोहन गरे। गरिबको भावना कसले, कहिले बुझे र!
यो जागिर भन्ने कुरा पनि कुनै बडेमानको खाल्डोमा फसेझैँ भएको छ। आफूलाई मन लागेको विषयमा लेख्न पाइँदैन। सधैँ सधैँ उनीहरूले दिएको गृहकार्य पूरा गरिदिनुपर्ने। त्यो गृहकार्य पनि उनले काटकुट गरेर आफ्नै ढाँचामा ढाल्नुपर्ने। कस्तो अचम्मको पेसा छ यो पत्रकारिता पनि। धेरै पछि आज बडो गम्भीरतापूर्वक सोचिरहेँ। अनि आफैँसँग प्रश्न तेर्स्याएँ, ‘मैले अहिलेसम्म लिएका अन्तर्वार्ता र समाचारको प्रभाव नै के पर्यो हँ?’
एक अर्थमा प्रश्नहरू समय व्यतीत गर्ने आधार पनि त हुन्। उसो त एक्लो यात्रीका लागि जीवनका सारथि पनि बनिदिन्छन्। समग्रमा भन्नुपर्दा एक्लो हुँदा साथ दिने भनेकै यादका पल्ला र प्रश्नका लस्करहरू न हुन्।
यत्तिकैमा सम्पादकको फोन आउँछ। हलो भन्न नपाउँदै आदेश सुनिन्छ, ‘फर्किंदा पार्टी एकीकरणका विषयमा जुहारीलाल शर्मासँग पनि अन्तर्वार्ता लिनोस् है।’
‘कुनै नेता, व्यापारी अथवा उच्च पदमा पुगेका र धनाढ्यहरूको भजन गाएजस्तो जिन्दगी लिएर कति दिन चल्छ तेरो यात्रा? एकदिन मर्नुपर्छ भने बाँचुन्जेल त गरिब-असहायको पक्षमा पनि लेखे हुने,’ मेरो मनले आफैँसँग प्रश्न तेर्स्याउँछ।
‘म भुइँमान्छेको कथा लेख्न चाहन्छु। उनीहरूकै समाचार खोज्न चाहन्छु। मिल्छ भने मलाई त्यो जिम्मेवारी दिनोस् न सर,’ साहस बटुल्दै बताएँ।
यति सुन्दा सम्पादकको पारा तातेछ क्यार। ‘काम गर्ने मन छ भने दिएको जिम्मेवारी पूरा गर्नू नत्र छोडे हुन्छ,’ कड्किँदै फोन राखिदिए।
मनमनै सोचेँ, ‘अब फुलटाइम रिपोर्टर बन्दिनँ। गुजारा त फ्रिलान्सर भएर नि गर्न सकिएला। यहाँ खोजमूलक समाचार लेख्न लगाउनेहरू पनि त छन्। केही नहुँदा दुई महिना दुर्गमका बस्तीतिर डुलेर कुनै उपन्यास वा कथासंग्रह कसो तयार पार्न नसकिएला र? आखिर मनले चाहेको पनि छ। आफ्नो भन्नु पनि मनै त हो।’
जागिरबाट हात धोएर सुदूरपश्चिमअन्तर्गत डोटी जिल्लाको बोगटान क्षेत्रमा पुगेको दुई दिन भयो। यहाँको चालचलन, वेशभूषा, खानपिन आदि देखेर संस्कृतिबारे अध्ययन गर्न पाए हुन्थ्यो झैँ लाग्छ। प्राकृतिक सौन्दर्य र पर्यटकीय स्थलहरूले उस्तै लोभ्याइरहेका छन्।
आधी दिनसम्म बादलमा लुकामारी खेल्दाखेल्दै बल्ल युद्ध जितेजस्ता देखिए पनि घामका किरणहरूले क्षणभरमै नेटो काट्न थालिसकेका छन्। आँगनमा गौँथली चिरबिराइरहेछन्। ठाडो घाँटी लगाएर आकाशमा चिलगाडी उडेको दृश्य हेरिरहेकी ५९ वर्षीया देउसरा भएतिर पुग्छु।
चिलगाडी सानो सानो हुँदै आँखाबाट अलप भइसकेको हुन्छ। चिलगाडी हेर्दाहेर्दै गोधूलिको दृश्यभित्र छिरेका उनका नयन त्यहाँबाट निस्किन मानिरहेका छैनन्।
देउसरा आफैँसँग प्रश्न गरिरहन्छिन्। जिन्दगीको परिभाषा के हो? यो संसार के हो? मान्छे के हो? समाज के हो? यस्ता अनेक प्रश्नहरूले लखेटिरहन्छन् उनलाई। उनी अनपढ जरुर छन्। ‘कालो अक्षर भैँसी बराबर’ भए पनि मनमा प्रश्नहरू खेलाउनलाई पठन संस्कृतिको आवश्यकता कहाँ पर्दो रहेछ र! हुलका हुल प्रश्नहरू आइदिन्छन् एकपछि अर्को गरेर। दु:खसँगै जिन्दगी थिचिरहेका प्रश्नहरू सलबलाउँछन् मनमा। प्रश्नहरू सटीक जवाफको पर्खाइमा हुन्छन् नै, तर सबैखाले प्रश्नको सटीक जवाफ कहाँ भेटिनु? अनुत्तरित बनिदिन्छन् कतिपय प्रश्नहरू। एक अर्थमा प्रश्नहरू समय व्यतीत गर्ने आधार पनि त हुन्। उसो त एक्लो यात्रीका लागि जीवनका सारथि पनि बनिदिन्छन्। समग्रमा भन्नुपर्दा एक्लो हुँदा साथ दिने भनेकै यादका पल्ला र प्रश्नका लस्करहरू न हुन्।
उनले आमाका बारेमा बुझ्न खोज्दा सबैले उनलाई आकाशतिर देखाएर भन्ने गर्थे, ‘तिम्री आमा त्यतै कतै स्वर्गमा छिन्।’
तर, हिजोआज यी प्रश्नहरू देउसराभित्र मात्र उब्जिँदैनन्। उनीसामु आउने केही मान्छेले पनि गर्न थाल्छन्। हिजोआज गाउँमा आएको एक जना पत्रकारले दिनहुँ कोट्याइरहेको हुन्छ उनको अतीत। यसरी प्रश्नहरूले विगतमा पुर्याएपछि यादको ढोका खुल्न थाल्छ। जिन्दगी नै यादको भकारीजस्तो बनेको आभास हुन्छ। अरू बेला कहिलेकाहीँ पिछा गर्ने यादले यतिखेर मन-मस्तिष्क हल्लाउन थाल्छ। कुनै चलचित्रमा नायक-नायिकाले विगतलाई याद गरेझैँ सम्झनामा झझल्को लाउन थाल्छन् ती दिनले।
उनले यस धर्तीमा आवाज छोड्नेबित्तिकै प्राणत्याग गरेकी थिइन् आमा कमलाले। न आमाको दूध खान पाइन्, न त न्यानो काख। जन्मिँदैकी टुहुरी। कसैले सद्भाव देखाए, कसैले अपराधीका रूपमा हेरे। कैयौँले उनलाई हेयका दृष्टिले हेरे। आमाटोकुवाको उपमा दिए। एक अबोध बच्चीलाई थाहा थिएन, कसले के कुरा गर्दै छ भन्ने। जब उनी कुरा बुझ्ने भइन्, तब थाहा पाइन् आफूलाई लागेको दोषका बारेमा। त्यसपछि एकातिर आमा गुमाउनुको पीडा, अर्कातिर आमाटोकुवा अर्थात् आमालाई मार्ने ग्रह ल्याएर जन्मेकी भन्ने कलंकले (अलछिनाको उपमाले) एकान्तमा दिनरात झारिरहिन् आँसुका थोपा। बुवाले पनि खासै माया गरेनन्। केही महिना काकीले हेरचाह गरिन्। आफूसँगै राखेर चम्चाले भैँसीको दूध खुवाई हुर्काइन्। वर्षदिन नबित्दै घरमा सौतेनी आमाको आगमन भयो।
सौतेनी आमाका वचनले छियाछिया हुन्थ्यो मुटु। पेटभरि खान पनि पाइँदैनथ्यो। मरीमरी काम गर्नुपर्ने नियति नै बनिसकेको थियो। अर्काको घर जाने जातका रूपमा अर्थ्याइने छोरीको जिन्दगी उसै पनि दुःखकै भुमरीमा रुमल्लिएको हुन्थ्यो। त्यसैमा आमाको मुहारसम्म देख्न नपाएकी उनका कानमा आमा भन्ने शब्द पर्नासाथ छातीमा भक्कानो उठेर आउँथ्यो। अरूका आमाले छोरीको कपाल कोरिदिएको दृश्य हेर्न नसकी दौडिँदै जान्थिन् एकान्तमा। नीलो आकाशतिर हेरेर प्रश्न तेर्स्याउँथिन्, ‘कहाँ लुकेकी छौ मेरी आमा? एकपल्ट मात्र भए नि अनुहार देखाइदेऊ न! हेर्न मात्रै पाए नि मन शान्त हुन्थ्यो कि?’
उनले आमाका बारेमा बुझ्न खोज्दा सबैले उनलाई आकाशतिर देखाएर भन्ने गर्थे, ‘तिम्री आमा त्यतै कतै स्वर्गमा छिन्।’
कसैका आमाछोरी सँगसँगै हिँडिरहेको देखेपछि टाढाबाटै भए पनि हेरिरहन्थिन् एकतमासले। अनि क्षणभरमै आकाशतिर हेर्न थाल्थिन्। कसैले तेरी आमा यस्ती थिइन्, यसो भन्थिन् भन्नेजस्ता कुरा सुनाउन थाले भने झनै हिकहिक बढ्न थाल्थ्यो। गाउँघरतिर अहिलेको जस्तो न फोटो खिच्ने प्रविधि थियो, न त आवाज रेकर्ड गर्ने नै। कल्पनामै सजाइरहिन् उनले आमाको अनुहार। बादलभित्र हेर्न खोजिन् आकृति।
समय हो आउँछ जान्छ। जिन्दगीमा उमेरका खुट्किला थपिएकै हुन्छन्। समय, परिवेश र तत्कालीन समाजको चालचलनले नयाँ परिवेशको दैलो खोलिदिन्छ।
भागा नाताले दिदी भए पनि व्यवहारमा साह्रै मिल्ने साथी थिइन् जसले निकै माया गर्थिन्। जिज्ञासु स्वभावकी उनले एकदिन सोधेकी थिइन् भागालाई, ‘दिदी, बुवाको घर छोडेर जाँदा दैलामा चामलका दाना किन छरिन्छ?’
‘हिजो बुवाको त्यही दैलोभित्र पसेर समय बित्यो। त्यही दैलाले सबै कुरा सिकायो। पृथ्वीमा आइसकेपछि जीवनको आधार त्यही दैलो थियो। त्यो दैलो माइतीको दैलो थियो। माइती सम्पन्न, बलिया भएमा छोरीलाई नि आड-भरोसा मिल्छ। हेपिनु पर्दैन। त्यसैले माइतीको उन्नति-प्रगतिका साथै कुलको वृद्धि हुँदै जाओस् भन्ने कामना गर्दै र आजसम्म आफ्नो काखमा राखेर घामपानीबाट बचाई सुरक्षा दिएकामा आभार प्रकट गर्दै घरको दैलालाई फूल-चामलले पुजी ढोग्ने गरिन्छ। त्यस्तै, आगामी दिनको उन्नति, सुरक्षा र कुलवृद्धिका लागि कामना हेतु उता गएर श्रीमान्को घरको दैलो नि पुज्नुपर्छ नि,’ भागाले देउसराको जिज्ञासा मेटाइन्।
जब जब देउसरा प्रश्न गर्थिन्, तब तब भागा आफ्नो अतीत सम्झिेर भावुक बन्थिन्। १३ वर्षको उमेरमा बिहे गरी माइतीघर छोडेकी उनी वर्षदिन नपुग्दै विधवा बनेर पुन: माइतमै बस्न थालेको नि आठ वर्ष बितिसकेको थियो। केटा रोगी हुँदाहुँदै ढाँटेर भागासँग बिहे गरिदिए। घरमा पोइटोकुवा भनेर यातना दिन थालेपछि रुँदै माइतमा आएकी उनलाई न घरका बोलाउन आए, न त त्यो घरमा कहिल्यै जान मन लाग्यो। अचेल कसैको बिहे हुँदा होस् वा बिहेको प्रसंग निस्किँदा मात्र नै किन नहोस्, उनलाई अनमाएर डोली चढाएको दिन यादगार बनिदिन्छ। आमाबुवा, काकाकाकी, दाजुभाइ, दिदीबहिनी सबै जनालाई ढोग्दै बिदा माग्नुपरेको त्यो समय। बिहेको दिन भाका मिलाएर रुँदै डोली चढेको क्षण। होस बेहोस भएजस्तो मन लिएर कतै कल्पनाको सागरमा त कतै विरक्तिको पोखरीमा पौडिएजस्तो अवस्था यदाकदा छाइरहन्छ स्मृतिपटलमा। त्यही अनुभव, अनुभूतिको जगमा टेकेर देउसराका प्रश्नको उत्तर मात्र दिँदिनन् उनी। देउसरालाई सम्झाउनु बुझाउनुका साथै केही ढाडस पनि दिइरहेकी हुन्छिन्।
समय हो आउँछ जान्छ। जिन्दगीमा उमेरका खुट्किला थपिएकै हुन्छन्। समय, परिवेश र तत्कालीन समाजको चालचलनले नयाँ परिवेशको दैलो खोलिदिन्छ। सारा बस्ती निदाइसकेपछि देउसरा पनि भागासँगै सुटुक्क निस्किन थाल्छिन् घरबाट। गाउँबस्तीबाट केही पर पुगेपछि भेट हुन्थ्यो पल्ला गाउँका केटाहरूसँग। अनि सँगसँगै हिँडेर पुग्थे एकान्त खोचमा। जहाँको आवाज सजिलै सुनिँदैनथ्यो गाउँघरमा। यसरी चोर डेउडा खेल्न जाने क्रममा पूर्णमानले उनलाई मन पराएको थियो। बिस्तारै उनको पनि मन पग्लिँदै जान थाल्यो। प्रेमको सागर गहिरो हुँदै गयो। जन्मेदेखि घरमा मायाप्रेम र स्नेहबाट वञ्चित उनी पूर्णमानले देखाएको प्रेमभावबाट भावुक हुँदै गइन। उनका आँखा रातको पर्खाइमा हुन्थे। पूर्णमानको हिँड्ने गोरेटोतिर हुन्थे। भेट हुँदा पूर्णमानको अँगालो प्रेमको चौतारी बन्थ्यो भने देउसराको मन त्यही चौतारीमा पोखिन्थ्यो। उनीहरूबीच कैयौँपल्ट मनै रुवाउने खालका सवालजवाफ भए। देउसराका मार्मिक अनि निकै गहिरो भाव बोकेका शब्द चयनले पूर्णमानको छातीमा प्रेमको बर्सात भइदिन्थ्यो। त्यो समय पनि धेरै दिन लम्बिन सकेन। पूर्णमान पढ्नलाई धनगढी गयो। त्यसपछिका दिनमा देउसरालाई राति चोर डेउडा खेल्न जान नि खासै मन लागेन। तर, जुनेली रातले सधैँ जिस्क्याइरहेझैँ भइरह्यो। रातमा आकाशका तारा हेरेर निकै बेरसम्म कल्पनामा रमाइरहन्थिन् उनी।
यसैक्रममा एकदिन आँगनमा टुप्लुक्क आइपुगे दुइटा अपरिचित अनुहार। बुवा मनुवासँग सामान्य कुराकानीपश्चात् सुरु भयो देउसराको धन खाने विषयमा कुराकानी। पैसाको मोलमोलाइ हुन थाल्यो। उनका बा बडो फुर्तीका साथ भन्न थाले, ‘जीउडाल मिल्याकी छ। हेद्दामा लै सुन्दर छ। घर भितरको रे बाहिरको सबै काम सिक्याकी छ। कुनै कमी छैन मेरी चेलीमा। पाँच हजार भन्ना कम त हुनै हुनै न।’
आफ्नै जीवनको मोलमोलाइ भइरहेको सुनेर देउसरा अश्रुपूर्ण नयन लिएर भागाको घरमा पुगेकी थिइन्। भागाको छेउमा पुगेर हिकहिक गर्दै सबै कुरा सुनाइन्। त्यो सुनेर भागाकी आमाले भनेकी थिइन्, ‘जन रोइ चेली। यसोइ हो चेलीको जिन्दगी। बुवाले दियाका ठाउँ जानुइ पड्डे। चेली भएर जन्मेपछि सबै कुरा सहनुपड्डो छ। गाईभैँसी बेच्याजन बेच्ने त हुन्। कर्मको रेखो मेटिने नाइँ। क्या गद्दी छै। आब मन बुझाउन सिक्।’
त्यो रात देउसरा घर नआई उतै बसिन्। आधा रातसम्म हिकहिक गर्दागर्दै कतिखेर आँखाले आराम गरे पत्तै पाइनन्। भोलिपल्ट उठेर घर आउँदासम्म गाउँमा उनी बेचिँदै छन् भन्ने कुरा बर्खाको कुहिरोझैँ फैलिइसकेको थियो। ती लमी बनेर आएका मान्छे बिहेको दिनको टुंगो लगाएर गइसकेका थिए। फागुन १० गते देउसराका बुवाले धन खाने दिन। गाईभैँसीजस्तै बेचिनुपर्ने चलनलाई धिक्कार्नुसिवाय केही उपाए थिएन उनीसँग। उसो त उनीजस्तै थुप्रै चेलीको धन खाने बुवाआमा पनि गाउँमै थिए। त्यतिबेलाको चलन नै थियो चेलीको धन खाने। तथापि, मन बुझाउन सजिलो थिएन उनलाई।
घाँसदाउरा गर्न जाँदा होस् वा वनमा गाईबस्तु चराउन जाँदा, उनको स्वर गुन्जिन थालेपछि मान्छे मात्रै कहाँ मौन बनिदिन्थे, डाँडा-खोला पनि। जब उनी ककौला काट्दै गाउन थाल्थिन्, तब कान ठाडा पारेर सुन्न खोज्नेको कमी हुँदैनथ्यो।
बिहान आँगनमा पुग्दा भिमल काटेर ल्याउन सौतेनी आमा चाहिँको आदेश आउँछ। आँसी र नाम्लो बोकी जाँदै गरेकी देउसरालाई देखेर काकी चाहिँको मन अमिलो हुन्छ। सौतेनी आमाको रबैया र देउसराको अवस्था हेरी रसाएका आँखाका परेली पुछ्दै भागालाई बाहिर बोलाई देउसरालाई देखाउँदै भनिन्, ‘हेर त ऊ खाली खुट्टा फाटेको झगुलो झुन्याएर लुगलुग काँप्दै एकली जान्ना छ। बेली भालु धेके भन्ने भैउत थे। काइ भालुका फेला पडेपछि के होलो। जा ब्वा तँ पनि गइ दे। एकली जान नदे। रातभरी सुँक्क सुँक्क गद्दा थी। सुतेइ पन नैथी त्यो।’
आमाका कुरा र देउसराको अवस्थाले भावुक बनेकी भागाले आवाज दिई, ‘देउसरा, पर्खी म पन आउँछु। एकली जन जा। बाटोमा भालु भेटेलो।’
‘म गइजान्छु दि। केइन हुनो,’ देउसराले उत्तर फकाईइ।’
पख् पख्, म आएँ भन्दै दौडेकी भागाले एकछिनमै उनलाई भेटाइन्। गराहरूमा जताततै चिनी छरेझैँ थियो। तुसारोले गहुँका हरिया बोट सेताम्मे देखिन्थे।
यत्तिकैमा देउसराले भनी, ‘हेर न हामरा जिन्नगीले दु:ख बोक्याजन इन गहुँका बोटले पन तुसारो बोक्या छ। बोल्ल नसक्दे भएर मात्तर त हो। मान्सखी जन बोल्न सक्न्या भयाले इन पन आफ्ना दुःख पोख्दा हुन् धेकी दी।’
सम्झाउने हेतुले बोली भागा, ‘हा त पन के के सोच्ची छै। इसेरी अनेक कुरा मनमाइ खेलाउनु भन्या आफूइलाई दुखाउनु हो। एक गीत छ ब,
दुख तोखी दुख मखीट संसार दुखैई छ
मैखी भयो जन माणेई सबैखी उसोई छ।’
गीत रच्न र गाउनमा माहिर देउसरालाई गीतका कुरा गरेपछि के नै चाहियो र! कसैको पर्वाह नगरी एकाबिहानै कानमा औँला घुसारेर गाउन थालिन् ठाडी भाका।
गोठाले आँसीका बिँड ठौर ठौर बुट्टा
एक मुठी परानी कन सय लहर फुट्टा
घाँसदाउरा गर्न जाँदा होस् वा वनमा गाईबस्तु चराउन जाँदा, उनको स्वर गुन्जिन थालेपछि मान्छे मात्रै कहाँ मौन बनिदिन्थे, डाँडा-खोला पनि। जब उनी ककौला काट्दै गाउन थाल्थिन्, तब कान ठाडा पारेर सुन्न खोज्नेको कमी हुँदैनथ्यो।
आखिर छोरी मान्छेको जिन्दगी भन्नु पनि एक प्रकारको खेलौनाजस्तै त रहेछ। शब्दमा, भावमा, लयमा, हेराइमा हरेक तरहले खेलाउनेहरू आइदिन्छन् गोरेटोमा। पोखरीको पानीझैँ अनेक तरहले चलाउन मात्रै खोज्छन्। त्यसको सौन्दर्य र आभाले तरलित हुने हृदय कहाँ भेटाउनु? सौतेनी आमाले एक भारी घाँस ल्याएपछि मात्र खाना खान पाउँछेस् भन्थिन्। बुवा उनको शरीरको मूल्य निर्धारण गर्दै औँला भाँच्न थाल्थे। बिहेका लागि लमी बनेर आउनेहरू पनि मोलमोलाइ गरिरहन्थे। कतिपय पुरुष सुन्दर जवानी देखेर र्याल चुहाउँदै आत्मीयता प्रकट गर्न खोज्थे।
सन्तानका नाममा उनी एक्ली छन्। छोरालाई मात्र सन्तान ठान्ने समाजले ठान्दैन उनलाई सन्तान पनि। बिहेमा पुर्याउन जाने आफ्ना दाजुभाइ नहुँदा झनै गह भरिएर आउँछ।
फागुन १० गते पनि आयो। आँगनमा जन्ती आए। जन्तीसँगै हुनेवाला श्रीमान् पनि आइपुग्यो। तर, संगिनीले विगतमा सुनाएझैँ न पञ्चेबाजा बज्यो, न त कन्यादान नै हुने भयो। घरमा खासै चहलपहल थिएन। न इष्टमित्र बोलाइएका थिए, न त गाउँले नै जम्मा भएका थिए। सेल, रोटी, हलुवा, अचार, तरकारी भन्नु पनि केही पाकेको थिएन। गहुँको रोटी र तोरीको साग पकाउने तयारी हँदै थियो। यसका अलावा खानासँग दिन गोरस घरमै थियो। अँध्यारो हुनै लाग्दा १०/१२ जना मानिस देखा परे आँगनमा। जो देउसराका बर्याँती बनेर आएका थिए। त्यही बीचमा थियो जुँघा रेखी नबसेको कलिलो अनुहार। जो भोलिदेखि उनको श्रीमान् बन्ने वाला थियो।
ती सबैलाई भित्र बस्ने व्यवस्था गरियो। थालमा चामल राखियो। चामलमाथि बलिरहेको दियो। एउटा पातमा टीका थियो। बत्तीको उज्यालोमा दुलहाका बुवाले पचास, सय र पाँच सयका नोट मिलाएर मनुवालाई गन्न दिए। मनुवाले पैसा गनेर असकोटको खल्तीमा राखी सबैलाई टीका लगाइदिए। खानापिना गरेर सबै जना सुते। देउसरालाई त्यो रात पटक्कै निद्रा परेन।
बिहान कुखुराको डाँकोसँगै चलमलाउन अभ्यस्त भएका मान्छेहरू आआफ्नो काममा निस्किन थालिसकेका थिए। वल्लोपल्लो घरमा ढिकी-जाँतो बज्न थालिसकेका थिए। देउसरालाई बाहिर निस्किन मन लागेन। बिहानीको किरणसँगै उनको बिदाइको तयारी हुने निश्चित भइसकेपछि झन् बर्सिन थाले आँखा। क्षणभरमै उनलाई बोलाइयो। गुन्यु, चोली र गरगहना पहिरन लगाइयो। घाँटीमा पहिरेको लाठको माला र कपालको लाछा डोरी टाढैबाट टलक्क टल्किए। पुतलीजस्तै सुन्दर देखिइन्। एकातिर जन्मघर छोड्नु, अर्कातिर गाईभैँसीजस्तै बेचिनु। सन्तानका नाममा उनी एक्ली छन्। छोरालाई मात्र सन्तान ठान्ने समाजले ठान्दैन उनलाई सन्तान पनि। बिहेमा पुर्याउन जाने आफ्ना दाजुभाइ नहुँदा झनै गह भरिएर आउँछ। यसैबेला कसैले नजिकैबाट एउटा भनाइ सुनायो, ‘बिन्न भयालुकी बैनोला मरिजाउ, बिन्न बैनोलाको भयालु मरिजाउ।’ त्यो भनाइ सम्झेर सबै जना अश्रुपूर्ण बने। बिदाइका बेला उनले आमा भन्दै डाँको छोडेपछि एकछिन चारैतिर गुन्जियो त्यो ध्वनि। उनलाई सम्झाउन त परै जाओस्, आफैँलाई सम्झाउन सकेन त्यहाँ उपस्थित भिडले। अन्ततः अर्कैतिर हेरेझैँ गरी पुरुषहरू रसाएका परेली पुछ्न थाले। महिलाहरूमा सुँक्कसुँक्क गरेको ध्वनि प्रस्फुटन हुन थाल्यो।
गाउँघरमा बूढापाकाले भन्ने गर्थे, भोल भनेको कैको हो के थाहा। आजको दिन बाँच्न सिक्नू। सायद देउसराले पनि सुनेकी हुनन् उक्त भनाइ र त मनन गर्दै अगाँली हुनन् वर्तमानको गोरेटोलाई। जिन्दगीरूपी यात्रामा यात्रारत रहँदा आइपरेका सम्पूर्ण परिस्थितिसँग जुध्दै हिँड्न सिक्दा पनि त केही ज्ञान मिल्ला।
उनी सोच्थिन्, ‘भगवान्ले दु:खीलाई मात्रै कति दु:ख देलान् र।’ अप्ठेरो परिस्थितिमा पनि आफूलाई बलियो बनाउँदै लगेकी उनका आँखामा भल बग्न थाल्थ्यो बिदाइका बेला आमाको अभाव खड्किँदा।
पुतलीजस्ती देउसरालाई आँगनबाट टप्प टिपेर डोलीमा राखेर लगियो। ती पुतलीले मेरी आमा कतैबाट हेरिरहेकी छ्यौ कि भन्दै बिलौना गरिरहिन्। संगिनीले सुँक्कसुँक्क गर्दै डाँडामा गई रुमाल हल्लाइरहे। देउसराको डोली र बर्याँती बिस्तारै आँखाबाट ओझेल पर्दै गए।
नयाँ गाउँ, नयाँ ठाउँ, नयाँ घर र नयाँ अनुहार। डोलीबाट झार्दै टाउकोमा चामलको पोको र एक हातमा दहीको ठेकी बोक्न लगाई अर्को हातको औँला समात्दै सासू बेलमतीले उनलाई भित्र्याइन्। दलुवा र उनको जोडी खुबै राम्रो सुहाएको थियो। दिन बित्दै गए। दलुवा र देउसराका बीचमा प्रेम झाँगिदै जान थाल्यो। दुवै जना चखेवा-चखेवीझैँ देखिन थाले। झुपडीमा प्रकाश छायो। मनभरि जिज्ञासा, कल्पना र रहरका छाल उर्लिन थाले। सबै जना दुई पैसा कमाउन भनी भारतका गल्लीतिरको यात्रामा निस्किए। दलुवाले सकेन बिरामी बुवा, बूढी आमा र सूर्यमुखी फूलजस्ती श्रीमतीलाई छोडेर जान।
बिहे गर्दा ऋण लाग्यो। वर्षभरि खान पुग्ने जमिन नहुँदा गुजारा चलाउन त्यस्तै सास्ती हुन थाल्यो। आर्थिक समस्याकै कारण नौ कक्षामा पुगेको उसले बीचैमा पढाइ छोडी ज्यामी काम गर्न थाल्यो। ऊ डकर्मीसँग गारोपानीको काम गर्न थाल्यो। यसरी डकर्मीसँग काम गर्दै जाँदा घर बनाउने कला सिक्यो। समयको अन्तरालसँगै ऊ राम्रै डकर्मीका रूपमा चिनिन थाल्यो।
बिहे गरेको पाँच वर्ष बितिसक्दा पनि देउसरा गर्भवती हुन नसक्दा सासूससुरा चिन्तित देखिन्थे। कतै बच्चा नै नपाउने हो कि भन्ने कुराले पिरोलिरहेको थियो। एकदिन देउसरा दुईजीउकी बनेको कुरा थाहा पाइन् सासू बेलमतीले। उनका आँखामा हर्षका आँसु छचल्किन थाले। बेलमतीको इच्छा थियो काखमा नाति-नातिना खेलाउने। दिन, महिना बितेको पत्तै भएन। देउसराले छोरो जन्माइन्। बेलमतीले नाती हेर्नुभन्दा पहिले उदाउँदै गरेको सूर्यतिर दुई हात जोडी नमस्कार गर्दै भनिन्, ‘भगवान्, मेरा नातिलाई कसैको नजर नलागोस्। रक्षा गरिराख्या।’
दलुवा गएको केही दिनमै एक्कासि बेलमतीले प्राण त्यागिन्। बेलमतीले प्राण त्याग गरेको वर्षदिन नपुग्दै उनका श्रीमान्ले पनि धर्ती छोडे। देउसरा झन् एक्ली बनिन्।
डकर्मी बनेर काम गर्दा कतिपय ठाउँमा पाउनुपर्ने पूरै पारिश्रमिक पाएन। पाएको ठाउँमा पनि एकमुष्ठ नपाउँदा त्यो रकम कतिखेर आयो, कतिखेर हिसाब चुक्ता भयो पत्तै भएन। डकर्मी बनेको एक दशक पूरा भइसक्दासम्म पनि आर्थिक रूपमा उसले केही प्रगति गर्न सकेन। ठूलाबडाले होच्याउँदै हेपेर बोल्नेताका ऊभित्र एक प्रकारको विद्रोहको बादल मडारिन्थ्यो। मनको आकाश गड्गडाउन थाल्थ्यो। त्यतिबेलैदेखि मनमा एक प्रकारको क्रान्ति सलबलाउन थालिसकेको थियो। आवाजविहीनहरूको आवाज बन्न खोज्यो। गाउँका ठालु जमिनदारको आँखाको तारो बन्दै गयो। समाजमा देखा परेका विकृति-विसंगतिका विरुद्धमा औँला ठड्याउन थाल्यो।
उता, छोरो प्रकाशको पढाइको सबैले प्रशंसा गर्न थालेका थिए। पढाइमा निकै तीक्ष्ण प्रकाश १० कक्षामा पढ्दै थियो। यो कुरा जमिनदारलाई पाच्य भइरहेको थिएन। उसको एसएलसी परीक्षा पनि नजिकिँदै थियो। एकदिन दलुवाले देउसरालाई भनेको थियो रे, ‘मान्छेको जीवनको केही थाहा हुन्न। भोलि मरिन्छ कि बाँचिन्छ, के थाहा? हामीले समाजमा देखापरेका बेथितिका विरुद्ध बोल्नुपर्ने हुन्छ। अब अति भइसक्यो। यही पाराले त यो समाजमा बस्न सकिन्न। छोरालाई राम्ररी पढेर एसएलसी दिन भन्नू। म भोलि बिहानै निस्किन्छु। यो कुरा कसैलाई नभन्नू।’
देउसराले निकै बेर उसका अगाडि हात जोडेर नजान आग्रह गरिरहिन्। दलुवा आफ्नो निर्णयबाट रत्तिभर विचलित भएन। उसले देउसरालाई आधी रातसम्म राम्ररी सम्झायो। युद्धमा जानुको कारण बतायो। उसको काखमा टाउको राखी सुँक्कसुँक्क गर्दागर्दै देउसरा निदाइन्। जब देउसरा निदाइन्, तब छोरो र देउसराको अनुहार राम्ररी हेर्यो। जानेबेला गालामा म्वाइँ खान मन लागेर देउसराको गालासम्मै मुख लग्यो। तर, कतै निद्रा खुली पो हाल्छ कि भन्ने डरले फेरि पछाडि हट्यो। बिस्तारै सुतिरहेको छोरातिर हेर्यो। आँखाका परेलीबाट दुई थोपा आँसु झार्यो र भन्यो, ‘आखिर निमुखा र गरिबको जीवन भन्नु नै दुई थोपा आँसु मात्रै त रहेछ।’ केही दिनपछि थाहा भयो दलुवा माओवादी युद्धमा होमिएको कुरा।
दलुवा गएको केही दिनमै एक्कासि बेलमतीले प्राण त्यागिन्। बेलमतीले प्राण त्याग गरेको वर्षदिन नपुग्दै उनका श्रीमान्ले पनि धर्ती छोडे। देउसरा झन् एक्ली बनिन्। बेलाबखत गाउँतिर आएर सेनाले केरकार गर्न थाल्यो। सत्य बोलिनस् भने मारिदिन्छु, भन् राति घरमा आउँछ कि आउँदैन भन्दै धम्क्याउँथ्यो। देउसरा हात जोडेर अनुनयविनय गर्दै भन्थिन्, ‘नाइँ हजुर झुटा बोल्याकी छैन, गया दिनदेखि आयाको नाइँ। मर्यो कि जिउँदो छ हामीखी केही थाहा नाइँ हजुर।’ प्रकाश यो दृश्य टुलटुलु हेरिरहन्थ्यो। एक्ली जवान महिला देखेर आँखा सन्काउनेहरू पनि उस्तै थिए। त्यसैमा देउसराको सुन्दर जीउडाल देखेर हेरेकोहेर्यै गर्नेहरूको कमी थिएन। लोभीपापीहरूले विभिन्न प्रलोभन देखाइरहन्थे। दु:खको सागरमा पौडिँदै गरेकी देउसरालाई कसैका आश्वासन र प्रलोभनका शब्दजालले छुँदैनथे। मन दह्रो बनाएर आफ्नो दिनचर्या चलाइरहेकी थिइन्। जेनतेन गुजारा चलाइरहेकी थिइन्। छोरालाई स्कुलमा पढाइरहेकी थिइन्। बिहानको सूर्य निकै बेरसम्म हेरिरहन्थिन्। आशाको खेती गर्दै बाँच्न सिकेकी उनलाई सानोतिनो समस्याले पिरोल्दैनथ्यो। कसैले साह्रोगाह्रो सोद्धा उनी मुस्कुराउँदै भनिदिन्थिन्, ‘जिन्दगीको नाममा जिन्दगी चलाउनुपर्छ।’
दलुवा बितेको वर्षदिन पूरा भएको थिएन। ब्याजको स्याज जोडेर चुलिएको साहुको ऋण तिर्न नसक्दा देउसराले सम्पत्तिको नाममा रहेको बस्ने सानो टहरोसमेत साहुकै नाममा गर्नुपर्यो। उनी बिचल्लीमा परिन्।
छोरो निकै ज्ञानी, मिलनसार र तीक्ष्ण दिमागको थियो। कक्षामा सधैँ प्रथम हुन्थ्यो। एसएलसीमा पनि प्रथम डिभिजन ल्यायो। मनभरि विज्ञान विषय पढ्ने चाहना पालेको थियो। तर, घरछेउमा विज्ञान विषय पढाइ हुने कलेज थिएन। टाढा गएर पढ्न घरको कमजोर आर्थिक अवस्थाले दिँदैनथ्यो। घरको परिस्थिति मनन गरी आफू पढेकै विद्यालयमा ऊ कक्षा ११ मा कमर्स विषय लिई पढ्न थाल्यो। साँझको समयमा १० कक्षाका विद्यार्थीलाई ट्युसन पढाएर केही पैसा कमाउने मेलोसमेत अपनाइसकेको थियो। छरछिमेकमा सबैले भन्न थालेका थिए, ‘छोरो लायक निस्क्यो, अब देउसराका दु:खका दिन गए।’
समयले काँचुली फेर्दै गर्दा देउसराको मुहारमा बिस्तारै आशा र भरोसाका किरणले स्पर्श गर्न थालेका थिए। आमालाई खुसी भएको देख्न चाहने उसले आमाको निकै हेरचाह गर्न थाल्यो।
एकदिन गाउँमा केही मान्छेहरू कानेखुसी गर्न थाले। बिहानै रेडियोमा समाचार सुनियो, सैनिक कारबाहीमा परी जुम्लामा २२ जना माओवादीले ज्यान गुमाए। ज्यान गुमाउनेहरूमा एक थिए डोटी जिल्लाका दलुवा भूल। देउसरासामु यो खबर पुर्याउने हिम्मत कसैको भएन। अन्ततोगत्वा प्रकाश हिम्मत बटुल्दै आमासामु पुग्यो। आफूलाई जति नै दरिलो बनाउन खोजे पनि त्यो अवस्थामा कहाँ सक्थ्यो र! बलेसी चुहेजस्ता आँखा, हिकहिक आवाज लिएर आमासँग भन्यो, ‘आमा, बालाई शत्रुले सिद्ध्याइदिएछन्।’ घरबाट गएदेखि दलुवासँग देउसराको भेटै भएन। उनी कर्णाली अञ्चलमा इन्चार्जका रूपमा खटिएका थिए। त्यसैले पनि बीचमा कहिल्यै आउन सकेनन् गाउँघरतिर। बाडुलीको लय र सपनाको मिलनमै चित्त बुझाइरहिन् देउसराले। एक्कासि आफू विधवा भएको खबरले होस बेहोस बनिन्। कैयौँ दिनसम्म रोएरै दिनरात बितिरहे। श्रीमान्ले घर छोडेको भोलिपल्टदेखि नै कस्तो छ? कहाँ छ? खायो कि भोकै छ जस्ता कैयौँ प्रश्नहरू दिमागमा खियाइरहन्थिन्। उनकै चिन्तामा ज्यान सुकी माछीको काँडो भनेझैँ भइसकेकी थिइन्। एउटा नारीका लागि योभन्दा ठूलो बज्रपात के नै हुन सक्छ र? देउसराको सिउँदोको सिन्दुर मात्र पुछिएन। त्यतिबेला टाउकामा सिंगै आकाश खसेझैँ भयो। जीवनभरि पीडाको भारी बोकेकी उनलाई यसपल्ट दु:ख र पीडाले बेसरी थिच्यो।
दलुवा बितेको वर्षदिन पूरा भएको थिएन। ब्याजको स्याज जोडेर चुलिएको साहुको ऋण तिर्न नसक्दा देउसराले सम्पत्तिको नाममा रहेको बस्ने सानो टहरोसमेत साहुकै नाममा गर्नुपर्यो। उनी बिचल्लीमा परिन्। केही सीप नचल्दा साहुकहाँ पुगेर बिन्ती बिसाइन्, ‘मालिक म कहाँ जाऊँ? यो झुपडीमा बस्न दिनोस्। बस्न दिएबापत खेतबारीको काम गरिदिउँला।’
साहु बिर्खमानको गिद्धे नजरले देउसराको शरीर खोजिरहेको थियो। बडो मनन गरेर बिर्खमान बोल्यो, ‘ल तिमीले भनिहाल्यौ। उसरी पनि आफ्नै हौ, काँ जान्छौ तर? त्यतै बस। तर, मैले भनेको बेला काममा आउनुपर्छ नि।’
त्यो दृश्यले निकै भावुक बनेको पुत्र त्यो दिनदेखि गाउँसमाजका हैकमवादीहरूको व्यवहार र चरित्र केलाउन थाल्यो। त्यसै रात उसले अध्ययनमा निरन्तरता दिएर भोलिका दिनमा केही गर्ने र आमाको दु:खमा मलम लगाउने सोच बनायो। देउसरालाई जसरी भए पनि पढ्ने कुरा सुनायो। देउसरा बोलिन्, ‘क्याले पढ्ने है। हामसँग धनपैसा छैन। यो देश गरिब रे निमुखाहरूको रैन रै छ। बरु देश जाइबर नानुबडो कमाउने कुरा सोच।’ देउसराले भन्ने गरेको देश इन्डिया थियो। जहाँ सुदूरपश्चिमका अधिकांश मान्छेहरू नोकरी गर्न जान्थे।
उसले हुन्छ, जाँ भए लै जान्छु केही त गर्नुइ पड्यो। तम चिन्ता जनलिए। केइ न केइ गरिहालुलो भनेर निदाएजस्तो गर्यो। तर, निकै बेरसम्म निद्रा नै परेन। केही दिनपछि ऊ आमाका कानका मुन्द्रा धरौटीमा राखेर बम्बई जानेहरूको समूहमा मिसिने योजना बनाउन थाल्यो। यस्तै कुरा सोच्दासोच्दै कैयौँ रात बिते।
छोराका लागि केही गरिदिन्छन् कि भन्ने आस बोकेर एकदिन सदरमुकाम पुगेकी थिइन् उनी। त्यहाँ पुगेर सबै कुरा थाहा पाएपछि पूर्णमानसँग उनले भनेकी थिइन्, ‘लोग्ने मान्सलाई एकलो भएका बेला रे साहारको खाँचो भयापछि मात्तर याद आउँदो रैछ हैन?’
बिहान करिब १० बजेतिर गाउँमा कोही ठूलै मान्छे आएको सुनियो। त्यो ठूलो मान्छेको नाम थियो पूर्णमान दाहाल। जो केही दिनअघि मात्रै सीडीओ बनेर डोटी पुगेको थियो। उसको पुर्ख्यौली गाउँ देउसराको आँगनबाट नजिकै देखिन्थ्यो। ऊ त्यही पूर्णमान थियो जसले देउसराको मनमा प्रेमको बिरुवा रोपेको मात्र थिएन, छोटो समयमै उक्त बिरुवालाई सुकाएको पनि थियो। वर्षौंपछि देउसरासामु पुगेर उसले हालखबर सोध्न थाल्यो। निकैबेर उसको मुहार हेरिरहिन् देउसरा। अनि मनमनै भनिन्, ‘धोकेबाज फेरि झुल्केछ मेरो सामु। अब के खान आएछ कुन्नि।’ उनले सम्झिन् विगतमा सुनेका डेउडाका पंक्ति :
काट् भन्थ्यो बाजका सेउला उकल भन्थ्यो रुख
उइलका जसो जोवन छैन् क्या हेरन्छ मुख
क्षणभरको मौनतालाई भंग गरी प्रसंग मिलाउँदै एउटा उखान सुनाइन्, ‘केइ रोगले केइ सोचले केइ मरे सुर्ताले भणे जसोइ हो। हाम गरिबको के हाल खबर हुँदो हो। जिन्नगीका नाममा बाँचेकै छु। अब जिन्नगी ओरालो लाग्द सुरु भयो। उसो त गरिबको जिन्नगी जन्मँदै ओरालो लागिजाँदो।’
जिल्लाभरिका मानिसको सुरक्षार्थ खटिएको पूर्णमानको आफ्नै मन सुरक्षित हुन्न। देउसरासामु अपराधीझैँ देखिएको ऊ लाचार भएर फर्किन्छ। फर्किंदा एकपल्ट शिरदेखि खुट्टासम्म नियाल्दै बोल्छ, ‘मैखी भयो जनजमानेई सबैखी एकै हो भनेझैँ हो देउसरा। मान्छेको जात नै दु:खी हो। चित्त बुझाउनुपर्ने रैछ।’
पूर्णमानसँग बोल्ने शब्द छैनन्। मनन गर्ने मन भने उस्तै छ। दु:ख बिसाउने चौतारी छैन, तर दु:ख उमार्ने हृदय छँदै छ। समयले पछुताउन पनि सिकाएको छ। गाउँबाट धनगढी हुँदै काठमाडौँ पुगेको ऊ पढेर जागिरे बन्यो। काठमाडौँमा घर बनायो, गाडी किन्यो। पढेलेखेकी श्रीमती पायो। तर, खुसी भएन। जातकै कारण देउसरालाई अपनाउन नसकेको उसलाई उसकी श्रीमतीले डिभोर्स गरेको नि वर्षौं भइसक्यो। सन्तानका नाममा एउटा मात्र छोरी थिइन्। ती पनि अमेरिका भासिएको धेरै भइसक्यो। नितान्त एक्लो भएपछि सहाराको खाँचो महसुस गरिरहेको पूर्णमानले देउसरालाई सम्झिन थाल्यो। अनि त्यो विगतलाई।
छोराका लागि केही गरिदिन्छन् कि भन्ने आस बोकेर एकदिन सदरमुकाम पुगेकी थिइन् उनी। त्यहाँ पुगेर सबै कुरा थाहा पाएपछि पूर्णमानसँग उनले भनेकी थिइन्, ‘लोग्ने मान्सलाई एकलो भएका बेला रे साहारको खाँचो भयापछि मात्तर याद आउँदो रैछ हैन?’
गहभरि आँसु बोकेको पूर्णमान बोल्यो, ‘खै के भनूँ? कसरी भनूँ? त्यतिबेला म तँलाई कसेरी लैजान सक्थेँ? तँलाई थाहै छ, कसो थ्यो समाजको चालचलन भन्ने कुरा। याद त गरेकी गरेइन मैलाई थाहा छ। कै खी भनेर के हुने हो र।’ दुवैले एकअर्कालाई हेरिरहे। एकछिन मौनता छायो। अन्त्यमा मौनता भंग गर्दै सोधे पूर्णमानले, ‘मैले केइ गर्नु पड्डे छ?’
‘अब और गद्दु पड्डे त के बाँकी छ रे। चेलाले १२ क्लास पास गर्यो। अझै पड्डे रहर गर्न लागेको छ। कसेरी पढाउँ केई उपाए थ्यो कि भनिबर आएकी हुँ।’
‘म शुकबार काठमाडौँ जान्ना छु। क्याम्पसमा भर्ना गरिदिन्छु। मेरै घरमी एक कोठा दिउलो बस्नलाई। पठाइदे,’ देउसराको सुन्दर जीउडालमा एकोहोरो हेरेर उत्तर फर्कायो।
केही दिनपछि प्रकाश पूर्णमानसँगै काठमाडौँ पुग्यो। गाडी राख्ने टहराको छेउमा सानो गोदामजस्तो, कतैबाट हावा नछिर्ने टिनले छाएको कोठामा वास पायो। शंकरदेव क्याम्पसमा बीबीएसमा भर्ना भयो। बिहानी सत्रमा कलेज गएर दिनभर खाली बस्नुपर्दा कामको खोजी गर्न थाल्यो। गाउन र बजाउन सिपालु उसले केही दिनमै काठमाडौँको एउटा दोहरी साँझमा काम पायो। मासिक पारिश्रमिक दुई हजार तोकियो। टिप्ससमेत गरेर महिनामा पच्चीस सयदेखि तीन हजारसम्म पर्थ्यो। घरमा दुईचार सय आमालाई पठाउन पनि सकिने ठानेर ऊ हर्षित भयो।
जीवनको पूर्वार्द्धमा आमा सम्झेर रोइन्। श्रीमान्सँगको वियोगपछि उसको नाममा आँसु चढाइन्। आज छोराका नाममा आँसु खसालिरहेकी छन्। के गरिबको आफ्नो भनेको आँसु मात्रै हो त? के उसको भागमा सुख पर्दैन र?
काठमाडौँ पुगेको ६ महिना नपुग्दै दलहरूले जनआन्दोलनको बिगुल फुक्न थाले। व्यवस्थाका विरुद्ध सडकमा जनलहर उत्रिन थाल्यो। उसले मनमनै सोच्यो, ‘यी पाखण्डी, सामन्ती, बेइमानहरूलाई ठेगान लगाउने भनेकै नयाँ व्यवस्थाले हो। यो व्यवस्था परिवर्तनका लागि अघि सर्नुपर्छ।’
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म जताततै आन्दोलन सुरु भयो। प्रजातन्त्रका पक्षमा हजारौँ मानिस बाहिर निस्किए। ऊ आन्दोलनको अग्रपंक्तिमा देखा पर्न थाल्यो। अग्रपंक्तिमा देखा परेको प्रकाशलाई कालीमाटी चोकबाट पुलिसले लग्यो। बाहिर आन्दोलनका चर्का नारा लागेकै थिए। प्रकाशलगायत केही आन्दोलनकारीहरू भने जेलको चिसो खान बाध्य थिए। तथापि, उनीहरू दिनभर कल्पना गरिरहन्थे प्रजातन्त्रप्राप्ति पछिको जनताको हकअधिकार, सुरक्षा र स्वतन्त्रताको। कल्पनामा सजाइरहन्थे सुन्दर देशको सुन्दर व्यवस्था। तीन हप्तासम्म जेलको यातना भोगेको ऊ जेलभित्रै निमोनियाले ग्रस्त भैसकेको थियो।
यता, राजाले जनताको नासो जनतालाई नै सुम्पे भनेको खबर बहिरियो। आन्दोलन सफल भयो। लोकतन्त्र कहाँ गणतन्त्र नै आयो। प्रकाश जेलमुक्त भयो। जेलमुक्त हुनेबित्तिकै वीर अस्पतालमा भर्ना भएको ऊ दुई हप्तासम्म अस्पतालमा छटपटाइरह्यो। कुनै कुरुवा थिएन। आफ्नो भन्ने कोही भएन। त्यतिबेला आमा सम्झ्यो। बुवाले आफ्नो राजनीतिक यात्रामा कति दु:ख पाए होलान् भन्दै कल्पना गर्न थाल्यो। लुकीछिपी परेली पुछ्न थाल्यो। अस्पतालको बेड नै जीवनको अन्तिम सिरानी बन्यो। अस्तायो देशका लागि। ऊसँगै आन्दोलन गर्नेहरू कतिपय सहिद बने। उसको नाम कसैले लिएन। दोहोरी साँझमा सँगसँगै काम गर्ने साथीहरूले देउसरालाई काठमाडौँ पुग्ने खर्चको व्यवस्था मिलाए। धनगढीबाट काठमाडौँ प्लेनमा आइन् उनी। प्लेनबाट उत्रिएपछि उनलाई लिन गएका प्रकाशका साथीहरूसँग भनिन्, ‘दुई महिनाअघि मात्रै खबर पठाएको थियो, आमा म तोलाई चाँडै चिलगाडीमा चढाएर काठमाडौँ ल्याउने हुँ। काठमाडौँ घुमाउन्या हुँ। अब तेरा दु:खका दिन सकिए आमा।’ हिकहिक गर्दै फेरि बेलिन्, ‘उसैले बोलाएर म चिलगाडी चढेर आएँ। तर, ऊ मलाई लैजान केलाइ आएन?’ उनको प्रश्नको जवाफ थिएन कसैसँग। भए पनि कसैसँग केही भन्न सक्ने हिम्मत नै थिएन।
छोराको दाहसंस्कारपश्चात् टोलाइरहेकी देउसरालाई चिनेजानेका थुप्रैले सम्झाए। बिस्तारै मन बुझाउने प्रयत्न गर्न थालिन्। छोरालाई सहिद घोषणा गरिदिए हुन्थ्यो भन्ने चाहना थियो। तर, प्रकाश कुनै दलमा आबद्ध थिएन, त्यसैले पहल गरिदिने कोही भएनन्।
जीवनको पूर्वार्द्धमा आमा सम्झेर रोइन्। श्रीमान्सँगको वियोगपछि उसको नाममा आँसु चढाइन्। आज छोराका नाममा आँसु खसालिरहेकी छन्। के गरिबको आफ्नो भनेको आँसु मात्रै हो त? के उसको भागमा सुख पर्दैन र?
समय बित्दै गयो। विभिन्न पार्टीमा प्रवेश गरेका हिजोका तिनै शोषकहरूको रबैया देखिन थाल्यो। व्यवस्था फेरियो, जनताको अवस्था फेरिएन। व्यवस्थाको नाम मात्रै परिवर्तन भयो। त्यहाँ झन् बढी विकृति-विसंगति मौलाउँदै गयो। नातावाद, कृपावाद, चाकडी-चाप्लुसीदेखि भ्रष्टाचारको जालोमा देश जेलिँदै जान थाल्यो। आन्दोलनमा गोली लागेर ढल्नेहरूलाई सहिद घोषणा गरियो। तर, कतिपय प्रकाशहरूको योगदानको कदर नै भएन। कीराफट्यांग्रा मरेझैँ भए।
कतै पारिपट्टि देखिने हिमाल र ती डाँडाको पनि जात हुँदो हो कि? हामी तल्ला जातका जसरी अन्यायमा परी पिल्सिएजस्ता छन् केही डाँडाहरू। महिनादिन नटिक्ने हिउँ बोक्ने नाम मात्रका हिमाल पनि छन्। ती पन मजस्तै दुखारी हिमाल हुन्ना है। जो अरूको छहारीमा जबरजस्ती मुस्कुराएझैँ देखिन्छन्। तिनका लागि कहिले फेरिन्छ व्यवस्था?’
झन्डै २० वर्षपछाडि जेन-जी आन्दोलन भयो। कैयौँ युवायुवती र बालबालिकाहरू बेथिति र विसंगतिविरुद्ध सडकमा निस्किए। कतिपयले सहादत प्राप्त गरे। दुईचार दिन डराएझैं बनेका नेताहरूको पुनः उस्तै रवाफ देखा पर्न थालेको छ।
सबै कुरा थाहा पाएर उनी बेलाबखत भन्ने गर्छिन्, ‘समाज तिनैको हुन्छ, तिनकै लागि बन्छ जोसँग धनसम्पत्ति छ, गाउँ-समाजमा जसको आवाज उँचो छ। गरिबका लागि समाज पनि कहाँ हुँदो रहेछ र। यो देशमा गरिबहरू केवल मतदान गर्न मात्रै जन्मिँदा रहेछन्। गरिब जनतालाई त जनता नभएर केवल मतदाता बनाइँदो रहेछ। त्यसैले तिनले सधैँ एक्लै बाँच्न सिक्नुपर्छ।’
केही दिनयता भने उनको मनमा एउटा प्रश्न उब्जिरहेको छ। एकान्तमा मनमनै सोचिरहन्छिन्, ‘यदि पछिल्लो पुस्ताका महिलाले झैँ अक्षर चिन्न सक्ने भएकी भए यी सबै प्रश्नको उत्तर लेखेको कतै किताब भेटिन्थ्यो कि खोजेर पढ्थे हुँला। मेरा लागि त कालो अक्षर भैँसी बराबर छ।’
उनको जीवनकथा डायरीमा उतारिरहेको मेरो कानमै मुख पुग्ने गरी भनिन्, ‘साँच्ची ती डाँडाहरू पनि कोही अग्ला कोही होचा देखिन्छन्। कोही बडो सानसँग रवाफमा उभिएजस्ता छन्। कोही अग्ला डाँडाको दमनमा पिल्सिएजस्ता छन्। के ती डाँडाहरू पन हामी गरिब र निमुखाहरू जस्तै हुन्ना त?
कतै पारिपट्टि देखिने हिमाल र ती डाँडाको पनि जात हुँदो हो कि? हामी तल्ला जातका जसरी अन्यायमा परी पिल्सिएजस्ता छन् केही डाँडाहरू। महिनादिन नटिक्ने हिउँ बोक्ने नाम मात्रका हिमाल पनि छन्। ती पन मजस्तै दुखारी हिमाल हुन्ना है। जो अरूको छहारीमा जबरजस्ती मुस्कुराएझैँ देखिन्छन्। तिनका लागि कहिले फेरिन्छ व्यवस्था?’
भावनामा डुबेको उनको मनलाई अर्कैतिर मोड्ने हेतुले ठट्यौलो पारामा सोध्छु, ‘त्यहाँ कतै मजस्ता डाँडा पनि छन् त आमा?’
फिस्स हाँस्छौँ दुवै जना।
सम्झाउने ढंगले बोल्छु फेरि, ‘हे आमा पनि बेकारमा के के सोच्नुहुन्छ। त्यसरी अनावश्यक कुरा सोचिबर आफ्नो दिमाग किन सक्दा छौ?’
जिन्दगीका लागि जिन्दगी जिउनेहरूको बायोग्राफी लेखेर प्रकाशनको तयारीमा लागेको मेरो मनमा यतिबेला केही प्रश्न उब्जिरहेका छन्।
हुन त हजुरले भनेको कुरा ठीकै हो। यो मनलाई सम्झाउनसम्म सम्झाउँछु। मन पनि कस्तो ढिट भयो, मान्दै मान्दैन। कहिलेकाहीँ कमिलाको ताँतीजस्ता प्रश्नहरूका लस्कर आइदिन्छन् मनमा। हावाहुरीजस्तो यो मन अतीततिर फर्किन खोज्छ। यो देशका शासकले झैँ किन यति साह्रो रबैया देखाउँछ यो मनले। मलाई नै थाहा छैन,’ पुनः उस्तै गम्भीर भएर सुनाउँछिन्।
खाद्यान्नकै अभाव हुँदा त मानिसले वनका तरुल, भ्याकुर र कन्दमूल खाएर पनि चलाएकै हुन् जिन्दगीका पटरा। जब जब इमानदारी, नैतिकता, न्याय र समानताको पक्षमा खडेरी पर्छ। धनी र गरिबका बीच देखा पर्न थाल्छन् ठूलठूला खाडलहरू। बन्द हुन्छन् विकास निर्माणका कामहरू। चाहँदैन एकले अर्काको अस्तित्व स्विकार्न। समाज र राष्ट्रमा तब चल्छ आँधीबेरी। जब अन्याय र अत्याचार झागिँदै जान्छ, तब बाहिर निस्कन्छन् देउसराहरूका दबिएका आवाज।
झन्डै एक महिनाको डोटी बसाइपछि बिदा हुने बेला म देउसरासँग भन्छु, ‘आमा, मैले तपाईंको जीवनको कथा लेखेँ। पछि प्रकाशित गर्छु।’
लामो सास तानेर उनी भन्छिन्, ‘गरिब र आवाजविहीनको जिन्दगी नै अप्रकाशित कथाको दस्तावेज न हो। खै, हुन त कसलाई के फाइदा होला र प्रकाशित गरेर। तैपनि तम्रो मर्जी।’
जिन्दगीका लागि जिन्दगी जिउनेहरूको बायोग्राफी लेखेर प्रकाशनको तयारीमा लागेको मेरो मनमा यतिबेला केही प्रश्न उब्जिरहेका छन्। प्रिय सम्पादकज्यू, के तपाईंले यो देशका देउसराहरूको अन्तर्वार्ता लिन कसैलाई भन्नुभएको छ? ट्वाइलेटमा लडेर मृत्युवरण गरेकालाई समेत सहिद घोषणा गर्ने सरकारले के कतै देउसरा र प्रकाशको नाम सुनेको छ?