काठमाडौँ
००:००:००
६ पुष २०८२, आईतवार

६ पुष २०८२
अ+
अ-

काठमाडौँ। सप्तरीमा स्कुलको नमुना भवन निर्माण गर्दा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बलानबिहुल गाउँपालिकाका तत्कालीन अध्यक्ष दयानन्द गोइतसहित पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

मुद्दा दायर भएका अन्यमा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहम्मद नसिम राइन, लेखापाल कमलेशकुमार साह, सब-इन्जिनियर सन्तोषकुमार रजक र ओम गणेशाय कन्स्ट्रक्सन कम्पनी र प्रबन्ध निर्देशक राजीवकुमार साह छन्।

उनीहरूसँग जनही आठ करोड ९८ लाख २१ हजार ४९६ रुपैयाँ बिगो तथा सजाय माग दाबी लिई मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले बताए।

अधिकारीका अनुसार बलानबिहुल गाउँपालिका ६‚ सेहरास्थित जागेश्वर गहराई जनता माविको नमुना विद्यालय भवन निर्माणका लागि उक्त गाउँपालिकाले २९ चैत २०७८ मा बोलपत्र आह्वान गरेको थियो। नौ करोड आठ लाख ८४ हजार ५५७ रुपैयाँमा भवन निर्माणको बोलपत्र आह्वान गर्दा ओम गणेशाय कन्स्ट्रक्सन कम्पनी छनोट गरिएको थियो। उक्त कम्पनीसँग गाउँपालिकाले सम्झौता गरी भवन निर्माण गर्ने भनिएकामा मापदण्डविपरीत सामग्रीहरू प्रयोग गरेको पाइएको अख्तियारको दाबी छ।

उनीहरूले कानुनविपरीत उक्त कम्पनीलाई ठेक्का दिएको अख्तियारको दाबी छ। उक्त कम्पनीको सम्पूर्ण प्राविधिक योग्यता पूरा गरेको भनी प्राविधिक मूल्याङ्कनमा सफल भएको निर्णय गराएर भ्रष्टाचार गरिएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ।

भवनको प्राविधिक पक्षमा उत्तीर्ण हुन कन्स्ट्रक्सन एक्पिरिएन्स अन के एक्टिभिटीअन्तर्गत माग गरिएका सबै योग्यता पूरा हुनुपर्छ। तर, बोलपत्रमा पेस भएको कार्य अनुभवको प्रमाणपत्रलाई मान्यता नदिएको अवस्थामै आर्थिक प्रस्तावको मूल्यांकनमा समावेश गराएर बोलपत्र स्वीकृत गरेको पाइएको छ।

सम्झौता गरी कार्यादेश जारी भएर हालसम्म तीन करोड ९१ लाख १७ हजार ४८२ रुपैयाँसमेत कम्पनीलाई भुक्तानी गरिएको पाइएको अख्तियारले जनाएको छ।