इतिहास
राजा त्रिभुवन सपरिवार भारतीय दूतावासको शरणमा गएपछिको असहज परिस्थितिको गाँठो फुकाउन सिंहदरबारमा सभा बोलाइएको थियो, जसले युवराज महेन्द्रलाई फिर्ता ल्याएर गद्दीमा राख्ने कोसिस सफल नभए दरबारमै रहेका नाबालक ज्ञानेन्द्रलाई राजा बनाउनुपर्ने राय श्री ३ मोहनशमशेरलाई दिएको थियो।
नेपालको इतिहासमा ज्ञानेन्द्र शाह यस्ता व्यक्ति हुन्, जसको जन्म राजपरिवारमा भए पनि साधारण अवस्थामा राजा हुने कुनै सम्भावना थिएन। तर, उनी दुईपटक राजा भए। एकपटक बाल्यकालमा, जतिखेर उनी राजकाजबारे अबोध थिए। अर्कोपटक ५४ वर्षको उमेरमा। परिस्थिति सिर्जित समयमा दुईपटक राजा भए पनि ज्ञानेन्द्र दुवैपटक सत्ताच्युत भए। पहिलो घटना नियतिसँग गाँसिन्छ, अनि दोस्रो परिघटना उनको नियतसँग।
यस आलेखमा ज्ञानेन्द्र पहिलोपटक राजा बन्दाको बेलाका समाचार-घटनाको मात्र चर्चा गरिएको छ।
भारतीय दूतावासमा त्रिभुवनको शरण
विसं १९०३ मा जंगबहादुर कुँवर र उनका भाइ मिलेर ‘कोतपर्व’ मच्चाएपछि नेपालको शासनसत्ता उनी र उनका भैयादमा आयो। त्यसपछि राष्ट्रप्रमुखमा शाह खलक नै रहिरहे पनि राज्यमा राणाहरूको एकछत्र हालीमुहाली एक शताब्दीभन्दा लामो समयसम्म चल्यो। त्रिभुवन शाहको पालामा आउँदा र अझ खास गरी मोहनशमशेर जबरा प्रधानमन्त्री (२००५ सालमा) भइसकेपछि शाह र राणाबीचको सम्बन्ध खराब भयो। २००७ सालको भदौ/असोजमा गणेशमान सिंह, सुन्दरराज चालिसे, दिलमानसिंह थापालगायत हतियार र विस्फोटक पदार्थसहित काठमाडौँमा पक्राउ परेपछि उनीहरूलाई सह दिएको आरोप त्रिभुवनलाई लाग्यो, र दुईको सम्बन्ध थप तिक्ततापूर्ण बन्यो।
यसैबीच ज्ञानेन्द्रका हजुरबा राजा त्रिभुवन सिकार गर्न नागार्जुनतिर जाने भन्दै २१ कात्तिक २००७ को बिहान आफ्नो परिवारका सदस्यसहित दरबारबाट निस्किए। तर, सिकार खेल्ने त निहुँ मात्र थियो। उनीहरू शरण लिन भारतीय दूतावासमा छिरे। शरण लिनु केही साताअघि नेपालका लागि भारतीय राजदूत चन्द्रेश्वरप्रसाद नारायण सिंहलाई त्रिभुवनले एउटा चिठी लेखेका थिए। प्रधानमन्त्री मोहनशमशेरको निरंकुश शासनबाट आफू दुःखी भएको मात्रै होइन, आफ्नो ज्यान नै जोखिममा रहेको व्यहोरा उनले चिठीमा खुलाएका थिए। उस्तै परिस्थिति आइपरे आफू र आफ्नो परिवारलाई दूतावासमा शरण दिनसमेत उनले अनुरोध गरेका थिए।
गोरखापत्रका अनुसार ‘सो सभामा कोही कोही सदस्यले यस्तो देशद्रोही र राष्ट्रको बेइज्जत गर्ने वंशलाई गद्दीबाट वहिष्कार गर्नु पर्दछ भन्ने राय पनि प्रकट गरेका थिए।’ तर, त्यस्तो राय दिने सदस्य को को थिए, गोरखापत्रले खुलाएको छैन, न उसले अन्य के के विचार आएका थिए भन्ने नै लेखेको छ।
राजदूत सिंहले आफ्ना प्रधानमन्त्री जवाहरलाल नेहरूलाई पत्र लेखी त्रिभुवनको चिठी/अनुरोधबारे जानकारी गराए। सेलेक्टेड वर्क्स अफ जवाहरलाल नेहरूमा उल्लिखित विवरणअनुसार सिंहलाई नेहरूले त्रिभुवनलाई यो जवाफ दिन भने-
“यहाँले आफ्नो प्रधानमन्त्रीसँगको सम्बन्धबारे र आफ्नो व्यक्तिगत सुरक्षामा आउन सक्ने खतराबारे जे भन्नुभयो, त्यसले मलाई धेरै विचलित तुल्याएको छ। आवश्यकता परेको खण्डमा दूतावासले यहाँलाई शरण दिनेछ, जसलाई यस्तो अवस्थामा अन्तर्राष्ट्रिय कानूनहरूले पनि ग्राह्य ठान्छन्, र हामीले दिन सक्ने सबै सुरक्षा प्रदान गर्नेछौँ।”
नेहरूबाट सकारात्मक जवाफ पाएकै कारण सम्भवतः त्रिभुवनले भारतीय दूतावासमा सपरिवार शरण लिने निर्णय लिएका थिए।
राणा प्रतिक्रिया
राजा त्रिभुवनको यस कदमले राणाशासकहरूलाई स्तब्ध र विक्षुब्ध तुल्यायो। उनीहरूले त्रिभुवनका भान्जा अर्जुनशमशेर र मोहनशमशेरका छोरा विजयशमशेरलाई त्रिभुवनसँग कुराकानी गरी सबैलाई दरबारमा फिर्ता ल्याउन भारतीय दूतावास पठाए। तर, दुई दुईपटक प्रयत्न गर्दा पनि त्रिभुवनले मोहनशमशेरका प्रतिनिधिसँग भेट्नसमेत इन्कार गरे। यो विषम परिस्थिति साम्य पार्न प्रधानमन्त्री मोहनशमशेरले भोलिपल्ट बिहान भारदारी सभा बोलाए, जसमा गोरखापत्रका अनुसार, त्यतिखेर भर्खरै गठित संसद्का सदस्यलाई समेत आमन्त्रण गरिएको थियो।
यमपञ्चक (तिहारको छुट्टी) मनाइरहेको गोरखापत्रले त्रिभुवनको कृत्य, उनलाई फिर्ता गर्न भएको प्रयास र सो सभाले गरेका निर्णयहरू २३ कात्तिकमा दुई पानाको अतिरिक्तांकमार्फत प्रकाशमा ल्यायो। त्रिभुवनलाई ‘भूतपूर्व’ महाराजाधिराजले सम्बोधन गरिएको उक्त रिपोर्टमा भनिएको छः
‘काठमाडौं, कार्तिक २२ गते। हिजो विहान करीव ९।५५ को समयमा भूतपूर्व श्री ५ महाराजाधिराज त्रिभुवन वीरविक्रम शाहले मौसूफका २ वडामहारानीहरू, श्री ५ युवराजाधिराज, श्री ५ माहिला, कान्छा शाहजादाहरू र उहाँका महारानीहरू, श्री ५ साहिला र कान्छा शाहजादीहरू, श्री ५ युवराजाधिराजका जेठा शाहजादा सहित शिकारमा सवारी हुने बहानाले हिन्द दूतावासमा सवारी भएछ। सो खबर श्री ३ महाराजमा जाहेर भएपछि र हिन्द राजदूतबाट पनि सो खबरको समर्थन आएकोले मौसूफबाट श्री मे.ज. अर्जुन शमशेर र श्री मे.ज. विजयशमशेरलाई सो दूतावासमा पठाइबक्सी मौसूफ महाराजाधिराजको दर्शन गरी उहाँबाट के मुरादले विदेशी दूतावासमा सवारी भएको हो भनी विन्ती गर्न पठाइबक्सियो। तर जनरल शाहेबहरूलाई दर्शन बक्सेनछ। साँझको समयमा दर्शन बक्सिन्छ कि भनी फेरि हिन्द राजदूतद्वारा मौसूफ महाराजाधिराजमा श्री ३ महाराजबाट विन्ती पारिबक्सँदा पनि भेट बक्सन इनकार गरिबक्सेछ।’
उक्त असहज परिस्थितिबारे परामर्श गर्न २२ कात्तिकमा सिंहदरबारमा बोलाइएको सभामा मोहनशमशेरले सबै कुराको बेलिबिस्तार लगाउँदै अब के गर्ने भनेर सल्लाह मागे। गोरखापत्रका अनुसार ‘सो सभामा कोही कोही सदस्यले यस्तो देशद्रोही र राष्ट्रको बेइज्जत गर्ने वंशलाई गद्दीबाट वहिष्कार गर्नु पर्दछ भन्ने राय पनि प्रकट गरेका थिए।’ तर, त्यस्तो राय दिने सदस्य को को थिए, गोरखापत्रले खुलाएको छैन, न उसले अन्य के के विचार आएका थिए भन्ने नै लेखेको छ। अन्त्यमा प्रधानमन्त्रीले यसो भनेः ‘परम्परादेखि मानिआएको वंशलाई खारिज गर्न मनासिब हुँदैन, फेरि नाबालक शाहाजादालाई त परिणामको बोधै नहुने हुनाले पहिले श्री ५ युवराजाधिराजको साथै हिन्द दूतावासमा सवारी भएको जेठा शाहजादा बक्सिन्छ कि भनी मौसूफ महाराजाधिराजमा अनुरोध गरौं। नबक्सेको खण्डमा उहाँको भाइ माहिला शाहाजादालाई नै गद्दीमा चढाउनु उचित होला।’ उनको सो विचारमा, गोरखापत्रका अनुसार, ‘सबैको एक राय भयो।’

बाल्यावस्थामै राजा बनाइएका ज्ञानेन्द्र शाह
त्यसपछि सभाले एकमत हुँदै ‘श्री ३ महाराजका हजूरमा’ निम्न राय पेश गरे-
‘…हाम्रो भइरहेको ऐन रीतिथितिबाट गद्दीमा राज भएका गद्दीनशीन श्री ५ महाराजाधिराज स्वर्ग्य भएमा उहाँको शेषपछि गद्दीको उत्तराधिकारीलाई गद्दीमा राज गराई मात्र स्वर्ग्य भएका गद्दीनशीन महाजाधिराजको लाश कलेवर उठाई दाहसंस्कार हुने चलन चलिआएको भई हाम्रो ऐन रीतिथितिले गद्दी खाली राख्न नहुनेमा माथि लेखियाबमोजिम गद्दी छाडी आफू र परिवारसमेत विदेशी दूतावासमा पसिबक्सेबाट गद्दी खाली हुन आएको र मौसूफ श्री ५ महाराजाधिराजको यस्तो कारवाइबाट राष्ट्रको बेइज्जतसमेत गराइबक्सेको हुनाले मौसूफपछि मौसूफका उत्तराधिकारी श्री ५ युवराजाधिराजलाई गद्दीमा राज गराउनु पर्नेमा उहाँ पनि साथै सवारी भएको र उहाँपछिको हकदार उहाँका जेठा शाहजादालाई पनि साथै लगिबक्सेको भए पनि उमेर नपुगेको नाबालक होइबक्सेकोले उहाँलाई ल्याइबक्सनालाई कोशिश गरिबक्सने, उहांलाई पठाइबक्सेन भने गद्दी खाली राख्न नहुनाले दरवारमा छोडिबक्सेको श्री ५ माहिला शाहजादालाई गद्दीमा राज गराइबक्सेमा हाम्रो परम्परादेखि चलिआएको ऐन थितिरीतिबमोजिम मिल्न जाने हुनाले सोबमोजिम गरिबक्सनुपर्छ भनी हामीहरूलाई लागेको जाहेर गरेका छौं जो हुकूम।’
२२ कात्तिकको बिहान बसेको भारदार र अन्य मिश्रित सभाले राय दिएबमोजिम (मोहनशमशेरको चाहनाअनुरूप) नेपालका तात्कालिक राजा त्रिभुवनलाई ‘पदच्यूत’ गरियो। त्यससँगै नयाँ राजा चयन गर्ने तयारी शुरू भयो।
उक्त राय पेस गर्ने करिब अढाइ सय भारदारको सूचीसमेत गोरखापत्रमा दिइएको छ। गोरखापत्रले ‘अभूतपूर्व घटनाको समाधान’ शीर्षकमा छोटो सम्पादकीय टिप्पणीसमेत छापेको छ, जसमा राष्ट्रको बेइज्जत गरेकामा राजा त्रिभुवनप्रति खेद व्यक्त गर्दै श्री ३ महाराज मोहनशमशेरको निर्णयलाई सह्राइएको छः
“नेपालको यत्रो ओहदा सह्मालिबक्सेको व्यक्तिले आफ्नो गभर्नमेन्ट तथा दुनियाँलाई सूचना नै नबक्सी बिरानो मुलुकको दूतावासमा सवारी भएको हुँदा हामी सबैलाई खेद लाग्ने कुरा हो। किनभने यसबाट राष्ट्रको मात्र बेइज्जत हुने होइन, हरएक नेपालीले लज्जित हुनुपर्ने कुरा हो। तैपनि श्री ३ महाराजबाट कत्ति विचलित नहोइबक्सेर ‘यो अफसोसको कुरा हो तापनि, जस्तो पर्यो सहनैपर्छ, अव हामीले गद्दी खाली राख्न हुन्न’ हुकुम बक्सी यो दुःखदायी घटना हल गरिबक्सेकामा हामीलाई ज्यादै सन्तोष लागेको छ। यति गंभीर अवस्थालाई लम्बिन दिंदा राष्ट्रलाई हुन सक्ने खतराको विचार भई सबैको सल्लाह लिबक्सी यति चाँडो हल गरिबक्सेकामा श्री ३ महाराजको देशप्रेम स्तुत्य छ।”

ज्ञानेन्द्रको राज्यारोहण
२२ कात्तिकको बिहान बसेको भारदार र अन्य मिश्रित सभाले राय दिएबमोजिम (मोहनशमशेरको चाहनाअनुरूप) नेपालका तात्कालिक राजा त्रिभुवनलाई ‘पदच्यूत’ गरियो। त्यससँगै नयाँ राजा चयन गर्ने तयारी सुरु भयो। यसका लागि सोही दिन बिहान करिब ९ बजे बिगुल बजाइयो। त्यसै दिनबाट पञ्चकको बिदा सुरु भए तापनि टाढा घर भएका/बाटो लागेकाहरू बाहेकका जंगी अफिसर, कर्मचारी जो टुँडिखेलमा जम्मा भएका थिए, उनीहरूलाई १२ बजे हनुमानढोकामा हाजिर हुन उर्दी सुनाइयो। निर्धारित समयमा उर्दीको पोसाकमा सबै जम्मा भए। यसबीच युवराज महेन्द्रलाई ल्याउन सकिन्छ कि भनेर प्रयास पनि गरियो। तर सो प्रयास कारगर हुन सकेन। करिब २:३० बजे चौघोडे बग्गीमा त्रिभुवनका माहिला नाति ज्ञानेन्द्रलाई लिए मोहनशमशेर हनुमानढोका आए। र, त्यसको १५ मिनेटपछि ज्ञानेन्द्रको राज्यारोहण गरियो। उक्त समारोहको विवरण गोरखापत्रले छापेको छः
२००७ सालको तिहारको पहिलो दिन श्रीपेच पहिरेका नाबालक राजा ज्ञानेन्द्रको ‘राज्यसमय चिरकालपर्यन्त सुखशान्तिपूर्वक चलिरहोस्’ भनेर गोरखापत्रले कामना गरे पनि सो पूर्ण भएन; उनको पहिलो राज्यकाल औपचारिक रूपमा चार महिना पनि टिकेन।
‘नासल चोकको बीचमा परम्परादेखि यस्तै सुकर्मको लागिबनेको मञ्च (डेइस) मा श्री ५ महाराजाधिराज पृथ्वीनारायण शाहको गद्दी सजाएर राखेको थियो। त्यसैमा गुरुज्यूहरूको स्वस्ति वाचन र मंगलको बाजाको गुञ्जनका बीच २।४५ को शुभ मुहूर्तमा मौसूफ शाहजादाको राज्यारोहण भयो। ३१ तोपको सलामी पनि भयो। श्री ३ महाराज, श्रीमिनिष्टर साहेब, श्रीलाठसाहेबहरूले असर्फी, रुपियाँ राखिबक्स्यो। अरूले पनि त्यहीं दाम राखी नयां गद्दीनशीनको जय मनाए। श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम श्री ३ महाराजकासाथ चौघडीमा सिंहदरबारमा फिर्दा टुडिखेलमा जम्मा भएका पल्टन र दुनियांले हर्षसाथ सलामीका साथसाथै जय ध्वनि गरेकाले आकाशै गुञ्जायमान भएको थियो।
यति सानो उमेरमा पनि मौसूफ श्री ५ महाराजाधिराजबाट दस्तूर माफिक कलिला बाहुलीले सलामी बक्सेको र बग्गीबाट फूर्तिसाथ ओह्लिबक्सेको देख्दा दङ्ग नपर्ने कोही भएनन् भन्ने खबर छ।’

आफ्ना माहिला नाति ज्ञानेन्द्रलाई नयाँ राजा घोषणा गरिएको चार दिनपछि २६ कात्तिकमा पदच्युत गरिएका त्रिभुवन सपरिवार दिल्लीतर्फ लागे, जसलाई रोक्न राणा सरकारले ठूलै प्रयत्न गरेको थियो; हिंसाको धम्कीसमेत दिएको थियो। त्रिभुवनको भारत पलायनसँगै नेपाली कांग्रेसले सशस्त्र आन्दोलन सुरु गर्यो। एकतर्फ राजा भाग्ने, अर्कातर्फ सशस्त्र आक्रमण हुने, यसले राणा सरकारलाई थप हतप्रभ तुल्यायो। उसले जति यत्न गरे पनि भारतले ज्ञानेन्द्रलाई राजाको मान्यता दिएन। भारतले लबी गरेकै कारण राणाको नजिकको सहयोगी र सल्लाहकार बेलायतले समेत ज्ञानेन्द्रलाई औपचारिक रूपमा मान्यता दिएन; अरू मुलुक त परैको कुरा भए।
केही महिनाको लडाइँ, वार्ता र सहमतिपछि लडाइँ साम्य भयो। राणाशाही ढुलमुलायो। त्रिभुवन सपरिवार फर्के र पुनः श्रीपेच पहिरिए। यसरी २००७ सालको तिहारको पहिलो दिन श्रीपेच पहिरेका नाबालक राजा ज्ञानेन्द्रको ‘राज्यसमय चिरकालपर्यन्त सुखशान्तिपूर्वक चलिरहोस्’ भनेर गोरखापत्रले कामना गरे पनि सो पूर्ण भएन; उनको पहिलो राज्यकाल औपचारिक रूपमा चार महिना पनि टिकेन। १ फागुन २००७ मा राजा त्रिभुवन, राणा र नेपाली कांग्रेसबीच दिल्लीमा त्रिपक्षीय सम्झौता भयो। यसपछि ४ फागुनमा काठमाडौँ फर्केका त्रिभुवनले ७ फागुनमा प्रजातन्त्र स्थापनाको घोषणा गरे।