काठमाडौँ
००:००:००
७ पुष २०८२, सोमबार

७ पुष २०८२
अ+
अ-

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले परम्परागत प्रतिकार्य केन्द्रित विपद् व्यवस्थापनको दृष्टिकोणलाई परिवर्तन गरी जोखिमको ज्ञान, पूर्वतयारी र पूर्वानुमानमा आधारित पूर्वकार्यतर्फ रूपान्तरणको यात्रा सरकारले सुरु गरिसकेको दाबी गरेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) ले खुमलटारमा सोमबार आयोजना गरेको दुईदिने ‘पूर्वानुमानमा आधारित पूर्वकार्यसम्बन्धी’ चौथो राष्ट्रिय संवादको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले नेपाल बहुप्रकोपीय विपद् जोखिममा अत्यन्त संवेदनशील रहेकाले पूर्वानुमानमा आधारित पूर्वकार्य प्रभावकारी हुनुपर्नेमा जोड दिए। उनले भने, “यसका लागि हामीलाई विशेषगरी जोखिमको स्पष्ट जानकारी, विश्वसनीय पूर्वानुमान र प्रभावमा आधारित पूर्वसूचना प्रणालीको अत्यन्त महत्त्वपूर्ण भूमिका रहनेछन्।”

यी सबै कुरालाई नेपालले आफ्नो नीतिगत तथा कानुनी व्यवस्थामा स्पष्ट रूपमा समेट्दै आएको पनि मन्त्री अर्यालको भनाइ छ। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २0७४ ले संघ, प्रदेश र स्थानीय तहमा बहु-प्रकोप पूर्वसूचना प्रणाली सञ्चालन गर्ने जिम्मेवारी तोकेको पनि मन्त्री अर्यालले बताए।

विपद्को पूर्वतयारी गर्दा सही र समयमै गरिएको निर्णय तथा पूर्वकार्यले धेरैको ज्यान बचाउन सक्ने उनको भनाइ छ। “विपद् पूर्वतयारी, पूर्वसूचना र पूर्वानुमानमा आधारित पूर्वकार्यलाई अझ मजबुत संस्थागत र व्यापक बनाउने विषयमा नेपाल सरकार पूर्ण रुपमा प्रतिबद्ध छ‚” उनले भने‚ “यसमा प्राधिकरणको भूमिका प्रशंसनीय छ।”