काठमाडौँ। साताको पहिलो र दोस्रो कारोबार दिन घटेको नेप्से आज (मंगलबार) तेस्रो कारोबार दिनमा भने झिनो अंकले बढेको छ। आजको दिनमा नेप्से ३.२७ अंकले बढ्दै २‚५८४.४९ विन्दुमा रोकिएको छ। आज नेप्से ०.१२ प्रतिशतले बढेको हो।
नेप्से आइतबार १९.९२ अंक र सोमबार १३.८८ अंकले घटेको थियो। आजको दिनमा सेन्सिटिभ इन्डेक्स पनि १.५७ अंकले बढेर ४४७.५८ विन्दुमा रोकिएको छ। आज ३२८ कम्पनीको ९२ हजार ७४६ पटकको कारोबारमा ७६ लाख ६८ हजार ९१५ कित्ता सेयर किनबेच भए। जसमा तीन अर्ब ४२ करोड ९८ लाख ९३ हजार ९४२ रुपैयाँको कारोबार भयो।
नेप्सेमा आज सातवटा समूहको सूचक बढ्दा ६ वटाको घट्यो। नेप्सेमा मंगलबार १३४ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने आठवटाको स्थिर रह्यो।

आज पनि एसवाई प्यानल लिमिटेडको सेयर मूल्यमा ७.०१ प्रतिशतले बढ्यो। आइतबार र सोमबार पनि एसवाईको सेयर मूल्य समान ९.९९ प्रतिशतले नै बढेको थियो। आज यसको अन्तिम कारोबार मूल्य ८०६ रुपैयाँ रह्यो। यस्तै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य ५.९७ प्रतिशतले घट्यो। यसको अन्तिम कारोबार मूल्य ४८८ रुपैयाँ कायम रह्यो।
आज सबैभन्दा धेरै एसवाई प्यानल लिमिटेडकै सेयर कारोबार भएको छ। आज यसको ३० करोड ९८ लाख १७ हजार ३०८ रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ८०६ रुपैयाँ कायम रह्यो। हिजो (सोमबार) भने लुम्बिनी विकास बैंकको सेयरको कारोबार सबैभन्दा धेरै भएको थियो।