काठमाडौँ
००:००:००
८ पुष २०८२, मंगलवार

८ पुष २०८२
अ+
अ-

बाँके। नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौरले मुलुक र लोकतन्त्र जटिल अवस्थामा पुगेको बताएका छन्। उनले आपसी मतभेद बिर्सेर सिंगो पार्टी २१ फागुनका लागि तोकिएको निर्वाचनमा जुट्नुपर्ने धारणा राखे।

नेपाली कांग्रेस बाँकेद्वारा निर्मित सुशील कोइराला स्मृति भवनको दिवंगत नेता कृष्णप्रसाद भट्टराईको १०२औँ जन्मजयन्तीका अवसरमा आज (मंगलबार) नेपालगन्जमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। कांग्रेसले ८० वर्ष संघर्ष गरेर सुनिश्चित गरेको लोकतन्त्र र जनताको अधिकार अप्ठ्यारोमा परेकाले त्यसलाई ट्रयाकमा ल्याउन निर्वाचन सबैभन्दा उत्तम विकल्प भएको राठौरको भनाइ छ। उनले हाल जारी क्रियाशील सदस्यता वितरणसहित पार्टी महाधिवेशनलाई पनि २१ फागुनमा देश र पार्टीलाई विजयी बनाउने अभियानका रुपमा अघि बढाउन आग्रह गरे।

उनले कांग्रेसको नेतृत्वमा जनअधिकारको बहाली, शान्ति स्थापना तथा विकासका काम भए पनि भ्रष्टाचार नियन्त्रण, सुशासन र जनताको सेवाका लागि खोलिएका कार्यालयहरुलाई जनतामैत्री बनाउन नसकिएका कारण जनतामा असन्तुष्टि बढेको बताए। जनताको असन्तुष्टि र आकांक्षा सम्बोधन गर्न कांग्रेसले नै पहलकदमी लिनुपर्ने सह-महामन्त्री राठौरको भनाइ छ।

नेपालमा मात्र नभई विश्वमै भ्रष्टाचार नियन्त्रण र सुशासनको मुद्दा पेचिलो बन्दै गएको अवस्थामा कसैले भन्दैमा विद्यमान परिस्थितिमै आजका भोलि सबै समस्या समाधान नहुने उनले जिकिर गरे। दलहरुले कानुनको कार्यान्वयन र जीवनशैलीमा परिवर्तनलाई मुद्दाकै रुपमा अघि बढाएर मुलुकमा सुशासन दिनुपर्ने उनले बताए।

कार्यक्रममा उनले दिवंगत नेताहरु कृष्णप्रसाद भट्टराई र सुशील कोइरालाले अपनाएको र देखाएको सादाजीवन : उच्च विचारको परिपालना नै मुलुकलाई सुशासन, सामाजिक न्याय र राष्ट्रहितको मार्ग पहिल्याउने उपयुक्त बाटो भएको बताए। यद्यपि, आजका कांग्रेस नेता-कार्यकर्ताले त्यसलाई अनुसरण गर्न नसक्दा पार्टी र समाज दुवैलाई हानि भइरहेको उनले टिप्पणी गरे।