राजनीति
लिङ्देनसँग अध्यक्षमा पराजित भएर अलग भएका थापाको राप्रपामा पुनरागमन
२८ फागुन २०७६ को कुरा हो। राष्ट्रिय सभागृहमा कमल थापाले नेतृत्व गरेको राप्रपा नेपाल, पशुपतिशमशेर राणाको राप्रपा र प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा संयुक्तबीच एकता सभा चलेको थियो। त्यो सभामा सम्बोधन गर्दा थापाले खल्तीबाट गीताको पुस्तक निकालेर कहिल्यै पार्टी नफुटाउने कसम खाएका थिए।
तर, त्यो कसम दुई वर्ष पनि टिकेन। १५ मंसिर २०७८ मा भृकुटीमण्डपमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि उनी राप्रपाबाट अलग भए। महाधिवेशनमा अध्यक्षमा थापा र अर्का नेता राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा भएको थियो। लिङ्देनले थापालाई २२७ मतले पराजित गरेका थिए।
चुनावमा पराजित भएपछि उनी ७ फागुन २०७८ मा राप्रपा नेपालमा मिसिएर सो दलको अध्यक्ष भए। त्यतिबेला धनकुटाका लाक्पा लामाको नेतृत्वमा थियो, राप्रपा नेपाल।
नयाँ परिस्थितिमा उनी फेरि राप्रपामा फर्किन राजी हुनुमा जेन-जी आन्दोलनपछिको परिस्थितिले प्रेरित गरेको छ। राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार दुई राप्रपाबीच एकता गर्न चार वटा पक्षले काम गरेको छ।
तर, चार वर्षपछि थापा आफूलाई अध्यक्षमा पराजित गरेका लिङ्देनसँग फेरि हातेमालो गर्न तयार छन्। ९ पुसमा लिङ्देन नेतृत्वको राप्रपा र थापा नेतृत्वको राप्रपा नेपालबीच पार्टी एकता गर्ने सहमति भएको छ। थापा र लिङ्देनबीचको लिखित सहमति लागु भएमा राप्रपा नेपाल र राप्रपाबीच १६ पुसमा एकता घोषणा हुनेछ।
राप्रपाको एकता महाधिवेशनको चार वर्ष एक महिनापछि लिङ्देन र थापा एक हुने भएका हुन्। राप्रपा प्रवक्ता मोहन श्रेष्ठ भन्छन्, “जेन-जी आन्दोलनपछि समान विचार, नीति र सिद्धान्त भएका शक्ति एक ठाउँमा आइरहेका छन्, यस्तो बेला दुई पार्टीको मेल हुन लागेको हो।”
राप्रपा महामन्त्री धवलशमशेर राणा राष्ट्रवादी शक्ति कमजोर भएकाले नै पार्टी एकताको खाँचो परेको बताउँछन्। “छिन्नभिन्न हुँदा हामी कमजोर थियौँ। त्यसैले बलियो राष्ट्रवादी शक्ति बनाउन दुई पार्टीलाई एक बनाउन लागिएको हो,” राणा भन्छन्।
२०७८ सालमा लिङ्देनसँग राप्रपा अध्यक्षमा थापाले हार्नुको कारण थियो– उनको सत्तामोह। उनी विचार मिल्ने र नमिल्ने जुनसुकै राजनीतिक शक्तिसँग समीकरण गर्थे। मन्त्री हुन थापाले गरेका सत्ता समीकरणले राप्रपाको राजतन्त्र र हिन्दु राष्ट्रको अजेन्डा कमजोर बनेको एकथरीको आरोप थियो। हुन पनि त्यतिबेला राप्रपाको महाधिवेशनमा थापा समूहका अधिकांश नेता विजयी भए पनि उनी चाहिँ पराजित भएका थिए। थापाले निर्मलनिवास र पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतामा आफूलाई राप्रपाको चुनाव हराइएको टिप्पणी गरेका थिए। त्यसपछि नै उनी लिङ्देनसँग अलग भएका हुन्।
नयाँ परिस्थितिमा उनी फेरि राप्रपामा फर्किन राजी हुनुमा जेन-जी आन्दोलनपछिको परिस्थितिले प्रेरित गरेको छ। राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाका अनुसार दुई राप्रपाबीच एकता गर्न चार वटा पक्षले काम गरेको छ। पहिलो, जेन-जी आन्दोलनपछि परिवर्तित अवस्था। दोस्रो, कार्यकताहरूको भावना। तेस्रो, २१ फागुनको प्रतिनिधिसभा निर्वाचन र चौथो, बलियो राष्ट्रवादी शक्तिको आवश्यकता। बर्तौला भन्छन्, “यिनै कारणले दुई पार्टीलाई एक ठाउँमा ल्याएका हुन्।”
राप्रपा उपाध्यक्ष ध्रुवबहादुर प्रधानको भनाइमा चाहिँ समान विचार र सिद्धान्त भएकाले पार्टी एकता गरिएको हो। “दुई पार्टीको एउटै नीति, सिद्धान्त र विचार छ। वार्ता हुँदा दुई पार्टीलाई एकीकृत रूपमा लैजान सकिन्छ भनेर दुवै नेता तयार हुनुभयो,” प्रधान भन्छन्, “कमलजी पनि लचिलो भएर जोडिन तयार हुनुभयो।”
पार्टी एकीकरणका लागि दुई राप्रपाले तीन तीन सदस्यीय समिति गठन गरेका थिए। राप्रपाले उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुवबहादुर प्रधान तथा राप्रपा नेपालले महामन्त्री राजाराम बर्तौला र नेताहरू तेज कुरुम्बाङ, राजीव पराजुलीको नेतृत्वमा समिति गठन गरेको थियो। यो समितिले गरेको तयारी र गृहकार्यका आधारमा दुई दल एक हुने वातावरण बनेको हो।
पञ्चायतदेखि गणतन्त्रसम्म राजतन्त्रका हिमायती थापालाई लिङ्देनले राप्रपाको पछिल्लो महाधिवेशनमा पराजित गरे। राप्रपामा लिङ्देन थापाभन्दा कनिष्ठ नेता थिए।
राप्रपा महाधिवेशनको चारवर्षे अवधि गएको १५ मंसिरमै सकिएको छ। २१ फागुनका लागि घोषित चुनावपछि महाधिवेशन गर्ने गरी राप्रपाले पार्टीका सबै निकायको म्याद ६ महिना थपेको छ। प्रवक्ता श्रेष्ठ भन्छन्, “पार्टी एकतापछि आगामी चुनावबाट राजसंस्थानिकट दलको तागत अरू बढाइनेछ।”
पछिल्लो समय राप्रपाभित्रै अध्यक्ष लिङ्देन समूह र महामन्त्री धवलशमशेर राणा समूहबीच तिक्तता बढेको थियो। लिङ्देनले राजसंस्था पुनःस्थापनाको मुद्दा बलियो रूपमा जनतामाझ लैजान नसकेको आरोप राणा समूहको छ। यही बेला थापा राप्रपामा मिसिन लागेका छन्।
थापा आफैँ भने राजसंस्था पुनःस्थापनाको मुद्दामा द्विविधामा छन्। उनले राप्रपा नेपाल गठन गरेपछि राजसंस्था पुनःस्थापनाको मुद्दा त्यागेका थिए। तर, भदौ २०८० मा फेरि थापा आत्मालोचनासहित राजतन्त्र पुनःस्थापनाको मुद्दामा फर्किएका हुन्। उपाध्यक्ष प्रधानका अनुसार दुई राप्रपाको एकतापछि थापा राप्रपामा वरिष्ठ नेताका रूपमा रहनेछन् भने लिङ्देन अध्यक्षकै भूमिकामा रहने सहमति भएको छ।

राप्रपा र राप्रपा नेपालबीच एकता हुने टुंगो लागेपछि दुई अध्यक्षले सार्वजनिक गरेको तस्बिर
जेन-जी आन्दोलनपछि नेपालमा राजसंस्था पुनःस्थापनाको मत बलियो बनेको दुवै पार्टीका नेताहरूको बुझाइ छ। राप्रपाका केन्द्रीय सदस्य रविकिरण हमालको नेतृत्वको जेन-जी समूहले राजसंस्था पुनःस्थापनाको माग गरिरहेको छ। कतिपयले पूर्वराजा ज्ञानेन्द्र शाहको भारत भ्रमणका क्रममा दरबारनिकट दलहरू एक भएको बुझाइ राखे पनि नेताहरूले इन्कार गरेका छन्। “पूर्वराजाको भारत भ्रमण र दुई राप्रपाबीचको एकता संयोग मात्र हो,” उपाध्यक्ष प्रधान भन्छन्।
राप्रपाबाट थापा अलग भएपछि लिङ्देनले राप्रपालाई २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ सात सिट जिताए। तर, एमालेसँग चुनावी तालमेल गरेर पनि थापा नेतृत्वको राप्रपा नेपालले देशभरि एक सिट पनि जित्न सकेन।
थापाको राजावादी राजनीति
थापा पञ्चायतकालदेखि नै राजतन्त्रका हिमायती थिए। उनी राप्रपामा आबद्ध भएदेखि राजाको प्रत्यक्ष शासनकाल र गणतन्त्रसम्म राजतन्त्रको वकालत गर्ने पात्र हुन्। राजाको सक्रिय शासनकालमा थापा गृहमन्त्री थिए। गणतन्त्रकालमा उनी राप्रपा नेपाल गठन गरी राजतन्त्रको वकालतमा सक्रिय रहे।
तर, राप्रपाको पछिल्लो महाधिवेशनमा थापा लिङ्देनसँग पराजित भए। राप्रपामा लिङ्देन थापाभन्दा कनिष्ठ नेता थिए। गणतन्त्रकालमा राप्रपा छिन्नभिन्न हुँदा पनि राजसंस्था चाहिन्छ भन्दै थापाले पन्ध्र वर्ष त्यो पार्टी हाँकेका थिए। २०७८ सालको एकता महाधिवेशनको हर्ताकर्ता पनि थापा नै थए। तर, आफैँले आयोजना गरेको महाधिवेशनले उनलाई राप्रपाको नेतृत्वबाट पाखा लगाइदियो।
यसअघि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा थापाको पार्टीले समानुपातिकमा जम्मा चार सिट जित्यो भने प्रत्यक्षमा एक सिट पनि ल्याउन सकेन। त्यतिबेला सूर्यबहादुर थापा र पशुपतिशमशेर नेतृत्वका राप्रपाले पनि कुनै सिट जितेनन्। २०७० सालको चुनावमा भने राष्ट्रिय जनशक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राणा) एक भएर चुनावमा होमिएका थिए। तर, थापाको पार्टी एक्लैले समानुपातिक निर्वाचनमार्फत २५ सिट जितेको थियो। थापा र राणाको पार्टीले समानुपातिकतर्फ १२ सिट जित्यो।
फेरि २०७३ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबीचको एकतापछि राष्ट्रिय प्रजातन्त्र पार्टी बन्यो। एकीकृत दलको सांसद संख्या ३७ पुग्यो। त्यसको केही समयपछि चुनावचिह्नमा मतभेदका कारण राप्रपा फेरि विभाजित भयो। प्रकाशचन्द्र लोहनीले चैत २०७३ मा एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) गठन गरे भने पशुपतिशमशेर राणाले राष्ट्रिय प्रजातन्त्र पार्टी (लोकतान्त्रिक) बनाए।
तर, २०७४ सालको चुनावमा राणा र लोहनीको पार्टीले कुनै सिट जित्न सकेनन्। कमल थापाको राप्रपाले प्रत्यक्षतर्फ एक सिट जित्यो। त्यसरी एक सिट जित्नेमा राजेन्द्र लिङ्देन मात्र थिए। समानुपातिकमा भने तीन प्रतिशत मतको ‘थ्रेसहोल्ड’ नकटेपछि थापाको दलले एउटा सिट पनि नपाएकाले राष्ट्रिय पार्टी बन्ने अवसरसमेत गुमाएको थियो।