दृष्टिकोण
अवैदिक समाजबाट आएका गौतम बुद्ध हिन्दु हुने प्रश्नै आउँदैन तर कतिपय हिन्दुलाई बुद्धलाई जसरी पनि हिन्दु समाजभित्र राख्नु छ।
गौतम बुद्धलाई कतिपयले वैदिक परम्पराबाट आएका व्यक्तित्वका रूपमा चित्रण गरेका छन्। आज हिन्दु नाम दिइने उक्त वैदिक परम्पराअनुसार बुद्ध पनि हिन्दु नै थिए, उनले हिन्दु धर्मभित्रै नयाँ पन्थ स्थापना गरे, जसलाई पछि बौद्ध धर्म भन्न थालिएको हो भनी दाबी गर्ने एउटा समूह पनि छ। बाबुआमा सबै हिन्दु भएकाले बुद्धले हिन्दु धर्मभित्रकै कतिपय विकृति वा कर्मकाण्डमा सुधार ल्याएर बौद्ध सम्प्रदाय खडा गरेको अनि उनले हिन्दु धर्ममा आधारित बेग्लै दर्शन मात्र दिएका हुनाले बौद्ध धर्म नभई दर्शन मात्र हो भन्नेहरू पनि छन्।
धर्मदर्शनसम्बन्धी लेखनमा प्रायः श्रमण र ब्राह्मण दुई शब्द उल्लेख हुन्छन्। अतीतमा यी शब्दहरू बेग्लाबेग्लै अर्थमा प्रयोग हुन्थे। श्रमण र ब्राह्मण दुई भिन्न र प्रतिस्पर्धी परम्परा थिए। ब्राह्मण परम्परालाई हिजोआज हिन्दु भन्न सकिन्छ भने श्रमण परम्पराअन्तर्गत वर्धमान महावीर, गौतम बुद्धलगायत सम्प्रदाय थिए।
आश्वलायन सूत्रअनुसार वैदिक ब्राह्मणहरू कपिलवस्तुका शाक्यहरूलाई हीन दृष्टिले हेर्थे।
इ.पू. ५६४ असार पूर्णिमाको रात कपिलवस्तु गणराज्यका राजा शुद्धोदनकी रानीले सपनामा देखेको कुराको अर्थ लगाउन भोलिपल्ट ब्राह्मणहरूलाई आमन्त्रण गरिएको थियो। ती ब्राह्मणहरूले स्वप्नफलको चर्चा गर्दा शिशु गृहस्थमा बस्यो भने चक्रवर्ती राजा हुने तर गृहत्याग गरी आध्यात्मिक साधनामा लागे बुद्ध हुने भविष्यवाणी गरेका थिए। तत्कालीन समाजमा अस्तित्वमा रहेका ऋग्वेद, सामवेद र यजुर्वेदमा बुद्धको अर्थ हुने कुरै भएन। तर, त्यहाँ कसैमा बुद्ध भनेको के हो भनेर जिज्ञासा उठेन। अर्थात्, समाजमा सबैलाई थाहा थियो कि बुद्ध र बुद्धको महिमा। तसर्थ, ती ब्राह्मण हिन्दु थिएनन् भन्ने कुराको पुष्टि हुन्छ।
लुम्बिनीमा मायादेवीबाट शिशुको जन्म हुँदा ब्रह्मा र इन्द्रको उपस्थिति रहेको वर्णन पाइन्छ। हिन्दु धर्मग्रन्थहरूमा पनि इन्द्र र ब्रह्माबारे प्रशस्त उल्लेख पाइन्छ। हिन्दु धर्मग्रन्थहरूमा इन्द्र र ब्रह्मा दुई देवता हुन्। तर, बौद्ध सन्दर्भमा ब्रह्मा र इन्द्र भन्नाले कुनै देवविशेष मात्र बुझिँदैनन्। अनेकौँ नामका असंख्य ब्रह्मा र इन्द्रहरू हुन्छन्।

लुम्बिनीस्थित मायादेवी मन्दिर। तस्बिर : नेपाल फोटो लाइब्रेरी
लुम्बिनी आइपुग्ने ब्रह्माको नाम सहम्पति र इन्द्रको नाम शक्र हो। शिशुको जन्म हुँदा देवलोकमा हर्षोल्लास गर्ने देवताहरूलाई पनि थाहा थियो, शिशुले बुद्धत्वलाभ गर्दछ र बुद्धत्वलाभपछि उनले दिने धर्मदेशना सुनेर धर्मलाभ गर्न पाउनेछौँ। बौद्ध सन्दर्भमा उल्लिखित ब्रह्मा र इन्द्रलगायत देवताहरू हिन्दु धर्ममा भनेजस्तो अजर-अमर होइनन्। उनीहरू पनि षट्लोकमा अल्झिरहेका अर्थात् दुःखमा नै रहेका सत्त्व हुन्। पुण्यबलले देवलोकमा जन्म लिन पुगेका मात्रै हुन्। सञ्चित पुण्य सकिएपछि उनीहरूले पनि अन्य लोकमा जन्म लिनुपर्छ। एवंरीतले उनीहरू लोकमा घुमिरहेका हुन्छन्। तर, बुद्धको देशना सुन्न पाए अर्हत् हुन सकिने वा बोधिचर्या गर्दै स्वयं बुद्ध पनि हुन सक्ने अभिलाषा उनीहरूमा पनि भएको पाइन्छ।
बुद्धजीवनीमा ऋषि कालदेवलको नाम पनि जोडिन्छ। भनिन्छ, उनी शुद्धोदनका कुलगुरु हुन्। शुद्धोदनलाई पुत्रलाभ भएको थाहा पाएर घरमा आउँछन् र शिशुको शरीर जाँच गर्छन्। त्यसपछि उनी बडो खुसी हुँदै शिशु पक्का बुद्ध बन्छन् भनेर निश्चित गर्दछन्। ती ऋषि पनि वैदिक हुने सम्भावना देखिँदैन, किनभने वैदिकहरूका लागि बुद्ध र बुद्धत्व चासोको विषय नै होइन।
वैदिकहरू रक्त शुद्धतामा बडो ध्यान दिन्छन्। हाडनाताकरणी त्याज्य हुन्छ। तर, शाक्य कुलमा परिवारभित्र नै बिहेबारी चल्छ। एकै आमाका चार राजकुमार र चार राजकुमारीबीच विवाह भएर शाक्य कुलको प्रारम्भ भएको वर्णन पनि पाइन्छ। ज्येष्ठ राजकुमारीको विवाह काशीका राजा रामसँग हुन्छ र उनीहरूबाटै कोलियवंश सुरु हुन्छ। त्यसउप्रान्त कपिलवस्तुका शाक्यहरू तथा शाक्य र कोलियहरूबीच विवाह गर्ने परम्परा चल्यो।
वैदिकहरूमा मामाचेली, फुपूचेलीबीच विवाह चल्दैन, तर अवैदिक समाजमा अहिले पनि चल्छ। शाक्य परिवारमा पनि मामाचेली, फुपूचेलीबीच वैवाहिक सम्बन्ध हुन्छ। उदाहरणका लागि शुद्धोदनको विवाह मायादेवी र प्रजापति गौतमीसँग भएको थियो। यी दुई शुद्धोदनकै मामाका छोरी हुन्। गौतम बुद्धको विवाह पनि मामाकी छोरी यशोधरासँग भएको थियो। बुद्धकी दिदी नन्दा थिइन् भने भाइ नन्द। दिदी-भाइबीच नै विवाह हुने तयारी चलिरहेकै बेला भाइ नन्द बुद्धकै भिक्षु बनेका थिए। आश्वलायन सूत्रअनुसार वैदिक ब्राह्मणहरू कपिलवस्तुका शाक्यहरूलाई हीन दृष्टिले हेर्थे।
बुद्ध र बुद्धको शिक्षा वैदिक परम्परा होइन। यसर्थ, गौतम बुद्धलाई वैदिक वा हिन्दु धर्मको बिल्ला झुन्ड्याउनु ऐतिहासिक, सामाजिक, सांस्कृतिक र दार्शनिक कुनै पनि कोणबाट औचित्यपूर्ण साबित हुँदैन।
वैदिक ब्राह्मणहरू मतवादहरूमा आपत्ति जनाउँदैनन् भन्ने कुरा वैदिक साहित्यको अध्ययनबाट थाहा हुन्छ। सुरुआतमा वैदिकहरू इन्द्रलाई खुब मान्दथे। ऋग्वेदमा सबैभन्दा बढी इन्द्रकै स्तुति पाइन्छ। इन्द्रको यो सत्ता कतिपयलाई पाच्य भएन। त्यसैले वैदिक समाजमा यज्ञ कर्मप्रति नै प्रश्न उठाउने र अन्तै लाग्नेहरू पनि पाइए। यज्ञ नगर्ने, इन्द्रको सत्ता नमान्ने तर वैदिक नै बस्नेहरूको एउटा सम्प्रदायको ‘भागवत’ नाममा उदय भयो। त्यही सम्प्रदायलाई पछि वैष्णव भन्न थालियो। चार्वाक्लगायत भौतिकवादीहरू त पहिल्यैदेखि थिए। वर्धमान महावीरको वैचारिक प्रहार पनि थियो। तथापि, वैचारिक मतभिन्नताका आधारमा द्वन्द्व नगर्ने प्रवृत्ति वैदिकहरूमा रहेको बुझिन्छ।
बुद्धसँग भने वैदिकहरू लामो समय रिसाउनुसम्म रिसाए। यसको खास कारण जातिवाद थियो। वैदिक समाज व्यवस्थाको जग ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्रको तहगत व्यवस्था थियो, तर बुद्धले उक्त व्यवस्थाप्रति नै प्रश्न उठाउँदै त्यसको अनौचित्यबारे प्रकाश पारे। जातिवादको पर्खाल तोड्दै आफ्नो संघमा सबैलाई समान व्यवहार गरे। बुद्धको दार्शनिक मतवादमा आकर्षित हुनेहरूमा वैदिक ब्राह्मणहरूसँगै शूद्रलगायत अन्य गैरब्राह्मण पनि उत्तिकै संख्यामा संघमा प्रव्रजित हुन आएका थिए। त्यसैले पनि वैदिक ब्राह्मणहरू बुद्धसँग रिसाए।
कतिपयमा सारिपुत्र, मौद्गल्यायन, महाकात्यायन, महाकश्यपलगायत बुद्धका प्रमुखतम भिक्षुहरू वैदिक ब्राह्मण भएकै कारण पूरै बौद्ध संघ वैदिक हो भन्ने भ्रम पनि रहेको पाइन्छ। तर, ब्राह्मणहरू संघमा प्रव्रज्या लिई भिक्षु बन्नु वैदिकका लागि ‘क्षय’ हो। वैदिक समाजका लागि ती ब्राह्मण एक प्रकारले ‘कुलंगार’ नै हुन्। नागार्जुन, धर्मकीर्ति, वसुमित्र, असंग, वसुबन्धुलगायत थुप्रै आचार्यहरूको पृष्ठभूमि पनि वैदिक ब्राह्मण नै थियो, तर बौद्ध संघमा आएपछि वैदिक मूल्यमान्यताविरुद्ध उनीहरूले नै तीखो प्रहार गरे। यी दुई पक्षबीच हुने शास्त्रार्थहरूले देखाउँछन्– बुद्ध र बुद्धको शिक्षा वैदिक परम्परा होइन। यसर्थ, गौतम बुद्धलाई वैदिक वा हिन्दु धर्मको बिल्ला झुन्ड्याउनु ऐतिहासिक, सामाजिक, सांस्कृतिक र दार्शनिक कुनै पनि कोणबाट औचित्यपूर्ण साबित हुँदैन।