संस्मरण
समाचार संकलनका लागि जब माओवादीले छापामार शैलीमा घरबाट लगे
माओवादी सशस्त्र द्वन्द्वको जगजगी भएको समय थियो त्यो। पश्चिम नेपालका साथै पूर्वी भेगलाई त्यो हदको त्रस्त बनाएको द्वन्द्वकालमै हो, अन्यथा हामी पुर्बियाहरू सितिमिति त्यसरी त्राहिमाम् भएको याद छैन। राजनीतिक, धार्मिक, शैक्षिक र व्यापारिक केन्द्र रहेको जनकपुरमा विभिन्न समयमा अनेक घटना भइरहन्थे, तर तिनले स्थानीयवासीलाई तनाव खासै दिँदैनथे। मानौँ, हामीलाई त्यो माहोलमा बस्ने बानी परिसकेको थियो। तर, प्रत्यक्ष प्रभावित नहुँदासम्म घटनाक्रमले धेरै नबिथोल्दो रहेछ।
फागुन २०५९ को कुरा हो, त्यो दिन एउटा त्रासको आँधी अनाहकमा मेरो घरमा पसेको थियो। मध्याह्न १२ बजेतिर जनकपुरको हाम्रो घरको ढोका कसैले ढकढक्यायो। आमाले ढोका खोल्नुभयो। अगाडि उमेश यादव दाइ र अन्य दुई पुरुष हाम्रो सानो बैठकमा पसे। उमेश दाइ पत्रकार हुनुहुन्थ्यो। जनकपुरबाट साप्ताहिक पत्रिका अमरप्रकाश निकाल्नुहुन्थ्यो। दाइसँग आएका दुई जना भने माओवादी रहेको एक मिनेटभित्रै खुल्यो। त्यो रहस्योद्घाटनपछि हामी आमाछोरी पक्षाघात लागेझैँ भयौँ।
सरकारले ठीक १० महिनाअघि माओवादी नेताहरूलाई आतंकवादी घोषणा गरेको थियो। पक्राउ गर्न ‘रेडकर्नर नोटिस’ जारी भएको थियो। यस्तो अवस्थामा माओवादी कसैको घर पस्नु भनेको मृत्युको ताण्डव सुरु हुनुजत्तिकै हुन्थ्यो। उनीहरू आउनुको उद्देश्य भने मसँग सम्बन्धित थियो।
यो उद्देश्यबारे बताउनुअघि यसको एक वर्षअघि (२०५८ साल)को घटनाक्रमबारे चर्चा गर्नुपर्ने हुन्छ। त्यसबेला १८ वर्षकी थिएँ, आईकम पढ्दै थिएँ। जनकपुरजस्तो ठाउँमा महिलाले कमर्स पढ्नु त्यतिबेला सानको कुरा हुन्थ्यो। म आफ्नै सानमा हुन्थेँ। उमेर नै त्यस्तै। बुवाले ‘शिक्षा विषय पढ’ भने पनि जिद्दी गरेर कमर्स रोजेकी थिएँ, यद्यपि अंग्रेजी र एकाउन्ट विषय ‘ब्याक’ लागी झुन्डिएर पास भएकी थिएँ।
कलेज पढेर आएपछि मेरो अरू काम हुँदैनथ्यो। खाली समयमा त्यसबेलादेखि नै लेख र कविताहरू लेख्न थालेकी थिएँ। तिनलाई जनकपुरका स्थानीय दैनिक पत्रिका जनकपुर एक्सप्रेस र तहलका डट नेपालमा पठाउँथेँ। ती छापिन्थे।
त्यस्तैमा तहलकाको कार्यालयमा एकदिन संवाददाता सुवास कर्णसँग भेट भयो। उनले भने, ‘तपाईंका लेखहरू राम्रा हुन्छन्, अब समाचार पनि लेख्नुस्।’ मैले समाचार लेख्न नआउने बताएँ। उनले ढाडस दिए, ‘केही गाह्रो छैन, म सिकाउँछु। पहिले कार्यक्रमको समाचार लेखनबाट सुरु गरौँला, भोलि एउटा कार्यक्रम छ, तपाईं त्यहाँ आउनुहोला अनि म रिपोर्टिङ र राइटिङ कसरी गर्ने बताइदिन्छु।’
मेरा लेख र कविता पत्रपत्रिकामा छापिन थालेपछि बुवा खुसी हुनुहुन्थ्यो। प्रायः रचना छापिएको पत्रिका घर लिएर आउनुहुन्थ्यो। त्यही भएर समाचार लेख्ने कुरामा पनि घरबाट रोकटोक भएन।
भोलिपल्ट सुवासले भनेको ठाउँमा जाँदा कार्यक्रम भइरहेको थियो। उनी पुगिसकेका रहेछन्। मलाई सानो नोटप्याड दिएर महत्त्वपूर्ण लाग्ने कुरा टिपोट गर्न भने। उनी आफू पनि टिपोट गर्दै थिए। त्यो दिन यति आनन्द आयो, टिपोट गरिरहँदा आत्मविश्वास बढेको महसुस गरिरहेकी थिएँ। कार्यक्रममा अरू पत्रकार महिला थिएनन्, जसका कारण सबैको ध्यान ममा हुनु स्वाभाविक थियो। जसले त्यहाँ आफ्नो छुट्टै आकर्षण भएको महसुस गराइरहेको थियो। सम्भवतः सुरुको त्यही आकर्षण देखेर पत्रकारितामा डोरिँदै गएँ।
२०५९ सालतिर जनकपुरकै एक मात्र पत्रकार महिला भएर सक्रिय रूपमा काम गर्न थालिसकेकी थिएँ। पत्रकारिता सुरु गरेको वर्षदिनभित्रै मैले पेसागत यात्रामा केही उपलब्धि प्राप्त गरेँ; वीरगन्जबाट प्रकाशन हुने प्रतीक दैनिकको अञ्चल संवाददाता र काठमाडौँको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा धनुषा संवाददाता भएँ। अर्कातिर पिस जर्नालिज्म तालिमलगायत विभिन्न प्रशिक्षण र तालिम लिने क्रम पनि चलिरहेको थियो। म सिकारु तर अत्यन्त व्यस्त पत्रकार थिएँ।

हिमालय टाइम्समा छापिएको लेखकको रिपोर्ट
मेरो त्यही कर्मले माओवादीलाई त्यस दिन मेरो घरसम्म ल्याएको थियो। उमेश दाइसँग आएका मानिसहरू दाइजस्तै ४०/४५ वर्ष हाराहारीका थिए। सबैलाई नमस्कार गरेँ। सुरुमा त उनीहरू माओवादी हुन् भन्ने थाहा थिएन। दाइले कसैलाई भेटाउन ल्याउनुभएको होला भन्ने लाग्यो। तर, दाइ अलि विचलितजस्तो देखिनुहुन्थ्यो। आमाले जिज्ञासापूर्वक घरी दाइ र घरी ती दुई मानिसतिर हेरिरहनुभएको थियो। यस्तैमा दाइले भन्नुभयो, ‘उहाँहरू माओवादीबाट आउनुभएको… ।’
त्यतिबेला मैले के भनेँ भुलिसकेँ, उभिइरहेकी आमा भने धर्मराएर कुर्सीमा बस्नुभयो। उहाँको अनुहार रातो भयो। त्यो अनुहारको रङ आजसम्म बिर्सन सकेकी छैन।
माओवादीमध्येका एकले भने, ‘विजेताजी, हामीले केही नक्कली माओवादी महिला समातेका छौँ, जो माओवादीको नाममा पैसा उठाउँदै हाम्रो बदनाम गर्दै हिँडेका छन्। चन्दाआतंकले साना व्यापारीलाई हैरान पारिसके। गुनासो आएकोआयै भएपछि हामीले गिरोह नै समातेका छौँ, तपाईं पनि महिला, यसो ती महिलाहरूसँग कुरा गरेर राम्रोसँग समाचार बनाइदिनुपर्यो भनेर लिन आएका हौँ।’
१५ माघ २०५९ मा सरकार र माओवादी विद्रोहीबीच दोस्रोपटक युद्धविराम भएपछिको समय थियो, अर्कातिर १९ माघमा तत्कालीन राजा ज्ञानेन्द्रले शाही सम्बोधनमार्फत शासन सत्ता हत्याएका थिए। युद्धविराम भनिए पनि आम रूपमा अन्योल, आशंका र त्रासको मनोविज्ञान छाएको थियो। त्यही कारण माओवादी घरमा आएर लिन आएको कुरा गर्दा म स्तब्ध भएकी थिएँ। त्यतिबेला जनकपुरमा एक मात्र पत्रकार महिला थिएँ म, जसको मूल्य चुकाउनुपरिरहेको थियो।
आमाले उनीहरूलाई भन्नुभयो, ‘त्यसो नगर्नू, यसलाई नलैजानू। समाचार घरबाटै लेखिदिन्छे।’
दुईमध्येका अर्का व्यक्तिले अलि नरम लबजमा आश्वासन दिए, ‘हामी दिउँसै आउनुको कारण तपाईंलाई दुईतीन घण्टापछि घरमा सुरक्षित फिर्ता ल्याइदिने भनेरै हो। नडराउनुस्, उहाँ मेरी बहिनीजस्तै हो।’
उनीहरूले ‘पहिले ती महिलाहरूसँग तपाईंले भेट्नुस्, केही प्रश्न भए सोध्नुस् र फोटो पनि खिच्नुस्, चाँडै गर्नुपर्यो’ भनेर अत्याउन थाले।
उमेश दाइले पनि सान्त्वना दिनुभयो, ‘तिमी कत्ति पनि नडराउनू, म तिमीसँगै हुन्छु।’ दाइ भएरै पनि के हुनेवाला थियो र? बुवा पो घरमा हुनुहुन्नथ्यो, हामीलाई सबभन्दा ठूलो भर बुवाको मात्र लाग्थ्यो। दाइलाई पनि उनीहरूले अमरप्रकाश पत्रिकाको कार्यालय रहेको पिडारी चोकबाट छापामार शैलीमा उठाएर ल्याएका थिए।
हाम्रो घरमै ल्यान्डलाइन फोन थियो, तर क्षणभरमै यस्तो वातावरण बन्यो कि बुवालाई फोन गरेर घटनाबारे केही बताउन सकिएन। बुवा जनकपुरको कन्या पाठशालामा सुब्बा हुनुहुन्थ्यो र त्यसबेला स्कुलमै हुनुहुन्थ्यो। एकप्रकारले माओवादीको उर्दीको घेराबन्दीमा थियौँ हामी। मनमा बारम्बार पत्रकार एवं कवि कृष्ण सेन ‘इच्छुक’ को हत्या भएको बीभत्स तस्बिर आइरह्यो। एक वर्षअघि जेठ २०५८ मा मात्र उनी प्रहरी हिरासतमा मारिएका थिए।
आमाको अनुहार डरले खुम्चिएको थियो, रगत चुहिएलाजस्तो। म भने सानैदेखि हिम्मत गर्ने र लत्तो छोडिनहाल्ने खालकी थिएँ। यो मेरो आन्तरिक गुण हो, जसले जीवनको अनेक आरोहअवरोहमा मलाई थामेको छ। त्यस दिन पनि मभित्र यतिसम्म साहस थियो कि जसरी पनि आत्मरक्षा गर्छु, कि मर्छु कि मार्छु भन्ने भावना बलियो थियो। तर, सन्तानको अगाडि आमा डराउनुले एकखालको डर र विद्रोह दुवै जन्माउँदो रहेछ। रिस भने उमेश दाइप्रति महिनौँसम्म रह्यो।
मैले हतारमा लुगा फेरेँ। आफूले सधैँ बोक्ने कालो ब्याग बोकेँ र पत्रिकामा बेरेर एउटा चक्कु पनि राखेँ। त्यतिबेला मसँग क्यामेरा पनि हुन्थ्यो। लुगा फेर्दै गर्दा मैले आमालाई भनेँ, ‘हामी गएपछि बुवालाई र नवलजीलाई तुरुन्तै खबर गरिदिनुहोला।’ मेरा अग्रज र गुरु नवलकिशोर यादव त्यतिबेला गोरखापत्र दैनिकमा कार्यरत थिए। उनले यस विषयमा तत्काल केही गर्न सक्छन् भन्ने मेरो विश्वास थियो। किनभने, सबैतिर उनको पहुँच राम्रो थियो।
उनीहरू दुई वटा साइकलमा आएका थिए। जाने बेला म र उमेश दाइका लागि एउटा साइकल दिए। दाइले चलाएको साइकलको पछाडि बसेँ। त्यतिबेला म आफैँ साइकल चलाउँथेँ। नीलो रङको आफ्नै साइकल थियो। अरूको साइकलको पछाडि बस्नुजस्तो नमजा मलाई केही लाग्दैनथ्यो। आफ्नो हैसियत खस्किएजस्तो लाग्थ्यो।

हमर मिथिला पत्रिकामा प्रकाशित लेखकको कविता
हामीलाई अगाडि लगाएर उनीहरू सवार साइकल पछिपछि आयो। मैले अनुमान लगाएँ, घरछेउकै सरस्वती स्कुल आसपासमा साइकलमा सवार अरूहरू पनि थिए।
उनीहरूले मुख्य सडकबाट नभई कुन कुन गल्लीबाट घुमाएर लगे, आफ्नै गाउँठाउँ भएर पनि सम्झन सकिनँ। धनुषा जिल्लास्थित हालको क्षीरेश्वर नगरपालिकाको शान्तिपुर गाउँमा पुर्याए। औरही खोला कटेर अलि परको सानो नदीनजिकै सखुवाको घना वन थियो। त्यहीँ राखेका थिए, उनीहरूबाट घोषित ‘नक्कली माओवादी’। गाउँ नपस्दै मैले बाटोमा उस्तै शैलीमा उभिइरहेका थुप्रैलाई देखेँ। किनभने, सामान्य बटुवा र उनीहरूको हेराइमा एकखालको फरक थियो। बटुवाहरूको हेराइमा दृढता थिएन।
सधैँ बोलिरहनुपर्ने म त्यो दिन भने दाइसँग बाटोभरि बोलिनँ। किन किन उनकै कारण आज यो दशा निम्तिएको भन्ने लागिरहेको थियो। माओवादीको संहार कसलाई पो थाहा थिएन र? भर्खरकी एउटी केटीले यी माओवादी र ती नक्कली भनिएका माओवादीलाई कसरी डिल गर्छे होला? यद्यपि, थुप्रै तनावका बीच परिस्थितिसँग भिड्छु भनेर मन दह्रो बनाइरहेकी थिएँ। नत्र त त्यो उमेरमा रुनु-कराउनुपर्ने हो, तर म चुपचाप थिएँ।
हामी पुग्दा वनमा हतियारधारी सात जना माओवादीको घेरामा २२ जना युवायुवती थिए। उनीहरूले महिलालाई समातेको बताएका थिए, तर त्यहाँ महिला र पुरुष दुवै थिए। म र उमेश दाइलाई उनीहरूको फोटो खिच्न र कुरा गर्न लगाए। सबैको नाम र ठेगाना र विभिन्न प्रश्न सोध्यौँ– माओवादीको नाममा चन्दा किन उठाएको? डर लागेन? आदि। तिनै माओवादीहरूले ती युवायुवतीलाई कहाँ कहाँबाट कसरी समातेको, यिनीहरूले कति रुपैयाँ उठाएको जस्ता थुप्रै कुरा बताए। जुन मैले मेरो नोटप्याडमा टिपोट गरेँ। माओवादीमा एउटालाई ‘हनुमान्’ भनेर सम्बोधन गरिएको मलाई सम्झना छ। त्यहाँ रहेका प्राय: सबै माओवादी मधेसी–मैथिल मूलका थिए।
हामी त्यहाँ एक घण्टा बस्यौँ। त्यसपछि हामीलाई ल्याएका माओवादीले उमेश दाइलाई सोही साइकलमा फर्कन र मलाई सुरक्षितसाथ घर पुर्याइदिन आग्रह गरे। मलाई पनि उनले राम्रोसँग समाचार लेखिदिन आग्रह गरे। उनीहरूले हामीसँग कुनै दुर्व्यवहार गरेनन्, न त अभद्र भएर कुरा नै गरे।
शान्तिपुर गाउँ कट्नै लागेको बेला नवलजी बाटोमै भेटिए। भेट्नासाथ उनी उमेश दाइविरुद्ध खन्निए, ‘छोरीचेलीलाई यसरी ल्याउने हो? तिमीले कुरा मिलाउनुपर्दैनथ्यो?’ दाइ निकै निरीह भएर बोले, ‘मलाई पनि त अपहरण शैलीमै ल्याएका हुन्, मैले केही भन्नै सकिनँ…।’
त्यसपछि म नवलजीसँग आएँ। उनले औरही खोला कटेर महेन्द्रनगर बजार हुँदै मलाई घर पुर्याइदिए। दिउँसो हामी निस्किनेबित्तिकै आमाले बुवा र नवलजीलाई फोन गरेर सबै कुरा बताउनुभएछ। नवलजीका केही चिनजानका मानिस माओवादीमा लागेका थिए। तिनै व्यक्तिमार्फत हामीलाई लगेको ठाउँ पत्ता लगाएर उनी त्यता जाँदै रहेछन्।
म घर फर्केपछि आमा बेस्सरी रुनुभयो। बुवा पनि निकै तनावमा हुनुहुन्थ्यो। घरबाटै माओवादीले मलाई लगेपछि मेरो परिवारमा आँधी मच्चिएको थियो, तर यसबारे मेरो टोलछिमेकमा सुइँकोसम्म भएन। र, म सकुशल फर्किएपछि यस विषयमा घरमा र अन्यत्र अबउप्रान्त चर्चा नगर्ने परिवारमा कठोर वाचा भएको थियो।

लेखकको बाइलाइन भएको रिपोर्ट
यद्यपि, तनाव साम्य भएको थियो। समाचार नछापे माओवादीले छाड्दैन, छापे प्रहरीको केरकारमा परिने डर। बडो धर्मसंकट थियो। प्रतीक दैनिकका सम्पादक जगदीश शर्मा दाइसँग सो विषयमा विस्तारमा कुरा गरेँ। उहाँले ‘समाचार बनाएर पठाऊ, कसरी छाप्न सकिन्छ हेर्छु’ भन्नुभयो। समाचार र तस्बिरहरू उहाँलाई सम्भवतः भोलिपल्ट साँझ पठाएँ। त्यो समाचार नछापिँदासम्म घरमा बज्ने फोनको प्रत्येक घण्टीले डर पैदा गर्थ्यो। माओवादीहरू फेरि आउने हुन् कि जस्तो लागिरहन्थ्यो।
त्यो समाचार प्रतीक दैनिकमा ‘स्थानीयले बताए’ भनेर सामान्य रूपमा छापियो। तर, मलाई पछिसम्म चिन्ता लागिरह्यो, नक्कली माओवादीका नाममा समातिएका, धेरै त मेरै उमेरका रहेका ती कलिला केटाकेटीको। उनीहरूसँग कस्तो व्यवहार गरे होलान्? मारे कि? कि माओवादीमै सामेल गर्ने हुन्? त्यसो गरे बरु ज्यान जोगिन्थ्यो। त्यस घटनाले धेरै दिनसम्म चिमोटिरह्यो।
धन्य मेरा अभिभावक, जसले त्यस्तो अप्ठेरो परिस्थितिपछि पनि पत्रकारिता नगर भन्नुभएन। कहिल्यै भन्नुभएन।
१० भदौ २०६० मा युद्धविराम भंग भयो र देशमा फेरि युद्ध अनि सन्त्रासको उही कहालीलाग्दो सिलसिला चल्न थाल्यो।