काठमाडौँ
००:००:००
१३ पुष २०८२, आईतवार

 शेर्पा

आङथार्केकै बिरासतको आडमा नेपाली शेर्पा विश्वमा पर्वतारोहण मात्र होइन, बने साहसकै ‘ब्रान्ड’

१३ पुष २०८२
आङथार्के शेर्पा इन्सेटमा र सामूहिक तस्बिरमा बायाँबाट तेस्रो
अ+
अ-

२ जुन १९५० (२० जेठ २००७)
पाँचौँ शिविर, अन्नपूर्ण हिमाल (७,४९८ मिटर)

फ्रान्सेली पर्वतारोही मोरिस हेर्जोग र लुइ लासनाल अन्नपूर्ण हिमालको पाँचौँ शिविरमा थिए। उनीहरू भोलिपल्ट बिहान शिखर आरोहणका लागि उकालो लाग्दै थिए। आरोहण टोलीका प्रमुख हेर्जोग सोही पर्वतारोहण अभियानका सरदार आङथार्के शेर्पालाई शिखरसम्म सँगै लैजान चाहन्थे।

हेर्जोगले भने, “आङथार्के, तिमी सरदार मात्रै होइनौ, सबै शेर्पामध्ये अनुभवी पनि हौ। म चाहन्छु कि हामी शिखरसम्म सँगै जाऔँ। सफलतालाई बाँडौँ।”

चरम गरिबी र कठिन भौगोलिक दुर्गमतामा हुर्किएका उनी १७ वर्षको उमेरमै रोजगारीको खोजीमा दार्जिलिङ पुगेका थिए।

जवाफमा आङथार्केले भने, “यो अनुरोधका लागि धेरै धेरै धन्यवाद बडा साहिब। चिसोले गर्दा मेरा खुट्टाहरूले त्यति साथ दिएका छैनन्। त्यसैले म चौथो शिविरतर्फ नै फर्किन चाहन्छु।”

हेर्जोगले भने, “तिम्रो इच्छा, त्यसो हो भने तिमी ढिला नगरी फर्किन सक्छौ।”

३ पुसमा काठमाडौँमा लोकार्पण भएको हेर्जोगको कालजयी कृति अन्नपूर्णको पृष्ठ १६८ पल्टाउनुभयो भने तपाईंले आङथार्के र हेर्जोगबीचको यो संवाद भेट्नुहुनेछ। पुस्तकको सन्दर्भ यहाँ किन पनि महत्त्वपूर्ण छ भने, आरोहण सकिएलगत्तै सन् १९५१ मै हेर्जोगले लेखेको र पर्वतारोहण साहित्यमा विश्वमै सबैभन्दा बढी पढिएको यो पुस्तक ७४औँ वर्षमा मात्र नेपाली भाषामा अनुवाद भएको छ। र, पाठकले पहिलोपल्ट आङथार्केको साहसलाई नेपाली भाषामै पढ्न पाएका छन्।

माथिको प्रसंग बसिल पी नोर्टनलिखित आङथार्केको आत्मवृत्तान्त शेर्पा : द मेमोयर अफ आङथार्केमा पनि उल्लेख छ। ‘बडा साहिबले मलाई बोलाएर सोध्नुभयो– के तिमी मसँग शिखरसम्म जान चाहन्छौ? म अन्तिम आरोहण तिमीसँग गर्न चाहन्छु। म यो महान् प्रयासमा हृदयदेखि उहाँसँग थिएँ र अन्तिम क्षणमा उहाँलाई साथ दिन नसक्ने मेरो निर्णयले मलाई नै लज्जित बनाएको थियो। मेरा खुट्टाले मलाई त्यति राम्रो साथ दिएका थिएनन्। मैले मेरो साहसी नेताको दृढ अनुहारमा हेरेँ। म उहाँसँग त्यो अतुलनीय सम्मान वा साहस बाँड्न योग्य थिइनँ।’

सन् १९७० मा अन्नपूर्ण आरोहणको करिब २० वर्षपछि काठमाडौँस्थित विमानस्थलमा मोरिस हेर्जोग र आङथार्केबीचको भेट। तस्बिर : जे डेलेटेरी

आङथार्केले चाहेको भए अन्नपूर्णको शिखर चुम्न सक्थे। तर, उनी तुरुन्तै साथी सार्कीलाई लिएर चौथो शिविर फर्किए। भोलिपल्ट ३ जुनको बिहान ११ः३० बजेतिर हेर्जोग र ल्यासनलले अन्नपूर्णको शिखर टेके। जुन संसारको इतिहासमै आठ हजार मिटरमाथिको हिमाल आरोहण गरिएको पहिलो कीर्तिमान थियो।

यही प्रसंगबाट स्पष्ट हुन सकिन्छ कि आङथार्केमा महत्त्वाकांक्षा कम र इमानदारी बढी थियो।

शिखरबाट फर्किंदा हेर्जोग र लासनाललाई गम्भीर रूपमा ‘फ्रस्ट बाइट’ भएको थियो। उनीहरूका हात र खुट्टाका केही औँला काट्नुपरेको थियो। त्यस्तो अवस्थामा पनि आङथार्केले आधारशिविरसम्म हेर्जोगलाई पिठ्युँमा बोकेर सुरक्षित रूपमा झार्न गरेको प्रयत्न यति साहसिक थियो कि हेर्जोगले आफ्नो पुस्तक अन्नपूर्णमा लेखेका छन्, ‘आङथार्के नभएको भए सायद हामी (लासनाल र म) जीवित फर्किंदैनथ्यौँ।’

आङथार्के कतिसम्म इमानदार थिए भन्ने बुझ्न न्युजिल्यान्डका पर्वतारोही तथा ब्लगर बब म्याक्रोले एक लेखमा उल्लेख गरेका छन्। अन्नपूर्ण आरोहणपछि फ्रान्समा सबै किसिमका प्रतिष्ठा प्राप्त गरेका हेर्जोगले आङथार्केको परिवारलाई सन् १९५३ मा फ्रान्स घुम्न निम्तो दिए। तर, उनी एक्लै पेरिस पुगे। हेर्जोगले सोधे, “तिमी किन एक्लै आयौ? किन परिवारका अन्य सदस्यलाई ल्याएनौ?’

आङथार्केको जवाफले उनी अवाक् भए। उनको जवाफ थियो, ‘मैले श्रीमतीसहित घुम्न आउँदा तिम्रो अतिरिक्त खर्च हुन्छ, म तिम्रो धेरै खर्च गराउन चाहन्नँ।’

हेर्जोग फ्रान्सका युवा तथा खेलकुदमन्त्रीदेखि क्यामोनिक्स सहरका मेयरसम्म भए। पछि उनले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका सदस्यकै रूपमा २५ वर्ष बिताए। उनले आङथार्केका लागि जे पनि गर्न सक्थे, तर आङथार्केले हेर्जोगसमक्ष कहिल्यै कुनै किसिमको व्यक्तिगत इच्छा जाहेर गरेनन्।

पहिलो पुस्ताका सरदार

आङथार्के सन् १९६४ मा सोलुखुम्बुको खुन्दे (हालको खुम्बु–पासाङल्हामु गाउँपालिका‍-४ मा जन्मिएका थिए। चरम गरिबी र कठिन भौगोलिक दुर्गमतामा हुर्किएका उनी १७ वर्षको उमेरमै रोजगारीको खोजीमा दार्जिलिङ पुगेका थिए। उनलाई पर्वतारोहणमा प्रेरित गर्ने साथी गाउँकै निमथार्के शेर्पा थिए, जो बेलायती जनरल जोन जिओफ्री ब्रुस नेतृत्वको कुनै एक हिमाल आरोहणमा भारी बोकेर फर्किएका थिए।

उनले आठपटक सगरमाथा आरोहण अभियानमा संलग्नता जनाए। जसमा चारपटक तिब्बततर्फ र चारपटक नेपालतर्फबाट प्रयास गरिएको थियो। आङथार्केले सन् १९३१ मा पहिलोपटक कञ्चनजंघा आरोहणको टोलीमा भरियाको काम गरेका थिए। त्यसपछि दोस्रोपटक सन् १९३३ मा बेलायती पर्वतारोही ह्यु रटलेजको आरोहण टोलीमा भरियाको काम पाएका थिए। त्यतिखेर उनी ७,८३० मिटरको उचाइसम्म पुगेका थिए। उनले एरिक सिप्टनको नेतृत्वमा सन् १९३५ मा दोस्रोपटक सगरमाथाकै आरोहण अभियानमा संलग्न भएर काम गरेका थिए। उनले सिप्टनसँग रटलेजको अभियानमै काम गरिसकेका थिए भने सन् १९३४ मा भारतको नन्दादेवी पर्वतमा सिप्टनको टोलीमा आबद्ध भई काम गरिसकेका थिए।

संयोग कस्तो रह्यो भने, उनले पछि सन् १९५१ मा सिप्टनकै नेतृत्वमा सगरमाथा आरोहण तथा अन्वेषण अभियानमा काम गर्ने अवसर पाए। त्यतिबेलाको अभियान भविष्यमा कसरी सगरमाथा आरोहणलाई सफल बनाउन सकिन्छ भन्नेमा बाटो पत्ता लगाउने काममा केन्द्रित थियो। नि:सन्देह सिप्टन नेतृत्वको त्यही अन्वेषण नै त्यसको दुई वर्षपछि सन् १९५३ मा एडमन्ड हिलरी र तेन्जिङ नोर्गे शेर्पाको सफल आरोहणको प्रमुख कारण बन्यो।

हिमाल आरोहण र अन्वेषण अभियानका क्रममा आङथार्केले सयौँ जोखिम मोले। आँखैअगाडि कैयन्‌पटक मृत्यु देखे। तर, एक आरोहणमा यस्तो संयोगले बाँचे जुन उनको जीवनको कहिल्यै नबिर्सने कथा बन्यो।

अर्को संयोग, सिप्टनकै नेतृत्वको सन् १९३५ को सगरमाथा अन्वेषण अभियानमा आङथार्केसहित सात तिब्बती र आठ नेपाली शेर्पाहरू सहभागी थिए। जसमा भर्खरै पर्वतारोहणमा संलग्न तेन्जिङ नोर्गे पनि सामेल थिए। त्यतिखेर आङथार्के र तेन्जिङले दुई जना सुत्न मिल्ने एउटै स्लिपिङ ब्याग ओढेर अभियानमा काम गरेका थिए। जुन स्लिपिङ ब्याग तेन्जिङले आङथार्केलाई पछिसम्म जोगाएर राख्नु भनेका थिए। आङथार्केले पनि तेन्जिङले भनेजस्तै सम्झनास्वरूप धेरै पछिसम्म त्यो स्लिपिङ ब्याग सुरक्षित राखे।

आङथार्केले सन् १९३६ मा सगरमाथाको अर्को आरोहण टोलीमा भरियाहरूको ‘सुपरभाइजर’ बनेर काम गर्ने अवसर प्राप्त गरे। जुन मेजर जोन मोरिसको नेतृत्वमा सञ्चालन भएको थियो। उनले सन् १९३८ को सगरमाथा आरोहणमा भने सिप्टनकै निर्देशनअनुसार तालिम लिएरै कुकको काम गरे। यो आरोहण अभियान तिब्बततर्फबाट सञ्चालन गरिएको थियो।

सन् १९५१ को पाँचौँपटकको सगरमाथा आरोहण अभियानका क्रममा आङथार्केको एडमन्ड हिलरीसँग भोजपुरको दिङ्लामा पहिलो भेट भएको थियो। त्यतिखेर भारतको जयनगर हुँदै विराटनगर भएर आरोहणका लागि बन्दोबस्तीको सामान भरियालाई बोकाएर सोलुखुम्बुतर्फ ल्याइँदै थियो। त्यही क्रममा गढवालको आरोहण अभियान सकेर हिलरी र ह्यारोल्ड अर्ल रिडडिफोर्ड सगरमाथा आरोहण अभियानमा जोडिने गरी आङथार्केलाई बाटोमै भेट्न दिङ्ला आइपुगेका थिए।

उक्त अभियानमा नेपालतर्फबाट सगरमाथा शिखर आरोहण कुन बाटो भएर गर्ने भन्ने अन्वेषणमै धेरै समय बित्यो। सिप्टन, हिलरी र आङथार्केले दोस्रो शिविरसम्म स्थापना गरे पनि त्यसपछि जाडो महिना लागिसकेकाले त्यसभन्दा माथि जान सम्भव भएन। अनि सो समूह विभिन्न उपसमूहमा विभाजित भई सगरमाथा आसपासका अन्य हिमालहरूको अन्वेषणतर्फ लाग्यो। पुमोरी, ग्याचुङकाङ, चो-ओयु, मकालुजस्ता हिमालहरूको अन्वेषण सुरु गर्‍यो। चार जना साहिब (विदेशी)हरू आधारशिविरदेखि पश्चिमतर्फको पुमोरीतिर लागे। सिप्टन, आङथार्के र हिलरी भने पश्चिमी शृंखलाको हिमालबारे अन्वेषण गर्न गए।

विदेशीसँग आङथार्के

आङथार्केले भारतको नन्दादेवीमा सन् १९३४ र १९३६ मा गरी दुईपटक आरोहण टोलीमा सहभागी भई काम गरे। सन् १९३५ मा भारत र नेपालको सिमानामा रहेको काब्रु हिमालको आरोहण अभियानमा संलग्न रहे। जुन हिमाल सोही आरोहणका बेला पहिलोपटक लेफ्टिनेन्ट कर्णेल सिआर (कोनर्‍याड रेजिनाल्ड) कुकले एकल आरोहण गर्न सफल भएका थिए। आङथार्केले सिप्टनसँगै दुईपटक पाकिस्तानको काराकोरम हिमालय क्षेत्रको आरोहण तथा अन्वेषण अभियानमा संलग्न भई काम गर्ने अवसर प्राप्त गरे।

कुकुरसँग कृतज्ञ

हिमाल आरोहण र अन्वेषण अभियानका क्रममा आङथार्केले सयौँ जोखिम मोले। आँखैअगाडि कैयन्‌पटक मृत्यु देखे। तर, एक आरोहणमा यस्तो संयोगले बाँचे जुन उनको जीवनको कहिल्यै नबिर्सने कथा बन्यो।

आङथार्केले सन् १९३१ को कञ्चनजंघा आरोहणदेखि सन् १९७८ को धौलागिरि आरोहणसम्म करिब ४७ वर्ष हिमाल आरोहण तथा अन्वेषण अभियानमा बिताए। भरिया, सरदार र भान्से तीन वटै भूमिकामा आङथार्के सफल देखिए।

एक आरोहण अभियानकै क्रममा एउटा तिब्बती कुकुरले आङथार्केलाई पछ्यायो। आङथार्केले भान्साको जिम्मा लिने भएकाले पनि उनले त्यो कुकुरलाई खानपानको व्यवस्था गरिदिन्थे। केही दिनमै कुकुर आङथार्केको अंगरक्षकझैँ बन्यो। जतिसुकै चिसो होस्, कुकुर आङथार्केको टेन्ट अगाडि सुतिरहन्थ्यो, निस्किनेबित्तिकै पछ्याइहाल्थ्यो। साथीहरूले समेत त्यो कुकुरलाई ‘आङथार्केको छाया’ भन्न थालेका थिए।

आङथार्केले कुकुरको नाम ‘टोगो’ राखिदिएका थिए। एकदिन बाक्लो हिउँले ढाकिएको ओरालोमा आङथार्के अन्य दुई शेर्पासहित डोरीले बाँधिएर हाई क्याम्पबाट सँगसँगै फर्किंदै थिए। हिमपहिरोको जोखिम छिचोल्दै आधारशिविर पुग्ने ध्याउन्नमा उनले टोगोलाई नै बिर्सिए। अचानक आङथार्केको क्र्याम्पोन चिप्लियो। उनी तलतिर चिप्लिन थाले। उनीसँगै डोरीमा बाँधिएका दुई शेर्पा पनि लतारिए। तर, तल झरिरहेकै बेला उनी अचानक अडिए। उनी अचम्म परेर यसो माथि हेर्छन् त टोगोले उनको झोलालाई दाँतले यति बलियोसँग टोकेको रहेछ कि त्यसैले उनलाई चिप्लिनबाटै रोकेको रहेछ।

टोगोकै कारण आफू बाँचेको महसुस गर्न नभ्याउँदै आङथार्केका दुई जना शेर्पालाई भने हिउँले पुरिसकेको थियो। उनी हतारहतार साथीहरूलाई निकाल्नतिर लागे। तर, माथिबाट हिमपहिरो आउँदै गरेको आवाजले उनीहरू त्यहाँबाट भागे। आफू सुरक्षित स्थानमा पुगिसकेपछि आङथार्केले थाहा पाए कि टोगो त उतै छुट्यो। फर्केर हेर्दा त आफूलाई बचाएकै ठाउँमा टोगोलाई हिउँले पुरिसकेछ। यस घटनाले उनलाई यति विक्षिप्त बनायो कि जीवनभर उनले आफ्नो ज्यानका लागि बलिदानी दिने टोगोलाई सम्झिरहे।

विदेशले चिन्यो, नेपालले चिनेन

आङथार्केले सन् १९३१ को कञ्चनजंघा आरोहणदेखि सन् १९७८ को धौलागिरि आरोहणसम्म करिब ४७ वर्ष हिमाल आरोहण तथा अन्वेषण अभियानमा बिताए। भरिया, सरदार र भान्से तीन वटै भूमिकामा आङथार्के सफल देखिए। एरिक सिप्टन बेलायतका विश्वप्रसिद्ध पर्वतारोही, अन्वेषक र हिमालय अध्ययनकर्ता थिए। हालको खुम्बु आइसफल हुँदै साउथ कोल भएर सगरमाथा आरोहण गर्ने ‘रुट’ उनैले पत्ता लगाएका थिए। तिनै सिप्टनले आठ वटा पर्वतारोहण अभियान तथा अन्वेषणमा आङथार्केलाई साथ लिएका थिए। उनले आङथार्केबारे भनेका छन्, “मैले जीवनमा आङथार्केजत्तिको असल व्यक्तित्व देखेको छैन।”

स्थापनाकालको छोटो समय दार्जिलिङस्थित हिमालयन माउन्टेनियरिङ इन्स्टिच्युटसँग जोडिएका आङथार्केले राजीनामा दिएर कञ्चनजंघामा पदयात्रा लैजाने आफ्नै कम्पनी खोलेका थिए। सन् १९६२ मा उनी भारतीय सगरमाथा अभियानसँग साउथ कोलमा पुगेर आठ हजार मिटरसम्म आरोहण गर्ने सबैभन्दा बूढो व्यक्ति पनि बने। सन् १९७८ मा ७० वर्षको उमेरमा उनले धौलागिरिको आरोहणमा फ्रान्सेली अभियानको सरदारका रूपमा काम गरे।

एरिक सिप्टनको पुस्तक ब्ल्यांक अन द म्यापमा सिप्टनले सन् १९३७ मा काराकोरमको सक्सगाम र केटुको उत्तरी भागको अन्वेषणबारे वर्णन गरेका छन्। त्यो एउटा सानो अभियान थियो, जसमा सिप्टन, एचडब्लू टिल्मन, एमए स्पेन्डर, जेबी अडेन, आङथार्के सरदार रहेकामा सात शेर्पा र चार बलिया भरिया मात्र थिए। यो पाँच महिनाको अभियानले विश्वका सबैभन्दा सानदार पहाडहरू भएको १,८०० वर्ग माइलको कठोर, हिमनदीले ढाकिएको निर्जन भूभागको नक्सा बनाएको थियो।

आङथार्के नै हुन्, जो शेर्पाविना पर्वतारोहण सम्भव छैन र शेर्पाजत्तिको इमानदार अरू हुँदैनन् भन्ने सन्देश संसारमा फैलाउन सफल भए।

जतिखेर तेन्जिङ नोर्गे पर्वतारोहणमा जोडिँदै थिए। त्यतिबेलासम्म आङथार्के स्थापित सरदार भइसकेका थिए। त्यसैले प्रत्यक्ष/अप्रत्यक्ष रूपमा आङथार्केले कैयौँपटक तेन्जिङलाई अभिभावकत्व प्रदान गरे। जीवनको उत्तरार्धमा काठमाडौँ, दक्षिणमा रहेको मकवानपुरको सिमभन्ज्याङमा बिताएका उनले कहिल्यै कार चढेनन्। ७३ वर्षको उमेरमा पनि दरबारमार्गमा साइकलमा पाइडल मार्दै गरेको भेटिने उनी हँसिलो मुद्रामा परिचितलाई हात हल्लाउँथे। तर, क्यान्सरका कारण १३ साउन २०३८ मा उनको मृत्यु भयो।

सन् १९५० मा अन्नपूर्ण आरोहण गरिसकेपछि फ्रान्सेली सरकारले हेर्जोग र लासनलसँगै आङथार्केलाई पनि ‘लिजिअन अफ अनर’ राजकीय सम्मान प्रदान गरेको थियो। दार्जिलिङस्थित द हिमालयन क्लबले ‘द टाइगर ब्याज’ सम्मान प्रदान गरेको थियो। नेपाल सरकारले भने उनको योगदानको कदर गरेको अभिलेख देखिँदैन।

नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष निमानुरु शेर्पा संघले भने मरणोपरान्त थाङथार्केलाई सम्मान गरेको बताउँछन्। निमाका अनुसार आङथार्के र श्रीमती याङजी शेर्पाका तीन छोरा र एक छोरीमध्ये दुई छोराको मृत्यु भइसकेको छ। कान्छा दावानोर्बुको परिवार फ्रान्समै बस्छ। एक छोरी भारतको मनाली बस्छिन्।

आङथार्केका नाताले भतिज पर्ने पर्यटन व्यवसायी आङछिरिङ शेर्पा भने आङथार्केका चार जना छोरा मात्र रहेको र अहिले दावानोर्बु मात्रै जीवित रहेको बताउँछन्। सन् १९६३ मा पहिलोपटक काठमाडौँ आउँदा आफू आङथार्केकै घरमा केही वर्ष बसेको बताउने उनी आङथार्केको सिमभन्ज्याङस्थित फार्ममा अझै उनकी एक जना बुहारी हुन सक्ने अनुमान गर्छन्। उनी भन्छन्, “नेपालको पर्वतारोहण क्षेत्रमा आङथार्केको योगदान अतुलनीय छ, तर सरकारले कहिल्यै उहाँबारे चासो राखेको थाहा छैन। सम्मान त परै जाओस्।’

पर्वतारोहणको इतिहास केलाउने हो भने नेपालीहरूको भूमिका ब्रिटिस गोर्खा हुँदै शेर्पाहरूसँग जोडिएको देखिन्छ। जुन इतिहास आङथार्केले पर्वतारोहण सुरु गर्नुभन्दा ४०-५० वर्षअघिदेखि नै हो। तर, हालको आधुनिक पर्वतारोहण क्षेत्रका पिताका रूपमा आङथार्केलाई नै चिनिन्छ। आङथार्के नै हुन्, जो शेर्पाविना पर्वतारोहण सम्भव छैन र शेर्पा जत्तिको इमानदार अरू हुँदैनन् भन्ने सन्देश संसारमा फैलाउन सफल भए।