स्वास्थ्य
प्रभावित वयस्कलाई खोप लगाउने न नीति, न बजेट
लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेई)को पुनरागमनले नेपालमा यो भाइरसको संक्रमण र यसबाट हुने मृत्यु बढाएको छ। पछिल्ला तीन वर्षको तथ्यांक हेर्दा यो संक्रमण घातक देखिएको छ। सन् २०२३ मा १०७ जनामा संक्रमण भएकोमा सात जनाको मृत्यु भएको थियो भने २०२४ मा ८६ जना संक्रमितमध्ये २५ जनाको ज्यान गएको देखिन्छ। सन् २०२५ मा १७९ जनामा संक्रमण हुँदा मृत्युको आँकडा अघिल्ला वर्षभन्दा पनि बढेर ३५ पुगेको छ।
सन् २०२३ यताको तीन वर्षको तथ्यांक विश्लेषण गरेर संक्रमणका हिसाबले परिवार कल्याण महाशाखाले ४१ जिल्लालाई उच्च जोखिम क्षेत्रमा राखेको छ। सन् २०२५ मा मात्रै लुम्बिनी प्रदेशमा संक्रमणबाट सबैभन्दा धेरै ५५ जनामा संक्रमण भएकामा ११ जनाको मृत्यु भएको छ। यस्तै, बागमती प्रदेशमा आठ जना, कोसी र गण्डकी प्रदेशमा पाँच पाँच, मधेस प्रदेशमा तीन जना, सुदूरपश्चिममा दुई जना र कर्णालीमा एक जनाको मृत्यु भएको छ।
सन् २००५/०६ (२०६२/६३ साल)सम्म जापानिज इन्सेफलाइटिस तराईका जिल्लामा सीमित मानिन्थ्यो। सन् २००६ पछि यो बिस्तारै नियन्त्रणतर्फ गयो। त्यसपछिका वर्षहरूमा यसबाट संक्रमितहरू देखिए पनि लामो समय मृत्युको रिपोर्ट छैन। स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको सन् २०१४ देखि २०२२ सम्मको तथ्यांक हेर्दा यसको संक्रमणबाट सन् २०१७ मा एक जनाको मृत्यु भएको देखिन्छ। त्यसपछि एकैचोटि २०२३ (२०८०) मा यो संक्रमणले मानवीय क्षति गर्यो। जुन हरेक वर्ष बढ्दो क्रममा छ।
परिवार कल्याण महाशाखाको ‘जापानिज इन्सेफलाइटिस निगरानी निर्देशिका २०२५’ ले पछिल्ला दुई वर्षमा यस संक्रमणबाट मृत्युदर पाँच गुणा बढेको उल्लेख गर्दै खोप अभियानको पहुँचमै गम्भीर प्रश्न उठाएको छ। सन् २०२० यता संक्रमितको संख्या चार गुणाले बढ्नु र मृत्युदर २० देखि ३३ प्रतिशत हाराहारी रहनुले जापानिज इन्सेफलाइटिस नेपालमा सबैभन्दा घातक रोगका रूपमा स्थापित भएको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतम बताउँछन्।
जापानिज इन्सेफलाइटिस ‘क्युलेक्स’ जातिको संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गम्भीर संक्रमण हो। लामखुट्टेले संक्रमित सुँगुर, बंगुर वा जंगली चरालाई टोक्दा ती जनावरको रगतमा रहेको भाइरस लामखुट्टेको शरीरमा पुग्छ। उक्त लामखुट्टेले टोकेपछि स्वस्थ मानिसमा भाइरस प्रवेश गरेर संक्रमित बनाउँछ। यो भाइरसले मस्तिष्कमा संक्रमण गरेर असर पुर्याउँछ।
यो भाइरसको संक्रमण भएमा उच्च ज्वरो, टाउको दुख्ने, बान्ता हुने, बेहोस हुने, बिर्सिने, हातखुट्टा नचल्ने (पक्षाघात)लगायत लक्षण देखिन्छन्। कतिपयलाई जटिलता भएर मृत्यु हुन्छ। जापानिज इन्सेफलाइटिसको निश्चित औषधि नहुने भएकाले अस्पतालमा बिरामीको लक्षणअनुसार उपचार गरिन्छ। यस्तै, बालबालिकाका लागि जेईविरुद्धको खोप कार्यक्रम सरकारले चलाइरहेको छ।
किन बढ्यो संक्रमण र मृत्यु?
स्वास्थ्य सेवा विभागको अभिलेखअनुसार नेपालमा जापानिज इन्सेफलाइटिसको पहिलो केस सन् १९७८ मा पुष्टि भएको थियो। यसको संक्रमण त्यसअघिदेखि नै नेपालमा देखिन थाले पनि रोगको अवस्था र फैलावटबारे अध्ययन हुन सकेको थिएन। सन् १९७८ मा औपचारिक रिपोर्ट भएपछि जापानिज इन्सेफलाइटिस सार्वजनिक स्वास्थ्यको गम्भीर समस्याका रूपमा चिनिन थाल्यो।
विगतमा तराई क्षेत्रमा सीमित देखिएको जापानिज इन्सेफलाइटिस भौगोलिक सीमा नाघेर पहाड उक्लिसकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्। जलवायु परिवर्तनका कारण लामखुट्टे पहाड चढ्दा लामखुट्टेजन्य रोग डेंगी, जापानिज इन्सेफलाइटिस फैलिन थालेका हुन्। यसका साथै, सहरी क्षेत्रमा पनि यसको संक्रमण फैलिएको छ।
संक्रमण समुदायमा रहे पनि केही वर्षअघिसम्म मृत्युदर थिएन। केही वर्षयता भने संक्रमितसँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। यसको कारण के होला?
परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. गौतमका अनुसार विगतमा जापानिज इन्सेफलाइटिसविरुद्ध सरकारले अभियान नै चलाएको थियो। सरकारले सन् २००६ देखि जेई खोप कार्यक्रम देशभर चलाइरहेको छ। राष्ट्रिय खोप तालिकाअनुसार १२ महिनाका बालबालिकालाई यो खोप दिइन्छ। सन् २००९ देखि २०१२ सम्म संक्रमणको जोखिम भएका १२ वटा जिल्लामा विशेष खोप अभियान चलाइएको थियो।
सन् २०१७ भन्दा अघि संक्रमण व्यापक नफैलिएका कारण यसको विस्तार आकलन गर्न नसकिएकाले तयारी गर्न नसकिएको डा. गौतम बताउँछन्। विगतमा अभियान चलाए पनि संक्रमण नियन्त्रणमा आएपछि यसतर्फ ध्यान नदिँदा संक्रमितसँगै मृत्यु हुनेको संख्या बढ्न थालेको उनको बुझाइ छ। सन् २०२३ र २०२४ मा संक्रमणबाट धेरैको मृत्यु भएपछि सरकारले नियन्त्रण, निगरानी र द्रुत उपचारका लागि ‘जापानिज इन्सेफलाइटिस निगरानी निर्देशिका २०२५’ बनाएर काम गर्न थालेको छ। यसअन्तर्गत अस्पतालमा ‘क्लिनिकल प्रोटोकल’ अनुसार उपचार गर्न निर्देशन दिइएको छ। यस्तै, लक्षण थाहा पाउन र उपचार गर्न तालिम दिइएको छ।
निगरानी निर्देशिकाअनुसार २५० जना संक्रमितमध्ये एक जनामा मात्र घातक लक्षणहरू देखिन्छ। अर्थात्, अस्पतालमा एउटा मात्र जटिल बिरामी फेला परेमा त्यस समुदायका अन्य २४९ जना लक्षणविहीन रूपमा संक्रमित भइसकेका हुन सक्छन्। नेपालमा सामान्य ज्वरो आउँदा वा टाउको दुख्दा स्वास्थ्य संस्थामा रगत परीक्षण गराउने चलन कम भएकाले वास्तविक संक्रमितको संख्या सरकारी तथ्यांकभन्दा धेरै गुणा बढी हुन सक्ने डा. पुन बताउँछन्।

स्वास्थ्य सेवा विभाग। तस्बिर : कल्पना भट्टराई
निर्देशिकाअनुसार लामखुट्टेले टोकेपछि लक्षण देखिन चारदेखि १४ दिनसम्म लाग्न सक्छ। सुरुमा बिरामीलाई बेस्सरी टाउको दुख्ने र उच्च ज्वरो आउने गर्छ। संक्रमण बढ्दै जाँदा घाँटी कडा हुने, मानसिक अवस्थामा परिवर्तन आउने, अचेत हुने, कम्पन आउने र पक्षाघात हुनेजस्ता समस्या देखिन्छन्। बालबालिकामा भने झम्टिने वा काँप्ने समस्या बढी देखिने डा. पुन बताउँछन्। उनका अनुसार संक्रमणबाट बाँचेकामध्ये झन्डै ५० प्रतिशत बिरामीमा आँखा नदेख्ने, कान नसुन्ने, स्वाद हराउने, मानसिक असन्तुलनजस्ता दीर्घकालीन अपांगताको जोखिम हुन्छ।
बदलिएको प्रवृत्ति
जापानिज इन्सेफलाइटिसले विशेषगरी बालबालिकालाई बढी असर गर्छ। परिवार कल्याण महाशाखाका अनुसार विगतका तथ्यांक हेर्दा यो संक्रमणलाई मुख्यतया १५ वर्षमुनिका बालबालिकाको रोगका रूपमा हेरिन्थ्यो। तर, सन् २०२३ यताको तीन वर्षको तथ्यांकले बहुसंख्यक वयस्क व्यक्ति यो संक्रमणबाट प्रभावित भएको देखाउँछ।
सन् २०२५ मा संक्रमणबाट मृत्यु भएका ३५ जनाको उमेर हेर्दा पनि यीमध्ये ७० प्रतिशत १५ वर्षभन्दा माथिका युवा तथा वयस्क छन्। महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. गौतम यो संक्रमण बालबालिकामा मात्र सीमित नभएर खोप नलगाएका वा प्रतिरोधी क्षमता कम भएका जुनसुकै उमेरका व्यक्तिलाई हुन सक्ने बताउँछन्।
छैन सबैलाई समेट्ने खोप कार्यक्रम
जापानिज इन्सेफलाइटिसबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय हो, लामखुट्टेको टोकाइबाट बच्नु र खोप। तर, जेई खोप नेपालमा बालबालिकाका लागि मात्र उपलब्ध छ। सरकारले ‘जापानिज इन्सेफलाइटिस निगरानी निर्देशिका २०२५’ मार्फत जेई नियन्त्रणका लागि रणनीति अघि सारेको छ। जसमा खोपबाट छुटेका बालबालिकाहरू खोजेर खोप लगाउन थालिएको छ।
नेपालमा जापानिज इन्सेफलाइटिसविरुद्धको खोप कार्यक्रम सन् २००६ मा एसए–१४–१४–२ नामको भ्याक्सिनबाट सुरु गरिएको थियो। सन् २०११ सम्म ३१ वटा जोखिमयुक्त जिल्लाहरूमा यसलाई विस्तार गरियो। सन् २००९ देखि राष्ट्रिय खोप कार्यक्रम ‘नियमित खोप कार्यक्रम’ मा यसलाई समावेश गरियो। अहिले देशका ७७ वटै जिल्लामा जेई खोप उपलब्ध छ। राष्ट्रिय खोप तालिकाअनुसार १२ महिनाको बच्चालाई यो खोप दिइन्छ।
तर, संक्रमणबाट युवा तथा ज्येष्ठ नागरिकहरूमा मृत्युदर बढ्दै गएको अवस्थामा वयस्कलाई दिने खोपबारे नीति निर्माण गर्न ढिला भइसकेको डा. पुन बताउँछन्। “खोप नै यस रोगबाट बच्ने सबैभन्दा प्रभावकारी र सुरक्षित उपाय हो, तर खोपको पहुँच वयस्कमा पुर्याउन सकिएको छैन,” उनी भन्छन्।
परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. गौतम बढ्दै गएको संक्रमण र मृत्युलाई रोक्ने प्रमुख आधार खोप भए पनि सरकारसँग खोप किन्ने नीति र बजेट नै नभएको बताउँछन्। “सरकार र दातासँग खोप किन्न बजेट मागेका छौँ, तर छलफलकै चरणमा छ,” उनी भन्छन्, “नीति बनाउने विषय पनि छलफलकै क्रममा छ।”

परिवार कल्याण महाशाखा। तस्बिर : कल्पना भट्टराई
जापानिज इन्सेफलाइटिसबारे जनस्तरमा सचेतना नहुँदा पनि नियन्त्रणमा कठिनाइ भएको छ। बिरामीलाई ज्वरो आउँदा लक्षणबारे शंका गर्ने र अस्पताल जाने अवस्था नदेखिएको डा. पुन बताउँछन्। उनका अनुसार धेरै बिरामी अन्तिम अवस्थामा मात्र अस्पताल पुग्ने गरेका छन्, जसले गर्दा चिकित्सकहरूले बचाउन सक्दैनन्। संक्रमणको सुरुआती अवस्थामै अस्पताल पुर्याउन सके मृत्युदर केही हदसम्म घटाउन सकिने उनको सुझाव छ। “ग्रामीण भेगमा धामीझाँक्रीको भर पर्ने गरिन्छ र सहरी क्षेत्रमा पनि स्वास्थ्य परीक्षण नगराई आफूखुसी मेडिकलबाट औषधि किनेर खाने चलन छ, यसले गर्दा रोगले मस्तिष्कमा ठूलो क्षति पुर्याइसकेको हुन्छ,” डा. पुन भन्छन्।
उनका अनुसार पहाडी तथा सहरी क्षेत्रमा संक्रमणको बढ्दो जोखिमलाई ध्यान दिँदै स्थानीय तहले लामखुट्टे नियन्त्रण तथा खोप अभियानलाई प्राथमिकतामा राख्नुपर्छ। समुदायस्तरमा लामखुट्टे नियन्त्रणका कार्यक्रमलाई निरन्तरता दिने हो भने आगामी वर्षमा हुने ठूलो जनधनको क्षतिलाई रोक्न सकिने उनी बताउँछन्। साथै, समुदायस्तरमा लामखुट्टेको टोकाइबाट बच्ने उपायबारे सचेतना जरुरी भएको उनको भनाइ छ। “झुलको प्रयोग गर्ने, शरीर पूरै ढाक्ने लुगा लगाउने र सुँगुर, बुंगुर र हाँस पालन गरिने स्थान मानव बस्तीभन्दा टाढा राख्ने हो भने पनि जापानिज इन्सेफलाइटिसबाट बच्न सकिन्छ,” उनी भन्छन्।