काठमाडौँ
००:००:००
१४ पुष २०८२, सोमबार

नियात्रा

व्यास र भानुभक्तको जन्मभूमि, देवघाटधाम र बन्दीपुरलगायतको विशिष्टताले तनहुँ पुग्नैपर्ने तीर्थ बनेको छ।

तनहुँको दमौलीमा अवस्थित व्यास गुफा। सबै तस्बिर सौजन्य : कृष्ण न्यौपाने
अ+
अ-

१५ जेठ २९७९, बिहान साढे ११ बजे। हामी मुक्तिनाथ यात्रापछि तनहुँको दमौलीमा खाना खान अडिएका थियौँ। त्यहीबेला मुस्ताङका पत्रकार सुशील थकालीको फोन आयो। ‘कहाँ पुग्नुभयो?’ अत्तालिँदै उनले भने, ‘थाहा पाउनुभयो नि! यति एअरको विमान मुस्ताङको मानापाथी हिमाल फेद थासाङको सानुसरे भीरमा ठोक्किएर आज बिहान दुर्घटना भयो नि।’

अचानक यस्तो समाचार सुनेर हामी, पत्नी मुन्नी, छोरी शिवार्ती, सालो अमृत मिश्र, तनहुँका अग्रज पत्रकार प्रदीप काफ्ले, ओमकार आचार्य सबै हतप्रभ थियौँ। केही बोली निस्किएन।

पूर्वीय जीवनदर्शनलाई मार्गनिर्देश गर्ने चार वेद, अठार पुराणका रचयिता महर्षि वेदव्यास, आदिकवि भानुभक्त आचार्यको जन्मस्थल र पछिल्लो समय देशका राष्ट्रपति रामचन्द्र पौडेल जन्माउने भूमिका रूपमा समेत तनहुँको सुनाम छ।

हामी हिजो त्यही क्षेत्रमा थियौँ जहाँ आज विमान दुर्घटना भएको छ। त्यसो त हामी विमानका यात्री थिएनौँ। भर्खरै फर्केकाले मुस्ताङप्रति भावनात्मक निकटताको भाव विकसित भएको थियो। त्यसै त्यसै न्यास्रो लाग्यो। मुस्किलले खाना खाइयो।

तनहुँसुर

कुल २०० किलोमिटर लम्बाइको पृथ्वी राजमार्गको आँबुखैरेनीदेखि कास्की जोड्ने कोत्रेसम्म ७२ किलोमिटर लम्बाइ तनहुँले ओगटेको छ। कास्की, लमजुङ, पाल्पा र चितवनसँग सिमाना जोडिएको तनहुँ म धेरैपटक गएको छु। पृथ्वी र सिद्धार्थ राजमार्गको बाटो मुग्लिङ हुँदै पोखरा, पाल्पा र बुटवल वा त्यसपछिको यात्रा गर्ने हो भने तनहुँ नटेकी धरै पाइँदैन। यो बाटोबाट गरिएका प्रत्येक यात्राबारे मलाई सम्झना छैन। तर, माथि उल्लेख गरिएको घटनाका कारण त्यसपटकको तनहुँ यात्रा स्मरणीय बन्न पुगेको छ। सम्झँदा अझै पनि आङ सिरिंग हुन्छ।

तनहुँको दमौली बजारको दृश्य

जानकारका अनुसार तनहुँसुरबाट अपभ्रंश हुँदै तनहुँ बनेको हो। व्यास नगरपालिका-११ मा १,२४५ मिटरको उचाइमा अवस्थित तनहुँसुर सेनवंशीय राजाले शासन गरेको ठाउँ हो। पाल्पाका राजा मणिमुकुन्द सेनले जेठा छोरा भृंगीसेनलाई सन् १६१० मा तनहुँमा शासन गर्न पठाएको र उनीपछिका आठ जना सेनवंशी राजाले २३० वर्षभन्दा बढी तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास छ। इतिहासकारहरूका अनुसार यो राज्यको सीमा दक्षिणमा गंगासम्म विस्तारित थियो।

सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङका अनुसार यस राज्यको प्रशासनिक कार्यसम्पादनका लागि संस्कृतका साथै मैथिली, फारसीलगायत अंग्रेजी भाषाको पनि प्रयोग हुन्थ्यो, र दरबारमा यी भाषासम्बद्ध प्राज्ञ समूह हुने गर्दथ्यो। मैथिलीभाषीका नाताले यो जानकारीले ममा गौरवबोध हुनु स्वाभाविक नै थियो।

तनहुँसुर दरबारका अवशेष अझै अवलोकन गर्न सकिन्छ। इतिहासका जानकारहरूका अनुसार नेपाल राज्य एकीकरण प्रयास पृथ्वीनारायण शाहभन्दा पहिला पाल्पाली राजा मणिमुकुन्द सेनले गरेका थिए। त्यस क्रममा मणिमुकुन्द तनहुँ पनि आएको बताइन्छ। तनहुँसुरको दरबारमा अवलोकनपश्चात् यसको ऐतिहासिकता सहजै अनुमान लगाउन सकिन्छ।

पूर्वीय जीवनदर्शनलाई मार्गनिर्देश गर्ने चार वेद, अठार पुराणका रचयिता महर्षि वेदव्यास, आदिकवि भानुभक्त आचार्यको जन्मस्थल र पछिल्लो समय देशका राष्ट्रपति रामचन्द्र पौडेल जन्माउने भूमिका रूपमा समेत तनहुँको सुनाम छ।

खण्डहर बनेको भानुभक्त आचार्यको निवास

तनहुँसँग जोडिएका मेरा अनेक स्मृति छन्। विभिन्न ठाउँमा बिताएको समय। घुमन्ते बनेर घुमिएका अनेक स्थान। पत्रकारितासँग सम्बद्ध प्रशिक्षणलगायत अनेक कार्यक्रममा सहभागिता।

पत्रकारिताजन्य विविध प्रयोजनका सन्दर्भमा यहाँ आउँदा अग्रज पत्रकार विश्वबन्धु भण्डारी, गोरा मियाँ, सोनी शर्मा, डम्बर अधिकारी, ओमकार आचार्य, डीपी अधिकारी, पवन पौडेल, समुद्र पौडेल, कृष्ण न्यौपानेलगायतसँग बिताएको समय अविस्मरणीय छ। सबैभन्दा महत्त्वपूर्ण छ, प्रदीप काफ्लेसँगको सम्बन्ध। यस जिल्लामा जाँदा अधिकांशजसो मलाई आतिथ्य प्रदान गर्ने काफ्ले नै हुन्। हामीले नयाँ दिल्ली र उडिसा पनि सँगै भ्रमण गरेका छौँ। उनीसँगको सान्निध्यमा तनहुँबारे मैले निकै जानकारी पाएको छु।

भानुभूमि

नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो हो, भानु नगरपालिका-४ चुँदीरम्घा। डुम्रेबाट करिब सातआठ किलोमिटरको दूरीमा अवस्थित चुँदीरम्घामा २९ असार १८७१ मा अवतरण गरेका भानुको जन्मभूमिको सोचेअनुसार विकास हुन सकेको छैन। मैले दुईतीन पटक भानुभूमिको भ्रमण गरेको छु।

तनहुँ जिल्लाको चुँदीरम्घा

सायद २०७१ सालतिर होला, अहिलेको नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डीपी अधिकारीसँग घुम्दाघुम्दै भानुभूमि पुगेको हिजोजस्तो लाग्छ। म लहानबाट रात्रि बसमा यात्रा गरिरहेको थिएँ। पुग्नु त लमजुङ थियो, तर बिहानको २ बजेतिर म तनहुँको याम्पाफाँटमा ओर्लिएको थिएँ। त्यहाँ मलाई डीपीले स्वागत मात्र गरेनन्, आफ्नै घरमा विश्रामको अवसर पनि प्रदान गरे।

तनहुँ नेपाली भाषा र भानुको स्मृतिसम्म मात्र सीमित छैन, यो सिंगो सनातन हिन्दू धर्मावलम्बीकै पावन भूमिका रूपमा स्थापित छ।

भोलिपल्ट बिहानै आफ्नो मोटरसाइकलमा राखेर उनले मलाई भानुभूमि देखाउँदै डुम्रे चोकमा ल्याएर लमजुङ जाने बस चढाएर बिदा गरेका थिए। राजमार्गभन्दा भित्रको तनहुँ हेर्ने अवसर मैले त्यही यात्राका क्रममा प्राप्त गरेको हुँ। त्यतिबेलै मानसपटलमा उत्पन्न एउटा प्रश्नको उत्तर मैले आजपर्यन्त पाउन सकेको छैन–विकासको प्रचुर सम्भावना हुँदाहुँदै यस जिल्लाको समुचित विकास किन हुन सकेन?

भानुभक्त जन्मस्थल विकास समिति गठन गरी भानुभूमिको विकास गर्न खोजिए पनि यसले मूर्तरूप लिन सकेको छैन। यस भूमिलाई विश्वसामु चिनाउन सकिएको छैन। सम्पूर्ण नेपालीभाषीले गौरव गर्ने गरी एकपटक टेक्नैपर्ने पर्यटकीय भूमिका रूपमा यसको विकास गर्न नसक्नु विडम्बना नै मान्नुपर्छ। स्थानीय, प्रदेश र संघीय तहबाट उचित प्रयास हुन नसक्दा यो महत्त्वपूर्ण ठाउँ ओझेल परेको पत्रकार डीपी बताउँछन्। अन्यत्र यस्ता महान् स्रष्टाको थातथलोलाई संरक्षण गरेर संग्रहालय बनाएर भावी पुस्तालाई हस्तान्तरण गर्ने सोच राखिन्छ। तर, नेपालको अवस्था फरक छ। कतिसम्म अव्यवस्था भने, त्यहाँ पुग्दा मनै चसक्क हुन्छ। अर्का पत्रकार कृष्ण न्यौपानेका अनुसार भानुले प्रेरणा प्राप्त गरेका घाँसी पनि यसै जिल्लाका हुन्। घाँसीकुवाको पनि संरक्षण गर्न सकिएको छैन।

व्यासभूमि र देवधाम

तनहुँ नेपाली भाषा र भानुको स्मृतिसम्म मात्र सीमित छैन, यो सिंगो सनातन हिन्दू धर्मावलम्बीकै पावन भूमिका रूपमा स्थापित छ। नेपाल पत्रकार महासंघ तनहुँका पूर्वअध्यक्ष एवं पूर्वकेन्द्रीय सदस्य प्रदीप काफ्लेका अनुसार महर्षि वेदव्यास र उनकी आमा सत्यवतीको सन्दर्भ पनि तनहुँसँग जोडिन्छ। व्यास नगरपालिका-३ मा अवस्थित व्यास गुफामा व्यासको जन्म भएको मान्यता छ। काफ्लेका अनुसार पूर्वीय साहित्यका महाकवि वेदव्यासले यही भूमिमा महाभारत, चार वेद र अठार पुराणको रचना गरेको सन्दर्भ विभिन्न स्रोतले प्रमाणित गरे पनि व्यासभूमिको उचित प्रसारप्रसार भने हुन सकेको छैन।

तिथिमिति यकिन त छैन, तर एकपटक म त्यहाँ पुगेको सम्झन्छु। यस स्थानको महत्त्वका आधारमा संरक्षण र अनुसन्धानलाई गति प्रदान गर्न सके यो विश्वमै धरोहरका रूपमा स्थापित हुन सक्ने विश्वास गर्न सकिन्छ। पत्रकार न्यौपानेले २०४१ सालमा योगी नरहरिनाथले कोटिहोम लगाउने सिलसिलामा आयोजित धर्म सभामा महर्षि वेदव्यासको अवतरण भूमि दमौलीस्थित शुक्लामाहेन्द्री संगम भएको बताएको जानकारी दिएपछि यस क्षेत्रको अध्ययनमा चासो बढेको थियो।

पहाडकी रानी उपनामले चिनिने बन्दीपुरबाट देखिने पहाड, हिमाल र वनजंगलको दृश्य–उपस्थितिले जोकोहीलाई मोहित गर्दछ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सोनी शर्माका अनुसार करिब ५५ सय वर्षअगाडि यस क्षेत्रमा महर्षि व्यासको अवतरण भएको विश्वास छ। उनका अनुसार जिल्लाको अर्को तीर्थस्थल हो–छाब्दी वाराही। छाब्दी वाराही देवीलाई व्यासकी आमा पनि मानिन्छ। व्यास ऋषिको जन्मको प्रसंग चल्दा दमौलीदेखि आठ किमि पूर्व छाब्दी वाराहीको मन्दिरदेखि करिब ५० मिटर पश्चिमपट्टिको कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको पनि मान्ने गरिएको छ। माछाको रूपमा सत्यवतीको जन्म भएकाले कुण्डको नाम नै मत्स्यकुण्ड रहेको मानिन्छ। महर्षि व्यासकै सम्मानमा नामकरण गरिएको व्यास नगरपालिका-१४ मा अवस्थित मन्दिरमा वाराही देवीको मूर्ति पनि छ। यस अर्थमा भन्ने हो भने समग्र व्यास नगरपालिका आफैँमा महत्त्वपूर्ण पर्यटकीय नगरी हो।

तनहुँको दमौलीमा अवस्थित व्यास गुफा

अध्यात्ममा रुचि राख्ने जोकोहीले देवघाटधामको नाम सुनेको हुनैपर्छ। तनहुँको देवघाट गाउँपालिका-५ मा रहेको देवघाटधाम म विभिन्न प्रयोजनार्थ पटक पटक पुगेको छु। महत्त्वपूर्ण त के भने, जतिपटक यो ठाउँ पुगेँ,  त्यहाँबाट फर्केर आऊँ भन्ने कहिल्यै लागेन। यहाँको प्राकृतिक परिवेशले त्यसै त्यसै आकर्षित गर्छ।

देवघाटधाममा देवताहरूको सम्मेलन हुने धार्मिक विश्वास छ। शालग्राम शिला पाइने विश्वकै एक मात्र कालीगण्डकी नदी र त्रिशूलीको संगमको दृश्य कति मनमोहक छ, बयान गर्न सकिँदैन। यी दुई नदीको वेणीसंगमबाट नारायणी बनेको छ । यस आधारमा भन्ने हो भने तनहुँ पनि कालीगण्डकी सभ्यताको एक हिस्सा हो।

बन्दीपुर : पहाडकी रानी

बन्दीपुरको चर्चा गरिएन भने तनहुँ यात्राले सार्थकता पाउँदैन। २०२५ सालमा बन्दीपुरबाट तनहुँ सदरमुकाम दमौली सारिएको हो। पर्यटकबीच यो पहाडी नगर जीवन्त प्राचीन सांस्कृतिक नगरका रूपमा परिचित छ। यहाँको समाज, संस्कृति, सम्पदा, परम्परा, रीतिरिवाज आदि पर्यटकीय रुचिका विषय हुन्। कति पर्यटक यहाँ यिनै विषयको अध्ययन गर्न आउँछन्। पहाडकी रानी उपनामले चिनिने बन्दीपुरबाट देखिने पहाड, हिमाल र वनजंगलको दृश्य–उपस्थितिले जोकोहीलाई मोहित गर्दछ।

पत्रकार सूर्यचन्द्र बस्नेतका अनुसार यो जिल्लाबारे अझ मिहिन जानकारी प्राप्त गर्न खोज्ने हो भने थानीमाई मन्दिर, ढोरवाराही मन्दिर, छिम्केश्वरी मन्दिर, अकलादेवी मन्दिर र ऋषिंग रानीपोखरीको अवलोकन जरुरी छ। मैले यी ठाउँ जान चाहेमा उनले साथी बनिदिने वाचा पनि गरेका छन्।