काठमाडौँ
००:००:००
१५ पुष २०८२, मंगलवार

इतिहास

भीमसेनको दिग्विजय यात्रा हेर्दा विदेह, कोशल, किरात र मल्लका एकभन्दा बढी राज्य रहेको पाइन्छ। तर, विदेह मात्र नभई धेरै राज्यका राजाहरूको नाम यात्रावर्णनमा समेटिएको छैन।

विवाह पञ्चमीका अवसरमा जनकपुरस्थित जानकी मन्दिर परिसर। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

जनकवंशी राजाहरूले शासन गरेको विदेह राज्यबारे धेरैले चासो व्यक्त गर्छन्। यही चासोका कारण पनि तत्कालीन विदेहसहित, मिथिला तथा जनकपुरबारे अध्ययन र अनुसन्धान हुने क्रम जारी छ। विदेह राज्य बुझ्न रामायण, महाभारतसहितका ग्रन्थसँगै विभिन्न पुराण र उपनिषद्‌को अध्ययन आवश्यक पर्छ। यद्यपि, अहिले इन्टरनेटको सहज पहुँच तथा पुस्तकहरूको प्रधानता रहेको समयमा समेत विदेह राज्यबारे केही भ्रमपूर्ण जानकारी फैलिएको भेटिन्छ।

जस्तो, विदेहका अन्तिम राजा कराल अत्याचारी भएकैले राज्य नै समाप्त भएको जानकारी कौटिल्य अर्थशास्त्रलाई उदृत गर्दै उत्पादन भएको पाइन्छ। तर, मूल ग्रन्थमा यस सन्दर्भको कुनै चर्चा नै छैन। लेखक आरपी कंगलेले मूलशास्त्रको राजधर्म र समय व्यवस्थापनबारे उल्लेख भएको विषयलाई अंग्रेजी अनुवाद गर्दा उदाहरणका रूपमा प्रस्तुत गरेको भने पनि इन्टरनेटमा ती प्रसंगहरू भेटिएनन्। बरु जनक वंशावलीमा करालको नाम नै समावेश छैन।

महाभारत ग्रन्थको सभापर्वमा भीमसेनले दिग्विजय यात्राका क्रममा विशाल सेनासहित पूर्वतर्फ पुगेर धेरै देशहरूमाथि विजय प्राप्त गर्दा दुई वटा विदेह राज्यसमेत जितेको उल्लेख छ।

विष्णुपुराणको पाँचौँ अध्यायमा निमिबाट मिथि उत्पन्न भएका र मिथिलाई नै जनक भनिएको चर्चा छ। जनकपछि उनका उत्तराधिकारीहरूको नाममा पनि ‘जनक’ नै जोडियो। यसपछि उदावसु, नन्दिवर्द्धन, सुकेत, देवरात, वृहदुक्थ, महावीर्य, सुधृति, धृष्टकेतु, हर्यश्व, मनु, प्रतीक, कृतरथ, देवनीढ, विबुध, महाधृति, कृतरात, महारोमा, सुवर्णरोमा, ह्रस्वरोमा, सीरध्वज राजा भए। वाल्मीकि रामायणमा वृहदुक्थ, महावीर्य, मनु, प्रतीक, कृतरथ तथा सुवर्णरोमाको ठाउँमा बृहद्रथ, महावीर, मरु, प्रतीन्धक, कीर्तिरात र स्वर्णरोमा लेखिएको छ।

सीरध्वज जनककै समयमा अयोध्याका राजकुमार राम र सीताको विवाह भएको थियो। सोही समयमा रामका भाइहरू लक्ष्मण, भरत र शत्रुघ्नको विवाह क्रमशः उर्मिला, माण्डवी र श्रुतकीर्तिसँग भयो। माण्डवी र श्रुतकीर्ति सिरध्वज जनकका भाइ कुशध्वजका छोरीहरू हुन्।

विष्णुपुराणमा सीरध्वजपछिका जनक राजाहरूको नाम पढ्न पाइन्छ। त्यसपछि भानुमान, शतद्युम्न, सुचि, ऊर्जनामा, शतध्वज, कृति, अञ्जन, कुरुजित, अरिष्टनेमी, श्रुतायु, सुपार्श्व, सृञ्जय, क्षेमावी, अनेना, भौमरथ, सत्यरथ, उपगु, उपगुप्त, स्वागत, स्वानन्द, सुवर्चा, सुपार्श्व, सुभाष, सुश्रुत, जय, विजय, ऋत, सुनय, वीतहव्य, धृति, बहुलाश्व र कृति राजा भए। कृति जनकलाई नै अन्तिम राजा मानिएको छ।

भीमसेनको दिग्विजय र विदेहको साइनो

महाभारत ग्रन्थको सभापर्वमा भीमसेनले दिग्विजय यात्राका क्रममा विशाल सेनासहित पूर्वतर्फ पुगेर धेरै देशहरूमाथि विजय प्राप्त गर्दा दुई वटा विदेह राज्यसमेत जितेको उल्लेख छ। एउटा हालको मिथिला थियो भने अर्को पहाडी भूभागमा पर्दथ्यो। हाल दोस्रो राज्यबारे चर्चा भएको पाइँदैन, न त यसबारे कुनै ज्ञानसामग्री उत्पादन भएका छन्।

पाञ्चाललाई युद्धविनै सम्झाइबुझाइ आफ्नो पक्षमा लिएपछि भीमसेनले केही दिनको लडाइँमा विदेहका राज्य जितेका थिए। त्यसपछि उनी दशार्ण देशतर्फ लागेका थिए। तर, त्यहाँका राजा सुधर्माले मल्लयुद्ध गरेर भीमसेनलाई सन्धि गर्न बाध्य बनाए। सन्धिअन्तर्गत सुधर्मालाई प्रधानसेनापतिको जिम्मेवारी दिएर अन्य देश जित्न भीमसेन अघि बढेका थिए।

यसपछि अश्वमेध देशका राजा रोचमानलाई परास्त गरी पूर्वका देशहरू आफ्नो अधीनमा पारेर दक्षिणतर्फ मोडिएका थिए। पुलिन्दाको राजा सुमित्रलाई अधीनमा लिई चेदीराज शिशुपालको देशतर्फ मोडिए। भीमसेनले शिशुपाललाई धर्मराज युधिष्ठरको योजना सुनाएपछि कर दिने सर्त स्विकार गरे। शिशुपालको राज्यमा १३ दिन विश्राम गरी यात्रा अगाडि बढाएका थिए।

उनले कुमार देशका राजा र कोशल देशका राजा बृहब्दललाई परास्त गरेर सहज ढंगले अयोध्याका राजा महाबलि दीर्घयज्ञलाई आफ्नो पक्षमा ल्याए। गोपाल कक्ष, उत्तर कोशल जितेर मल्लराष्ट्रको अधिपति पार्थिवलाई आफ्नो अधीनमा ल्याउन सफल भए। उनले हिमालयको नजिक रहेका जलोद्भव देश अधीनमा लिएर अगाडि बढे। भल्लाटको सीमावर्ती राज्य तथा शुक्तिमान पर्वतमाथि विजय प्राप्त गरी काशीराज सुबाहुलाई बलपूर्वक हराए। सुपार्श्वको नजिक राजराजेश्वर क्रथ, मत्स्य, महाबलि मलद, अनघ र अभय नामको देश जितेर पशुभूमिलाई चारैतिरबाट जिते। पशुभूमिलाई नेपालको पशुपतिनाथ नजिकको क्षेत्र मानिन्छ। त्यहाँबाट फिर्ता हुने बेला मदधार पर्वत र सोमधेयका बासिन्दालाई परास्त गरेर वत्सभूमिमा बलपूर्वक अधिकार जमाए।

कराल जनक र वसिष्ठ ऋषिबीचको संवाद

भीमसेनले भर्गो स्वामी निषाद अधिपति, मणिमानसहितका धेरै भूपाललाई आफ्नो अधीनमा ल्याएर कर असुली गरे। त्यसपछि दक्षिण मल्लदेश तथा भोगवान् पवर्तमाथि जित दर्ज गरे। उनले शर्मक र वर्मकलाई सम्झाएरै अधीनमा ल्याए भने विदेह देशका राजालाई उग्र युद्धविना नै परास्त गरे भने शक र बर्बरहरूलाई छलपूर्वक हराए।

महाभारतको उद्योगपर्वमा आफ्नो बन्धु, कुटुम्ब तथा हितैषीको संहार गर्ने १८ विख्यात राजाहरूबारे चर्चा छ। यसमा विदेहवंशका एउटा राजाको पनि नाम छ।

दिवाकर आचार्यलिखित नीपजन र नेपालः एउटा छोटो आद्य–इतिहासमा महाभारतको ‘वैदेहकं च राजानं जनकं जगतीपतिम्’ का आधारमा विदेहका राजा जगत्‌पति जनक भनेर चर्चा गरेका छन्। अन्य अनुवादहरूमा जगतिपतिलाई सम्बोधनका रूपमा मात्र लिइएको भेटिन्छ। विष्णुपुराणमा समेत जनकवंशी राजाको सूचीमा जगतिपतिको नाम उल्लेख छैन।

भीमसेन विदेह देशमा बसेर इन्द्र पर्वतको निकटवर्ती किरातको सात वटा राज्य जित्न सफल भए। त्यसपछि सुह्य र असुह्यलाई परास्त गरेर मगधदेश पुगे। त्यहाँबाट गिरिव्रज नगर जाने बाटोमा पर्ने दण्ड, दण्डधारसहितका देशहरूलाई आफ्नो अधीनमा लिएका थिए। यसपछि जरासन्धकुमार सहदेवसँग कर उठाएर कर्णको राज्यमा पुगी उनलाई अधीनमा लिएर कर संकलन गरी पर्वतीय राजाहरूमाथि विजय प्राप्त गरे।

त्यसपछि मोदागिरिको अत्यन्त बलिष्ठ राजालाई समेत मारे। कोसी नदी किनारको पुण्ड्रक देशको अधिपति राजा वासुदेवलाई हराएर वंग देशका राजाहरूमाथि आक्रमण गर्न सफल भए। भीमसेनले सुमद्रसेन, भूपाल चन्द्रसेन, ताम्रलिप्त, कर्वटाधिपति र सुह्यनरेशलाई जितेर समस्त म्लेच्छलाई आफ्नो अधीनमा गरेका थिए। लौहित्य देशको यात्रा गरेर समुद्र टापुमा रहेका धेरै म्लेच्छ राजालाई अधीनमा लिई करका रूपमा धन र हिरामोती संकलन गर्न सफल भएका थिए।

लेखक आचार्यले आफ्नो पुस्तकमा भारतीय इतिहासवेत्ता वासुदेवशरण अग्रवाललाई उद्धृत गर्दै महाभारतको दिग्विजय वर्णन इसापूर्व दोस्रो शताब्दीअघि रचिएको आकलन गरेका छन्। भीमसेनको दिग्विजय यात्रा हेर्दा विदेह, कोशल, किरात र मल्लका एकभन्दा बढी राज्य रहेको पाइन्छ। तर, विदेह मात्र नभई धेरै राज्यका राजाहरूको नाम यात्रावर्णनमा समेटिएको छैन।

महाभारतको उद्योगपर्वमा आफ्ना बन्धु, कुटुम्ब तथा हितैषीको संहार गर्ने १८ विख्यात राजाहरूबारे चर्चा छ। यसमा विदेहवंशका एउटा राजाको पनि नाम छ।

गण्डकदेखि कोसीको सिमानामा रहेको विदेह राज्यका जनकहरूको नामावली विष्णुपुराणबाट प्राप्त गर्न सकिन्छ। तर, कराल, धर्मध्वज, हयग्रीव जनकहरूलाई कुन विदेह राज्यको शासक स्वीकार गर्ने भन्ने प्रश्न यथावत् छ।

यस्तै, महाभारतको शान्तिपर्वमा विदेहवंशका सृञ्जय, कराल, वसुमान, देवरात पुत्र बृहदुक्थ, धर्मध्वजका संवादहरू भेटिन्छन्। युधिष्ठिरले शोकवश शरीर त्याग गर्न चाहेको देखेर व्यासले अश्मा ऋषि र जनकका संवाद सुनाउँछन्। यो संवाद कुन जनकसँग भएको खुलाइएको छैन। कुटुम्बजन र धनको उत्पत्ति तथा विनाश भएमा कल्याण चाहने मानिसले कसरी निश्चय गर्नुपर्छ भन्ने प्रश्नमा ऋषिले मनुष्यको जन्मग्रहण भएदेखि नै सुख र दुःख उसको पछाडि लाग्ने तथा उपस्थित भएको कुराले मनुष्यको ज्ञानलाई हावाले बादललाई उडाएजसरी हरण गर्ने बताउँछन्। कुलीन, सिद्ध र असाधारण हुँ भन्ने सोच अहंकारको तीन धारा भएकोलगायत थुप्रै ज्ञानवर्द्धक युक्तिपूर्ण उपदेश सुनेर युधिष्ठिर शोकरहित हुन्छन्।

अर्को एक प्रसंगमा देवर्षि नारदले थुप्रै बलशाली, धर्मात्मा राजाहरूको मृत्यु भइसकेकाले छोरा सुर्वणष्ठीवीको शोक नगर्न राजा सृञ्जयलाई उपदेश दिन्छन्। हत्या गर्ने इन्द्रकै अनुमतिले पुनः ती बालकलाई नारदले जीवित बनाइदिन्छन्। यी सृञ्जय जनकवंशी हुन् वा राजा धृतराष्ट्रका पूर्वज सृञ्जय हुन्, यकिन गर्न गाह्रो छ। महाभारतमा धृतराष्ट्रले आफूलाई सृञ्जयवंशी भनेर सम्बोधन गरेको पाइन्छ।

त्यस्तै, विदेहराज जनकले आफूसँग अनन्त धन, वैभव रहे पनि आफ्नो केही नभएको र मिथिलापुरीमा आगलागी भइहालेमा पनि आफ्नो केही नजल्ने भनेको कुरा युधिष्ठिरलाई उदाहरणका रूपमा भीष्मले सुनाएका थिए। यस प्रसंगमा उल्लेख भएका जनक कुन हुन् भन्ने थाहा नभए पनि सीरध्वज जनक हुन सक्ने अनुमान गर्नेको बाहुल्य छ।

यस्तै, भीष्मले नै युधिष्ठिरलाई कराल जनक र वसिष्ठ ऋषिबीचको संवाद सुनाउँदै क्षर र अक्षरको ज्ञान प्राप्त गरेको प्राचीन इतिहास सुनाएका छन्।

यस्ता विभिन्न कारणले महाभारतकालमा विदेहका दुई छुट्टाछुट्टै राज्य रहेको बुझ्न सकिन्छ। गण्डकदेखि कोसीको सिमानामा रहेको विदेह राज्यका जनकहरूको नामावली विष्णुपुराणबाट प्राप्त गर्न सकिन्छ। तर, कराल, धर्मध्वज, हयग्रीव जनकहरूलाई कुन विदेह राज्यको शासक स्वीकार गर्ने भन्ने प्रश्न यथावत् छ।