काठमाडौँ। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।
निगम सञ्चालक समितिको बुधबारको निर्णयअनुसार बिहीबार बिहानदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।
निगमका अनुसार प्रतिलिटर पेट्रोल ४ तथा डिजेल र मट्टितेल प्रतिलिटर ५ रुपैयाँले घटेको छ।
त्यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ६ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले घटाइएको छ।
निगमले खाना बनाउने ग्यासको मूल्य भने यथावत् राखेको छ। आईओसीबाट ग्यासको मूल्य बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राखी मूल्य यथावत् राखिएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए।
निगमका अनुसार पेट्रोलको मूल्य पहिलो वर्गमा १५६ रुपैयाँ ५० पैसा‚ दोस्रोमा १५८ रुपैयाँ र तेस्रो वर्गमा १५९ रुपैयाँ कायम भएको छ। त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा १३४ रुपैयाँ ५० पैसा‚ दोस्रोमा १३६ रुपैयाँ र तेस्रोमा १३७ रुपैयाँ पुगेको छ।
पहिलो वर्गमा चारआली‚ विराटनगर‚ आमलेखगन्ज‚ भलबारी‚ नेपालगन्ज, धनगढी र वीरगन्ज पर्छन्। त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा काठमाडौँ‚ पोखरा र दिपायल पर्छन्।
