काठमाडौँ। निर्वाचन आयोगले गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ, जिल्ला समन्वय समिति महासंघका प्रमुख तथा प्रतिनिधिसँग छलफल गरेको छ।
छलफलमा जिल्ला समन्वय समिति महासंघका कार्यकारी निर्देशक भरतकुमार भट्टराई, नेपाल नगरपालिका संघका अध्यक्ष भीम ढुंगाना र कार्यकारी निर्देशक कलानिधि देवकोटा तथा गाउँपालिका राष्ट्रिय माहसंघ नेपालका प्रतिनिधि रूपनारायण ढकाल र दीपा शर्माको सहभागिता थियो।
कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कानुन निर्माण गर्ने र कार्यान्वयन गर्ने जिम्मेवारी पाएका स्थानीय तहहरूले स्थानीय भाषामा आधारित मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरेर नागरिकका घरदैलोसम्म पुर्याएर मतदानको प्रतिशत बढाउन र बदर मत घटाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए।
उनले निर्वाचन सुरक्षामा आयोगसँगको समन्वयमा नेपाल सरकारले पूर्ण तयारी गरिरहेकोले सुरक्षामा विश्वस्त हुन आग्रह गरे। निर्वाचन आचारसंहिता जारी भएपछि सरकारी स्रोतको दुरुपयोग गरी मतदातालाई प्रभावित गर्न नदिइने तर नियमित विकास निर्माणका काम नरोकिने बताए। स्वच्छ, निष्पक्ष निर्वाचनका लागि आचारसंहिताको पूर्णपालना गर्नु गराउनु अति आवश्यक भएको र यसमा कुनै कमी हुन नदिइने यसका लागि सूक्ष्म अनुगमन गरिने उनको भनाइ छ।
कार्यक्रममा निर्वाचन आयुक्तद्वय जानकीकुमारी तुलाधर, सगुनशमशेर राणा र आयोगका सचिव कृष्णबहादुर राउतले आफ्नो मन्तव्य राखेका थिए।