सुर्खेत। नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल सुर्खेतबाटै पक्राउ परेका छन्। पार्टी पुनर्गठनको विषयमा सुझाव संकलन गर्न सुर्खेत आएका उपाध्यक्ष पौडेललाई सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटेलबाट पक्राउ गरिएको हो।
शुभ होटेलको हलमा सुझाव संकलन कार्यक्रम भइरहेकै बेला जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोली पुगेर पौडेललाई पक्राउ गरेको हो।
उनी आइतबार बेलुका सुर्खेत आएका थिए। सुर्खेत आएर उनी शुभ होटेलमै बसेका थिए। सोमबार बिहानबाट कार्यक्रम सुरु भएको थियो। उनी सहभागी कार्यक्रममा एमालेका प्रदेशस्थित दशवटै जिल्लाका प्रतिनिधि पनि सहभागी थिए। पौडेलसँगै शंकर पोखरेल, पृथ्वी सुब्बा गुरुङ, रामबहादुर थापा पनि सुर्खेत आएका थिए।
सुझाव संकलन कार्यक्रमको अध्यक्षता कर्णाली प्रदेशका मुख्यमन्त्री तथा एमाले सचिव यामलाल कँडेलले गरेका थिए। थापा प्रमुख अतिथि थिए भने पौडेल र गुरुङ अतिथि थिए। कार्यक्रम एमालेका प्रदेश अध्यक्ष गुलाबजंग शाहले सञ्चालन गरेका थिए।
कार्यक्रममा १० वटै जिल्लाका प्रतिनिधिले एमालेको पुनर्गठनका विषयमा सुझाव दिनुपर्ने थियो। पौडेललाई प्रहरीले पक्राउ गर्नुअघि हुम्ला, जुम्ला, मुगु, कालीकोट, डोल्पा, सल्यान र रुकुम पश्चिमका प्रतिनिधिले सुझाव दिइसकेका थिए। दैलेखका प्रतिनिधि बोल्दै थिए भने सुर्खेत र जाजरकोटका प्रतिनिधिले बोल्न बाँकी थियो।
जाजरकोटका प्रतिनिधिका सुझाव सुनिरहेका उपाध्यक्ष पौडेललाई पक्राउ गर्न सुर्खेतका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलको नेतृत्वमै १० जनाको टोली होटेलमै पुगेको थियो। प्रहरीले ‘काम छ’ भनेर सुटुक्क बाहिर बोलाएर पक्राउ गरेको हो।
पूर्वअर्थमन्त्री समेत रहेको पौडेलमाथि सम्पत्ति शुद्धीकरण विभागले सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान सुरु गरेको थियो। पौडेललाई पक्राउ गर्नुको केही समयअघि मात्र विभागबाट सुर्खेत प्रहरीलाई पक्राउ पुर्जीसहित इमेल आएको थियो। “सवा ५ बजे अनुसन्धान विभागबाट जारी भएको जरुरी पक्राउ पुर्जी दिई कानुनको रित पुर्याई पक्राउ गरी आवश्यक कारबाहीको लागि सक्कलै कागजातसहित प्रहरीको जिम्मा लगाइ पठाइएको छ‚” जिल्ला प्रहरी कार्यालयले जारी गरेको प्रेस नोटमा भनिएको छ।
सुर्खेत प्रहरीले प्रहरी निरीक्षणक श्यामप्रसाद यादवको जिम्मा लगाएर गाडीमा नेपालगन्ज पठाएको छ। उनलाई मंगलबार हवाईजहाजमार्फत काठमाडौँ पठाउने तयारी भएको प्रहरीले जनाएको छ।
